~शार्दूल भट्टराई~
अपरम्परित चिन्तनका गुरु र अस्तित्ववादका अग्रदूत मानिने नित्से सनातन सङ्घर्षका कारण नारी र पुरुष कहिल्यै समान हुन नसक्ने ठोकुवा गर्छन् । उनले नैतिकता कर्ममा होइन मनोविज्ञानमा आधारित मानेका छन् । ईश्वरको मृत्युको घोषणा गर्ने यिनको अतिमानववाद नाजीवादको प्रेरक बनेको मान्नेहरू पनि छन् । तर समालोचक कृष्ण गौतम नाजीवादसँग गाँसेर नित्सेलाई होच्याउनु उनको मुक्त चिन्तनको अवमूल्यन ठान्छन् ।
जु हुनु र अल्जेरियामा जन्मिनु डेरिडाका निम्ति ‘आउटसाइडर’ को पीडा थियो । त्यही पीडालाई उनले ‘डिकन्स्ट्रक्सन’ को सिद्धान्तद्वारा तोड्ने प्रयत्न गरे । फलस्वरूप डेरिडा विश्व चर्चित बन्न पुगे । धेरै प्रशंसा पाएका उनी पाठीय भएको, समाज र राजनीतिको उपेक्षा गरेको, कृत्रिम विवेचनामा आफूलाई अल्मल्याउन खोजेको, जीवनका समस्याहरूको वास्ता नगरेको भनेर आलोचित पनि बने । तर समालोचक गौतम त्यस्तो आलोचनालाई भरपर्दो मान्दैनन् । उनी डेरिडालाई उत्तरसिद्धान्तका आचार्य र विश्वकै अमर चिन्तक मान्छन् ।
पुरातात्त्विक, आनुवंशिक र नैतिक चरणमा मिसेल फुकोले अध्ययन र चिन्तनका अनेकौं व्याख्यानहरू प्रस्तुत गरे । कृष्ण गौतमको विश्लेषणमा सार्वभौमसत्ता, सर्वकारिकता, अनुशासन, नैतिकता, ऐतिहासिकता आदि अनेकौं विषयमा फुकोको सिद्धान्तीकरण मौलिक मानिएको छ । उनी बुद्धिवाद, माक्र्सवाद, आभासवाद, अस्तित्ववाद आदिको छहारीमा हुर्के तर तिनलाई यथावत् पछ्याउने काम गरेनन् । उनी संरचनावाद, उत्तरसंरचनावाद हुँदै इतिहासतिर लागे ।
लेख्नेलाई भन्दा लेखाइलाई ठूलो मान्ने रोलाँ बार्थ लेखिसकेपछि लेखकको मृत्यु हुने र लेख मात्र बाँकी रहने विचार राख्छन् । कृष्ण गौतमले बार्थको उपस्थितिलाई एउटा ठूलो क्रमभङ्गको रूपमा लिएका छन् । उनका दृष्टिमा बार्थ त्यस्ता व्यक्तित्व हुन् जो रूढि तोड्छन्, स्थापित नाममा सन्देह झिक्छन्, ‘मास कल्चर’ मा वितृष्ण बन्छन् र मिथकलाई नङ्ग्याउँछन् । अमेरिकामा रेगन मतको रचनामा योगदान दिने फ्रान्सिस फुकुयामा अमेरिकी पुँजीवादका प्रखर प्रवक्ता हुन् । ग्लोबल राजनीतिका ज्ञाता मानिने यिनी बजार पुँजीवादका साथ उदार प्रजातन्त्रमा पुग्नु इतिहासको लक्ष्य मान्छन् । उनले मानव जातिको विचारधारात्मक विकासको अन्तिम बिन्दु उदार प्रजातन्त्रलाई मानेका छन् । उनको विचारमा राजतन्त्र, फासीवाद र साम्यवादभन्दा उदार प्रजातन्त्र नै राम्रो सरकारी व्यवस्था हो । कृष्ण गौतम फुकुयामाका विचारलाई पनि उत्तरआधुनिक चिन्तनकै रूपमा व्याख्या गर्छन् ।
ज्ञानको विश्वकोश हिगेलसित थियो भने आलङ्कारिक भाषाको विश्वकोश बद्रीलर्डसित थियो भन्ने मान्यता लेखक गौतमको छ । उत्तेजनात्मक विचारहरूद्वारा बौद्धिक क्षेत्रमा सशक्त प्रभाव जमाउन समर्थ बद्रीलर्ड उत्तरआधुनिकतालाई उजागर पार्ने सिद्धान्तकार मानिन्छन् । उनी मूलत: मिडियाका, सम्प्रेषणका सिद्धान्तकार हुन् । सुरुमा उनी माक्र्सवादबाट प्रभावित थिए । माक्र्सवादमा तिनले दुई कुरा जोडे– उपभोगवाद र चिह्नवाद । माक्र्सवादको जोड उत्पादनमा थियो । तिनले उत्पादनको ठाउँ उपभोगलाई दिए । पुँजीवादी समाजको विश्लेषणमा नवमाक्र्सवादी आयाम जोड्दै आखिर तिनी माक्र्सवादकै कडा विरोधी हुन पुगे ।
ल्योटार्ड पनि कुनै बेला माक्र्सवादी राजनीति गर्थे । माक्र्सवादको पुनव्र्याख्या गर्ने नाममा यिनी अन्तत: माक्र्सवादकै विरोधी हुन पुगे । माक्र्सवादी महाख्यान अस्वीकृत भयो । महाख्यानप्रति अविश्वास जनाउने ल्योटार्ड पुँजीवादी प्रभुत्ववादसँग भिड्ने मौलिक औजार भाषिक खेल भएकाले त्यसलाई बढाउनु, जगाउनु, प्रोत्साहित गर्नु आवश्यक ठान्छन् । कृष्ण गौतम शिल्प र ‘टेक्निक’ को प्रखरतामा जोड दिएर ल्योटार्डले उत्तर आधुनिकतालाई सौन्दर्यशास्त्रीय दिशा दिएको निचोड निकाल्छन् ।
यस किसिमका धेरै विचार/सिद्धान्त र तिनका प्रणेताहरू समालोचक कृष्ण गौतमको ‘उत्तरसिद्धान्त’ नामक पुस्तकमा समेटिएका छन् । पश्चिमका तीस ‘सिद्धान्तकार’ र तिनका विचारहरूलाई सात भागमा विभाजित गरेर पुस्तकमा चर्चा गरिएको छ । समाज, साहित्य, संस्कृति, राष्ट्र, राष्ट्रियता, भाषा, सभ्यता, राजनीति, इतिहास, दर्शन, सौन्दर्यजस्ता अनेकन विषयका ‘उत्तरचिन्तन’ हरूमा सरिक हुने अवसर पाठकले यस पुस्तकबाट पाउने छन् । यद्यपि, अद्यतन चिन्तनका सबै पश्चिमी प्रणेताका विचारहरूको सङ्ग्रह यो होइन । विशेषगरी उत्तरआधुनिक चिन्तनलाई गति दिनेहरू नै यस कृतिमा समेटिएका छन् ।
सिद्धान्तलाई शक्तिको राँको मान्छन् कृष्ण गौतम । उनका विचारमा यही राँकोले मान्छेको भित्री आँखा खोलिदिन्छ । त्यही भित्री आँखाले हेर्नु र केलाउनु नै समालोचना हो । वर्तमान नेपाली सिद्धान्त/समालोचना नयाँ तर्कशास्त्रमा फस्टाउन चाहिरहेको मान्यता उनी राख्छन् । उनको त्यो नयाँ तर्कशास्त्र भनेकै उत्तरसिद्धान्त हो ।
समालोचक गौतमको विश्लेषणमा ज्ञानको तृष्णा अहिले मात्र देखापरेको होइन, उहिलेदेखि थियो । यो तृष्णा कहिल्यै नमेटिने खालको छ । ज्ञानमा पनि नयाँ–नयाँ विकासले स्थान पाएको छ । त्यसै क्रममा पूर्वज्ञानमाथि उत्तरज्ञानले प्रश्न तेस्र्याएको छ । पूर्वसिद्धान्तलाई उत्तरसिद्धान्तले अपूर्ण ठानेको छ । पूर्वचिन्तन र पूर्वसोचहरूमा परिवर्तनको आवश्यकताका प्रस्तावहरू प्रस्तावित भइरहेका छन् । व्यक्ति र विषयलाई बुझ्ने ज्ञान र पद्धतिमा नयाँ खालको विकासको अपेक्षा बढिरहेको छ । डार्बिनवाद र फ्रायडवाद मात्र होइन, विगतका केही अभ्यास असफल हुँदैमा सिद्धान्त निष्फल हुँदैन भन्ने सोचअनुरूप माक्र्सवाद नयाँ रूप लिएर मानिसलाई छोइरहेको छ । आजको समय छानेर लिने र ग्रहण गर्ने त्यही ज्ञानप्रति जागरुक छ । त्यही जागरुकताको परिणतिको रूपमा ‘उत्तरसिद्धान्त’ नामक कृति प्रकाशित भएको छ ।
काइते समालोचनालाई नै समालोचना ठानिरहेको र खिया लागेका औजारलाई नै सिद्धान्तको रूपमा बुझ्दै आएको अवस्थाबाट मुक्त हुनुपर्ने सङ्केत समालोचक गौतमले यस पुस्तकमा गरेका छन् । समालोचना र सिद्धान्तलाई कारिन्दाली जरुरतबाट मुक्ति दिनु नै नेपालको अहिलेको आवश्यकता भएको विचार उनी राख्छन् ।
समालोचनाशास्त्रको यथास्थितिवादलाई तोडेर नवीन खोज र अनुसन्धानतर्फ अगाडि बढ्दै गरेको उत्सुकतालाई सम्बोधन गर्ने काम यस कृतिले गरेको छ । पुस्तकको मूल ध्येय भने उत्तरआधुनिक आह्वानलाई महत्त्व दिनु र त्यसैलाई केन्द्रमा राखेर विभिन्न विचार/सिद्धान्तहरूको व्याख्या गर्नु रहेको छ । अहिलेको चिन्तनतन्त्र र जीवनतन्त्रलाई हाँक्न उत्तरआधुनिकतावाद पनि अपर्याप्त बन्दै गएको भन्दै आविष्कारात्मक उत्तरआधुनिकतावादको पक्षमा उभिएका छन् समालोचक गौतम । अभ्यासमा आउने पात्र र समाजको अवस्थाले सिद्धान्त प्रभावित हुने मान्यतामा अनेक विचार/सिद्धान्तहरूको सम्मिश्रण यस पुस्तकमा भएको छ । सङ्करित सिद्धान्तमा, सिद्धान्तहरूको मिश्रणमै उत्तरसिद्धान्तको निर्माण हुने विश्वास लेखकमा देखिन्छ । यस पुस्तक मार्फत नेपाली चिन्तनमा उत्तरसिद्धान्तको बहसलाई प्रवेश गराउने काम लेखकले गरेका छन् ।
समालोचक गौतम ‘सेन्ट्रिक’ सिद्धान्तको मृत्यु भएको मान्दछन् । उनी कुनै कुराको आड लिएर बोल्ने शब्दकेन्द्री सिद्धान्तको काम छैन भन्ने डेरिडाको मान्यताका पक्षपाती हुन् । तर सिद्धान्त नै चाहिँदैन भन्ने कुरालाई समालोचक गौतम असङ्गत ठान्छन् । उनी सिद्धान्त र व्यवहारको यान्त्रिक होइन, सिर्जनात्मक सहगामिताका आग्रही छन् । उनको विचारमा जसरी सिर्जना समय अनुसार बदलिन्छ त्यसैगरी सिद्धान्तमा थपघट भइरहन्छ । त्यस क्रममै उत्तरसिद्धान्तको निर्माण हुन्छ । यही उत्तरसिद्धान्तले मात्र अहिलेको चिन्तनतन्त्र र जीवनतन्त्रलाई सम्बोधन गर्न सक्ने विश्लेषण लेखकले गरेका छन् ।
उत्तरसिद्धान्त
लेखक : कृष्ण गौतम
प्रकाशक : भृकुटी एकेडेमिक पब्लिकेसन्स
मूल्य : ६९५।–
प्रकाशित: आश्विन ९, २०७२
(स्रोत : कान्तिपुर – कोसेली)