~हरि अधिकारी~
राजधानीको साधनसम्पन्न वातावरणबाट धेरै टाढा गण्डकी अञ्चल स्याङ्जाको एउटा सानो गाउँमा बसेर पनि बीसौँ वर्षदेखि अनवरत साहित्यको आराधना गरिरहेका मौन साधक हुन्- देवीप्रसाद वनबासी। साहित्य-साधनाको प्रारम्भिक काल क्षेत्रीय व्यावसायिक-प्रशासनिक केन्द्र, पोखरामा बिताएका वनबासीले कविता र बालकथा लेखनबाट नेपाली भाषा-साहित्यको सेवामा आफूलाई समर्पित गरेका हुन्। तर, वनबासीको विशेषज्ञता भने निबन्ध र यात्रा-संस्मरणमा स्थापित भएको पाइन्छ। साथसाथै, उनले लोकसाहित्यको अध्ययन-अन्वेषणमा आधारित प्रबन्धहरू पनि लेखेका छन्। स्याङ्जा जिल्लाको आँधीखोला जलप्रवाह क्षेत्रमा विकसित उन्नत लोकसंस्कृतिका बारेमा पनि बडो रुचि र आधिकारिकताका साथ उनले कलम चलाएका छन् । आँधीखोले लोकसंस्कृति नामक उनको पुस्तकले गण्डक क्षेत्रको विशिष्ट लोकसांस्कृतिक परम्पराका बारेमा रोचक जानकारी उपलब्ध गराएको छ।
कविता, बालकथा, बालोपयोगी जीवनी, गद्य निबन्ध/प्रबन्ध, हास्यव्यंग्य कविता र नाटकका गरी ४० थान पुस्तकको प्रकाशन गरसिकेका ७१ वर्षीय लेखक देवीप्रसाद वनबासीको निबन्ध/प्रबन्धहरूको नवीनतम संग्रह हो, अझेटो। पुस्तकको नाम अझेटो नेपालका धेरैजसो ठाउँको जनबोलीमा प्रचलित शब्दबाट छानिएको नहुनाले एकैपटक यसको अर्थ खुल्न गाह्रो छ तर यसै शीर्षकको संग्रहमा संकलित निबन्ध पढ्दा अझेटो भनेको के रहेछ बुझ्न सकिन्छ। अझेटो अर्थात् कुनै नमिलेको वा अर्घेलो देखिएको कुराको प्रतिवादमा व्यक्त गरिने असहमति। लेखक वनबासीले मदन पुरस्कार गुठी पुस्तकालयका कर्ताधर्ता कमलमणि दीक्षितले लेखेको एउटा किताबको शीर्षक र आवरण चित्रका बीच देखिएको असंगतिलाई लिएर तयार गरेको यस निबन्धमा अन्य धेरै विसंगतिहरूमाथि पेचिलो प्रहार गरेका छन्।
वनबासी झट्ट हेर्दा महत्त्वहीन लाग्ने सामान्य विषयको उठान गर्छन् र त्यसैका आधारमा समाजमा हुने र भइरहेका अर्घेलाहरूको खुलासा गर्दै जान्छन्। ‘अझेटो’ शीर्षकको निबन्धमा कमलमणि दीक्षितले लेखेको एउटा पुस्तकको शीर्षक ‘खुर्पाको बिँड’ रहेको तर आवरणमा दिइएको चित्रचाहिँ घाँस/स्याउला काट्ने खुर्पाको नभएर घाँस र लेउ खुर्कने खुर्पीको भएको कुरातर्फ इंगित गर्दै लेखक वनबासीले मदन पुरस्कार पुस्तकालय र कमल दीक्षितको सेरोफेरोका अरू अमिल्दा कुरामाथि पनि प्रहार गरेका छन्। साथै, उनले हँसिया, खुर्पा, खुर्पीजस्ता किसान-उपयोगी औजारहरूको रोचक नालीबेली पनि यस निबन्धमा लगाएका छन् र यसलाई सूचनासम्पन्न पठनीय सामग्री बनाएका छन्।
संग्रहको अर्को उल्लेख्य निबन्ध ‘आँधीखोला लोकसंस्कृतिमा रामायण’मा लेखकले स्याङ्जा, आँधीखोला जलप्रवाह क्षेत्रको लोकजीवनले कसरी वाल्मीकीय रामायणलाई आफ्नो चेतनानुकूल ग्रहण गर्यो र कसरी लोकभाकामा रामकथा सुन्ने/सुनाउने परम्परा चल्दै आयो भन्ने विषयमाथि कलम चलाएका छन्। रामकथालाई अनेक मानिसहरू र समुदायले आ-आफ्नै ढंगले व्याख्या र पुन:लेखन-वाचन गर्दै आएको सन्दर्भमा आँधीखोलामा प्रचलित रामकथामा थपिएका कुथुङ्ग्रीहरू अपवाद हुन सक्दैन। सांस्कृतिक रूपले सम्पन्न त्यस क्षेत्रका जनताले युगौँदेखि प्राचीन आर्य सभ्यताको महान् निधिका रूपमा रहेका संस्कृत भाषाका महाकाव्यद्वय महाभारत र रामायणलाई सजिलैसँग आफ्नो अभिरुचिको भाषा र भङ्गीमा ढालेको पाइन्छ।
