~धनराज गिरी~
“सर, सुर्ती छ ?” जम्काभेटमै प्राध्यापक आदर्शनारायण शर्मासित उनको परमप्रिय शिष्य रणसङ्ग्राम आफ्नो मागपत्र प्रस्तुत गर्दछ । प्रहरीले फेलापरेको अभियुक्तझैँ बन्दछन् प्रोफेसर शर्मा । हडबडमा गडबड होला भन्दै अत्यन्त संयमित हुँदै मसिनो स्वरमा बोल्दछन्– “बाबुलाई कुन ब्राण्ड चल्छ कुन्नि ? मसँग पाँचथरी मात्रै छन् ?”
“हामी जे खाएर भए पनि बलवान बन्नुछ । सङ्केत बुझियो सर ?” आदेशको स्वरमा गर्जिन्छ रणसङ्ग्राम, मानौँ उसको सामुन्ने उसैको घरमा काम गर्ने कुनै हलिया उभिएको छ ।
“किन नबुझ्ने बाबु ? हामीले भनेको पो विद्यार्थीले बुझ्दैनन् त । विद्यार्थीको अभिव्यक्ति त हामी छर्लङ्गै बुझ्छौं क्या” चेपारे पार्छन् । हत्तपत्त झोलाबाट बलवान छाप सुर्ती निकाल्छन् र नरम भाषामा नै सोद्धछन्– “चेला, चुना पनि …… ?”
“भयो, भयो, सर, म विशुद्ध सुर्तीपानमा विश्वास गर्दछु ।”
“अनि अरू गौतमबुद्धहरू देख्दिन नि आज ?”
“सर, हामीलाई त्यसरी व्यङ्ग्य नकसौं है, भनिदिएका छौँ । एकजना म्याथ पढाउने सरले हाम्रो उल्का नाम गरेको साथीलाई एकदिन “गान्धीजी” भन्नुभयो । परिणाम थाहा छ सर ? उहाँको जागिर भोलिपल्टै चइट ! विद्यार्थी शक्तिको अन्दाज अझै छैन सरलाई ? अब यो मुलुकमा विद्यार्थीले जे चाहन्छन् त्यही हुन्छ । त्यसै बन्छ नयाँ नेपाल ? सर, आजलाई जय नेपाल !” कानको मुन्द्रा हल्लाउँदै रणसङ्ग्राम बाटो तताउँछ । प्रोफेसर शर्मा कवि विप्लव ढकालको कवितासङ्ग्रह सम्झदै आफ्नो ब्यागको डायरी जाँचबुझ गर्दछन् डायरी यथास्थानमा छ । लामो सास फेरेर ढुक्क हुन्छन् ।
भोलिपल्ट । क्याम्पस प्रमुखको कक्ष भव्य कुर्सीमा सभ्य पाराले विराजमान छन् क्याम्पस प्रमुख चतुरसिंह जयलाल नेपाली । उनले “त्यो” ठाउँसम्म पुग्न आफ्नो नामानुसारको काम गरे । अर्थात्, धेरै चुतर्याइँ देखाए र “जय नेपाल” बने । “लालसलाम” भने । दलितहरूको सहानुभूति पाउन आफ्नो असली थरको ठाउँमा “नेपाली” राखे । यसरी आयामिक सफलता प्राप्त गर्न सफल भए । उनको नामै विनिर्माणवादी भयो । त्यसैले उनलाई “उत्तरआधुनिक चिफ र” पनि भनिन्छ । जसले जे भने रिसाउँदैनन् । सोफामा चेलाहरू विराजमान छन् । विद्यार्थी सङ्गठनको चुनाव नजिकै छ । अलि टाठोजस्तो लाग्ने एउटा विद्यार्थी, “सर, चुनाव आयो । यसो सहयोग गर्नुपर्यो” भन्छ । अर्को थपिन्छ, सर, अघिल्लो चुनावमा रणसङ्ग्रामको सङ्गठनले प्रशासनबाट ठूलो नैतिक समर्थन पाएको थियो अरे । यसपालि यस्तो चल्दैन है । फेरि यहाँ पनि … “होइन, होइन, भाइ बज्रपात, तिमी बज्रपातै हौ नि । अँ, म भन्दै थिएँ, त्यस्तो केही भएकै छैन । हामी तटस्थ छौं ।” मीठो बोल्छन् चिफ सर । अर्को कड्किन्छ, सर, मेरो नाम तूफान हो । म खण्डीकृत कृष्ण बिबरोन्मुख विद्यार्थी सङ्गठनको तदर्थ समितिको अध्यक्ष हुँ । हाम्रो सङ्गठनले नामानुसारकै काम गर्दछ । होस् पुर्याउनुहोला । हामीले ल्याएका ६० जना नयाँ विद्यार्थीलाई भर्ना गर्नुपर्यो, त्यो पनि निःशुल्क ।
