कथा : फूट्बल खेल्ने खुट्टा

~गीता थापा ‘दोषी’~Geeta Thapa Doshi

दिदी ! तपाईको छोरा… जुठेल्नामा भाँडा माझिरहेका बेला अकस्मात चिरपरिचित आवाज निस्कियो । अड्किदै निक्लिए झैं लाग्ने त्यो पुरुष आवाजले मेरो ध्यान तानियो । म वरिपरीको वातावरणलाई कालो बादलले ढप्पक्कै ढाक्यो । आँखाका उजेलो झ्याप्पै निभ्यो।  आफूलाई सम्हाल्दा सम्हाल्दैपनि चर्को स्वरले चिच्याउँन पुगेँ- के भयो मेरो छोरालाई ? हस्पिटल लानु पर्ने भयो । एम्बुलेन्समा राखिएको छ । तपाई पैसा र ओड्ने ओछ्याउने लिएर चाँडै चोकमा पुग्नु रे । त्यति भनि राखेर उ बाटो लाग्यो।

म जड्वतरुपले उसका शब्द गम्न थालेँ । ‘एकक्षण अगाडि वनभात खान जान्छु भन्दै मेरो छोरो आँगनमा बुर्कुसी मार्दै थियो । उसको एकहोरो जिद्दीको अगाडि मैले घुँडा टेक्नु परेथ्यो । त्यसैले नाइनास्ती नगरीकन पछाडि भिर्ने झोलामा प्लेट, चम्चा, र ग्लास, राखेर राम्रो सँगले जाँनु भनि उसलाई साथीहरुका माझ छाडेर म घर फर्केकी थिएँ  । फर्केर दुइटा भाँडा पखालिसकेकिपनि थिइन । हस्पिटल लानुपर्ने समाचार आयो । त्यो खबरले लगलग काँप्दै  बर्बराएँ- हे ईश्वर ! के अनर्थ हुन गयो ! अनभिज्ञताको भूमरीमा फनफन्ती घुम्दै म भाँडा जुठेल्नामै छोडिराखेर चोकतिर हानिएँ ।

नशा चुँडिएको मान्छे झैं खुट्टा भनेको ठाउँमा टेकिँदैन थिए । सपना हो या बिपना हो अन्योलमा थिएँ । होस् ठेगानमा थिएन । आँगनमा बुर्कुसी मार्दै गरेको दृश्य सजीव भएर आँखा अघिल्तिर नाच्न आउथ्यो । बल्लतल्ल लड्खडाउँदै एम्बुलेन्स अड्याइराखेको ठाउँमा पुगेँ ।

म त्यहाँ पुग्दा मान्छेको भीडले एम्बुलेन्सलाई घेरेको थियो । तरकारी बजारमा भन्दा पनि बढी स्वर थियो त्यहाँ । एक समूह भन्थ्यो – खुट्टा त काट्नु पर्छ होला ! अर्को थप्थ्यो- कस्तो चकचके थियो नी । मेरा कानले सुनिरहन्थे । कुनै प्रतिकृया जनाउन मुख लाग्दैन थियो । म मणी हराएको सर्पझैँ भएकी थिएँ । भीडबाट एउटी सज्जन महिला बोलिन- केटाकेटी सबैका उस्तै हुन । ती नानी माथि बज्र खसेको बेला सोच विचारै नगरी प्यार …प्यार… गरेर नबोल तिमी जैरीहरु । सज्जन महिलाको शब्दले मेरो पोलेको छातीमा मलहमको काम गर्‍यो  ।

घाउ निक्कै गहिरो छ। पछाडिको मूल नसाले नअल्झाएको भए खुट्टा भूइँमा खस्थ्यो। ‘धन्य केटाको दिन बलियो रहेछ र म त्यहाँ पुगेँ’ पुरुषको जमातबाट पातलो अग्लो कद भएका एक ब्यक्ति बोले ।

फेरि लगत्तै मेरो कान छेउमा आत्तिएको स्याँठ चल्यो – खाली हात आएकी ? रात उतै बस्नु पर्‍यो भने ओड्ने ओछ्याउने चाहिँदैन? उती माथि झन खबर पठाएको त रित्तै हात हल्लाउँदै पो आईछे । मेरो आवाज दबिएको थियो । बोलिनै निस्किएन चुपचाप एम्बुलेन्सभित्र पसेँ ।