संग्रहमा समाविष्ट अर्को निबन्ध ‘कालीभक्त पन्त र उनको किसान गीता’मा वनबासीले त्यस क्षेत्रका पुराना र सम्मानित लोकसाहित्य-अन्वेषक र सर्जक कालीभक्त पन्तका बारेमा रोचक जानकारी दिएका छन्। लोककवि-गायक पन्तले विसं २००७ को राणाशाहीविरुद्धको आन्दोलनको नेतृत्वकारी संगठन नेपाली कांग्रेसको वीरताको गाथालाई यसरी वाणी दिएका रहेछन् :
आँखा खोली किसानलाई हक चिनायो भनी
गाली गर्छन् कांग्रेसलाई शोषक ठालू धनी
बुद्धि मिल्यो, हक चिनेम् हामी किसानले
ठालू दाइलाई अब पारं काम्लेका नाम्ले ।
अझेटोमा संग्रहित निबन्धहरूमध्ये सम्भवत: सर्वश्रेष्ठचाहिँ ‘नयाँ मुलुकको यात्रा, दौरा-सुरुवालको जात्रा’ हो भन्न सकिन्छ। निबन्धमा लेखक वनबासीले आफ्नो घर स्याङ्जादेखि बुटवल, नेपालगन्ज, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ र कपिलवस्तु-लुम्बिनी आदि क्षेत्रको आन्तरिक पर्यटकका हैसियतले गरेको देश-दर्शन भ्रमणको विवरण पढ्न पाइन्छ। वनबासी एक जना शतत: जिज्ञासु, जहाँ पुगे पनि त्यस क्षेत्रका लेखक-कवि-कलाकारहरूसँग भेट्न उत्सुक व्यक्ति भएकाले उनको यस नियात्राबाट पाठकले ती ठाउँहरूका बारेमा सूक्ष्म अन्तरदृष्टिका साथ गरिएको अवलोकनको झल्की पाउनुका साथै सांस्कृतिक पक्षको पनि धेरथोर जानकारी लिनसक्छ।
निबन्ध/प्रबन्धको यस संग्रहमा लेखक वनबासीले कालीभक्त पन्तले लेखेको र प्रताप प्रेस आर्यनगर, गोरखपुर, भारतबाट सानो पर्चाका रूपमा छापेर सम्भवत: ०१५ सालको प्रथम आमनिर्वाचनका वरपर वितरण गरिएको ‘किसान गीता’को पूरै पुन: मुद्रण गरेका छन्। निबन्धसंग्रहमा यस लोकलयको कविता छापेको अलि अमिल्दोजस्तो देखिन्छ तापनि अहिलेको घडीमा दुर्लभ भइसकेको यस रचनाको अभिलेख रहनुलाई मात्रै पनि एउटा महत्त्वपूर्ण उपलब्धि हो भन्न सकिन्छ।
देवीप्रसाद वनबासी विशिष्ट शैलीनिर्माता, उद्भट शब्दशिल्पी वा धुरन्धर लेखक होइनन्। उनको महत्त्व एकाग्र भएर स्वान्त: सुखाय नेपाली भाषा र साहित्यको सेवामा निरन्तर लागिरहनुमा छ। उनको भाषा सरल छ- सहज, सम्प्रेषणीय छ र त्यसमा गण्डकी अञ्चलको लोकबोलीको मिठास मिसिएको हुन्छ।
लेखकका रूपमा वनबासीका कमजोरीहरू पनि छन्। उनको लेखनमा वैज्ञानिकता हुँदैन। एउटा निबन्धमा कति कुरा सामेल गर्ने र कति कुरा अर्कै निबन्धका प्रसंगका लागि बाँकी राख्ने भन्ने विषयमा वनबासीले प्राय: पत्तो नपाएको जस्तो बुझिन्छ। मनमा उठेका सबै प्रकारका विचार-तरंगहरूलाई लिपिबद्ध गर्दैमा ती सबै सार्वजनिक महत्त्वका र सिर्जनात्मक गुणवत्तासहितका साहित्य हुन सक्दैनन् भन्ने कुराको हेक्का राख्दै एउटै रोजेको विषयमा एकाग्रचित्त भई निबन्धलाई सुसंगठित ढंगले प्रस्तुत गर्न प्रयास गर्ने हो भने देवीप्रसाद वनबासीको निबन्धकार अझ बढी प्रशंसित बन्न सक्ने थियो। आजको घडीमा राजधानीभन्दा बाहिर बसेर अनवरत साहित्य-सेवा गर्ने वरिष्ठ साधकहरूको लहरमा वनबासी टड्कारो चिनिने र सम्मान गर्नलायक प्रतिभा हुन् भन्ने कुरामा भने सायदै विवाद होला।
अझेटो
लेखक : देवीप्रसाद ‘वनबासी’
प्रकाशक : हरेलो प्रकाशन, स्याङ्जा
पृष्ठ : ९०
मूल्य : १०० रुपियाँ
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४४४)