~गीता थापा ‘दोषी’~
हामी आफ्नो गल्ती कमजोरीलाई पत्ता लगाएर सुधार्ने कर्म र आफ्नो गल्ती कमजोरी देख्न योग्य बन्न कहिल्यै पनि सक्दैनौं । आफ्ना सारा दोष कमजोरी अरुको थाप्लोमा थुपारेर सधैं पिरोलिई मात्र रहन्छौं । किनकी फत्फताउने, गनगनाउने अरु माथि दोषारोपण गर्ने हाम्रो मानव स्वभाव हो । यो स्वाभावबाट हामी बाहिर आउन चाहँदैनौं । हामी त्यसैमा अभयस्त बनिसकेकाछौं । त्यसैले हामीलाई नियम, कानुन, पाप, धर्म, निति अनिती जस्ता कुरा बेक्कार लाग्नु स्वाभाविक हो । हामी नियम कानुन निति जस्ता कुरा जान्ने बुझ्ने चेष्टा समेत गर्दैनौं । सधैं लहै लहैमा हिँड्न मनपराउने भएको कारणले हुनुपर्छ । थोरै असावधानीले दु:ख पीडा निम्ताउँछ । थोरै सावधानीले सुख खुसी पाप्त हुन्छ भन्ने कुरा कहिल्यै हेक्का राख्दैनौं । धर्ती, आकाश, सूर्य, चन्द्र, वायु आ-आफ्नो नियम अनुसार चलेका छन् र नै आज यो धर्ती मानव जाति बस्न लायक बनेको हो भन्ने कुराको सत्य महसुस गर्न सक्दैनौँ ।
यति लामो भूमिका बाँधेर आज म आफ्नो मनको एउटा कुनोमा थन्किएको तीन बर्ष अगाडिको कुरा लेख्ने जमर्को गर्दै छु । २००५ मे महिनामा म आफ्नो जन्मभूमि छोडेर कमाउन इजरायलतिर सरेकी थिएँ । यो मेरो न रहर थियो न धेरै पैसा कमाएर धनी बन्ने मोह । यो त केवल एउटा वाध्यता थियो । वाध्यता र विवशताको अगाडि मान्छेले निरीह भएर घुँडा नटेकी सुख पाउँदैन । इजरायल आएपछि युद्धले दिएको आर्थिक मन्दी र साहुको नाममा बन्धगी परेको घरबारी निखन्ने प्रयासमा लाग्दा-लाग्दै समय कति खेर चिप्लियो पत्तै भएन । सगरमाथा झैँ अग्लिएको समस्याको पहाड सम्याउँदा सम्याउँदै जन्मभूमिमा पाइला टेक्न मैले ठ्याक्कै पाँच वर्ष लामो प्रतिक्षा गर्नुपर्यो ।
म एकैचोटी २०१० मा नेपाल जाने तयारिमा जुटें । एक महिनाको बिदा मिल्यो । खुसीले खुट्टा भूइँमा थिएनन् । मनमा बारम्बार एउटै विचार उब्जिरहन्थ्यो- प्लेनबाट भूइँमा उर्लिने बित्तिकै एक पल्ट जन्मभूमिको माटोलाई ढोग्छु । र हातमा लिएर निधारमा टीका लगाउँछु । त्यति साह्रो तड्पिएको थियो मन । जन्मभूमिको साक्षात्कार गर्न । तर ईश्वरको कृपा भनौ वा आफ्नो असल कर्मको फल । शब्दमा व्यक्त गर्न सक्तिन म । काम आफूले सोचे जस्तै र आफ्नो स्वभावसँग मेल खाने भएकोले आफन्तीहरूको बीचबाट यत्रो लामो समय टाढा रहदा पनि पछुतो मान्नु परेन । म एकान्तप्रेमी मान्छे आफैं आफ्नो साथी हुँदा पनि औधी रमाउने खालको