~हरि अधिकारी~
मुक्तछन्द लामा-कविताको क्षेत्रमा नाम कमाइसकेकी स्रष्टा तोया गुरुङ यसपटक एउटा गद्य-रचनासंग्रह लिएर पाठकका बीच आएकी छन् । “कुसुम” नाम दिइएको २६ थान स-साना गद्यको संग्रहलाई लेखकले कथासंग्रह भने पनि यीमध्ये झन्डै सबै रचना आत्मपरक निबन्धजस्ता लाग्छन् । संग्रहको नाम रोजिएको रचना ‘कुसुम’, ‘चिरीकाजी’, ‘जाइपुरी’ र ‘पराई’ आदिमा भने कथामा हुनुपर्ने केही तत्त्वको संयोजन गरएिको पाइन्छ । यिनका आधारमा यसलाई कथासंग्रह भनेको हो भने मिल्छ ।
नेपाली साहित्यमा लामा गद्य कविताहरूको रचना सुरु गर्ने कवि मोहन कोइरालालाई गुरुङले लगातार पछ्याउन खोजेको देखिन्छ- विम्ब-विधान, अभिव्यक्तिको भंगिमा र विषयवस्तुको चयन सबै प्रभागमा । गुरुङको पहिलो कवितासंग्रहको नाम सूर्यदह मोहन कोइरालाको प्रसिद्ध लामो कविता ‘सूर्यदान’सँग मिल्दोजुल्दो शीर्षक लिएर आएको छ भने उनको लामो कविता ‘धूपी’ कोइरालाको लामो कविता ‘लेक’को निकट छ । ‘धूपी’ र ‘लेक’ दुवैमा कविहरू बारम्बार प्रकृतिको काखमा पुग्न खोज्छन् र प्रकृति र मानिसको बीचको जटिल सम्बन्धको पडताल गर्ने प्रयत्न गरिरहन्छन् ।
कुसुम पनि गुरुङको पहिलेका कृतिभन्दा धेरै फरक छैन । पहिलो पठनमा सरलजस्तो लागे पनि गुरुङका रचना सहज बोधगम्य हुँदैनन् । गुरुङ जहिले पनि आफ्नै हृदयतिर फर्किन खोजिरहेकी हुन्छिन् । उनी मुखर हुन चाहन्नन् । आफ्नो वरपिरकिा स-साना वस्तु, घटना र सम्पर्कमा आउने सामान्य मानिसलाई माध्यम बनाएर उनी जीवन र जगत्को अन्वेषण गर्न चाहन्छिन् । तर, हरेकपटक उनी कुरा पुर्याएर भन्नुभन्दा संकेतमा बोल्छिन् र आफ्नो हृदय र दिमागमा खेलिरहने कुराको धमिलो चित्र मात्र कोरेर छाडिदिन्छिन् । यिनका रचना पढ्ने पाठक लेखकले के भन्न खोजेकी हुन्, नबुझेर प्रायः अल्मलिरहन्छन् । कतिपय रचनाका मामिलामा लेखकले खेलाँची मात्रै गरेको हो कि जस्तो लागेर पाठकले दिक्क मान्न पनि सक्छन् ।
कुसुममा संकलित रचनामध्ये अधिकांश गुरुङको घर भएको ठाउँ मीनभवन क्षेत्र, उनको छिमेक र काठमाडौँको पूर्वी काँठको पृष्ठभूमिमा रचिएका छन् । कथा भनेर लेखिएका यी रचनामा कथामा हुनुपर्ने आवश्यक तत्त्व नभएकाले यिनले पाठकलाई आख्यानले दिने आनन्द त दिन सक्दैनन् तर गुरुङले धेरैवटा रचनामा एउटा कुशल चित्रकारले पानीरंगमा राम्रो भू-दृश्यको चित्र कोरेझैँ परिवेशको चित्रमय चित्रण गरेकीले यी रचनाले बेग्लै आनन्द दिनेछन् । उनका कतिपय पात्र एउटा कथानकविहीन आधुनिक नाटकका चरत्रिविशेषझैँ झुलुक्क देखा पर्छन् र पाठकको मनमा एक प्रकारको कुत्कुती लगाएर गायब हुन्छन् ।
संग्रहको शीर्षक कथा ‘कुसुम’, ‘एनेक्स’, ‘आक्रमण’ आदि विदेशको पृष्ठभूमिमा लेखिएका रचना हुन् । स्रष्टा गुरुङ पति कुमार घलेको नोकरीका सिलसिलामा उनीसँगै केही समय श्रीलंकाको राजधानी कोलम्बोमा बसेकी थिइन् । विस्तारै विस्तारै गृहयुद्धको भुमरीमा फस्दै जान लागेको त्यतिबेलाको कोलम्बोको जनजीवनलाई नजिकबाट हेर्न, सम्झिन सफल गुरुङबाट त्यस मुलुकको दशा र दिशाका पृष्ठभूमिमा रचिएको राम्रो साहित्यको अपेक्षा गरनिु स्वाभाविक हो । तर, के कति कारणले गर्दा हो, उनले त्यस्तो कुनै रचनात्मक उपहार नेपाली साहित्यका पाठकलाई दिन सकेकी छैनन् ।
गुरुङको साहित्यलाई परभिाषित गर्न साह्रै गाह्रो छ । बुझ्न सजिलोजस्तो पनि, कठिनजस्तो पनि । समसामयिक नेपाली जनजीवनलाई हेर्ने र व्याख्या गर्ने उनको नितान्त मौलिक दृष्टिकोण छ । उनी प्रतिक्रियात्मक कहिल्यै पनि देखिन्नन् तर सँगसँगै अलिअलि गूढ र अलिअलि रहस्यात्मक लाग्ने किसिमले उनी आफ्ना कुरा भनिरहेकी पनि हुन्छिन् । यस संग्रहमा भएको अन्तिम रचना ‘सूर्यास्त’का केही पंक्ति उद्धृत गरेर म गुरुङको पृथक् धारको रचनात्मक भंगिमाको आनन्द लिन पाठक-वर्गमा अनुरोध गर्छु ः
‘म यहाँनिर आएर एउटा मौरीको सेप्टो मृत्यु कुल्चेँ । झ्यालढोकाहरूमा जाली थियो । कसरी मौरी मृत्युवरण गर्न यहाँ आइपुग्यो ।
साँझ पर्न आँटेको छ । सर्ग कराउँदैछ । पल्लो घरमा दिनमा तीनपटक जस्तो पानी चढाउने गर्छ टैंकीमा । पानी चौरमा पोखिन्छ थुप्रै । काठमाडौँमा पानीको हाहाकार छ । हुनेलाई हाहाकार छैन । घरमा पोखरी छ पौडने पोखरी । ठाउँठाउँमा वनस्पति घिउका बट्टाहरू छन् । त्यो बट्टामा पानी अटाउनु छ । त्यही बट्टाको पानीले भातभान्सा गर्नु छ । जलस्रोतको धनी वाग्मती विष्णुमती सबै छ । पूजाआजा रीतिरिवाज गंगा यमुना सबै । कोसी, कर्णाली, महाकाली सबै छन् नदीहरू । जलराशि ।
जर्किनहरू, बट्टाहरू लाइनै थुपार राख जाओ धारा नजिक या टैंकी नजिक, सबै कराउँछन् । खोले खानुपर्छ । नभएको पैसा खर्च हुन्न तरकारीमा सागपातमा । अन्नको रसले दिएको स्वाद र शक्तिले काम गर्नुपर्छ ।’
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४७३)