“तर तूफान बाबु…… ।” बीचमै जङ्गिन्छ तूफान– “सर, हाम्रो शब्दकोशसमा तर, किन्तु, परन्तु, यद्यपिजस्ता दुर्बल शब्दहरू हुँदैनन्, म्याद सकियो, यो हुँदैन, त्यो हुँदैन, भन्नुहोला । हामीलाई अरू कुरा थाहा छैन । यत्ति थाहा छ, यो देशमा जे कुरा पनि गरेपछि हुन्छ । जसले हान्यो, त्यसले जान्यो । सर, हामीसित विश्वविद्यालयको प्रमाणपत्र मात्र नभएको हो । जा“चमा आउने प्रश्नको उत्तर मात्र थाहा छैन हामीलाई । बाँकी जम्मै थाहा छ । विद्यार्थीले भनेको नमान्दा उहिल्यै कीर्तिपुरमा के भयो ? याद अरम् सर, याद अरम् । हात्तीले पुच्छर हल्लाउने जमाना गए । हाम्रो भ्याकुत्ते जम्प यही हो ।”
“लौ बाबुहरूको जो इच्छा । विद्यार्थी हित विपरीत जाने छैन भनेर घरमा श्रीमतीसित प्रतिबद्धता जाहेर गरेको मात्र होइन, पाँचवटै छोरीको कसम खाएर यहाँ आएको छु । मेरी गृहमन्त्रीले कुनै हालतमा पनि यो पदमा बस्न मञ्जुरी दिएकी थिइनन् । उनकै गुरु अभि सुवेदी र गोविन्दराज भट्टराईको कथा सुनेपछि उनलाई “प्रमुख” भन्ने शब्दसँगै एलर्जी भा’छ । बाबु तूफान, हिजो उग्रनारायण चट्याङ आएर सम्झाए । आज बाबुले सम्झाउनुभयो । म पनि “जयनेपाल” मा विद्यावारिधि र “लालसलाम” मा डिलिट गरेर आएको मान्छे हुँ । मलाई टिक्न मात्र होइन, बिक्न पनि आउँछ । परिस्थितिअनुसारको पाठ सिक्न पनि आउँछ । चुनाव आयो । खर्च हुन्छ । खर्च गर । तिमीहरू विद्यार्थी हौ । कमाइ छैन । मैले सञ्चालक समितिको अध्यक्ष र खासखास सदस्यहरूसित सल्लाह गरेको छु । लेखापरीक्षणमा वासलात र सन्तुलन परीक्षण ठीकठाक हुनेगरी बिल भौचर मिलाउन प्रमुख लेखापाललाई विशेष आदेश दिएको छु । कति खर्च लाग्छ, म भएँ । सबै कुरा बाबुहरूले भने अनुसारै हन्छ । मैले जागिर खानुपर्दैन र ? पाँचवटी छोरीको बाउ नभएको भए… खैर, यता नजाउँ, केही गरी चुनावमा दायाँ बायाँ भयो र यसो सामान्य तोडफोड गर्नुपर्यो भने पाँचवटा गमला र केही सिसा ऊ त्यो गोदाममा छन्, तिनैलाई सदुपयोग गर्नु । यो कम्प्युटर र मेरो कोठालाई नछुनु । सरहरूको बाइक पनि नचलाउनु, नजलाउनु । सरहरू पनि जनही रु. ३०००।– सहयोग गर्न तयार हुनुहुन्छ । अरू के सेवा गरौं ? आदेश दिए हुन्छ ।”
विद्यार्थी प्रतिनिधिहरू जिल्ल परे । तूफान अलि नम्र हुन्छ, चिफ सर, हजुर सारै बुद्धिमान । हजुरलाई मानें । यस्तो दूरदर्शी मान्छे त यो देशको प्रधानमन्त्री हुनुपर्ने हो । अर्को चुनावमा सर सांसदको टिकट लिएर आउनुहोस् । हामी जसरी भए पनि जिताइदिन्छौं । चुनाव लड्ने पैसाको फिक्री नगरम् सर ।
“होइन, तूफान बाबु कालीपादे हो ? पवनकलीकै आवाजको सुगन्ध आइरहेछ ।”
“लऽऽ… सरले मेरो नागरिकता हेर्नुभएन, म चित्रबहादुर केसी कमरेडकै गाउँको मान्छे क्या ।
“बाबु, म पनि बागलुङकै हुँ नि ! कस्तो दोधारमा परिच्चु ! आफ्नो दूधेभाषा बोल्न पाइच्चु आज । खुसी लाइच्च । नास्ता अर्चौ ?”
