~राजेन्द्र पराजुली~
इतिहास शिक्षक मानदास सैंजु विद्यार्थीलाई विभिन्न कालखण्डका घटनाहरु कसरी इतिहास बन्छन् भनेर पढाइरहेका थिए । र, त्यो दिनको विषय थियो ‘पञ्चायती व्यवस्थाको उदय र पतन’ । गर्मी महिना, त्यो पनि मध्याह्नको कक्षा, विद्यार्थीहरु झर्को मानेर सैँजु सरलाई सुनिरहेका थिए । उही राणाकाल, उही पञ्चायत, उही बहुदलीय व्यवस्था, संसद् ! नयाँ कुरा केही थिएन कक्षामा ।
त्यसपछि उही डरलाग्दो छवि भएको जङ्गबहादुर, औँला ठडाइरहेका पृथ्वीनारायण शाह, सत्ता हत्याउनका निम्ति भएका कोतपर्व, भन्डारखाल पर्व । प्रजातन्त्र ल्याउन राजा त्रिभुवन भारतको शरणमा गएको ! राजा महेन्द्रको निरङ्कुश शासन शैली । राजा वीरेन्द्रको वंशनासका प्रसङ्ग आदि । सबै थोत्रा, निरस, जीवनहीन, सन्दर्भहीन बन्दै गएका प्रसङ्ग । तीमध्ये वीरेन्द्रको वंशनासको प्रसङ्ग सर्वाधिक नयाँ थियो । र, त्यसलाई नजिकबाट सैँजु सरले अध्ययन पनि गरेका थिए । त्यो विषय पढाउँदा उनले पाठ्यपुस्तक एकातिर फालेर आफ्नै ढङ्गले विद्यार्थीलाई बुझाएका थिए । त्यसबेला उनले उठाएका कतिपय प्रसङ्ग पुस्तकमा वर्णितभन्दा पृथक पनि थिए । पाठ्यपुस्तकमा उक्त घटनाको सपाट बयान मात्र थियो । ‘युवराज दीपेन्द्रले भटटट गोली चलाए सकियो सबथोक !’ पुस्तकका लेखक घटनाको गहिराइसम्म पुग्न सकेका थिएनन्, तर सैँजु सरले गम्भीर अध्ययन गरेका थिए सो घटनाबारे ।
तर त्यो पनि धेरै पटक पढिसकेकाले विद्यार्थीलाई दिक्क लाग्न थालिसकेको थियो । सुरुका केही वर्षसम्म भने यो विषयले विद्यार्थीको उत्सुकता बढाएको थियो । पछिपछि पनि देशी–विदेशी अखबारहरुले यस घटनाबारे यति धेरै समाचार लेखे कि मान्छेहरु त्यसलाई बेवास्ता नै गर्न थाले । समयक्रमसँगै यो विषय पनि पाप्रा उप्किएर मेटिइसकेको घाउजस्तो बनेको थियो । नयाँनयाँ घाउहरु लाग्ने क्रम जारी थियो ।
सैँजु सरको शिक्षण शैलीको प्रभावकारिताका कारण विद्यार्थी उनको कक्षामा नबिराइ बस्थे । इतिहासमा वर्णित कुनै पनि व्यक्तिबारे पढाउँदा उनी सोही पात्रको जस्तो हाउभाउ गर्थे । आँखा ठूलठूला पार्थे, आवाजमा अधिक आरोह–अवरोह ल्याउँथे ।
तर पनि उही व्यक्ति, कहिल्यै रुप नफेर्ने एउटै घटनाले विद्यार्थी विकर्षित बन्दै गएका थिए ।
छेउछाउका छिमेकी वा संसारका कतिपय मुलुकमध्ये आफ्नो देशमा राजनीतिक परिवर्तन तीव्र रहेको विद्यार्थीलाई राम्रै ज्ञान थियो । त्यसकारण पनि पछिल्लो घटनाक्रम र त्यसको असरबारे बुझ्ने तिनको चाहना थियो ।
वर्षौंदेखि एउटै विषय र घटना पढ्न बाध्य बनाइएका कारण पनि तिनीहरु हैरान थिए । सैँजु सरको शिक्षण शैलीबाट मोहित ती विद्यार्थी इतिहासका थोत्रा घटनाबाट भने विमोहित हुन थालेका थिए ।
