~गणेश खड्का~
पात्रहरु :
१) बौद्द भिक्षु
२) युवक ( प्रभाकर )
३) युवती ( अनामिका )
४) युवक २
५) बृद्द
६) पत्रीका व्यापारी
( दृष्य – १ )
*
स्थान: एक गुम्बा
समय : बिहान
बातावरण : ( बिहान भए पनि कालो बादल लागेकोले अँध्यारो छ । गुम्बाको चारैतिर मानव चित्कारको कोलाहल सुनिन्छ । गुम्बा परिसरको एक छेउमा एउटा वेवारिसे लाश देखिन्छ । अर्को छेउमा एक युवक चुरोट तान्दै झोक्राइरहेकोछ । एउटा बौद्द भिक्षु हातमा दियो बोकेर गुम्बा परिक्रमा गर्दै – ॐ मानेपेमे … ॐ मानेपेमे … अलापिरहेकोछ । अचानक उसका आँखा गुम्बाको अग्र भागको एक छेउमा पुग्छन् । भिक्षु आश्चर्य चकित हुन्छ । )
*
भिक्षु :- ( अत्ताल्लिएर माला जाप्दै ) ॐ मानेपेमे)… ॐ मानेपेमे… हे भगवान ! के अनर्थ देख्दैछु एकाबिहानै यि आँखाले ? मान्छेको लाश… ? हेर चुर्लुम्मै रगतमा डुबेको … ? आलै जस्तो छ । कस्तो अपसगुन ? कस्तो घोर अनर्थ …? गुम्बाभित्रै मान्छेको हत्या दिनदहाडै ? कसले मार्यो होला यसलाई …? किन मार्यो होला ? के बिगारेको थियो यसले…? जसले यो मान्छेलाई मार्यो, के फाईदा भयो होला त्यसलाई ? कस्तो नौजवान युवक, कसको छोरो होला ? स्वास्नी छोराछोरी पनि थिए कि ? तिनिहरुको कत्ती बिल्लिबाठ भयो होला ? कठै,… च्व… च्व… च्व… । शान्ती पावस् बिचराको आत्माले । ( गुम्बाभित्र अवस्थित बुद्दको मूर्तितिर फर्केर )ॐ मानेपेमे… ॐ शान्ती । हे गुरु ! हे शान्तीका अग्र दूत ! यो कस्तो घोर अनर्थ भइरहेछ तिम्रो आँगनमा । तिम्रै आँखाको अगाडि तिम्रै सन्तानहरु यसरी ढल्न थालिसके । तिमीले शान्तिको बिउ छरेको धर्तिमा हिंसाका काँडेझाडीहरु झाँगीरहेका छन् । तिमीले स्नान गरेको पवित्र नदीहरुमा निरिह र निर्दोष मान्छेहरुको रगत बग्न थालेको छ आजकल । जङ्गलका चराचुरुङ्गी र जनावरहरु पनि बसाईं सर्न थालिसके । यो धर्ती पनि पिडाले काँपिरहेकोछ,आकाश रोइरहेकोछ,छटपटाइरहेकोछ असह्य बेदनाले । यो बुढो सगरमाथा पनि धेरै माथिबाट टुलुटुलु हेर्दै आँशु पुछ्न बाहेक केही गर्न सकिरहेको छैन । हे मानवताका शिखा ! हे अहिंसाका पूजारी ! हे शान्तीका सर्वोच्च नायक ! यहाँ मानवता दुखिरहेकोछ, यहाँ शान्ती छटपटाइरहेकोछ, यहाँ अहिंसा चाहर्याइरहेकोछ । त्यसैले अब आँखा खोलिदेऊ… ( लाशतिर देखाउँदै ) यि हेर, के यो दर्दनाक स्थिती तिम्रा आँखा ले निसंकोच हेरिरहन सक्छन् ? तिमीले सिकाएको अहिंसाको पाठलाई अपमान गरेर तिम्रै काखमा यती बिघ्न निर्मम र बर्बर हिंसा भइरहेकोछ । त्यसैले म एउटा भिक्षु,तिम्रो सच्चा शिष्य यही एउटा भिक्षा मागिरहेकोछ । ब्यूँझिदेउ एक पटक,सिर्फ एकपटक र छरिदेउ एकपटक फेरी यि अज्ञानीहरुका सबै इन्द्रियमा दिब्य ज्ञानको ज्योति, पोखिदेऊ शान्तिका किरणहरु यो जगमा… । ( फेरी छेवैको युवकतिर लम्किंदै ) ॐ नमो बुद्दाय… ॐ शान्ती… बाबु ! तिमी को हौ ? यती धेरै अगाडिदेखी मूर्तिवत यहाँ बसिरहेका छौ, यो बेवारीसे लाशका सम्बन्धमा केही जानकारी छ तिमीलाई ?
*
युवक : ( चुरोट तान्दै ) यही अनविज्ञता र जिज्ञासा म तपाईं समक्ष राख्न चाहन्छु । यस सम्बन्धमा तपाईं जती जानकार हुनुहुन्छ, म त्यसको एक कण जती पनि छैन । किनकी धर्तिमा उज्यालो खस्नु अगावै घटना भइसकेको हुनुपर्दछ । यसर्थमा बरु तपाईंलाई नै थाहा हुन सक्छ ।
भिक्षु : घटनाको पूर्व प्रकृति मलाई थाहा छैन । जतिबेला मैले थाहा पाएँ, त्यतिबेला मेरा यि आँखाले सिर्फ ढलेको लाश मात्र देखेको हुँ, जुन अहिले तिमीले पनि देखिरहेका छौ ।
*
युवक : घटनाको यो बिन्दुभन्दा अघिल्लो श्रीङ्खला कसरी घट्यो, त्यो त तपाईंलाई थाहा होला नि ?
भिक्षु : अँ हँ … त्यो पनि केही थाहा छैन मलाई ।
युवक : त्यसो भए आज राती तपाईं गुम्बामा बस्नुभएन ?
भिक्षु : बस्न त गुम्बामै बसेको थिएँ, केहीबेर ध्यानमा मग्न भएँ, त्यसपछी बिश्राम सँगै भुसुक्क निदाएछु, बिचमा केही थाहा भएन । बिहान उठेर हेर्दा यस्तो घोर अनर्थ देख्नुपर्यो ।
युवक : सम्भवत यो घटना रातको अन्तिम प्रहरमा घटेको हुनुपर्दछ र शायद यो घटना गुम्बाभित्र नभएर यतै कतै नजिकै छेउछाउमा भएको हुनुपर्दछ ।
भिक्षु : तर यो लाश ?
युवक : घाइते अवस्थामा ऊ भगवानको शरणमा छटपटाउँदै आएको हुन सक्छ र भगवानको काखमा उसले प्राण त्यागेको हुन सक्छ ।
भिक्षु : ( लामो सास तानेर ) धन्य भगवान ! बिचराको आत्माले शान्ती पाओस् । ॐ शान्ती… ॐ नमो बुद्दाय… ॐ मानेपेमे… अँ त बाबु, तिमी हेर्दा निक्कै भलाद्मी र चिन्तित मुद्रामा देखिन्छौ । को हौ तिमी, के चिन्ता छ तिमीलाई ?
युवक : म समयसँगको पौंठेजोरीमा नराम्ररी पछारिएको मान्छे हुँ । आफ्नो जिन्दगीदेखी आँफै डराएर भागेको मान्छे हुँ म । आफ्नै जीवनको अर्थ नभेटेर भौंतारीईरहेकोछु म ।
भिक्षु : के भयो तिमीलाई त्यस्तो ?
युवक : म लुटिएकोछु, म ठगिएकोछु, जिन्दगीले मलाई नराम्रो गरी धोका दिएकोछ । ( लाशतिर देखाउँदै )मान्छे यसरी अकालमै मर्दैछन् र मारिदैछन् । म त मर्न चाहन्छु र पनि मर्न र मारिन सकिरहेको छैन । नियतिले ममाथी ठुलो अन्याय गरिरहेकोछ ।
भिक्षु : तन्नेरी छौ, वलिष्ठ छौ, जोश र जाँगर लिएर जीवनपथमा हिँड्नुको सट्टा किन हिम्मत हार्दैछौ ?