छोरालाई सिटमा लडाइराखेको थियो दाहिने खुट्टामा काम्रो बाँधेर । के भयो भनेर सोध्ने आँट आएन ।  मूल फुटे सरी आँखाबाट आँसु बगिरहे । म एकटक लगाएर रगत बगेको ठाउँमा हेरिरहन्छु । कति खेर एम्बुलेन्स हिड्यो ? कति खेर सडक पार भयो । मनभित्र अनगिन्ती सवाल उम्रिदै जवाफविहीन मर्दै गर्थे । सिंगो पृथ्वी आँखा अघिल्तिर आएर घुमेको थियो ।

जव अस्पत्तालको गेट अगाडि पुर्याएर एम्बुलेन्स अडियो । तव सपनाबाट झल्याँस्स ब्यूँझिएँ म । विरामीलाई तुरुन्तै आकस्मिक कक्षमा भर्ना गराइयो । रगतको पोखरीमा डुब्दा पनि उ चनाखो थियो । रुपी (सारौं) ले झैँ ट्याउँ ट्याउँ बोलिरहेकोथ्यो । ‘डाक्टर अंकल मेरो फूट्बल खेल्ने खुट्टा हो चाँडै निको पारीदिनु ल ! ‘ उसको बिलौनामा डाक्टर भावानात्मक हुँदै भन्थ्यो-हुन्छ… हुन्छ…तिमी विरामी मान्छे धेरै बोल्नु हुदैन, नत्र घाउ निको पार्न मुश्किल पर्छ । उ आज्ञाकारी भएर ‘हवस ! अब म बोल्दिन’ भन्दै चुपचाप रहन्थ्यो । उसले बोलेका प्रत्येक शब्द  मेरो मुटुमा रोप्न आउँथे बाण बनेर । म भित्रभित्रै निसास्सिन्थेँ।  उकुसमुकुस भएर छट्पटिन्थेँ ।

‘जति सक्दो चाँडो खुट्टाको अप्रेसन गर्नु पर्छ । रगत धेरै बगेको छ । यो भन्दा धेरै रगत बग्यो भने अप्रेसन गर्न अप्ठ्यारो हुन्छ । काउण्टरमा गएर छिटो पैसा जम्मा गर्नुस्’ डाक्टरले मतिर हेर्दै भन्यो। म पैसा जम्मा गर्ने कोठातिर लागेँ । डाक्टरहरु अप्रेसन गर्ने औजार जुटाउन लागे। पैसा जम्मा गरेको केहिबेरपछि गुडाउने ठेलामा राखेर विरामीलाई अप्रेसन कक्षमा हुलियो भित्रबाट ढोका बन्द गरियो । म घिस्रिदै प्रतिक्षालयमा गएर थचक्क बसेँ। बाफिएको छातीभित्र बाट खालि खुईय…. खुईय आवाज मात्रै बाहिर निस्किन्थ्यो ।

शनिबारको दिन । हस्पिटलको बातवरण अरु दिनको भन्दा शान्त थियो । यो हस्पिटलमा म कयौँ पल्ट आएकी थिएँ । तर आज जस्तो आपतकालिन अवस्थाले गलेर कहिल्यै आएकी थिईन। हस्पिटल बाहिरको हरियो चौरमा मानिसहरु बसेका छन् । कोही पत्रपत्रिका पढ्दै । कोही हाँस्दै रुँदै । कसैलाई कसैको वस्ता छैन । सबै आ-आफ्नै अवस्थाको बर्णन गर्नै ब्यस्त थिए ।

हातको छेको लगाएर  मैले  निलो आकाश नियालेँ ।  सिंगो आकास कञ्चन थियो । कालो बादलका धर्सा देखिदैन थियो त्यहाँ । मेरो मनभित्र भने आँधीबेहेरी चलेको थियो।  मुटुको धड्कन बढेर मेरो मनोदसा विरामीको भन्दा पनि निरीह थियो । चिन्ताले ओठ तालु सुकेका थिए। आफ्नै मनले आफैँसँग प्रश्न गर्थ्यो- साँच्चै छोराको खुट्टा काट्नु पर्‍यो भने मेरो के दशा होला ? उत्तर केहि नाउँदा म स्तब्ध हुन्थेँ ।