“हामीले नास्ता अरिच्चम् । सर, हामीले आर्थिक सहयोग …. ।
“एऽऽ…. त्यति सानो कुरा । मैले चेक साटेर राखेको छु । रु. एक लाख जति आज लैजाउ । अरू आवश्यक चुनावपछि हुन्न र ?”
“हुन्छ सर, हुन्छ । सरको जय होस् ।”
“मेरो भए होस्, नभए नहोस्, बाबुहरूकै जय होस् ।” जान्छन् विद्यार्थीहरू । पुर्पुरोमा हात राख्छन् चिफ सर भुतभुताउँछन्– शत्रुले पनि यस्तो जागिर खान नपरोस् । कसैलाई सराप दिन पर्यो भने “क्याम्पस प्रमुख भएस्” भन्नेछु म । आयु घटाउने काम । हे भगवान्, म कता जाम ? तलब कहाँबाट खाम ! छ महिना भइसक्यो स्टाफको तलबभत्ता भुक्तान नभएको । कस्तो काँडाको माला भिर्न आएछु प्रभु ? १३४० हजार अर्थात् एक सालमै पाँच लाख बीस हजार रूपियाँ, सबैको सलाम, आहा, भन्दै कुर्सीमा आइयो, अहिले खाइयो ।” आफ्नै अनु्हारमा उल्टो लोप्पा खुवाउँछन् संस्थानायक । कसैले देख्यो कि भनेर चारैतिर चोर नजरले अवलोकन गर्दछन् । आज “सासूबुहारी” सङ्गठनले नेपाल बन्द गरेका छन् वरिपरि कोही पनि छैन । ढुक्क हुन्छन् । अनुहार पतेराले चुसेको धानजस्तो भएको छ । नजिकै कान्तिपुर छ, गोरखापत्र छ । नेपाल साप्ताहिक छ । नेपाल साप्ताहिक पल्टाएर भरत भुर्तेलको चरित चर्चा “क्याम्पस प्रमुखको अनर्गल प्रलाप” पढ्न थाल्छन् । आफ्नै जीवनी पढेझै“ लाग्दछ । हेर चतुरे, यो जुनीमा त गल्ती गरिस् गरिस्, अर्को जुनीमा बरु विदेशमा गएर भाँडा टिलिक्क पारेर चम्काउनु, यो पेसामा कुनै हालतमा पनि नआउनु ।”
“सर, चिया लिएर आऊँ ?” परिचारिका पद्मा कोइराला ।
“पद्मा, म यो पदमा छउञ्जेल जेजे मन लाग्छ गर…. ” त्यसपछि रुन थाल्छन् चिफसर । छक्क पर्छिन् पद्मानानी । अनि नबोलिरहन सक्दिनन्– सर, हजुर पनि हाम्रा प्रकाशका बुबा छविलाल जस्तै सेन्टिमेन्टल हुनुहु“दोरहेछ । बादल लाग्न पनि हुँदैन, आ“खामा सूर्यको किरण पर्न पनि हुँदैन । रूखका पातहरू हल्लिए पनि आँसु झार्नुहुन्छ सीतापतिज्यू ।
तिमीले मुक्तिपुत्रको सफलताको सूत्र बताएकी हौ ? कुरा बुझें । अस्ति नयाँ पत्रिकामा पढेको थिएँ ।” आँसु पुछ्दै, “दुई कप चिया लिएर आऊ ।”
“हुन्छ सर ।” पद्मा जान्छिन् ।