युवक : तन्नेरी र वलिष्ठ त त्यो मुर्दाको रुपमा ढलिरहेको युवक पनि थियो । हुन त त्यो बाँच्ने रहर हुँदाहुँदै मारिएको हुन सक्छ । तर मेरो संसार त्यती सुन्दर छैन । मेरो मुटु कालेजो लुटिएकोछ, मेरो सर्वश्व अपहरण भएकोछ, छियाछिया भएर मेरो मन मुटु भग्न भएकोछ । म केही भएर पनि केही हुन सकिरहेको छैन । कुनै अस्तित्व र छवी छैन मेरो । मेरो चारैतिर खाली खाली छ, खोक्रो खोक्रो छ ।
भिक्षु : परिस्थितीसँग मुकाबिला गर्ने साहस गर्नुपर्दछ तिमीले । हरेक समय सधैं एकखालको हुँदैन । हिजो, आज जस्तो थिएन र भोली, आज जस्तो पक्कै हुनेछैन । तसर्थ तिम्रो जीवन भोली फूल्न पनि त सक्छ नि ।
युवक : समयका हरेक शर्तहरुसँग सम्झौता गरिसकें मैले । समयको गर्भभित्र जती पनि प्राणीहरु छन्, हरेकले हरेकलाई मास्न खोजिरहेका छन् । मान्छेहरुभित्र मानवताको पर्खाल भात्किएको छ । प्रेमको दियी निभिसकेकोछ । यहाँका एक एक प्राणीहरु त्यसमा पनि मान्छेहरु कुटिल र घिनलाग्दो स्वार्थको दलदलमा भासिएका छन्, कहिल्यै नानीस्किने गरी । मान्छेद्वारा सताइएको मान्छे हुँ म । मेरो चारैतिर मान्छेले थापेको धोका र विश्वासघातका एम्बुसहरु छन् । जीवन मर्नु बाँच्नुको दोसाँधमा भिरको चिण्डो भएर छटपटाइरहेकोछु । जीवन र मृत्युमा केही भिन्नता छैन यहाँ । स्वार्थी र दमनरुपी मान्छेको समाजमा प्राणलाई खुकुरीको धारमा राखेर अनर्थ जिउनु भन्दा मृत्युको अर्को लोकमा शान्ती पाउने आशा गरेकोछु मैले । त्यसैले यस्तो अभागी,घिनलाग्दो,उराठ र उदास जीवनभन्दा मृत्यु नै बढी उत्तम ठानेकोछु मैले ।
भिक्षु : मान्छेले चाहेको बेला मर्ने र चाहेको बेला बाँच्ने गर्न सक्ने भए शायद श्रष्टाको नीती नियम र भगवानको अस्तित्व यो संसारमा रहने थिएन होला । मान्छेको आयु,जीवन र मृत्यु त उसले जन्मदै लिएर आएको हुन्छ । यो सब भगवानको खटन हो । मान्छेले आफ्नो कर्म अनुसारको फल पाउँछ । राम्रो काम गर्नेले राम्रै पाउँछ र नराम्रो काम गर्नेले नराम्रै । भगवानका आँखा सबैका लागि समान छन्, भगवान ले सबैलाई सही मार्ग निर्देशन गर्दछन् । बाटो छोडेर कुबाटो हिंड्न खोज्ने र हिंड्नेलाई पनि भगवान ले हरेक तरिकाले सुझाव र चेतावनी दिएका हुन्छन् । त्यो दिव्य हुन्छ, बुझ्न सक्नु पर्दछ । त्यती हुँदाहुँदै पनि कुकर्म नै गरिरहने र खराब बाटो नै हिँडिरहनेले भगवानको सजायको भागी बन्नै पर्दछ । तिमी किन आत्तिन्छौ ? भगवानमा विश्वास राख, दु:खमा आत्तिने र सुखमा मात्तिने कहिल्यै नगर । इमान्दार र बफादार बन, भगवानले तिम्रो रक्षा गर्नेछन् ।
( भिक्षु ॐ मानेपेमे … ॐ शान्ती,… ॐ नमोबुद्दाय .. भन्दै माला जप्न थाल्दछ । युवक फेरी चुरोट सल्काउँछ, र केही सोचे झैं एकोहोरिन्छ । कालो बादलको मुस्लो झन मडारिन्छ,मानौ रात जस्तै अन्धकार हुन्छ त्यहाँ । यसैबिच एक पागल चिच्याउँदै प्रवेश गर्छ । )
*
पागल : खबरदार… ! यहाँ कसैले कसैलाई मार्न पाउने छैन… । ( युवकतिर हेर्दै ) एई… तँलाई के भो ? पिर परेकोछ ? किन बोल्दैनस् ? चुरोट खाको ? खै ले मलाई पनि । किन एक्लै खान्छस् ? कती खान्छस् एक्लै ? अझै अघाइनस् ? होइन, किन बोल्दैन यो ? के तेरो पनि भाई मर्यो ? के तेरो भाईलाई पनि तिनिहरुले मारे ? के तेरी स्वास्नीलाई पनि अपहरण गरे ? के तेरी अर्धाङ्गिनीको पनि बलत्कार गरेर हत्या भयो ? के तेरी मायालु पनि तँलाई छोडेर गई मलाई जस्तै ? तेरो प्रेम खोसियो ? ( युवक अझै बोल्दैन ) होइन, किन बोल्दैनस् हँ तँ ? कि यो मान्छे होइन… ? मूर्ती पो जस्तो छ । ( गलल हाँस्छ र एक्लै फतफताइरहन्छ ) थुइक्क… म पनि कस्तो नबोल्ने मुर्ती सँग पो गफ गरिरहेको रहेछु । ए तँ राम होस् ? कृष्ण होस् ? महादेव होस् ? कि अल्लाह होस् ? कि यशुख्रिष्ट होस्… ? होइन, होइन तँ बुद्द होस् । किनभने गुम्बामा तँ बस्छस् । हे भगवान ! मलाई माफ गरिदेउ । सारा चिजहरुको हत्या भइसक्यो । खाली मेरो खोक्रो शरीर मात्र बाँकी छ । बिन्ती चढाउँछु प्रभु, ति राक्षसहरुले गर्नु गरे । ( रिसाउँदै ) ए यो त भगवान होइन जस्तो छ । ( युवक अर्को चुरोट सल्काउँछ ) फेरीचुरोट पो सल्कायो यसले त… । यसलाई पनि पक्कै ठुलै पिर परेजस्तो छ । तेरो पनि भाई,स्वास्नी मेरो जस्तै हो…? पख्, अब हामी दुबै मिलेर खोजौं । ( छेउको लाशलाई देख्छ र चिच्याउँदै ) एई,… यता हेर तेरो भाई यहाँ रहेछ । आरामले सुतिरहेको रहेछ । आइज, उठाऔं र लैजाऔं । ( लाशलाई चलाउँछ,छाम्छ, सुम्सुम्याउँछ र फेरी चिच्याउँछ ) भेटें… मेरो भाई भेटें । यो तेरो भाई होइन, मेरो भाई हो बुझिस्… । ( उठाउन खोज्दै ) उठ् मेरो भाई, कहाँ गएको थिस् मलाई छोडेर ? तेरी भाउजु खोइ ? ( शरीरभरी रगत देख्छ र झन् चिच्याउँदै ) तँलाई कसले यो हालत बनायो मेरो भाई ? तँ कती दिन देखी वेवारीसे छस् हगी ?
