~प्रदीप नेपाल~
रोग लुकाउनुपर्छ भन्ने नेपाली मानसको रोग हो । सामान्य जनताको के कुरा, ठूला भनिने नेता, प्रशासकसमेत रोगलाई लुकाउनुपर्छ भन्छन् । रोग लुकाउन हुन्न भन्ने पंक्तिकारजस्तो मान्छेले साथी पाउन सकेन लामो समयसम्म । सबै त्यस्ता छैनन् । आफ्नो पुस्तक जीवन एक संघर्षमा केही बाँकी नराखी नांगेझार पारेकी छन् अहिले अनिता शर्मा काफ्लेले नाम सुन्दै सबैलाई तर्साउने क्यान्सरलाई ।
अनिताको पहिलो युद्ध थियो आफैँसँग । नेपालमा जनसंख्याभन्दा एक जना बढी डाक्टर छन् । मान्छे बिरामी छ भन्ने सुनेपछि जसले पनि बोलिदिन्छ, ए यो त फलानो बिमारी रहेछ ।
अनिता पहिलो सिकार हुन्छिन् त्यस्तै सल्लाहकार डाक्टरबाट । बोनम्यारो, प्लेटलेट काउन्टजस्ता आतंककारी शब्दहरूबाट अत्तालिएकी अनिता सानी छोरी बोकेर गण्डकी, मणिपाल, कान्ति बाल अस्पताल धाउँछिन् । उनको अन्तिम सहारा हुन्छ, हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी । लेखेकी छन्, ‘राती १२ बजे पालो आयो । डाक्टरलाई सबै कुरा विस्तारसाथ भनेँ । सबै रिपोर्ट देखाएँ । त्यसपछि डाक्टरले भने, तपाईं जे भनेर यहाँ आउनुभयो, त्यो होइन । ढुक्क हुनूस् ।’
ती आमालाई छोरीको रोग ब्लड क्यान्सर हो भनेर भनिएको थियो । तर, होइन रहेछ । अनिता आफैँलाई चाहिँ ३६ वर्षको उमेरमा क्यान्सरबोध भएछ । ‘मलाई त्यति बेला किन हो, कताकता डर लागेजस्तो हुन्थ्यो । केही चीज खसे पनि मनमा डर नलागेर पेटमा डर लाग्थ्यो । किन होला मलाई यसरी ठूलो पेटभन्दा तल, सानो पेट नजिकै डर लागेको भन्ने लाग्थ्यो । म अब धेरै बाँच्दिनँ, हिँड्दाहिँड्दै, छिट्टै मर्छु भन्ने भावना मनमा आउँथ्यो ।’ तर, रोग पराजित भयो अनितासँग । कसरी ? अनिता आफैँले लेखेकी छन्, ‘बेलुका अस्पताल भर्ना हुने भनेर घर फक्र्यौं । खाना खाई घर सफासुग्घर गर्न थालेँ । अपरेसन गरेपछि म केही समय अशक्त हुन्छु, घर सफा गर्न सक्दिनँ भन्ने सोचेर ।’
अनिताले क्यान्सरलाई पराजित गर्ने लक्षण माथि लेखिएका शब्दबाटै आरम्भ हुन्छ । जीवनप्रतिको कत्ति ठूलो विश्वास छ उनमा ! आशंकित क्यान्सरको अपरेसन छ । तर, उनलाई विश्वास छ, उनी घर फर्किएर आउँछिन् । श्रीमान् र दुई छोरीको सानो परिवारको स्याहार उनले नै गर्नु छ ।
क्यान्सरको बिमारीमा अपरेसनभन्दा डरलाग्दो हुन्छ किमोथेरापी । अनिताले त्यो पीडालाई पनि जस्ताको तस्तै लेखिदिएकी छन्, ‘किमोथेरापी गरेको भोलिपल्टदेखि शरीर पोल्ने, दुख्ने, वाकवाक लाग्ने, दिसा कब्जियत हुने आदि आदि । किमोथेरापीको दुखाइ र पीडा त्यो गराएकोलाई मात्र थाहा हुन्छ । मेरो अनुभवमा १० मेजर अप्रेसन बराबर एक किमोथेरापी हुन्छ ।’
