~रुपाबुङ शुष्मा~
यस्पालिको छुट्टिमा पल्टन बाट आउदा कुन ब्राण्डको पर्फ्युम ल्याईदिउ भनेर तिम्ले सोध्नु
अनि हुत्तिएर एकहुल हावा सरर मेरो झ्याल बाट छिरेर
अस्ति तिम्ले छोडेर गाको हरियो पाङ्रे लुगाबाट पसिनाको बास्ना मेरो नाकैमा टास्सिनु
कस्तो सम्योग !!
बिजुली चम्किनु र गाडाङगुडुङ आकाश कराउनु जस्तै
बादल लाग्नु अनि पानी पर्नु जत्तिकै मिलेको सम्योग!
अलि अलि बैरिको गन्ध
अलि अलि बारुदको गन्ध
अलि अलि बाध्यताको गन्ध
अनि अलिकती बहादुरिको गन्ध
मिसिएर बनेको तिम्रो पसिनाको गन्ध
मलाई चै लाग्यो बाबरी फुलजस्तै मीठो सुगन्ध
यी तिम्रा हरिया पाङ्रे लुगाबाट निस्किरहेका तिम्रो ब्राण्डको पसिना बाट निस्किरहेका सुगन्धहरुले
यस्तरी मुग्ध भए कि
एक्कासी दुर्गन्धित लाग्न थाल्यो अस्तिनैको
छुट्टिमा आउदा ल्याईदिएको महगो गुच्छी
ब्राण्डको परफ्युम!!
के कसैले पसिनाको रङ देखेको छ?
सायद देखेको छ भने त्यो पानी रङको हुनुपर्छ
तर मैले पहिलो पल्ट देखे यहि तिम्रो हरियो पाङ्रे
लुगामा टासिएको पसिनाहरुमा इन्द्रेणी रङ्ग
आमाले लगाएको तिलहरि र ढुङ्री मा आमाको
धरती भन्दा फराकिलो खुसिको रङ्ग
बाबाले पलाष्टिकको गम्बुट फालेर
टिलिक्क टल्काएर छालाको ड्याम्बुट लाएर ठाटिएर
हिड्दा आकाश भन्दा अग्लो सन्तुष्टिको रङ
दिदिले लाएको फुलबुट्टे सारिमा देखिने
मुस्कानको मीठो रङ्ग
महङो स्कुलको शुल्क रसिदमा बहिनिको
भबिष्यको सुनौलो रङ
भटभटेमा आफ्नो गर्लफ्रेण्ड पछाडी राखेर
हुइकाउदा भाईको बुलेट सान को लोभलाग्दो रङ्ग
मेरो डिमाण्ड लिस्टहरु पूरा भएर मख्ख परि
छिमेकी साथिहरु माझ गमक्क पर्दै हिडेको आत्माअभिमानको रङ
महगा होटल र रेस्टुरेन्ट हरुमा बिल भर्पाई गर्दा देखिने साथिहरुको अनुहारको चमकको रङ
अनि त्यो शहरमा ठाटले उभिएको बिल्डिङ को हरेक कुना कुना बाट निस्केको सुरक्षित चम्किलो रङ
हो धरोधर्म आज मैले यी सबै रङहरु यहि तिम्रो हरियो पाङ्रे लुगामा कक्रक्क टासिएको पसिना हरुमा देखे
अनि सपै सपै रङहरु मिसिएर एउटा इन्द्रेणी रङ बनेर चम्किरहेको देखे
तर यहि चम्किरहेको रङहरु भन्दा अलि पर लुकेर बसेको
तिम्रो थकित/उदास धुमिल रङ पनि देखे
जस्लाई जो केहीले देख्न खोज्दैन सायद
चाड पर्वमा घर परिवार सम्झेर आँखा भरी टिल्पिलाउने आसुको रङ
थकित शरीर/एक्लो मन दुख सुख बिसाउने मायालुको काख सम्झेर दुखेको पिडाहरुको रङ्ग
जो अदृष्य बनेर अरुहरुकै रङ हरु चम्काउनमा ब्यास्त थिए..
भो अब यस्पालिको छुट्टिमा ल्याउनु पर्दैन है! त्यो कितृम महगो ब्राण्डेड पर्फ्युम ..
आज देखि मलाई यहि हरियो पाङ्रे लुगामा बेसहारा भै बसेका तिम्रो ब्राण्डको अनमोल पसिनाको पर्फ्युम स्प्रे गरेर हिड्न मन लाग्यो!!
– रुपाबुङ शुष्मा
दमक झापा