तेरो लाशलाई उठाउने मलामी सम्म पाइनस् हगी तैंले ? कसैले वास्ता गरेन हगी तँलाई ? ( युवकतिर हेर्दै ) यो हरिलट्ठकले केही सहयोग गरेन हगी तँलाई ? के गर्थ्यो, यो आँफै मरेतुल्य छ । तर तेरो आत्माले अवश्य शान्ती पाउनेछ, किनभने तेरो प्राण बुद्दको काखमा गएकोछ । तँ धन्दा नमान भाई, म तेरो लागि मलामी खोजेर ल्याउँछु । ( युवकतिर हेर्दै ) एई,… मेरो भाईलाई छोलास् नि ? म आउन्जेल त्यहीं बस्दै गर है ! ( पागल बाहिरिन्छ )
( पागलको प्रस्थानसँगै ठुलो आँधिहुरी चल्न शुरु हुन्छ, मेघ गर्जनसहित बिजुली चम्किन्छ । कालो बादल झन् बाक्लिंदै जान्छ । नेपथ्यमा गोला बारुद र बन्दुक पड्केको आवाज कानै फुट्ला जस्तो गरी सुनिन्छ । नेपथ्यबाटै हत्या… हिंसा… अपहरण… बलात्कार… शब्द सहित गुहार… गुहार… मान्छेको चित्कार सुनिन्छ । )
*
युवक : कस्तो अभागी पुस्तामा जन्मेछु म … अनि यि जबर्जस्ती बाँचेका मान्छेहरु । ( एक्लै गुनगुनाउँदै ) बुद्दको छातीमा बारुदको गन्ध आइरहेकोछ, शान्ती र अहिंसाको मुटुमा भाला रोपीईरहेकोछ जताततै । अशान्ती,कल,झगडा,वैमनस्यता,हत्या,हिंसा,अपहरण,बलात्कार… उफ्… युगले कती नमिठोगरी ठग्यो मलाई । त्यो पागल, बिचरा… मर्नुभन्दा बहुलाउनुको नियती स्वीकारीरहेकोछ जबर्जस्ती… । ( बम र मान्छेको कोकोहोलो झन् तिब्र सुनिन्छ । ) हे भगवान ! यहाँ फेरी के अनर्थ हुन लाग्यो… ? यो पृथ्वी नै किन भासिंदैन… ?? यो सारा जगत नै किन डुब्दैन… ???
( युवक २ को प्रवेश )
*
युवक २ : ( आत्तिंदै आएर युवक १ लाई समाउँदै ) गुहार… गुहार… लौ न म त बर्बाद भएँ । ए दाई, लौ न केही त गर्नै पर्यो ।
युवक १ : के भयो तिमीलाई ?
युवक २ : मेरो त सर्वश्व नै भयो नि दाई । मेरो अधिकार खोसियो,मेरो खुशी लुटियो । म पढ्न चाहन्छु, मा आफ्नै खुशीले हिंडडुल गर्न चाहन्छु, आफ्नो घरमा आनन्दले निस्फिक्री बस्न र रमाउन चाहन्छु म… ।
युवक १ : तर यो सब कसरी भयो जुन ? फलाकीरहेका छौ ।
युवक २ : घरबाहिर बन्दुक पड्काइयो, घरभित्र आगो लगाइयो,लुटिइयो,पिटीइयो,अपहरण गरियो… तर म बाँच्न चाहन्छु,भाग्न चाहन्छु… लौ न दाई केही गर्नु पर्यो ।
युवक १ : म केही गर्न सक्ने भए शायद, यसरी समयको कोर्रा खाइरहनु पर्ने थिएन होला । जाऊ,भगवानसँग गुनासो पोख ।
( यसैबिचमा फेरी एक बृद्दको प्रवेश हुन्छ । )
*
बृद्द : लौ न हजुर,… मेरो जहाज डुब्यो,मेरो उठिबास भयो । मैले आफ्ना छोराछोरी,बुहारी,स्वास्नी,खेत-बारी,घर-सम्पत्ती… केही भन्न पाइन, सबै तहसनहस भयो, सबै खरानी भयो । ( युवकतिर हेर्दै ) लौ न हजुर, अब के गर्ने होला ?
युवक १ : कतै तपाईंको पनि घरमा बन्दुक पड्काइएन ? आगो त लगाइएन ?
बृद्द : हो हजुर, मेरो बुढेसकालको लौरो भाँचियो,ओत लाग्ने छानो भत्कियो । मार्ने नै भए मै बुढोलाई मार्नु नि बरु ! किन मेरो खाउँखाउँ-लाउँलाउँ उमेरको छोरालाई मार्नु ? सत्यानाशै भयो नि प्रभु… !
युवक : व्यथा सबैको उस्तै हो । तपाईंको,मेरो, उसको, हामी सबैको… । समयले आज सबैलाई झटारो हानिरहेको छ अन्धाधुन्ध अन्धकारमा । त्यो क्रुर समयको निर्दयी ढुंगाले हिजो मलाई लाग्यो, आज तपाईंलाई लाग्यो र भोली उसलाई लाग्नेछ , तर लाग्छ सबैलाई अवश्य ।
युवक २ : आखिर किन यस्तो भइरहेछ ? जन्मेपछी बाँच्न पाउनु मान्छेमात्रको नभएर सारा प्राणी मात्रको नैसर्गिक अधिकार होइन र ?
युवक १ : यो सबै मान्छेप्रती मान्छेको रिस र डाहको उपज हो । बाँच्न त उनिहरु पनि चाहन्छन्, जसले अरु मान्छेको बाँच्न पाउने अधिकार खोसिरहेका छन् । तर मान्छेको बिबेक शुन्य भएपछी बहुलाउँदोरहेछ ।
बृद्द : यो धर्तिमा पापी नै पापीको साम्राज्य भइसक्यो । मान्छे नै मान्छेसँग मिल्न सकेन भने त्यो भन्दा बिडम्बना के हुन सक्छ र ? अब भगवान ले फेरी एकपल्ट अवतार नलीई हुँदैन यहाँ ।
*
युवक १ : वास्तवमा अब ईतिहासको पुनरागमन जरुरी भइसकेको छ । त्यो ईतिहास, जहाँ सत्य थियो, मानवता थियो,मेलमिलाप थियो । युद्द र बिरोध त त्यतिबेला पनि हुन्थ्यो तर त्यो युद्दमा बहुजन हिताय को सिद्दान्त छर्लङ्ग थियो । त्यो युद्दमा स्वार्थ थिएन,कप्ट्याईं थिएन अनि साम्प्रदायिकता थिएन । त्यहाँ एउटा भक्ती,अमरसिंह र भलभद्र मर्दथ्यो तर सिङ्गो जात,धर्म,सँस्कृतिको लागि अनि सिङ्गो भूगोल रक्षाको लागि मर्दथ्यो । स्थायित्व,शान्ती र अमनचयनको लागि लड्दथ्यो र बलिदानी हुन्थ्यो । जुन समस्त लोक हित को पक्षमा हुन्थ्यो । त्यो युद्दमा,त्यो मृत्युमा अनि त्यो प्राप्तिमा सारा जगतले गर्व गर्दथ्यो र अमरताको गीत गाउँदै शिर उठाएर जिन्दाबाद भन्दथ्यो । जुन ओजिलो गीत अहिलेको पुस्ताले पनि भुल्न सकिरहेको छैन । तर आजको युद्द… लडाईं… झगडा… ! भुस्याहा कुकुरहरु कुहिएको सिनोमा अझ भनौं एउटा किरा परिसकेको हड्डीमा लुछातानी गरिरहेका छन् । छ्या… ! सम्झिदा पनि घिन लागेर आउँछ ।
युवक २ : तर यो सब कसरी र किन भइरहेछ ? यसको समाधानको कुनै उपाय छैन ?
युवक १ : यहाँ सबै स्वार्थी र मतीभ्रष्टहरु मात्र छन् । समस्या बग्रेल्ती जन्माउँछन् तर समाधान खोज्नुको सट्टा खोंचे थापेर परिस्थिती चर्काउँछन् । बिष रोपेर अमृतको आशा गर्नेहरु, कटमेरो महत्वकांक्षाको बिजारोपण गरेर लंका जित्ने सपना देख्ने ठेट्नाहरु र अण्डा नै नफुटाई अम्लेट खान खोज्ने पाखण्डीहरु जबसम्म सखाप हुँदैनन्, तबसम्म जगतले यस्तै अपसगुन व्यहोर्नु पर्नेछ शायद… ।
*
बृद्द : तपाईं जस्ता विवेकी सन्तानहरु किन अरु पनि जन्माइनन् आमाले ? तपाईंले धेरै ज्ञानका कुरा गर्नुभो, के तपाईंहरु जस्ताको प्रयासले यो समस्या किनरा नलाग्ला ?