नाडीमा बाँधिएको घडीको सुई र काँटामा पुगेर आँखा अड्किन्थे । प्रतिक्षालयमा बसेको दुई घण्टा ५३ मिनट बितेपछि बल्ल घरक्क ढोका उघारेर डाक्टर अप्रेसन कक्षबाट बाहिर निक्लियो ।उसलाई देख्ने बित्तिक्कै तिब्र गतिले रगत मेरा नसा नसामा दौडन सुरु भयो । आँखा पल्याक र पुलुक गर्दै घुम्न थाले । कान केही सुन्नका लागि ब्यग्र भए । सोध्न खोज्थेँ डाक्टर अप्रेसन सफल भयो भनेर ? तर वाक्य भने निक्लिदैन थियो । मानौँ यस्तो लाग्थ्यो मेरो जिब्रोमा कुनै गह्रुंगो चिज झुड्याएको छ । त्यसले मेरो बोली रोकेको छ । मेरो सोध्ने प्रयास असफल रह्यो ।

शायद मेरो अनुहारभरि बेदनाले कोरिएका अक्षर पढेछ क्यारे डाक्टरले । मेरो कान नजिक आएर फुस्फुसायो- तपाईको बच्चाको अप्रेसन सफल भयो। चिन्ता नगर्नुस् । अब उ खतरा मुक्त छ । त्यसपछि पो मेरो दबिएको आवाज फुत्त बाहिर निक्लियो ‘हो र डाक्टर ? ‘ आँखाबाट बरर खुशीका आँसु झरे ।  शिर झुकाएर डाक्टरलाई आभर प्रकट गरेँ । डाक्टरले भन्यो ‘मलाइ सर्मिन्दा नबनाउँनुस्, बिरामीको रक्षा गर्नु डाक्टरको कर्तव्य हो । विरामीले नयाँ जीवन पाउँदा डाक्टरको छाती पनि गर्वले उँचो हुन्छ । बच्चाले बेलैमा उपचार पायो । त्यो नै सबैभन्दा ठूलो र महत्वपूर्ण कुरा हो ! त्यति भनेर डाक्टर सरासर अगाडि बढ्यो । उसको छाया ओझेल नपरुञ्जेल मैले उसलाई हेरिरहेँ । र, मनैमन विचारेँ – साँच्चै डाक्टर भगवानको दोश्रो रुप हो ।

आँखाका आँसु पुछ्दै ठिङ्ग उभिएकी थिएँ। चार पाँच फिटको दुरी परदेखि हातको ईशाराले नर्सले बोलाई । नर्स उभिएको स्थानमा कुँदेर पुगेँ । लगलग काँप्दै गरेको मुटुलाई बलपूर्वक सम्भाँलेर सोधेँ- मलाइ बोलाउँनु भएको हो सिस्टर ? तपाईको बच्चालाई वाड न: ४ मा राखिएको छ जानुस् । त्यसो भनि राखेर उ पूर्वपट्टीको कोठामा पसी ।

म वाड न:४ खोज्दै अगाडि बढेँ । ढोका बाहिर लेखिएका अक्षरहरु पढ्दै वाड मा पुगेँ।  ढोकाबाट छिर्ने बित्तिक्कै छोरालाई हेर्न आतुर भएका आँखा चारैतिर घुमाएँ । एउटा कोठामा ४ बेड राखिएका थिए।  सबै बेडमा विरामीहरु लडाइराखिएको थियो । भित्तापट्टीको बेडमा छोरालाई देखेँ । उसलाई देख्ने बितिक्कै गुम्लुङ्ग अँगालो हालेँ । टाउको सुमसुम्याएँ । औषधीको नशाले होला उसले मेरो उपस्थितीमा उत्सुकता देखाएन । उसको चुलबुले बानी मौनतामा परिवर्तित भएको थियो । खुट्टामा घाउको भाग खुल्ला राखेर प्लाष्टर गरिएको थियो । धेरै रगत बगेर अनुहार पहेँलो थियो । ‘अब डर मान्नु पदैन’ डाक्टरले बोलेका वाक्यलाई एक पल्ट सम्झेँ । र भगवानलाई लाखौं पटक नमस्कार चढाएँ । धन्य हौ ईश्वर तिमी  ! खुट्टा काट्नु परेन ।

