पौराणिक कथा : घृतान्ध ब्राह्मण

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा यज्ञदत्त नामक ब्राह्मण बस्दथिए । उनकी स्त्री नक्कचरी तथा परपुरुषासक्त स्वभावकी थिई । आफ्नो पतिको आँखा छली उसले घिउमा पुरी पकाएर जारपतिलाई दिने गर्दथिई । एक दिन उसको पतिले घिउमा पुरी पकाएको देख्यो । उसले आफ्नी स्त्रीसित सोध्यो– प्रिये, यो के पकाएकी ? यो कसलाइ दिने गरेकी छयौ ? मलाई साँचो कुरा भन ।

प्रत्युत्पन्नमति उनकी स्त्रीले भनी–यहाँबाट अलि पर देवीको एउटा मन्दिर छ । मैले देवीको व्रत लिएकी हुनाले विशेष प्रकारको पक्वान्न बनाएर देवीलाई अर्पण गर्नको निम्ति लैजाने गरेकी छु । यति भनेर ब्राह्मणी आफ्ना पतिको अगाडि घिउको पुरी पकाएर मन्दिरमा जान भनेर घरबाट हिंडी । उसले यस प्रकार आफ्नो पतिलाई विश्वास दिलाउन चाहन्थिई कि ऊ वास्तवमा मन्दिर नै जाने गरेकी छ । किनकि पहिले उसले पतिलाई मन्दिरमा गएर पुरी देवीलाई अर्पण गर्ने कुरो भनेकी थिई ।

देवीको मन्दिरमा गई पक्वान्न मन्दिरमा नै छाडी ऊ नुहाउन भनेर नदीमा गई । नदीमा उसले नुहाइरहेको अवसर छोपी अर्को बाटोबाट गएर पति मन्दिरको एउटा कुनामा गएर लुकिबस्यो । स्नानपछि ब्राह्मणी मन्दिरमा आई । गन्ध, धूप, अक्षता, पुष्प तथा नैवेद्य अर्पण गर्न थाली । पूजा सकिए पछि उसले देवीलाई प्रणाम गर्दै भनी– हे भगवती, यस्तो कुन उपाय गरूँ जसले मेरो पति अन्धो भइहालोस् ? आफ्नी स्त्रीको यस प्रकारको अनिष्टकारक प्रार्थना सुनेर ब्राह्मणले आफ्नो स्वर बिगारेर देवीको आवाजमा भने–यदि तिमीले दिनहुँ यसै प्रकार पक्वान्न तथा घिउमा पकाएको पुरी ख्वायौ भने मेरो कृपाले केही दिनभित्रै तिम्रो पति अन्धो हुनेछ ।

उसले भगवतीको आज्ञा अनुसार दिनहुँ घिउमा पकाएको पुरी तथा घिउ मिश्रित अन्य सुस्वादु पक्वान्न ख्वाउन थाली । केही दिनपछि ब्राह्मणले आफ्नी स्त्रीसित भने–प्रिये, मलाई के भयो कुन्नि, अचेल म आँखा राम्ररी देख्न सकिरहेको छैन । कतै हिंड्दा पनि छामेर हिड्नुपर्छ । उनकी स्त्री देवीको वर पूर्ण भएको कुरा ठानेर अत्यन्त खुशी भई । आफ्नो पति पूर्ण अन्धो भएको कुरा जारपतिलाई पनि सुनाई । यो कुरा सुनेर उसको जार पतिले यो बाहुन त अब अन्धो भइसक्यो, अब यसले मेरो केही बिगार गर्न सक्दैन भन्ने कुरा बुझेर आश्वस्त भई नि:शड्ढ बाहुनको घरमा आउन थाल्यो । एक दिन ऊ नि:शड्ढ भएर घरभित्र छिर्न थाल्दा ब्राह्मणले उसलाई समातेर लाठी, मुक्का तथा लातले हानेर मारिदिए तथा आफ्नी स्त्रीको नाक कान काटेर घरबाट धपाइदिए ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.