युवक १ : लाग्न सक्छ, तर यहाँ राम्रो कुरालाई समर्थन र सहयोग कहाँ हुन्छ र ? फेरी मैले त देखेको र भोगेको कुरा राखेको मात्र हुँ । त्यसमा पनि मेरो जीवन त झन् तपाईंहरुको भन्दा जर्जर छ, म आँफै पुरै रित्तिसकेको छु । मैले के गर्न सक्छु र एक्लैले ? यो समस्याको समाधानको लागि कि त यहाँ एकपटक बुद्द नै जन्मिनु पर्दछ कि त यहाँका मान्छेहरुमा बुद्दत्व भरिनुपर्दछ । ( यत्तिकैमा केही आवाज आउँछ, सबै चुप लाग्छन् । )
दृष्य – २
स्थान : उही
समय : त्यही
बातावरण : उस्तै
( भिक्षु आफ्नै धुनमा माला जप्दै ध्यानमग्न छ । बृद्द र युवक २ त्यहाँबाट अलप हुन्छन् । कालो बादल झन् उग्र हुँदै मडारिंदैछ । पानी अझ बढ्ला जस्तो छ । त्यसैले युवक १ गुम्बाको छेवैको पाटीमा चुरोट तान्दै केही सोचिरहेको भान हुन्छ । गुम्बाको वरिपरी र भित्र बलिरहेका दियोहरु हावाको झोक्काले केही निभ्दैछन् भने केही निभ्न खोज्दै फेरी बल्ने कोशीस गरिरहेका छन् । पहिले देखिएको युवक को लाश यथास्थानमै देखिन्छ । घरी-घरी गर्जने चर्को मेघ र बिजुली चम्काइले बातावरण लाई झन् भयावह बनाइरहेकोछ । )
*
युवक :- ( एक्लै गुनगुनाउँदै ) उफ्… मान्छेले मान्छेलाई मार्ने जमाना, चोर्ने जमाना, लुट्ने जमाना,घात गर्ने जमाना,अबिश्वासी जमाना… खै कस्तो जमाना हो यो ? नियतिको लट्ठी पनि कस्तो निर्दयी ? अबोध,निरिह र कमजोरहरु माथी नै बज्रिरहने निरन्तर । घडीको सुइ जस्तै अथक । मान्छेहरु बाँच्ने रहर हुँदाहुँदै पनि जबर्जस्ती मर्न विवश हुन्छन् । कोही भने मृत्युको ढोका सम्म पुगेर पनि फर्केर उही निरस जीवन जिउन वाध्य हुन्छन् । हरेक मान्छेलाई नियतिले ठगेपछी जीवन गलाको पासो बन्दोरहेछ । उफ्… मेरो मन किन भाँडिदैछ ? मेरो मनको मैदानमा किन मृत्यु र जीवनको दोहोरो भिडन्त भइरहेछ ? किन जीवन र मृत्यु एउटालाई रोज्ने साहस आएन ममा ? किन दिग्भ्रमित छ मेरो मन ? किन दुधको दुध पानीको पानी हुन सक्दैन म भित्रको मन ? दोधार र दोसाँधमा कतिन्जेल जिउने ? के पाउनु र गुमाउनु, सुख र दु:ख,उज्यालो र अँध्यारो हरेक जीवनको लागि श्रष्टाले सुम्पेको स्वभाविक श्रीङ्खला होइन र ? किन मेरो मन प्राप्तिलाई मात्र सर्वोपरी ठान्छ ? पिडा,बिरक्ती र दु:खाइ त जहाँ पनि ब्याप्त छन् नि । ऐश,आराम र खुशी मात्रै भयो भने पनि जिन्दगी जिउनुको के मज्जा आउला र ? त्यो युवक, जसको त्यती कलिलो किशोरावस्था छ, सर्वश्व नै लुटिंदा पनि ऊ अदम्य साहसका साथ समाधान खोज्न उत्सुक छ । त्यो बृद्द, जसको संसार चुर्लुम्मै डुबेकोछ र पनि अझै केही गर्नु पर्दछ भन्ने हिम्मत बोकेर हिंडेकोछ । आखिर त्यो पागल पनि त बहुलाउनुको नियती भोगेरै पनि बाँच्दैछ । बुद्द जन्मेको,राम जन्मेको,रावण जन्मेको अनि हिटलर जन्मेको पनि समय नै थियो । अनि यो पनि समयको एउटा पाटो रहेछ । त्यसबेला पनि मान्छे बाँचेकै थिए । श्रष्टाको बिधान अनुसरण गर्नुभन्दा अर्को बिकल्प कहाँ रहेछ र खै… ! ( लामो सास तान्छ । )
( यत्तिकैमा एक युवती चिच्याउँदै प्रवेश गर्छे । ऊ पनिले भिजेकिछे, उसको केशराशीबाट पानीका थोपा शरीरतर्फ झरिरहेका छन् । भिजेकोले गर्दा उसले लगाएको कपडा र मासुको सम्बन्ध नजिक देखिन्छ । भनौ, कपडा बहिर बाटै उसको शरीरका संबेदनशिल अङ्गहरु प्रष्टै देखिन्छन् । )
*
युवती : बचाऊ… बचाऊ… । ए, लौ न कोही छ यहाँ … ?
युवक : ( आवाज आएको ईलाकातिर हेर्दै नहेरी आफ्नै धुनमा बोल्दै ) यहाँ थुप्रै छन् । यो गुम्बा, ध्यानमग्न भिक्षु, बुद्द, एउटा वेवारीसे लाश र एउटा जिउँदो लाश पनि । त यो आवाज कुन लोक बाट ?
युवती : यही लोकबाट,यहीं बाट, तपाईंकै नजिक बाट । कस्तो निर्दयी र उदेक लाग्दो कुरा गर्दैहुनुहुन्छ तपाईं ? यो आवाज हृदयको दु:खाईबाट, आत्माको चित्कारबाट अनि यो आवाज तपाईं जस्तै मान्छेको मुटुको घाउबाट ।
युवक : के छ यो आवाजमा… ?
युवती : पश्चातापको आँधी… निरासाको भूमरी… अनि जीवनप्रतिको वितृष्णा… ।
युवक : ( आश्चर्य मान्दै युवतीतर्फ फर्केर ) कस्तो कुरा गर्दैछ्यौ तिमी ? बचाऊ,बचाऊ भन्दै जीवनप्रती गुहार पनि मागिरहेकी छ्यौ, अनि त्यही जिवनप्रती वितृष्णा पनि जाहेर गरीरहेकी छ्यौ ?
युवती : ( युवकलाई चिने झैं गरेर ) हँ,… प्रभाकर तिमी … ?
युवक : ( स्मृतितर्फ फर्कंदै ) यदी मेरो ठम्याई गलत नभए, ति… मी अनामिका हुनुपर्छ ।
युवती हो,.. हो… म अनामिका नै हुँ । ( उनी युवक को सामुन्नेमा जान्छिन् । )
युवक : अनि किन आयौ त यहाँ ?
युवती : म जीवन र मृत्युको दोसाँधमा छटपटिदै भौंतारीईरहेकी थिएँ, शायद गलत ठाउँमा आइपुगेछु ।
युवक : त्यसो नभन अनामिका, तिमी एकदम सही ठाउँमा आएकी छ्यौ ।
युवती : तर म मर्न चाहन्छु ।
युवक : मर्न त म पनि चाहन्थें, तर अब बाँच्न चाहन्छु ।
युवती : फेरी कस्तो कुरा गर्दैछौ तिमी ? मर्नु र बाँच्नु दुई बिपरित ध्रुब हुन् । मर्न चाहन्थ्यौ र फेरी बाँच्न चाहन्छौ, के अर्थ छ यसमा ?
युवक : तिमीसँगको बिछोड पछी ममा जीवनप्रती निराशा छायो । जीवन उदास,उराठ र निराश लाग्न थाल्यो । समाजका हरेक कुरालाई म घ्रिणा गर्न थालें, र समाजले पनि मलाई घ्रिणाको पात्र बनायो । जताततै स्वार्थ, घात,हिंसा,अशान्ती … जीवन झन् भद्दा र बेकार लाग्न थाल्यो । मन बुझाउने कोही भेटिन । देशका ब्वाँसा र समाजका धमिराहरुले मलाई सुखले बाँच्न पनि दिएनन् । मेरो घर पनि खोक्रो बनाइदिए । म घर मा बस्न सकिन, भर कसैको भएन, जीवनको अर्थ नै रहेन ।
युवती : अनि, अध्ययन कहाँ पुर्यायौ ?