रात बिस्तारै ढल्किँदै गयो । सूर्यको प्रकाश पनि मलिन  भयो  । निष्पट्ट अँध्यारोले  धर्तीलाई घेर्नु अगावै सिंगो हस्पिटल बिजुलीका बल्वले झलमल्ल भएर रङ्गियो । डाक्टर जाँचबुझ गर्न आए। मतिर हेर्दै ‘कस्तो छ तपाईको बच्चालाई अहिले ? ‘

‘ठीक छ डाक्टर’ मैले भनेँ । डाक्टर ‘आत्तिनु पर्दैन कलिलो बच्चाको हड्डी छिटो जोडिन्छ । जलेको छातीमा ती शब्दले औषधीको काम गरे । एकपल्ट लामो सास फेरेँ । औषधी खुवाउने तालिका सुझाउँदै डाक्टरहरु बाहीरिए ।

कहिले घर लान सकिन्छ भनेर सोधौंला भन्थेँ भुसुक्कै बिर्सिएछु । घरको चिन्ताले सताउँथ्यो । साँचो ठोकेर हिँडेको घरको यादले पिरोल्थ्यो । कति दिन हस्पिटलमा बस्नु पर्ने हो ! मनभित्र हलचल हुन्थ्यो । औषधीको गन्ध र बिरामीको पीडायुक्त आहाटले नमीठो सँगले छाती चर्किन्थ्यो ।

त्यो रात आँखा झिमिक्कै नगरी रात कट्यो । छोरा भने आनन्दपूर्वक निदायो। धिमा बत्तिको प्रकाशमा उ निदाएको दृष्य हेरेर म पुलकित हुन्थेँ । बिहान भयो । भुइँ सफा गर्ने र बेडको तन्ना फेर्ने कारिन्दाको चहल पहल सुरु भयो। विरामीका आफन्त सबै बाहिर जानुस् भन्ने सूचना गरे ।

म पनि  दाँत माझ्ने मञ्जन ब्रुस र मुख पुछ्ने सानो गम्छा हातमा झुन्ड्याएर बाहिर निस्किएँ । धारामा निक्कै घुइचो छ । पालो कुरेर जड्वतरुपले उभिँदा उभिँदै सानो छँदाको स्मरण गर्न थाल्छु । हाम्रो घरको गेट बाहिरको सरकारी धारामा पनि साँझ बिहान यस्तै घुइचो हुनेगर्थ्यो । गर्मीको समयमा बिहानको स्कुल लाग्ने । एका बिहानै निन्द्राले छोडेकै हुन्नथ्यो । उठ्न ढिला भएको दिन तँ आउँदै गर भनि साथीहरु छोडेर हिँड्थे ।  दिदीले भरेको पानी छुन्नै दिन्नथी । पानीको नजिक उभिदा मात्रै पनि गाली गर्थी उ । म साथीले छोडेर गएको झोकले खुट्टा भुइँमा बजार्दै मुख धुन धारामा पुग्थेँ । पँधेर्नीहरुलाई घचेट्दै अगाडि पसेर मुख धोएर निक्लिन्थेँ । ‘यो जस्ती छुच्ची केटी दुनियाँमा छैन’ पँधेर्नीहरुले मलाइ खुव गाली गर्थे । ‘छु त के गर्छौ’ भन्दै म हातको पानी उनिहरुलाई छ्याप्दै मुख बंग्याएर बुर्कुसी मार्थें ।

