~भीष्म उप्रेती~
बादलका झुप्पाहरूजस्तो
सेतो हिउँमा
मैले आफ्ना पाइतलाका
छापहरू बनाएँ ।
जान्दाजान्दै पनि कि
मायाजस्तो अलिकति न्यानो पाउने बित्तिकै
हराएर जान्छ हिउँ
र सँगसँगै मेरा पदचिन्हहरू पनि ।
पदचिन्ह हराउँदा
एकछिन त दुःखी हुन्छु होला ।
तर त्यसपछि हिउँ नदी बन्छ
मेरो पदचिन्हले गति पाउँछ
नदी मेरा पदचिन्हहरू टेकेर हिँड्छ
र गीत गाउँदै कहाँकहाँ पुग्छ ।
प्रकृतिमा वसन्त फर्केजस्तै
मेरो मनमा पनि खुशी फर्कन्छ ।
शनिश्चरे, झापा
हालः काठमाडौं