युवक : के अध्ययन को कुर गर्छ्यौ ? जसको जीवन नै साँचो अर्थमा जीवन रहेन भने त्यसको अन्य कुरा र प्रगतीको के … ?
युवती : ( बिचैमा ) तर आज फेरी … ?
युवक : आज तिमीलाई देखेर, तिमीसँग भेट भएर बाँच्ने रहर जागेर आयो । जिन्दगीको अर्थ भेटे जस्तो लाग्दैछ ।
युवती : तर म तिमीभन्दा परकी भइसकेकी छु । तिम्रो र मेरो सामिप्यतामा ठुलो दुरी छ अब । म तिम्रो संसारबाट अलग्गीईसकेकिछु ।
युवक : त्यसो भए तिम्रो लागि सुन्दर संसार हुँदाहुँदै किन मर्न चाहन्छ्यौ ?
युवती : अहिले मेरो कुनै संसार नै छैन । न मेरो कुनै अस्तित्व र परिचय छ । तसर्थ, म यस्तो अर्थ बिहिन जीवन जिउनु भन्दा मर्न चाहन्छु ।
युवक : ( आश्चर्य मान्दै ) अनि तिम्रो श्रीमान ? घर परिवार ?
युवती : ( रुँदै ) भो प्रभाकर ! मलाई यहाँ भन्दा बढी नकोट्याउ । ममा सामर्थ्य पनि छैन, यो भन्दा अघी बढ्ने ।
युवक : तर तिमीले भन्नै पर्छ यथार्थ कुरा ।
युवती : मलाई धेरै कर नगर प्रभाकर । यदी तिमीले मेरो वास्तविकता थाहा पायौ भने, मेरो त हालत यस्तै हो , तिमी पनि दुखी हुन सक्छौ ।
युवक : तर त्यो सब सहन सक्ने सामर्थ्य छ ममा । किनकी मैले दर्जनौं दु:खका जङ्घारहरु तरीसकेकोछु ।
*
युवती : तिम्रो पवित्र प्रेमलाई लत्याएर म ... ( भक्कानिदै ) त्यो रघुवीर को कुरामा लागें । उसले मलाई जिन्दगीका अनेकौं असम्भव सपनाहरु देखायो । नाना तरह ले फकायो । उसका हरेक चकलेटी कुराहरु साँच्चिकै जस्तो लाग्यो मलाई । उसका कुराले म दिन प्रतिदिन गल्दै गएँ । अन्तत: मैले उसँग विवाह गरेँ । उसले मलाई कहिल्यै घरमा लगेन र देखाएन पनि । ( झन् भक्कानिएर रुँदै ) एकदिन उसले मलाई एकान्त जङ्गलको बिचमा रहेको एउटा घरमा लाग्यो । त्यहाँ उसका केही साथिहरु पनि थिए । रक्सीले मातेका उनिहरु सबैले मलाई सामुहिक बलत्कार गरे । त्यसपछी बेहोस भएछु । ब्यूँझिदा अस्पातलको बेडमा थिएँ, मलाई कसले त्यहाँ लाग्यो पत्तो भएन । म त्यहाँबाट भागें । धेरै पटक मर्ने कोशीस गरें तर कसै न कसैले बँचाए । भनेको बेला बिष पनि नपाईने रहेछ । महिनौ बितिसक्यो, रघुवीर कहाँ हरायो थाहा छैन । जिन्दगीमा गरेको सानो भूलले आज म आफ्नै जीवन देखी डराउन थालेकिछु । पश्चातापको आगोले मलाई जलाइरहेकोछ । ( रुन्छे )
*
युवक : तर तिमीले मलाई गरीब भनेर छोडेकी थियौ होइन ?
युवती : मन भन्दा धन ठुलो ठानेर स्वार्थी र महत्वकांक्षी बनें म । आडम्बरको खोल ओढेको पाखण्डी समाज मेरो आदर्श बन्यो । रघुवीरसँग विवाह गरेर भौतिक रुपमा सुखी र सम्पन्न बन्ने लालसाको भूतले मलाई समात्यो । रघुवीर सुन्दर पनि थियो र सतही रुपमा मेरो निम्ती उसले निक्कै पैसा पनि खर्च गर्यो । तर ति उसका सारा कृयाकलाप मलाई फसाउने चाल मात्र रहेछन् । तिमी त मेरो ईश्वर रहेछौ, मैले चिन्न सकिन । ( रुन्छे )
*
युवक : अनि त्यत्ती जाबो कामको लागि रघुवीर ले तिमीलाई मबाट खोसेको रहेछ ?
युवती : उनीहरुको आपसी कुराबाट एउटा छनक पाइन्थ्यो । बलात्कारपछी उनिहरु मलाई वेश्यालयमा लगेर बेच्न चाहन्थे ।
युवक : अनि तिमीले कुनै प्रतिकार गरिनौ ?
युवती : म त बेहोस भईहालेछु । फेरी ति दानवरुपी राक्षसहरुको अगाडि म एउटी अवला नारीको के जोड ?
युवक : देश र समाजका शत्रु सबै यस्तै प्रकृतिका हुन्छन् । नारीलाई मनोरन्जनको साधन,खेलको मैदान र क्रय-विक्रयको वस्तु ठान्ने नरपिशाचहरुको आँखा फुटाइदिएर,हात-खुट्टा भाँचिदिएर भाले गधाको हुलमा छोडिदिने कानुन बन्नु पर्ने । तर नारीहरु पनि कम दोषी त कहाँ छन् र… ?
युवती : अविवेकी नारीको एउटा उदाहरण त म नै भइहालें । ( मुन्टो निहुर्याउँछे )
युवक : त्यत्तिका दिन तिमी रघुवीरसँग बस्यौ , उसको कुनियतको अलिकती पनि संकेत सम्म पाइनौ तिमीले ?
युवती : उसले मेरा हरेक इच्छा र चाहना पुरा गरिरहेको थियो । त्यस्तो कुनै कुराको शंका र हेक्का भएन मलाई । थाहा पाएकै भए पनि मैले के गर्न सक्नु र ? म त उसको पन्जामा परिसकेकी थिएँ ।
युवक : ( रिसाएर ठुलो स्वरमा ) यही त छ तिमीहरु नारी जातिको कमजोर पक्ष र बिडम्बना । अंश र वंशका नारा उचालेर पारिवारिक कलहको बिउ रोप्छौ । नारा र भाषणमा नारी स्वतन्त्रता,अधिकार र आरक्षणको राग अलाप्छौ, तर फेरी आँफै बेचबिखनको साधन बन्छौ… ? यसरी कहिल्यै पनि नारीमुक्ती हुँदैन । नारीले आफ्नो क्षेत्राधिकार आँफैं निर्धारण गर्न सक्नुपर्दछ ।
युवती : ( रुँदै ) मैले यती अक्षम्य गल्ती गरेछु । म खाग बनिसकेकिछु पश्चातापको आगोले जलेर । म आँफैले आँफैलाई माफ गर्नु योग्य ठान्दिन । त्यसैले मृत्यु नै मेरो मुक्ती हो ।
*
युवक : मृत्यु र मुक्ती तिमीहरु जस्ताले गर्ने आधुनिक प्रेम जस्तो सस्तो छैन । फेरी हरेक मृत्युले मुक्ती पाउँदैन पनि । लोक हितको लागि वरण गरिएको मृत्युमा मर्ने र बाँच्ने दुबैले मुक्ती पाउँछन्, र यो सार्थक मृत्यु हो मुक्तिका लागि । तर तिमी त खाली तिम्रो नितान्त व्यक्तिगत स्वार्थका लागि मृत्यु चाहँदैछ्यौ । छोडिदेउ यस्तो बहुलट्ठी कुरा गर्न… । जिन्दगीको कठघरामा मृत्युको फैसला सुन्ने बलात्कृत रहर बोकेर म पनि उभिएको थिएँ । समयले फाँसीको सजाय सुनाइदिएको भए शायद त्यो मृत्यु प्राप्त गरिसकेको हुने थिएँ होला । समयसँगै बिचार पनि परिवर्तन हुँदोरहेछ मान्छेको । मलाई बाँच्ने रहर पलाउँदैछ तिमीलाई भेटेर / देखेर । फेरी तिमी चाँहीं किन… ?
