~केदार शर्मा~
एउटा किसानका तीन जना छोराछोरी थिए। जेठी छोरीको बिहे सानैमा भएको रहेछ। किसानलाई छोरीलाई नपढाइ बिहे गरिदिएकोमा पछुतो रहेछ।
दोस्रो सन्तान छोरो रहेछ। अलिअलि पढेछ र विदेशतिर काम गरेर गएर फर्किएर राम्रै बन्दोबस्त गरेर बसेको रहेछ। कान्छी छोरीले धेरै पढिछ र सरकारी अधिकृत भइछ।
किसानको अचानक मृत्यु भएपछि उनका सन्तानले बाबुको एउटा इच्छापत्र फेला पारेछन्। त्यसमा उनले आफ्नो सबै सिरिसम्पत्ति छोराछोरीका नाममा भाग मिलाएर छुट्याइदिएका रहेछन्।
इच्छापत्रमा एक ठाउँमा लेखिएरको रहेछ, “मैले बाख्रा पालेर नै गरिखाएको हुँ। मेरा बाख्रालाई राम्ररी स्याहार गरेर पाल्नू र समयमा बेच्नू। ठूली छोरी खेतीकै काम गर्छे, उसले ठ्याक्क आधा बाख्रा लिनू। छोराले एक तिहाइ बाख्रा लिनू। कान्छीलाई बाख्रा पाल्न सजिलो छैन, तर पनि बाबुको चिनु ठानेर उसले नौ भागको एकभाग बाख्रा लिनू।”
इच्छापत्रमा त्यस्तो लेखिएको देखेर किसानका छोराछोरीले बाख्रा बाँड्न खोज्दा भने हिसाब मिलेनछ किनभने बाख्रा १७ वटा रहेछन्।
बाख्रा बाँड्ने हिसाब नमिलेपछि उनीहरू गाउँका मुखियाकहाँ गएछन् र आफ्नो समस्या बताएछन्। मुखियाले एकछिन गमेर उनीहरूलाई एउटा बाख्रो दिएछन्। १८ भएपछि हिसाब मिल्छ भनेर उनीहरू बाख्रा बाँड्न गएछन्।
जेठी छोरीले आधा, अर्थात् नौ वटा बाख्रा लिइछ। छोराले एक तिहाइ, अर्थात् छ वटा लिएछ। कान्छी छोरीले नौ खण्डको एक खण्ड अर्थात् दुईवटा बाख्रा लिइछ।
सबै खुसी भएछन्। तर मुखियाको बाख्रो भने उब्रिएछ र उनकै घरमा पुर्याइदिएछन्।
(स्रोत : शिक्षक मासिक)