अब त त्यसो गर्न सुहाउँदैन थियो । त्यसैले कति खेर धारो खाली होला र मुख धुन पाईएला भन्दै प्रतिक्षामा थिएँ । बल्लतल्ल धारो खाली भयो र मेरो पालो आयो । दाँतमुख पखालेर चिया खान पसलतिर हेरेँ । हस्पिटल छेउको एउटा चिया पसल खचाखच थियो । सोचेँ-अर्को चिया पसल कता होला ? पछाडीबाट महिला आवाज आयो- यहाँ त भर दिन यस्तै भीड हुन्छ । बाहिर जाउँ हिँडनुस् । सोधेँ-कति टाढा छ ? हातका औंलाले देखाउँदै महिलाले भनिन- उ त्यो गेटको बाहिर छ । त्यसो भए जाउँ त हिँड्नुस् ! म उनको पछि लागेँ ।

बाटो बीचमा हाम्रो कुनै संवाद भएन । चिसो सेरेटो चलेको थियो । बसन्त ॠतुको आगमनसँगै बोट-बिरुवा पलाउने, कोपिला हाल्ने, फूल्ने क्रममा ब्यस्त थिए । सेतोमा पहेँलो रंग मिसिएर फुलेको चुआका फूलहरु भुइँभरि छरिएका मनोरम दृश्य नजिकबाट नियाल्न पाउँदा मन औधी रमाएको थियो  ।

चिया दोकानको दैलो छेउ पुगेर ‘ल यहि हो चिया पसल । साहुजी दुईकप स्पेशल चिया दिनुस् त’ महिला बोलिन । ‘हुन्छ बस्नुस्’ नजिकैको कुर्सीतिर इङ्गित गर्दै चिया पसलेले भन्यो । यहाँ भने हस्पिटल भित्रको पसलमा जस्तो भीड थिएन । बातावरण सुनसान थियो । पसले साहुनी कुनामा बसेर तातताता  माललपुवा पोल्दै थिईन् ।

पसलेले  चिया ल्याएर छेउमा राख्दै सोध्यो- अरु केहीं ल्याउँकी ? ‘मलाइ त चिया भए पुग्छ । दिदी खाने भए मगाउँनुस्’ मैले भनेँ । महिलाले दुईटा मालपुवा मगाइन् । पसलेले ल्याईदियो । मतिर हेर्दै महिलाले मालपुवा थोरै खाने आग्रह गरिन । म बिहान चिया भन्दा अरु खान नरुच्ने बताउँछु । उनी चिया मात्रै खाँदा ग्यास्टिक बढ्ने बताउँछिन् । म उनका कुरामा सही थाप्दै ‘पेटको लिभर कम्जोर भए त्यस्तै हुन्छ । खानुस् फेरि सेलायो भने स्वाद हराउँछ । ‘  एक घुटको चिया सुरुप्प पारेर ‘अँ साँच्ची तपाई कहाँदेखि आउनु भएको नी ? ‘ उनी बताउँछिन् ‘राजबिराजदेखि !

‘ बिरामी महिला को हुन ? ‘

‘ मेरी सासू । ‘

‘ के भएको ? ‘

‘ खाटबाट लडेर खुट्टा भाँच्नु भयो । हस्पिटल बसेको तीन महिना भैसक्यो । बुढो हड्डी लाग्न मुश्किल हुने रै’छ। ‘

‘तपाईको नानीलाई चाँही कसरी त्यस्तो भएको नी ? ‘

‘वनभात खान जाँन्छु भनेर जिद्दी गर्‍यो । पठाएको रिक्सा पछाडि झुन्डिएर खुट्टा बिगारेछ । अली चकचके छ’ मैले बताएँ ।

‘कति वर्षको भयो ?’

‘१० वर्षको ।’

‘यो बेलानै हो छुकछुके र नहुँदो नचाहिँदो गर्ने’ उनले आफ्नो अनुभव थपिन् । म हातको घडी हेर्दै- अब जाउँ दिदी बच्चा पनि उठ्यो होला ।

चियाको पैसा बुझाउँदै दुबै उठ्यौं । नभन्दै आउँदा त छोरा उठेर रुँदै रैछ। म पुग्नसाथ उसको खाजा आइपुग्यो । उसिनेको अण्डा र दूध । सिरानीको अडेस लगाई रुमालले उसको मुख पुछिदिएँ । अण्डाको बोक्रा छोड्याएर दिएँ । खाजा खाएपछि औषधी खुवाई बेडमा लेटाइदिएर म नुहाउन बाथरू छिरेँ।  हात टाउकोमा पानी र स्याम्पुसित खेल्दै थिए । मन भने  हस्पिटलका बिरामी र त्यहाँ वरपरको बातावरणमा घुम्दै थियो ।