युवती : ( प्रसङ्ग बदल्दै ) म जस्ती स्वार्थी आईमाईको नाममा किन आफ्नो जिन्दगीलाई बर्बादीको सम्झौता पत्रमा दस्तखत गर्न उद्दत भयौ तिमी ? तिमी जस्तो योग्य मान्छेले एक से एक असल युवती पाउँथ्यौ । राम्रो काम पनि पाउन सक्थ्यौ । पाउँदैनथ्यौ त ? किन नयाँ जीवनको नयाँ बाटो हिंड्न चाहेनौ तिमीले… ?
*
युवक : ( ब्यङ्ग्यात्मक हाँसो छोड्दै ) हँ,… योग्य मान्छेले आफ्नो योग्यतानुसारको काम पाउने भए किन बिद्रोहको आगो दन्किन्थ्यो यसरी ? अर्को कुरा, के तिमीले साँचो प्रेमलाई बजारमा बेच्न राखिएको शिलाजित ठानेकिछ्यौ ? जो छानी-छानी मनलागी गर्न सकियोस् । चोखो प्रेम एक जनासँग मात्र गरिन्छ अनामिका… ।
*
युवती : ( भावुक बनेर लामो सुस्केरा हाल्दै ) उफ्…. कती धेरै मायाँ गरेको रहेछौ तिमीले मलाई । कती गहिरो समर्पण भाव रहेछ तिम्रो म प्रती । कत्ती ठुलो भूल भएछ मबाट । ( रुँदै ) हे भगवान ! कत्ती पापिनी रहेछु म, अब झन् मैले मर्नै पर्छ ।
*
युवक : ( सम्झाउने कोशीस गर्दै ) बितेको समय र बगेको खोला कहिल्यै फर्केर आउँदैन र यिनीहरुसँग जिस्किने ध्रिष्टता पनि गर्नु हुँदैन । अब पश्चाताप मात्र गरेर के नै फाईदा छ र ? बरु जीवनको लागि एउटा नयाँ उत्तम बाटो रोज्नु नै श्रेयष्कर ठान्दछु म ।
युवती : म मर्न चाहने मान्छे, किन जीवनको लोभ देखाउँदैछौ तिमी ?
युवक : तिमी अघी यहाँ आउँदा जीवनकै लागि गुहार माग्दै आएकी थियौ, तर अहिले… ?
युवती : ( बिचैमा बोल्दै ) त्यतिबेला मलाई खराब आचरण भएका लफङ्गाहरुले लेखेट्दै थिए ।
युवक : ( हाँस्दै ) फेरी तिमी कस्तो बेढङ्गी कुरा गर्दैछ्यौ , मर्न चाहने मान्छे मृत्युसँग डराउँछ र… ? तिमीले नै भनेकी होइन ? बाँच्नु र मर्नु दुई ध्रुब हुन्, यिनीहरुको बीचमा केही समानता हुँदैन भनेर ?
युवती : हो, तर सास रहेसम्म डर भन्ने चिज रहिरहँदो रहेछ । फेरी मुक्ती, मृत्यु मा मात्रै देखेकी छु मैले ।
युवक : यदी तिमी साँच्चै मर्न नै चाहन्छ्यौ भने, यो डर भन्ने चिजले पनि मर्नु पर्दछ । नपत्याए हेर त, मुक्तिको लागि मृत्युसँग नडराउने योद्दाहरुको डर पनि युद्दको मैदानमा मरेको छैन र उनिहरुसँगै… ?
युवती : तर किन यस्तो हुन सकिरहेको छैन ममा ?
युवक : छोडिदेउ अब सारा बितेका कुरा । विगतलाई कोट्याएर किन वर्तमानलाई अंिल्याउन चाहन्छ्यौ ? किन भविष्य धमिल्याउन चाहन्छ्यौ तिमी ?
युवती : त म के गरौं ?
युवक : परिस्थितीसँग मुकाबिला गर्दै जीवन सङ्घर्षमा होमिदेउ आफुलाई ।
युवती : तिम्रो भनाइको मतलव के हो ?
युवक : मेरो मतलव फेरी अर्को जीवनको शुरुवात पनि त गर्न सक्छ्यौ नि तिमी ।
युवती : तर म त बाँच्नै चाहन्न र बाँच्नु हुँदैन पनि मैले । किनकी मेरो वर्तमान जती प्रदुषित र कलङ्कित छ, यदी म बाँचे भने मेरो भविष्य झन् बढी प्रदुषित र कलङ्कित हुनेछ ।
युवक : यसको खास कारण जान्न सक्छु म ?
युवती : तिमी समक्ष यो भन्न सक्ने आँट नै छैन मसँग ।
युवक : साहस बटुलेर भन ।
युवती : ( भन्ने साहस गर्दै ) म… म… म… । नाई… ! म भन्न सक्दिन ।
युवक : ( केही रिसाएको भावमा ) तिमीले भन्नै पर्दछ, कुरा के हो खुलस्त भन ।
युवती : नाई… ! यो कुरा, तिमी समक्ष मैले भन्दा पश्चाताप,लाज र डर ले एकैचोटी गाँज्छन् मलाई ।
युवक : हरेक सत्यको पर्दाफास एक दिन भएरै छोड्छ, चाहे त्यो जती नै तितो किन नहोस् । त्यसैले खास कुरा के हो अहिले नै भने वेश हुन्छ ।
युवती : यो सत्यको पर्दाफास हुनु अगावै मर्न चाहन्छु म ।
*
युवक : ( अलिक गर्जिएर ) मर्न त तिमीले अब यसै पनि पाउँदिनौ , किनभने तिम्रो अगाडि म उपस्थित छु । तर समय सँग जिस्किने ध्रिष्टता तिमीले गरिरहेकी छ्यौ नि, त्यो कहिल्यै सार्थक हुन सक्दैन । ( सम्झाउन खोज्दै ) किनभने समय कहिल्यै आँफैमा बेइमान हुन सक्दैन । चाहे त्यो विगत होस् वा वर्तमान या भविष्य नै किन नहोस् । उदाउँदो सूर्यको दिप्त आभा सँगै सम्भावनाको तरेलीमा रमाएको एउटा समय, र पहेंलो मन्द प्रकाशसँगै मानविय भावनामा घुर्मैलो बनेको सूर्यास्तको अर्को समय । समयको क्यानभास बिचित्रको छ । यसभित्र जती र जस्तो रङ्गको मसी पोखे पनि अन्तत: एउटा आकार निश्चित र निर्बिबाद बन्छ नै । त्यसैले तिमीले भन्न चाहेको कुरा चाँडो, अहिले नै भने बरु समय प्रतिको धर्म साबित हुनेछ ।
*
युवती : तर समय कहिलेकहीं अत्यन्तै लाजमर्दो तरिकाले आउँदोरहेछ ।
*
युवक : होइन, एकदम गलत । समयका हरेक मान्यतासँग मान्छे समाहित भएर बहन सक्नुपर्दछ । रुखको बोक्रा लगाउने पाषाण युगमा पनि मान्छेले समयप्रतिको मर्यादा धानेकै थियो । ती बेलाको समयले निर्दिष्ट गरेका आचरणहरु अनुशरण गर्नु त्यो बेलाको नैतीक शिक्षा थियो । एउटा युग मात्र एक पल्ट आउँछ । त्यो युग त्यतिबेला आफ्नै अस्तित्व बोकेर आयो, यो युग पनि अहिले आफ्नै मान्यता लिएर प्रस्तुत भएकोछ र भोलिको युग अर्कै भएर हामी सामु उपस्थित हुनेछ । तिमी समय सँग किन डराउँछ्यौ र लजाउँछ्यौ ? हरेक समस्याले जन्म लिँदा समाधानको उपाय पनि लिएर आएको हुन्छ । यदी हामी समयसँग चल्न सकेनौं भने हामीलाई समयले कोशौं टाढा हुत्याइदिनेछ । अनि जीवन झन् विषम हुन सक्छ ।
*
युवती : तर जीवन भोगाई र आदर्शमा धेरै भिन्नता छ ।
युवक : यो कुरा मैले पनि राम्ररी बुझेकोछु । किनकी जिवनबाट हारेर म पनि मृत्युको ढोका ढकढकाउँदै हिंडेको मान्छे हुँ । अनुभव र भोगाईमा म तिमीभन्दा माथी नै छु होला, तल होइन । तिमीलाई भेटेर मैले मृत्युको बाटो त्यागें भने तिमी चाँहीं किन… ?
