कथा : सडक र मेरो युद्ध

~सगुन श्रेष्ठ~

झल्यास्स बिउँझिन्छु । मैनबत्तीको मधुरो प्रकाशमा कुनाबाट दृष्टि फ्याँक्छु । केहि पाउँदिनँ । खाली नीरव शून्य छ । प्रयासका क्रममा निरन्तरताको मरूभूमि निर्माण गरी केही पाउने आशा गर्छु । अहँ ! शून्यशून्यको गोलाद्र्ध छ त्यहाँ । अतीतका तितामीठा क्षणहरु सम्झिन्छु । कहिले मधुर मुस्कान आउँछन् भने कहिले युद्धको खड्ग देखा पर्छ । हुनत म पनि खुब स्वागत गर्थें मुस्कानलाई । चपाउथेँ, म्वाईं खान्थँे र पिउथँे उसका मादकताहरु । र त आउँदै छन् रङ्मङिएर यी क्षणहरु …. ।

मनमा कताकता घृणा जागृत हुन्थ्यो, अट्टहास फिँजिन्थ्यो आमाको मुहार आफ्ना अगाडि पाउँदा । जीवनका रथमा सारथीको कमी महसुस हुन्थ्यो । गुलाबको फूलमा सुगन्ध अनुपस्थित हुन्थ्यो । गगनका ताराहरु ओइलिन्थे । उनको मुहार आफ्ना सामु उपस्थित हुँदा । कहिलेकाहीँ सोच्थेँ आखिर उनको देन नै के बाँकी रह्यो मेरा लागि ? यही नाङ्गो सडकको बास ? अहँ, त्यस्ता पापीबाट संसार टेक्नुको कुनै अर्थ बाँकी छैन । आखिर सडक सडक नै हो । खाते खाते नै हो । मैले सडकलाई जतिसुकै सुगम भने पनि खातेसँग सडकको सरल चिनारी हुन्छ र जतिसुकै खातेले सुख अनुभूति गरे पनि ऊसँग सडकको इतिहास र परिभाषा हुन्छ । यी रातहरु खुला आकाशमा बिताउँदा कुनै निष्क्रियता छैन किनकि मेरो जीवनले सम्पूर्ण परिभ्रमण र परिक्रमणहरु पूरा गरिसकेको छ । असङ्ख्य ठण्डी र चिसा रातहरुका आभास पाइसकेँ । असङ्ख्य सडकहरुलाई आरामदायी ओछ्यान बनाइसकेँ । आखिर म एउटा खाते न हुँ । यही खाते, गाउँमा विप्लव थियो । गुरूआमाको प्यारो विप्लव । पल्लाघरे नरेदाइको प्यारो विप्लव । शान्तिकी प्यारो विप्लव अनि कान्छादाइको प्यारो विप्लव । यी सबैका प्यारो विप्लव भए पनि नरसिंह बाबाको होइन । पियक्कड बाबाको होइन । रगतको साइनो गाँसिए पनि व्यवहारको रगत अमिश्रित छ । अनेकौँ ठन्डी रात र प्लास्टिकका टुक्रा बिझेर ती रगत बगिसके । अब त केवल बाँकी छ खाते …. । प्लास्टिक टिप्ने खाते । सडककुनामा झोक्र्याएर खोक्ने खाते । सहरका कुनामा फालिएका रोटी टिप्ने खाते । स्कुलका विद्यार्थीलाई टुलुटुलु हेरेर बस्ने खाते । त्यस्तै जीवन सोच्ने खाते ।

अनायासै मन बरालिन्छ । पुनः सम्हालिन्छु । निशाको याद आउँछ । उही निशा, घरछेउकी । ठूला घरकी, पञ्चदाइको छोरी । कति मायाममता थियो उनमा । ‘विप्लव’ भनी रोटी र चाकु मुखमा हालिदिन्थी । सोध्थी ‘तिम्री ममीले चाकु ल्याइदिँदैन तिमीलाई ?’ म एकोहोरो उनको अनुहारतिर हेरेर टोलाइरहन्थेँ । उनका अनुहारमा आफ्नो हराएको भविष्य पाउथेँ ।

उनी भन्थी, ‘मेरा बाबाले त मलाई चन्द्रमा हुनुपर्छ भन्नुहुन्छ । तिमीलाई नि ?’