हस्पिटलको वातावरण हेर्दा यस्तो लाग्थ्यो, संसारका मान्छे यै हस्पिटलमा थुप्रिएका छन् । सिंगो संसारका मान्छे बिरामी भएका । दिनहुँ शंखको आवाज सुनिन्थ्यो । आफन्तको रुवावासी सुनिन्थ्यो । एक्लै चुआको बोट मुनि बसेर फूलको सुवासमा लठ्ठिएर सोच्थेँ-   जिन्दगी कति कमजोर छ । पानीको फोका सरह फुट्न बेरै नलाग्ने । यस्तो कमजोर जिन्दगीको पनि कतिबिघ्न माया लागेको होला मान्छेको जातलाई ।

अब त छोराको खुट्टा पनि निक्कै राम्रो भैसकेको थियो । एक महिना १५ दिनको हस्पिटल बसाईपछि बेला बेला जँचाउन ल्याउनु भन्दै डाक्टरले औषधी लेखेर डिस्चार्ज गरिदियो । म सामान समेटेर झोलामा कस्न थालेँ । त्यो दिन मेरो मन चूक घोप्ट्याएको भन्दा नी चारखण्ड  अँध्यारो भएको भयो। बिरामी कुर्न आउने ठुला भन्दा भुरानै मेरा साथी थिए । हुँदाहुँदै हस्पिटल त मलाइ जन्मेको घर भन्दा पनि प्यारो लाग्न थालेको थियो । भुरासँगको  प्रगाढ मित्रताको दुनियाँमा हराएर म पनि भुरी भएकी थिएँ । संखको धुन सुन्नासाथ् त्यहिँ पुग्ने । नयाँ बिरामी देख्नासासाथ् भुराहरु सँग मिसिएर हेर्न कुद्ने । भुरालाई पनि म नभै नहुने । हस्पिटलको बसाईले २४ वर्ष पछाडि छोडेर आएको त्यो सुन्दर वालापन फेरि भोग्न सौभाग्य प्राप्त भएको थियो।

बेडमा सुतिरहेको छोरा भन्न थाल्यो – ममी हामी यतै बसे हुन्न ? उसको प्रश्नले मलाइ गम्भीर तूल्यायो । उ बड्बडाउँछ – श्रीजना सिस्टरलाई छाडेर जानै मन लागेको छैन । कति जाति हुनुहुन्छ श्रीजना सिस्टर । मेरो घाउ नदुखाई सफा गरिदिनु भयो । माया पनि धेरै गर्नु हुन्छ । म मुन्टो तल माथि हल्लाएर उसका शब्द सुनिरहन्छु । म एकोहोरिएको देखेर उ घच्घचाउदै सोध्छ- के भयो मम्मी ? म आफूलाई सम्भाँल्दै जवाफ दिन्छु- तिम्रो कुरा सुनेको । उ मुसाका जस्ता मसिना दाँत देखाएर मुसुक्क हाँस्छ । म पनि उसको हाँसोमा हाँसो थप्छु ।

ल ! उठ सट फेरेर घर जाँनु पर्छ । उ गाला फुलाएर नाई जान्न भन्दै ठुस्किन थाल्छ । टाउको मुसारदिँदै मैले भनेँ- आज यो बेडमा अर्को बिरामी आउँछ रे । उसको पनि तिम्रो जस्तै फुट्बल खेल्ने खुट्टा भाँचिएको छ रे । चाँडो उपचार भएन भने बिग्रिन्छ रे । त्यसैले उसका लागि हामीले यो बेड खाली गर्दिनु पर्छ । फेरि हामी सात दिनपछि श्रीजना सिस्टरलाई भेट गर्न आउने हो । अंगुर, स्याउ, सुन्तला लिएर । त्यसो भने पछि उ प्रफुल्ल हुँदै घर जान तयार भयो ।

