~केदार शर्मा~
मेरा शिष्ट, सभ्य र शालीन पाठक
तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु
अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई
कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न
वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न
तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न
मैले त शिष्ट शब्दहरू खिपेर हिर्काउनु पर्छ रिसै उठ्यो भने पनि
मैले लेखेको कविता त सबैले सबैका सामु पढ्न सक्ने हुनुपर्छ…
तर कविता लेख्न सकिँन भने म के गरौँ?
म अहिले रिसले मर्न लागेको छु
र कविता लेख्नै नसक्ने अवस्थामा पुगेको छु
सास बढेको छ, काम छुटेको छ र पल्याक पुलुक वरिपरि हेर्दै
बक्दैछु छाडा गाली
सानैदेखि सुनेका,
सुन्दै घिनलाग्दा फोहोर गाली
आफ्नै मुख बिटुलिने गरी
म गाली गरिरहेको छु
कृपया, तपाईँ पनि पढदै गरेको कविता हुत्याइदिनुहोस् एकातिर
र गाली गर्नुहोस् म सँगसँगै लागेर
तिनको घाँटी खसखसाओस्
बाडुली लागोस् सासफेर्नै नहुनेगरी
नौनारी गलोस् तिनको
तिनका प्रत्येक अभियानहरू विफल होऊन्
बिसाउनु परोस् हिँडनु अघि नै
र पराजित हुनुपरोस् भिड्नु अघि नै
गाली गरौँ, मनपरी गाली गरौँ,
आफैँलाई लाज लाग्ने गरी गाली गरौँ
किनभने तिनीहरू कविताको कोमलताका हकदार छैनन्
तिनीहरू कलाका पारखी छैनन्
विध्वंश र लूटमा रमाउनेहरू
मात्र गालीका हकदार छन्
तिनले हाम्रो हकको सम्मान नगरे पनि
तिनको हकको सम्मान गरौँ
मरुञ्जेल गाली गरौँ
छाडा गली गरौँ।
March 18, 2012
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)