चुनाव सकियो । हप्ता दिन द्रोणाचार्यहरूले फुर्सद पाए । नौलानौला समाचारहरू आए । ठाउँठाउँमा विशेष अग्निपूजा भयो । झ्यालढोकाको विनिर्माण भयो । देशभरि यो शुभकर्मको मुक्तकण्ठले प्रशंसा गरियो । नयाँ बनाउन पुरानो भत्काउनै पर्दछ भन्ने उच्च चेतनाले काम गरेर होला, नयाँ पुस्ताले पुराना कुराहरू भत्काउन थाले । सबै कुराहरू समयको उपहार हो भनेर आमनागरिकले चित्त बुझाए । यो निर्विकल्प कार्य थियो । सहन भनेर जन्मिएका भाग्यमानी नेपालीहरू अझ राम्रोसित सहन अभ्यस्त हुँदैथिए । चुनावपछिको पहिलो कक्षामा अङ्ग्रेजी प्राध्यापक विद्यार्थी भाइबैनीहरू, यहाँहरूको कृपाले मैले २० वर्षसम्म यस क्याम्पसमा नेपालीमा अङ्ग्रेजी पढाएर गर्जो टार्ने मौका पाएँ । मेरो सङ्गतले तपाईंहरू बिग्रनुहुन्छ कि भन्ने डर लागेको थियो । त्यो दुर्घटना हुन पाएन । यहाँहरूको सङ्गतले आज म मान्छे बनें । पाँचवटा क्याम्पसमा पढाउँछु । हेर्नुहोस् तपाईंहरू अतिरिक्त क्रियाकलापमा बढी खट्न बाध्य हुनुभयो । परिणाम राम्रोसँग पढ्न पाउनुभएन । त्यसैले जाँचमा आउने प्रश्नहरूको रेडिमेट उत्तर बनाएको छु । सारे पुग्छ । आन्तरिक मूल्याङ्कनमा पनि बीसमा बीस । अझ मिल्ने भए एक्काइसै पठाइदिन्थ्यौ“ । प्रथम श्रेणी ग्यारेन्टी, परीक्षाको चिन्ता नमानौ“ । कापी कसले परीक्षण गर्छ, त्यो हामीलाई थाहा छ । समय नै विद्यार्थीको हो । त्यसैले हामी निरीह प्राध्यापकहरूको उत्तरआधुनिक जीवनदर्शन पनि “विद्यार्थी शरणम् गच्छामि” हो । हाम्रो लागि ब्रह्मा, विष्णु, महेश मात्र होइन, कोइराला, खनाल र दाहाल नै हाम्रा विद्यार्थीहरू हुन् । यहाँहरूकै शरणमा आयौं । पढा भने पढाउँछौं । नपढा भने लुरुक्क जान्छौं । भनेको मान्न तयार छौं । पानीमा बसेर गोहीसित टक्कर लिई आफैं अकुरमा पर्न चाह“दैनौ“ । बढी बोलेको भए क्षमा पाऊँ ।
सन्नाटा ! पहाडबाट पढ्नै भनेर आएका ढाकोराम (ढाकाको टोपी लगाउने) र टीकाराम (निधारमा रातो टीका लगाउने) एकचोटि जुरुक्क उठ्छन्, केही बोल्न खोज्छन् । रणसङ्ग्राम, तूफान र बज्रपातको नजरमा परेपछि थुचुक्क बस्छन् । “सर, अर्को जुनीमा पनि हजुरसितै पढ्न पाइयोस् ।” रणसङ्ग्रामको आवाज कोठाभरि गुञ्जिन्छ । ” विद्यार्थी शरणम् गच्छामि ।” भन्दै गुरुदेव कक्षा कोठाबाट नौ–दुई–एघार हुन्छन् र बाथरुमभित्र पसेर धुरुधुरु रुन्छन् ।
(स्रोत : मधुपर्क २०६६ भदौ)