सैँजु सरको पढाउने आकर्षक कलाले विद्यार्थी उनलाई निकै मन पनि पराउँथे । इतिहासका कुनै पनि घटनाबारे पढाउँदा उनले विद्यार्थीलाई सोही कालखण्डमा पु¥याउने प्रयास गर्थे । विषयप्रवेश गर्नुअघि तत्कालीन परिवेशको भूमिका बाँध्थे । कुनै स्थानको बयान गर्दा विद्यार्थीमाझ यसरी दृश्य बयान गर्थे कि उनीहरु स्वयम् नै सो स्थानमा पुगेको अनुभूति गर्थे । उनको आवाज अत्यन्तै मिठासपूर्ण थियो । र, पढाउँदा उत्पन्न हुने हाउभाउ, आवाजको आरोह–अवरोहले सबै विद्यार्थीलाई मोहित पाथ्र्यो । कुनै पनि पात्रको बयान गरिरहँदा सैँजु सर नै त्यो पात्र हुन् भनेजस्तो लाग्थ्यो । त्यसको भोक्ता उनै हुन् कि भन्ने भान हुन्थ्यो । त्यसैले विद्यार्थीहरु उनको कक्षालाई निकै रुचिकर मान्थे ।
यति हुँदाहुँदै विद्यार्थीहरु केही नयाँ सुन्न चाहन्थे । पुरानो कुरा सुन्दासुन्दा उनीहरु थाकिसकेका थिए । त्यसैले नयाँ घटना सुन्ने तिनको चाहना जायज थियो । त्यो परीक्षामा सोधिने होस् वा नहोस्, पाठ्यक्रमभित्रको होस् वा बाहिरको ।
सैँजु सरलाई तिनले सबैभन्दा नजिकको समयको इतिहास र त्यसले हालको समयको समाजलाई पारेको प्रभावबारे पढाउन पटकपटक अनुरोध गरेका थिए ।
एकछिन त सैँजु सरले मानेनन् ।
‘तिमेर्ले पाठ्यक्रममा रहेका विषय नै पढ्नु उचित हुन्छ । अन्य कुरा जानेर परीक्षामा पास होइने होइन,’ उनले भने, ‘पहिला परीक्षा राम्ररी पास गर, त्यसपछि आफ्नो रुचिअनुसारको इतिहास पनि अध्ययन गर ।’ यति भनेपछि उनी उही थोत्रो इतिहासबारे कुरा गर्न पनि रोकेर चुपचाप बसे ।
विद्यार्थीहरुले आफ्नो अनुरोध पुनः दोहो¥याए । अन्ततः सैँजु सर बाध्य भए ।
‘म एउटा समयको यथार्थ घटना बताउँछु, तर त्यसले समाजलाई के असर पार्यो वा आगामी दिनमा कस्तो प्रभाव पार्ला भनेरचाहिँ मलाई नसोध नि ! म जेजे भन्छु, त्यहीमात्रै सुन । प्रतिप्रश्न गर्न पाउँदैनौ नि हुन्छ ?,’ सैँजु सरले विद्यार्थीहरुलाई बाचा गराए । उनीहरु सबैले ‘हुन्छ सर’ भने ।
कक्षा कोठामा केहीबेर अनौठो मौनता छायो । विद्यार्थीले लामो श्वास तानेको पनि सुनिन्थ्यो, त्यसबेला ।
एउटा हात नभएका सैँजु सरले बाँकी अर्को हात बेस्सरी झट्कारे । गोलाकार पारेर हात घुमाए । आधाभन्दा बढी काटिएको, तर सर्टको बाहुलाले छोपिएको अर्को हाततिर आँखा लगाए । उनले आफ्नो पावरदार चश्मा केही माथि सारे । चश्मा नाकको डाँडीबाट फुस्क्यो । तर चश्मा डोरीमा बाँधेर अड्काइएका कारण भुइँमा खस्न पाएन ।
सैँजु सरले खुट्टा भुइँमा बजारे । उनको अनुहारमा एकखालको त्रासदी र आक्रोश एकैसाथ देखिन थाल्यो । उनी थुचुक्क मेचमा बसे । लामो श्वास तान्न थाले । उनलाई श्वास फेर्न निकै गाह्रो भएको थियो । खल्तीबाट इन्हेलर निकालेर चार–पाँच पटक मुखमा हाले ।
