~प्रकाश सुनुवार ‘निराकार’~
कल्पनामै
सक्दो हाँसियो
मुटुमा गहिरो भई गाडिएको मायाको खिल
मुटुमै कतै बिलादिन खोज्दै
कस्सी कस्सी हाँसियो
हाँसिहाँसी,
विछोडको मायाको मुुल्य चुकाउन पनि खोजियो
कल्पणामै तिमीसित
पुनः झुक्किझुक्कि माया पनि लाइयो
कस्सम् ! तिमी नवप्रेमी नभएपनि
भान भने त्यस्तै परिरहयो
तर
हाँस्न सकिन्न रहेछ
मायाको खिल मुटुमै दबाउन खोज्दा
अझ चस्किंदो रहेछ
फिस्स् मुस्काउन पनि मुस्किल रहेछ
मायाको कुनै मुल्य तोक्न सकिन्न रहेछ
धैर्यताको माझैवाट पनि प्रेम फरार भैदिंदो रहेछ
माया शव्द नै गलत ढंगले परिभाषित रहेछ
पुस्तकमै मात्र सिमित राख्दा राम्रो देखिने माया
कल्पनामा असिमित रहेछ ।
आँसुको मुल्य थाहा छैन भन्ने
थाहा भएको भए
खप्पिस् धोकेवाज
तिमीलाई सम्झि सम्झि
म रुन्नथें होला ।
फेरिपनि
चर्चित प्रेमगाथालाई वन्दी वनाइएको
पुस्तकको पात्र सम्झिरहें तिमीलाई
घोकें, कण्ठस्थ पारें
जहाँ पात्र कुरुप छ
तिमी भने परी जस्तै छौ
तिमीलाई किन माया गरुँ म अव ?
कतै, तिमी त्यै पुस्तकको पात्र जस्तै
सपनामा परी भई आकाशमा उडेर जाइजाने त होइनौ ?
विलिन पो हुने हौ कि ?
साँच्चै क्षितिज भन्दा टाढा पुग्छौ भने
म पुस्तक पनि खोल्दिन
कण्ठष्थ हरफहरु पनि
विर्सिदिने कोशिश गरुँला वरु
उधारो प्रेम कल्पनाको डायरीमा नामेट लेखिदिउँला बरु
मेरो मृत्यु डायरी
बसः कल्पनाको डायरी
तिमीमा समर्पण ।
(४ अप्रिल २००९, फार्नवोरो)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)