तर, यो यातनादायी आतंकलाई पनि जितिन् अनिताले । अनि, निष्कर्ष यसरी सुझाएकी छन् तिनले, ‘कसैलाई किमो उपचार आवश्यक परेको छ भने त्यसको पूरा कोर्स अस्पतालको निर्देशन अनुसार गरौँ । यसो गर्यो भने हामी रोगसँग लडेर पुन: जीवन प्राप्त गरी आफ्नो आयु दसौँ वर्षसम्म लम्ब्याउन सक्छौँ ।’
लेखिकालाई ०७० सालमा क्यान्सर देखियो । नेपालको उपचारमा साह्रै दु:ख खेप्नुपरेर होला, डाक्टरहरूसँग सल्लाह गरेरै अनिता र उनका पतिले मुम्बईको टाटा क्यान्सर अस्पतालमा जाने निर्णय गरे । दिसा जाने आन्द्रामा ट्युमर हुर्किएको देखेपछि पहिले किमो गर्ने र पछि अपरेसन गर्ने निर्णय गरेछन् टाटाका डाक्टरहरूले । त्यसैले टाटामा किमो प्लान गरेर फर्किएछन् बिरामी अनिता, उनका पति महेन्द्र र भाइ महेश ।
भरतपुर क्यान्सर अस्पताल र टाटा मेमोरियल गरेर चार डोज किमोथेरापी सकिएपछि अनिता फेरि अपरेसन टेबलमा सुतिन् । तर, अपरेसन भएन । बाह्रौँपटक किमोथेरापी लिएकी अनिताको जीवन एक संघर्ष अनेक क्यान्सर गाथा मात्र होइन, अनिताको मन म मरेँ भने छोरीहरूको कुन हालत होला ? भनेर चिन्ता गरिरहन्छ । लोग्ने मरे स्वास्नी विधवा भएर बसिरहनुपर्ने, स्वास्नी मरे लोग्ने १२ महिना पनि कुर्न नपर्ने चलनप्रति उनको कडा प्रहार छ । माधव घिमिरेको गौरी काव्यको चर्चा, कृष्ण धरावासीको पाण्डुलिपिको चर्चा पनि यसै सन्दर्भमा छ ।
क्यान्सर रोगले थलिएकी अनिता शिक्षिका हुन्, पत्नी हुन्, बुहारी हुन्, दुई छोरीकी आमा पनि हुन् । पछिल्लो समयमा उनले, आफूजस्तै साथीसँग मिलेर ‘क्यान्सरपीडित सचेतना संस्था’ पनि सञ्चालन गरेकी छन् । प्रस्तुत पुस्तकमा गण्डकी, मणिपाल, बीपी मेमोरियल र टाटा मेमोरियल चारओटा अस्पतालको क्षमताको तुलनात्मक अध्ययन पनि गरिएको छ ।
नेपालका अस्पतालमा डाक्टर मात्र होइन, आमा हुनुपर्ने नर्सहरूले पनि झर्कोफर्को गर्ने, गाली गर्ने अनि टाटाका डाक्टर र नर्सहरू नडराऊ, तिमी निको हुन्छ्यौ’ भन्ने व्यवहार गर्ने सन्दर्भलाई उनले फोटो जसरी पस्किदिएकी छन् । डाक्टर र नर्सहरूलाई बिरामीलाई गाली गर्ने त कल्पनै नगरौँ, झर्किने र फन्किने अधिकार पनि दिन सकिँदैन । सत्य कुरा लेख्न अनिता कतै हच्किएकी छैनन् ।
आफूलाई आफ्नै जीवनजसरी माया गर्ने पति महेन्द्र काफ्ले, दोस्रो बिहे गर्ने बूढा ससुरा, जेठानी सबैलाई उनले माया गरेकी छन्, सम्मान गरेकी छन् । तर, गल्तीमा हुँक्न पनि छाडेकी छैनन् । लेखिकाले क्यान्सरबाट जोगिने उपाय पनि पुस्तकमा समेटेकी छन् । अनिताका यी पंक्ति पढेपछि कुनै पनि पाठक क्यान्सर लागेर पनि बाँच्न सकिन्छ भन्ने निष्कर्षमा पुग्छ ।
जीवन एक, संघर्ष अनेक
स्रष्टा : अनिता शर्मा काफ्ले
प्रकाशक : ओरिएन्टल पब्लिकेसन
पृष्ठ : २६८+१२
मूल्य : ३०० रुपियाँ
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )