कविता : धर्ती रक्ताम्य बन्न सक्छ

~शिवराज पन्थी~

युगको पिरामिडसंगै पैंठेजोरी खेल्दै,
समयले असंख्य छलाङ मार्दा,
वर्तमान आइरहेछ उल्टिएर ….
भाइरस किलरको जाल बिछाउदैं,
माकुरा बल्झाउन नसक्ने युग
बम बारुदको लेकबाट बेसी झर्दा पनि,
कुहिरोमा गुडुल्किएर कठ्याँग्रिएको युग,
वर्तमान आइरहेछ उल्टिएर,
मान्छेहरु संधै बोलाइनै रहे भने
होसियार बम बारुदको तुँवालो लाग्न सक्छ ।

असंख्य सृजनाका मुनाहरुलाई
चौथो अंगको अनाहक पुकारबाट
बदचलनवादी दानवहरुद्धारा,
कायरतापूर्ण ढंगबाट निमोठिन्छ
जब आमाका आँखाहरुलाई,
तातो झिरले छेडिन्छ ।
तव, यो धर्तीमा विद्रोह तप्कन सक्छ
कलमजीवीहरुका विचार बारुद बन्न सक्छन्
शहिदका लाशहरु “तोप” बनेर पड्किन सक्छन्

मान्छेहरु यसरी बोलाइनै रहे भने
होसियार, नदीहरु रक्ताम्य बन्न सक्छन्
कलम र मसिको पसिनाको मूल्य माग्दा
जब कुरुक्षेत्रका कागहरु चिच्याउन थाल्छन्
एम्बुस बनेर पड्किएर सडक ब्यूँतिदा
जव टायरहरुले किचिन बाध्य हुन्छन्
तव इतिहासका कु–कृत्यहरुको पुनरावृत्ति भै रहन्छ
असंख्य छोरीहरु पिँजडाभित्र अस्मिता लुटाएर
अहोरात्र रोइरहनु पर्छ ।
छाप्राहरुमा भोकको आगो दन्किई नै रहन्छ
तब कलम र शब्द अजिंगर बन्न सक्छ
सत्तासीनहरु सधंै निरिह नै भै रहे भने
होसियार ¤ बम बारुदले धर्ती हल्लिन सक्छ ।

जब कुनै शहिदको …..
अदम्य साहसिक उद्गमस्थलमा
सुन्दर हराभरा भूगोलको प्रतिष्ठामाथि आँच पुग्छ
अकिंचनताको पिडाबोधमा
अबोध नारीका आत्माहरु छट्पटाउँन थाल्छन्
जैविक विविधताको समूल नष्ट हुन्छ
तव समय विष्फोट भई
धर्तीमा नरपिचासहरुको लाशको लस्कर लाग्न सक्छ
चु्रा फुटाएर सिन्दुर पखालेका विवश व्यथाहरु
आक्रोसित मन मस्टिष्कको ज्वारभाटासंगै
विशाल सागरमा, डरलाग्दो गर्जनसंगै
रित्तिएका काख बारुद बनेर पड्किन सक्छन्
सत्तासीनहरु संधै निरिह नै भई रहे भने,
होसियार ! धर्ती रक्ताम्य बन्न सक्छ …..

–दाङ

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक ३७ – २०६८ श्रावण २५ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.