म पाउथेँ शून्य । उनी भन्दै जान्थी, ‘साँच्ची तिम्रा बाबा किन रक्सी खानुहुन्छ ? तिमी र ममीलाई किन पिट्नुहुन्छ ? मलाई त तिम्रो कत्ति माया लाग्छ । तिमी पनि पढ न । तिमी र म पढ्न सहर जाने ल …… ।’

अब भने म बाबाको पियक्कड रुप सम्झिन्छु । छ्या ! घृणा लागेर आउँछ मनमा । हजार टनको भारले किचिएर क्षतविक्षत भएको आभास हुन्छ । तर निशाको मप्रतिको स्नेह र ममता कत्ति पनि बिर्सन्नँ । साँच्चै निशा, म आएको छु । तिमीले भनेकी सहर आएको छु । तर पढ्न र तिमीलाई भेट्न होइन । तिम्रो माया पाउन होइन । खुल्ला गगनमुनिको निःशुल्क दृश्य बन्न । प्लास्टिकको देशमा परेड खेल्न । जुठा रोटीहरुलाई जीवन बनाउन । सोचाइको सीमाले डाँडा नाघे पनि, मनमा अट्टहासको भुमरी चले पनि म त्यही विद्रुप विगत सम्झन्थेँ र गिद्धे दृष्टि जीवनका रङ्गीन पलहरुमा सजाउँथेँ । तर यतिखेर म त प्लास्टिक टिप्न खोज्दै रहेछु । सोचाइले अक्क न बक्क छु ।

‘हेर न, ऊ ………….. खाते ………… कति फोहोरी हगि ? छ्या ! कस्तो गनाउने बासीरोटी खाइरहेको ।’ सुनिन्छ कानका पर्दाहरुमाझ । यस्ता लाखांैँ शब्दश्रवण भए पनि केही फरक पर्दैन । आखिर यो पनि तीमध्येकै एक थियो ।

‘हँ !’ म छड्के नजर लगाउँछु ।

‘आ ! नहेर त्यता, फोहोरी हो ………. । साँच्चै यी खातेहरु किन आउछन् सहरमा ……… ?’ कसैको शब्दश्रवण गर्छु । मेरो मनको भेल उर्लन्छ ।

अहँ, म निशालाई भेट्न आएको होइन । प्लास्टिकको संसारमा रङ भर्न आएको । खुला गगनको मित्र बन्न आएको अनि सडकका रात्री साँझहरुका पर्दा झार्न आएको । तर विडम्वना ! सम्पूर्ण जनमा खातेप्रतिको दृष्टिकोण फरक छ । साँच्ची, उनीहरु त कलेजका विद्यार्थी ……….. । अहा ! मेरो बाल्यसपना पनि यस्तै थियो ।

ममताका साथ उनीहरुतिर नजर लगाउन खोज्छु तर हजार टनको शक्ति आवश्यक पर्छ र हजार पावरको चस्मा आवश्यक पर्छ । मेरो हृदय भारी छ । मेरा शरीरका नशानशामा सडकका निरश छापहरु छन् । कसरी म उनीहरुतिर हेर्न सक्छु । तर जीवन, जीवन नै हो । आखिर मेरो जीवन सडक हो । सडकमा यत्रतत्र छरिएका रङ्गीन प्लास्टिक हो, जसको कुनै गन्तव्य हुँदैन । निरूद्देश्य बरालिएका बतासले जताजता उडायो उतैउतै उडिहिँड्ने प्लास्टिक ।

उनीहरु अझैँ बस पर्खिराखेका रहेछन् । फेरि गुन्जिन्छ उनीहरुका रङ्गीन स्वरहरु । तिनले स्पर्श गर्छन् मेरा कानका कडा जालीहरु, ‘आ ! निशा … ट्याक्सीमा जाऊँ क्यारे । यहाँ यस्तो गनाइरहेछ ।’

हँ ! म झल्याँस्स बिउँझिन्छु र नजर लगाउँछु । पुराना यादका रेखाहरु तन्किछन् । अचानक निशाले रोटी खुवाएकी, सँगै पढ्ने भनेकी सम्झनाहरु झाङ्गिएर आउँछन् । अँ, उनी उनै निशा थिई अथवा अन्य कुनै युवती । ठम्याउन गा¥हो भयो मलाई । पुनः प्रयत्न गरेँ उनलाई हेर्न । पातली, चस्माले नयन सजाएकी, राता टल्किने केश र कलेज–ड्रेसमा मस्त गफ हाँकिरहेकी । पुनः शङ्का उत्पन्न भयो । साँच्चै उनी निशा नै हुन् त ? आखिर उनी उनै निशा भए पनि तँ त खाते होस् सडक–जगतको ।

उनीहरु त्यस दिन ट्याक्सीमा गइसकेका रहेछन् । तर मैले भुमरीमा रात काटेँ ।

रविले पूर्वमा लाली चढाइसकेछ । रसिला किरणहरु क्षितिजका दियालो बाल्न तल्लिन देखिए । म भने कन्टेनरव्यस्तता अनुभव गर्छु । किनकि पुराना दृश्यचित्रहरु पुनःपुनः दौडिरहन्थे । तिनैमा जीवनका सच्चा अस्तित्व पाउन खोज्थेँ । आज पनि बेहोसी छु । यस्तैमा पुनः केही श्रवण गर्छु ‘ऊ ………. हिजोको खाते अझैँ यहीँ छ ! यसलाई चिसो पनि हुँदैन कि ?’