आँखा खुल्ला थिए, तर तिनले मौजुदा वस्तु वा विद्यार्थीलाई हेरिरहेका थिएनन् । तिनले कोठाको सिलिङ ताकिरहेका थिए । उनी कुनै इतिहासको सम्झना गर्दै थिए । त्यसपछि झन्डै एक मिनेट आँखा चिम्लिए सैँजु सरले । अनि बोल्न थाले ।
‘मानिसको जीवनमा सबैभन्दा सत्य, स्थायी र अवश्यम्भावी कुरो मृत्युबाहेक अर्थोक केही पनि हुँदैन । कमजोर इतिहास, सभ्यता, राजनीति, विचार लोप भएर जान्छ । सधैँ जित्नेको मात्र इतिहास लेखिँदैन, कहिलेकाहीँ हार्नेका पनि सुनौलो इतिहास लेखिएको हुन्छ । आतङ्क, त्रास र धम्कीपूर्ण राजनीति कहीँ पनि दिगो भएको देखिँदैन । मान्छेको मन जित्नेले नै संसार जित्दोरहेछ ।
सशस्त्र द्वन्द्वको आरम्भताका नै मजस्ता कतिपय शिक्षकले जागिर छाडिसकेका थिए । कतिपयले भने भनसुन गरेर अलि सुगम वा द्वन्द्वको कम असर परेको स्थानमा सरुवा मिलाएका थिए । म यहाँ एक जना मजस्तै र इतिहास नै पढाउने शिक्षकको प्रसङ्ग जोड्न चाहन्छु, जुन सन्दर्भ तिमेर्का निम्ति रुचिकर हुनसक्छ । अहिले मैले सन्दर्भ जोड्न खोजेको शिक्षकले पनि आफ्नै गाउँमा बस्ने र पढाउने काम गर्ने चाहना राखेका थिए । उनलाई अन्त जान मन लागेको थिएन । उनलाई आफ्नो थातथलोप्रतिको मोह यतिविघ्न थियो कि, ज्यानको बाजी राखेर पनि उनी अन्त जानै चाहँदैनथे । कलिला विद्यार्थी र तिनको भविष्य सोचेर उनी चिन्तित हुन्थे र सो विद्यालय छोडेर कतै नजाने निष्कर्षमा पुग्थे । उनलाई सबैभन्दा बढी अवोध बालबालिकाको हाँसो मन पथ्र्यो, त्यसैले उनी हँसाइहँसाइ पढाउन खप्पिस थिए । निश्छल बालबालिकाले हाँस्न पाउनु उनीहरुको नैसर्गिक अधिकार हो भन्ने लाग्थ्यो उनलाई ।
त्यो विद्यालय अहिले छैन, जसलाई तत्कालीन क्रान्तिकारीहरुले बम हानेर ध्वस्त पारिदिएका थिए । बम हान्नु केही घन्टा अगाडि उनी कक्षा १० का विद्यार्थीलाई इतिहास पढाइरहेका थिए । र, विषय थियो पञ्चायती व्यवस्थाको उदय र पतन । त्यसबेला उनी सत्ताको निरङ्कुशताबारे विद्यार्थीलाई बुझाइरहेका थिए । सत्ता कसरी निरङ्कुश हुन्छ र त्यस्तो निरङ्कुश सत्ताको कसरी पतन हुन्छ भन्नेबारे नेपाल र विश्वका अन्य केही मुलुकका उदाहरणसमेत उनी त्यहाँ दिइरहेका थिए । निरङ्कुश शासकलाई जनताले ढुङ्गाले हानेर, लखेटेर, किलाले घोपेर मारेका उदाहरण दिइरहेका थिए ।
अचानक एक दर्जनजति बन्दुकधारी जत्था कक्षा कोठाभित्र प्रवेश गरे र उनलाई पढाइरहन आदेश दिए । ती शिक्षकले निरङ्कुश र लोकतान्त्रिक पद्धतिबारे व्याख्यालाई अगाडि बढाए । त्यसैबेला पछाडिबाट एक जनाले बन्दुकको कुन्दाले उनको गर्धनमा हिर्काउँदै भन्यो, ‘हामीलाई निरङ्कुश भन्ने ? तँ पुरानो सत्ताको मतियार रहेछस्, अब जनवादी शिक्षा पढाउने बेलामा यस्ता कुरा पढाउने !’