बाहिर ट्याक्सी आइपुगेर हर्न प्वाँ प्वाँ.. पार्न थाल्यो । ल ! ट्याक्सीले छोड्छ छिटो जानुपर्छ। नत्र राती बाहिरको चिसोमा बस्नुपर्छ । हस्पिटलबाट घर हिँड्ने बेला मलाइ निक्कै नरमाइलो लाग्यो । बेडका बिरामी र कुरुवाहरु टुलुटुलु हेर्दै राम्रोसँग जानु भनेर बिदा दिए । छोराको कपाल मुसार्दै ‘चकचक गरेर मम्मीलाई धेरै दु:ख नदिनु है बाबु ? ज्ञानी हुनुपर्छ ‘ भनेर सुझाए। छोराले ‘हवस ‘ भन्दै मुन्टो हल्लायो ।  भुराहरुका आँखा भरिए । भुराहरुका आँसुले पग्लिएर म पनि रुएँ। सप्पैसित बिदा मागेर अँगालोमा छोरा च्यापी हातमा झोला झुन्ड्याएर बाहिर निस्किएँ । यस्तो मुश्किल त मलाइ बेहुली भएर पराई घर जाँदा पनि भएको थिएन।

मध्यान्नको समय घाम अरु दिनको भन्दा मधुरो थियो । बोट-बिरुवाका पातहरु पनि बिदाइका  पंखा हम्किदै थिए। विशेष त चुआका फूलहरुले दु:ख माने । किनकी मैले घण्टौ घण्टा ती चुआको बोट मुन्तिर बसेर बिताएकी थिएँ । आफ्नो मनको पीडा सुन्दिने कोहि नहुदा तिनैलाई सुनाएर आफ्नो मन हलका पारेकी थिएँ । म एकक्षण आफ्ना जोडी नयन चुआको लामबद्ध भएर उभिएका रुखमा अड्काउँछु। र सबैलाई हात हलाउँदै ट्याक्सीभित्र बस्छु । ड्राइभरले ट्याक्सी हुईक्यायो।

एक महिना १५ दिनको बसाईमा हस्पिटलका प्रत्येक बस्तुले नजिकबाट चिने। तिनीहरुको यादले सताउनु स्वभाविक थियो । अब ती याद पुरानिँदै स्मृतिपटलमा बस्ने छन्, कहिल्यै नबिर्सिने गरि हृदयमा अमिट छाप बनेर । म ती सबैलाई मनैमन कृतज्ञता चढाउँदैथेँ । ट्याक्सीको खुल्ला सिसाको झ्यालबाट चलेको चिसो हावाले मेरा गालामा म्वाँई खाएको अनुभूति हुँदै थियो ।

पत्तै नपाई आँगन अगाडि ल्याएर ट्याक्सी रोक्यो । छिमेकीहरुको चहल पहलले पो मेरो ध्यान भङ्ग पार्यो । म ट्याक्सीको ढोका उघारेर छोरा बोकेर बाहिर निक्लिएँ। छिमेकीको जमात नजिकिदै- धन्य खुट्टा काट्नु परेन छ छोराको हगी नानी ? म सहज हुँदै जवाफ दिन्छु ‘परेन ‘ । एकछिन भए पनि रमिता भयो । सुमसुम्याउने र कठैबरा भनि चुकचुकाउनेको भीड पन्छाउँदै म ढोकाको ताला खोलेर भित्र पसेँ । बाहिर निक्कैबेर खासखुस चल्यो र शान्त भयो । छोरालाई पलङमा पल्टाईदिएर भान्छामा छिरेँ ।

छोराको लागि भेजिटेबल सुप बनाईदिएँ । चम्चाले मेरा हातबाट रमाउँदै सुप खायो । टेबुलको एकछेउबाट क्यासेटमा स्वर सम्राट नारायण गोपालको गीत गुञ्जिरहेको थियो ‘मलाई नसोध कहाँ दुख्छ घाउ । म जे छु ठिक्कै छु बिथोल्न नआउँ ।’ म  गम्भीरतापूर्वक ओछ्यानमा पल्टिएर त्यो गीतमै चुर्लुम्मै डुब्दै थिएँ । यादहरु सँग लुकामारी खेल्दै….निन्द्राले आँखामा घुम नओडुञ्जेलसम्म ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.