हिजोको तुलनामा आज केही नजिक छु दूरीमा होस् या नजरमा । तर निशाको यादमा भने कुनै फरक छैन । म पुनः प्रयास गर्छु । दुई हस्तले मुख ढाकी औँलाको दुलोबाट चियाउन खोज्छु तर चिन्न मुस्किल पर्छ । सायद नरम हात र खुट्टाहरुलाई चिन्न यो खातेले कसरी सक्छ ? तर पनि दुवै हस्त हटाई नजर लगाएँ ।

तिनै ममताका स्वरहरु गुन्जिए, ‘विप्लव ……….. विप्लव । ओ सोनी ! ऊ विप्लव जस्तो छ । अँ, तिमी विप्लव हौ ?’

म आश्चर्यचकित भएँ । यस दुनियाँमा कुनै दोस्रो विप्लव त छैन ? नत्र म त्यही पुरानो विप्लवलाई निशाले किन चिनिन ? यी सहरकी युवतीले चिनोस् पनि कसरी ? अब त विप्लव सडकको मित्र हो । प्लास्टिकका रङ्गीन रङहरुको परिचित मित्र ।

‘हँ, तिमी विप्लव नै हौँ ……… रामेदाइको छोरो ।’ उनले ठोकुवा गरिन् तर मैले केही बोल्न सकिनँ । बोल्ने हिम्मत पनि आओस् कसरी ? म त केवल साथी हो सडकको ।

‘म निशा, चिनेनौ ? ………. यता ठूलो घरको ।’

‘हँ !’ म एक्कासि झस्किन्छु । लाग्छ म म कुनै नवीन संसारमा उडिरहेको छु, नवीन जीवनको आगमनमा पथभ्रमण गर्दै छु, नवीन सारथीको संज्ञा पाउँदै छु । तर हैन, म उही खाते नै हुँ केवल सडकको ।

‘हँ ! विप्लव, ………. तिमी विप्लव हैनौ ? बोल न ………… कसरी यहाँ आयौ ? ……….. आजभोलि तिम्री ममी र बाबा कहाँ छन् ?’

म झल्याँस्स बिउँझन्छु । सतर्क हुन्छु । मेरो रगतसँग कुनै सम्बन्ध छैन । म फालिएको रगत हो । मलाई रगतसँगको कुनै सम्बन्ध चाहिँदैन । मनमा क्रान्ति उब्जिन्छ । त्यही क्रान्तिमा अघि बढ्ने कोसिस गर्छु ।

‘निशा जाऊँ बस आए जस्तो छ ………, को विप्लव ? यो खाते हो ………. मानिस होइन ।’ पुनः एकपटक गुन्जिन्छ मेरा भ्रमका पर्दा उत्रने गरी अनि जीवनका मेरूदण्ड टुट्ने गरी ।

तर मेरो साहस निरन्तर थियो । पुनः हेरेँ र शब्द गुन्जाए, ‘निशा ………. । निशा ……….. ।’ तर उनी हात हल्लाउँदै बसमा गइसकेकी रहिछे । दिनभरि उनका स्वरहरुको गुञ्जनको क्रम तीव्र रह्यो । यही तीव्रतामा रम्दै थिएँ ।

‘विप्लव ! विप्लव !! ………. तिमी किन यहाँ ।’ कताकताबाट आवाजका मलिन रेखाहरु कोरिन्थे र श्रवण हुन्थे । म झटपट यताउता नजर दिन्थेँ तर केही पाउन असमर्थ हुन्थेँ । पुनः प्रयासको भारी बिसाउन खोज्थेँ । कठिन हुन्थे यी कार्यहरु ।

यस्तैमा चित्कार गुन्जियो । कतिखेर मेरै अगाडि एउटा ठूलो बसले मान्छे किचिसकेछ । सबैजना झुम्मिए । खैलाबैला भयो । जब म त्यस भीडतिर लागेँ, एउटा नजरको सिकार भएँ ।

त्यहाँ त्यही युवती थिई, जसले मेरो खाते जीवनलाई विप्लवको नामले सम्बोधन गरेकी थिई । ओहो ! बसको ठक्कर अरु कसैलाई लागेको नभई त्यही निशालाई लागेको रहेछ । मलाई जीवनमा पहिलोपटक माया गरेर बोलाउने उनै निशाको शरीर बसको पाङ«ातल क्षतविक्षत थियो । जीवनमा अलिकता हरियाली टुसाउन लागेको थियो तर मुनामै चुँडियो । जीवन निरशबाट फेरि निरश बन्दै थियो ।

‘निशा ! ……….. निशा !!’ म शोकसागरमा डुब्न थालेछु तर निशा शून्य गगनतिर प्रस्थान गर्दै थिई । म खाते ……….. सडक ………. केवल खुला सडक, ऊ विशाल फराकिलो आकाश, जसको व्याप्ति मसम्म मात्र होइन, मभन्दा पनि पर–परसम्म विस्तारित थियो । उसको र मेरो बीचमा यही एउटा अन्तर थियो । आजसम्म कायम छ ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.