‘अब जनवादी शिक्षा पढा, महान् क्रान्तिको कुरा गर्,’ अर्को व्यक्तिले उसैगरी बन्दुकको कुन्दाले हिर्काउँदै आदेश दियो ।
‘मलाई थाहा छैन के हो जनवादी शिक्षा,’ उनले जवाफ दिए, ‘त्यो कसरी पढाउने पनि म जान्दिनँ ।’
उनले पाठ्यक्रममा रहेको विषय मात्रै पढाएको अरु थप कुरा केही नभनेको र अन्य कुरा आफूलाई थाहा पनि नभएको भन्दै उनीहरुलाई सम्झाउन खोजे । तर उनीहरु सुन्न बिलकुलै तयार थिएनन् ।
अर्को एक जनाले उनको अनुहारमा कालो कपडाले छोपिदियो । त्यतिबेलासम्म विद्यार्थीहरु डरले कक्षा कोठाबाट बाहिर भाग्न थालिसकेका थिए । केहीबेरमै विद्यालयमा मौनता छायो । उनको कक्षामा पस्नुअघि नै उनीहरुले विद्यालयका अन्य कक्षा, प्रशासन, सुरक्षागार्ड सबै कब्जा गरिसकेका थिए ।
दुई–तीन राउन्ड गोली चल्यो । तर त्यो कसलाई हानियो उनलाई थाहा भएन ।
त्यहाँबाट उनलाई कुनै अज्ञात दिशामा उनीहरुले लगे । बाटोमा उनीहरु विभिन्न विशेषण दिएर गाली गरिरहेका थिए । बढीमात्रामा सामन्ती, सुराकी, जालीफटाहा, पुरानो सत्ताको मतियारजस्ता शब्द प्रयोग गरिरहेका थिए तिनले ।
‘अब सारा नेपाली जनताले चाहेको नयाँ जनवादी शासनसत्ता स्थापित हुन्छ बुझिस् मास्टर,’ एक जनाले भन्यो, ‘त्यसपछि बाँचिरहिस् भने तैँले पञ्चायती शासनको उदय र पतन होइन, संसदीय व्यवस्थाको उदय र पतनबारे पढाउनु पर्छ ।’ उनी केही बोलिरहेका थिएनन् । बोलून् पनि कसरी ! ‘अब मरिने भो’ भन्ने चिन्तामात्र थियो उनको मनमा । उनले आफ्ना परिवार, छोराछोरी सम्झन थाले ।
झन्डै २ घन्टाजति हिँडाएपछि एउटा कुनै घरभित्र उनलाई लगे । त्यसपछि उनको दाहिने हातमा कुनै धारिलो हतियारले हिर्काए । उनी त्यहीँ मुर्छा परे ।
उनको होश ३ दिनपछि खुलेको थियो । होश खुल्दा उनी सैनिक अस्पतालमा थिए । जहाँ उनको उपचार भएको थियो ।
उनको हात काटिदिएर बाहिर बाटोमा लगेर लडाइदिएका थिए क्रान्तिकारीहरुले । केही मिनेटको अन्तरमै सोही क्षेत्रमा गस्ती गर्न पुगेको सेनाको टोलीले उनको उद्धार गरेको थियो ।’
सैँजु सर अरु कुरा पनि गर्न चाहन्थे, विद्यार्थीहरु अझै धेरै सुन्न उत्सुक थिए । तर उनको स्वाँस्वाँ निकै बढ्न थाल्यो । उनलाई बोल्न पनि गाह्रो हुनथाल्यो । उनले फेरि खल्तीबाट इन्हेलर निकालेर मुखमा हाले । तर त्यसले काम गरिरहेको थिएन । उनको स्वाँस्वाँ कम भएको थिएन । उनी आँखा चिम्लिएर मेचमा थुचुक्क बसे । चश्मा खोले उनले ।
४५ मिनेटको कक्षाले सवा एक घन्टा खाइसकेको थियो । घन्टी लागेको पत्तो न त विद्यार्थी न त सैँजु सरले नै पाएका थिए । कक्षा अति शान्त थियो । विद्यार्थी अझै थप कुरा पनि सुन्न चाहन्थे । त्यसका निम्ति उनीहरु सानो आवाजमा अनुरोध पनि गरिरहेका थिए ।
हात छिनाइएको शिक्षक र सशस्त्र द्वन्द्वबारे पढाउँदा सैँजु सरको हाउभाउ र आरोहअवरोह अघिपछिभन्दा निकै बढी थियो । करिब १५–२० फिटको कोठामा सय पटक जति फन्को लगाएका थिए ।
‘कतै त्यो हात छिनिने शिक्षक तपाईं नै त होइन सैँजु सर ?’ एक जना विद्यार्थीले सोध्यो । त्यो प्रश्नमा अन्य विद्यार्थीले पनि सही थापे । प्रश्नहरु जोडिन थालेपछि एक शब्द पनि नबोलेका सैँजु सर फेरि बोल्न तयार भएनन् । बोल्नै चाहेनन् ।
बाहिर अर्का शिक्षक उभिरहेका थिए । आफ्नो समय पनि लिइदिएकोमा उनी केही रिसाएको जस्तो देखिएका थिए । सैँजु सरतिर उनले कर्के आँखाले हेरे, तर केही पनि भनेनन् ।
सैँजु सर दायाँबायाँ कतै नहेरी सोझै विद्यालयबाहिर रहेको कफी पसलमा गए । त्यहाँ उनले कडा कालो कफी र चुरोट मागे । अलि परतिर रहेको मेचमा गएर उनी बसे ।
चुरोटको लामो सर्को ताने, एकछिन मुखभित्रै राखे । र, केहीबेरमा धुवाँ गोलाकार पार्दै आकाशतिर फुके । विभिन्न आकार लिँदै अदृश्य बनिरहेको धुवाँलाई उनले एकोहोरो नियालिरहे । र, तुलना गर्न थाले आकारहीन बनिरहेको धुवाँ र आफू बाँचिरहेको जमिनको ।
rajen.parajuli@gmail.com
(स्रोत : विश्वन्युज डट कम )