~गणेश खड्का~
युद्द आहात बस्तीको साक्षात् प्रतिनिधि
जीविकाको खोजीमा निरिह मुग्लानिएको कर्म योद्दा
एउटा यक्षप्रश्न सोधी पठाउँछ घर भँडुवाहरुको नाममा
खबरदार !
शान्तिको गीत गाउँदै धर्ती बोक्न चाहने
कयौं भयग्रस्त निर्दोष अनुहारहरुको कोहिनूर
युद्दोभिमानका क्षेप्यास्त्रहरुले नछेडिऊन् l
…
सावधान !
घर भत्काएर इँटाको भागबण्डा लगाउन चाहनेहरु
स्वविनाशका लडाईंहरु यथाशिघ्र विराम लागून्,
भाईचाराको समाधिमा अक्षत भूमिप्रतिको धावा
सगोल आमाको सन्तानकृत मातृबलात्कार
अकर्मण्यता र अगतिको शर्तमा निन्दनीय र दण्डनीय छन् l
…
आफ्नै मुखमा छिटा फर्किने सगर थुकाइ
विजयश्रीबेगरका युद्द र योद्दा
बालुवा निचोरेर तेल खोज्नु जस्तो पटमुर्ख्याइँ मात्र हो
जसरी विष रोपेर अमृत फलाउँछु भन्नु हास्यास्पद हुन्छ
घरझगडाले आफन्तैसँग डराएर भाग्नुको सङ्गीन पीडा
छिमेकीले सीमा गल्ली निषेध गरेपछि चाल पाइन्छ
एक दानो फल खान रुखै ढाल्नेहरुलाई एउटा यक्षप्रश्न –
मुलुक मारेर मोक्ष प्राप्ती कहाँ छ र …?
( कविता सङ्ग्रह : ” हिउँले आगो पगालेर ” बाट l )
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)