युवती : तर म त साँच्चै मर्न चाहन्छु ।
युवक : फेरी उही कुराको पुनराब्रीत्ती भयो तिम्रो मुखबाट ।
युवती : म.. म.. म... ( उसको गला अबरुद्द हुन्छ । )
युवक : फेरी अर्को कुन रहस्यको उद्घाटन गर्न चाह्यौ ? अब यो भय,लाज र डर ले पनि मर्नु पर्दछ । छोड यो गम्भिर रहस्यको वाण… । किन एकोहोरो टार्न खोज्दैछ्यौ मलाई ?
युवती : मलाई युगले नसरापोस्… ।
युवक : युग आँफैमा निश्कलङ्क हुन्छ । त्यसैले भनिदेउ गाँठी कुरा के हो ?
युवती : मे… रो... ( फेरी रोकिन्छे )
*
युवक : ( रिसाएर कड्किंदै ) यो हद भयो अनामिका,… नबनाउ मलाई अब धेरै कठपुतली । तिम्रो गलामा के छ ? म निस्सासिसकें, छिटो खोलिदेउ त्यो रहस्य । चाँडो फुटाउ तिम्रो वाक्य… । नत्र भगवानले तिमीलाई फेरी सजाय गर्नेछन् ।
*
युवती : मेरो पेटमा अबैध बच्चा हुर्किरहेकोछ प्रभाकर… । ( बेस्सरी रुन्छे । )
( यत्तिकैमा ठुलो आवाजमा मेघ गर्जिन्छ, बिजुली चम्किन्छ,आँधीहुरी चल्छ । )
*
युवक : तिम्रो पेटमा बच्चा छ, अझ तिमी मर्न चाहन्छ्यौ ? आफु त मर्छ्यौ, तर पेटभित्र रहेको शिशुलाई पनि मार्न चाहन्छ्यौ ? के पाउँछ्यौ तिमीले यो निर्दोष भ्रुण हत्या गरेर… ?
युवती : तर म आमा बन्न चाहन्न ।
युवक : किन ?
युवती : किनकी यहाँ धेरै आमाहरुलाई ईतिहासले कलङ्कको टिका लगाइसकेकोछ । कयौं आमाहरु पश्चातापले तड्पिरहेका छन् । त्यसैले म फेरी अर्की कलङ्कित आमाको संख्या थप्न चाहन्न ।
युवक : के तथ्य छ तिमीसँग ?
युवती : तथ्य सबैको सामु छर्लङ्ग छ । ती तिमीले, मैले हामी सबले देखेका भोगेका छौं । नपत्याए हेर त,… तिनै आमाहरुले जन्माएका कपुतहरुले आमालाई धर्धरी रुवाएका ! आमाको कोखमै प्रश्न चिन्ह लगाउने कुलङघारहरुलाई जन्म दिनु भन्दा त… !
युवक : तर तिमीले यो बच्चालाई जम्न दिनै पर्दछ ।
युवती : मैले अघी नै भनिसकें नि… ।
( यसैवीचमा एउटा पत्रीका व्यापारीको प्रवेश हुन्छ )
*
पत्रीका व्यापारी : ( पानी परिरहेकोछ, प्लाष्टिकको आधा भागले टाउको र आधा भागले पत्रीका ढाकेकोछ । ख्याउटे शरीर एउटा हातमा पत्रीका हल्लाउँदै चिच्याउँदैछ )
लौ… आयो हजुर, ताजा खबर ! आज पनि राजाधनीको मुटुमै भिडन्त, तिस जनाको घटनास्थलमै मृत्यु, सयौं घाइते, सयौको अपहरण, मारिनेको संख्या अझै बढी भएको आशंका । लौ, पढिहाल्नुस् हजुर आजको ताजा खबर… ! ( प्रभाकर ले एउटा पत्रीका लिन्छ, पत्रीका व्यापारी एवम रितले कराउँदै अर्को दिशातर्फ मोडिन्छ । )
युवक : देख्यौ त अनामिका… ? यहाँ मृत्यु कत्ती सस्तो छ । अनि हेर यो पत्रीका व्यापारीलाई, कत्ती मिठो जीवन संघर्ष गरिरहेछ यसले ।
युवती : बाँच्न चाहने सबैले संघर्ष त गर्नै पर्दछ नि हैन र ?
युवक : यही कुराको आत्माबोध तिमीमा होस् भन्ने म चाहन्छु ।
*
( एक्कासी कालो बादल झन् मडारिएर आउँछ । आँधीहुरी सहित मुसलधारे वर्षा हुन्छ । चर्को आवाजमा मेघ गर्जिन्छ, बिजुली चम्किन्छ । नेपथ्यमा फेरी मानव पिडाको चित्कार सुनिन्छ । )
*
युवती : मलाई लाग्दैछ, यहाँ फेरी कुनै अनौठो र भयावह घटना घट्ला जस्तो छ ।
युवक : यसमा कुनै अनौठो कुरा छैन । किनकी यहाँका हरेक परिवेशको लागि हरेक खाले घटनाहरु स्वभाविक भइसकेका छन् । अनि यहाँका हरेक प्राणीहरु घटना घटाउन र घटनाबाट प्रभावित हुन अभ्यस्त भइसकेका छन् । फेरी मान्छेको जीवन घटनै घटनाको एउटा श्रीङखला त हो नि, होइन र ?
युवती : कसरी ?
*
युवक : मान्छे जन्मिन्छ त्यो पनि एउटा घटना हो । जीवनभरी अनेकौं घटनाहरु घटिरहन्छन् उसको जीवनमा । र अन्तमा उसको मृत्यु हुन्छ, त्यो पनि एउटा घटना नै हो । तिमी र मेरै कुरा गरौं न, हाम्रो जीवनमा कती घटनाहरु घटे होलान् । चिनजान, प्रेम, मिलन, बिछोड फेरी पुनर्मिलन… यो अन्तरालमा कती साना ठुला घटनाहरु घटे होलान् ।
*
युवती : त्यसैले त म पनि जीवनको अन्तिम घटना घटाउन चाहन्छु ।
युवक : फेरी उही अपसगुन अलाप्दैछ्यौ ?
युवती : त म के गरुँ ?
युवक : बाँकी जीवन हाँसेर बिताउने, सिर्जना र निर्माणमा खर्च गर्ने ।
युवती : तर यो एकदमै असम्भव छ ।
युवक : सम्भावनाको सानो फाँटमा प्रयासको एउटा बिरुवा रोपेर त हेर… !
युवती : फेरी यो पेटको…. ???
युवक : ( बिचैमा बोल्दै ) मैले धेरै पटक भनिसकें, जन्मन पाउनु पर्छ यसले ।
युवती : तिम्रो मतलव, म फेरी एउटा कुपुतलाई जन्म दिएर एउटी कलङ्कित आमा बनूँ ।
युवक : कसलाई थाहा छ ? यो ईतिहासको सबभन्दा उत्तम युगपुरुष / नारी को रुपमा जन्मिन पनि सक्छ । बुद्दको प्रतिनिधिको रुपमा पनि त आउन सक्छ यस धर्तिमा ?
युवती : छोरा नै जन्मेला भन्ने के पक्का छ ?
युवक : के छोरीले चाँही युग नायिका बन्ने सामर्थ्य राख्दैनन् र ?
युवती : यो गर्भ अबैध हो, कसले दिन्छ यसलाई वैधानिकता ?
युवक : के म यो भार बहन गर्न सक्दिन ? के म लायक छैन र ?
युवती : यो तिमी के भन्दैछौ प्रभाकर ?
युवक : के हामी पुन: एउटै बाटो हिंड्न सक्दैनौ ? हाम्रो अधुरो प्रेमलाई मूर्त रुप दिन सक्दैनौ फेरी ?
युवती : यसको मतलव, अझै तिमी मलाई स्वीकार्ने पक्षमा छौ, प्रभाकर… ?
*
युवक : हरेक समस्याको समाधान भनेकै समझदारी हो । मान्छेले नै गर्छ भूल, तर सुध्रिनको लागि सहज बाटो पाएन भने अझ धेरै भूलहरु हुँदै जान्छन् । तिमीले मलाई छोडेर जानु एउटा सानो भूल थियो तिम्रो । तर जबर्जस्ती तिमी बलात्कृत भएर तिम्रो पेटमा हुर्किंदै गरेको शिशुको कुनै भूल छैन । यती सानो कुरालाई पनि हृदयंगम गर्न सकिन भने मैले के मानवताको कुरा गर्नु ? यो जटिल घडीमा हामीबिच आपसी सद्भाव रहन सकेन भने, हामी दुबैको जिन्दगी बर्बाद हुन सक्छ । मैले आफ्नो देश र समाजप्रतिको दायित्व झन्डै भूल्ने अवस्था सम्म पुग्नु तिम्रो प्रेम पिडाको कारण पनि हुन सक्छ । झगडा होइन, मिलेर समाधान खोज्नुपर्छ अब । सानातिना कुराहरुलाई पहाड बनाइनु हुँदैन । शान्तिपूर्ण आपसी समझदारी नै समाधानको उपयुक्त उपाय हो भन्ने वस्तुनिष्ठ तथ्य पेश गर्न चाहन्छु म यो अबुझ र द्वन्दग्रस्त समाजलाई । अनि यो खराब समाजको कुरुप चित्रलाई परिवर्तनको युगान्तकारी क्यानभासमा उतार्दै अग्रगमनतिर धकेल्न चाहन्छु । यो काम हामीले नै शुरु गरेर देखाइदिन सके,अरुले पनि सिक्ने थिए कि जस्तो लाग्छ मलाई… ।
*
युवती : ( आँखाबाट आँशु झार्दै ) तिमी महान छौ प्रभाकर । म छताछुल्ल भएँ तिम्रो उत्कृष्ठ मानवता देखेर । युगले तिम्रै पक्षमा सहिछाप गर्नेछ ।
*
युवक : ( भावुक हुँदै ) यो संसार थाम्ने चिज मायाँ र विश्वाश रहेछ अनामिका ! तिम्रो अभावमा मेरो जिन्दगी धेरै विषम बन्यो । उदास,उराठ र निराश मन लिएर निक्कै भौंतारिएँ म पिडाको भारी बोकेर । जीवन आँफैलाई भार हुन थालेको थियो । जिन्दगीदेखी अघाएर झन्डै-झण्डै मृत्युसँग सम्झौता गर्ने अठोट सम्म पुर्यायो मलाई यही मायाँले । मेरो मनभित्र एउटा नमिठो आर्तनाद भित्रभित्रै चहर्याइरहेथ्यो । तिम्रो अनुपास्थितिको जिन्दगी अभिषाप झैं लाग्दैथियो । कत्ती गहिरो प्रेम गरेको रहेछु मैले तिमीलाई । आँफै रुँदै, आँफै मन बुझाउँदै गर्दै थिएँ यो हिंसक र स्वार्थी समाजको रमिता बनेर । यहाँ, गुम्बामा आएर दुर्लभ शान्तिको खोजी गर्दै थिएँ , भिक्षुका कुराले अलिकती प्रेरणा मिल्यो बाँच्ने । प्राप्ती मात्र प्रेम होइन, भन्ठानेर जीवन संघर्ष गर्ने झिनो प्रयास हुर्काउँदै थिएँ । तिमी आयौ, मुटुमा बिझेको काँढा निस्किए झैं लाग्यो । सबैथोक पाए जस्तो अनुभव भयो । मरीसकेका रहरहरु फेरी बौरिए । बाँच्ने इच्छा प्रवल भएर आयो ममा एकाएक । समयको खेलले हामीमा सामिप्यताको ध्रुवीकरण ल्याए पनि अन्तत: मेरो पवित्र प्रेमको शक्तीका कारण तिमीलाई कसैले हर्न सकेन मबाट । अब हामीले मान्छेलाई मानवताको डुंगा खियाउने तरिका देखाउन मात्र सक्यौं भने पनि यो भूगोलमा बिद्द्यमान शत्रुताको बाढी केही हद सम्म सङ्लिन्छ कि जस्तो लाग्छ मलाई । ( छेउको उही लाश देखाउँदै ) यि हेर, यो वेवारीसे लाश… लामो समयदेखी अलपत्र छ । एउटा पागल आएको थियो, मलामी खोज्न गएको उतै हरायो । शायद ऊ पनि कसैको निशानामा पर्यो होला । एउटा बृद्द र एक किशोर आफ्नो अपहरित खुशी र अधिकारको रिहाई माग्दै भौँतारिदै थिए,कहाँ पुगे होलान् ? साँच्चै अनामिका, अब मानवताको लागि केही गर्ने जाँगर पलाउनै पर्दछ हामीमा । ( युवतीको हात समात्दै ) आऊ ! शान्ती,समझदारी,भाइचारा र मेलमिलापको यात्रा हामीबाटै शुरु गरौं । यही बिन्दु,प्रसङ्ग र मुद्दाबाट थालौं सानातिना कुरालाई बिर्सेंर एकार्कालाई स्वीकार्नु पर्दछ भन्ने मान्यताको श्रीङ्खला । हामी नै नमुना बनेर देखाइदिऔं, यो समाजका पथभ्रष्ट पथिकहरुलाई । आऊ ! अब हामी यो वेवारीसे लाशलाई आफ्नोपन दिएर उठाऔं । मान्छेले लगाएको मान्छेको घाउमा महलम पट्टी लगाऔं । शन्ती र सद्भावको शङ्खघोष गरौं । आपसी वैमनश्यता हाम्रा आ-आफ्ना विगत सँगै छोडिदिऔं । अब अलग बाटो होइन, एउटै बाटो हिंडौ । एक्लै होइन, सँगै हिंडौ । ” आऊ ! हामी सँगै हिँडौ ।” त्यो सुदूर,सुन्दर र उज्यालो गनतव्य छुन… ।
*
( युवक र युवती हातेमालो गर्दै लाशतर्फ लम्किन्छन् । मन्चमा एकाएक उज्यालो प्रकाश देखिन्छ । गुम्बाभित्र र वरिपरी पुन: दियोहरु बल्न थाल्दछन् । नेपथ्यबाट ॐ शान्ति… ॐ शान्ति… ॐ नमो बुद्दाय… ॐ नमो बुद्दाय… ॐ शान्ति… गुन्जिरहन्छ,निरन्तर… निरन्तर… । )
*
।। पटाक्षेप ।।
*
[ पर्दा खस्छ ]
*
( रचनाकाल : २०६२ )
( नोट :- झन्डै एक दशक भन्दा अघी त्यतिबेला देशले भोग्दै गरेको जर्जर अवस्था, घटनाक्रम,नेपालीले भोग्नु परेको नमिठो नियति र समयको फुर्को समातेर लेखिएको यो नाटक अझै पनि सान्दर्भिक नै होला कि भन्ने लागेर ” बिम्ब ” साहित्यिक सङ्गालो बाट सारेर यहाँ टाँसे है । यहाँहरुका अमुल्य सुझाव-सल्लाह को अपेक्षा सदैव रहनेछ । युनिकोड का कारण हुन गएका भाषा-व्याकरण र अन्यान्य अशुद्दीका लागि क्षमा चाहन्छु । धन्यवाद ! यो नाटक को सामान्य सम्पादित रुप मेरो नाट्य कृति ” थिएटर र आँखाहरु ” मा सङ्ग्रहित छ l )
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)