आचरण । त्यसमाथि आफू अनुसारको वातावरण हुँदा खुसी नहुने कुरै भएन । जहाँ काम गर्दा मन रमाउँछ, त्यहाँ चित्त एकाग्र हुन्छ । मन, बुद्धी, विवेक आफ्नो नियन्त्रणमा रहन्छ । स्वास्थ्यकोबारेमा तँलाई कस्तो छ ? के कसो छ ? भनेर फोन गरि गरि आमा जस्तै सोध्छे-म्यानेजर । अत्यन्तै खुशि लाग्छ । नेपाल जाने बेलापनि ‘ हातेझोला र सुटकेसमा गरेर तीस किलो भन्दा ज्यादा नलैजा । त्यो भन्दा ज्यादा लगे समस्या हुन्छ । जोखेर लैजा ‘ भन्दै सम्झाउँछे । ति सामान जोख्ने ठाउँसम्म पुर्याउने । कोठामा ल्याउने सबै काममा सहयोग गरी । यस्तो लाग्थ्यो- एउटी छोरी आफ्नो माइतबाट घर जाँदैछे । हुन त मान्छेमा गुनै गुन पनि हुन्न । गुनैगुनको आशा राख्नु पनि हुन्न । कहिलेकाहीं गाली पनि गर्छे, काममा गल्ती हुँदा । फेरि अफिस पुगेर उसलाई आफूले ज्यादा गाली गरेकी भन्ने महसुस हुने बित्तिकै फोन गरेर क्षमा पनि माग्छे । राम्रो कामको प्रशंसा पनि गर्छे ।
हुन त आफूले आफ्नो अनुसान पालाना र कामलाई सही ढंगले गर्ने । आफूबाट कसैलाई पनि असुविधा नहोस् भन्ने चहाना राखेपछि अरुले आफ्नो कसरी हानी पुर्याउने विचार राख्न सक्छन् र ? हिँड्ने सम्पूर्ण तयारी भयो । जाने आउने टिकटको व्यवस्था पनि म्यानेजरले’नै गरिदिएकी थिइ । जाँदा दिल्ली हुँदै काठमाडौं र आउँदा बैंकक हुँदै इजरायलको एयरपोर्टमा उर्लिनु भनेर निर्देशन पनि दिइ ।
कारमा राखेर श्रीमान श्रीमती एयरपोर्टसम्म पुर्याउन पनि आए । समान जाँच गरुन्जेल कुरेर बसे । जाँच गर्ने ठाउँमा मलाई कसले समान प्याक गरेको ? के के छ ? आदीइत्यादी प्रश्न सोधुन्जेल पनि साथै रहे । उसले थप्नुपर्ने ठाउँमा अत्यन्तै असल कामदार हो भनेर समेत भनी । चेकजाँचमा गड्बडी हुने कुरै भएन नियमलाई पालाना गरेपछि । समस्या त हाम्रो असावधानीबाट उब्जिने हो । भैपरी आउने दैविक आपती विपती भन्ने कुरा त्यो हाम्रो हातमा हुन्न । कहाँ कतिखेर के हुन्छ ? कुन स्थितिसँग संघर्ष गर्नुपर्छ ? कस्तो अवस्थाको शिकार हुनुपर्छ । त्यो कसैलाई थाहा हुन्न । मेरो जाँच सकियो । अब प्लेन चढ्ने समयको प्रतिक्षा थियो।
म्यानेजर र उसको श्रीमान मलाई ‘राम्रो सँगले जा, नेपाल पुगेर फोन गर्नु, तँ फर्किएर आउँदा म तँलाई लिन गाडी एयरपोर्टमा पठाउँछु । बाटोमा केही समस्या भयो भने सम्वन्धित निकायमा सोध्नु बुझ्नु । न हातारिनु ‘ भन्दै यात्रा सफलताको शुभ-कामना दिँदै अंकमाल गरेर फर्किए ।
म उनिहरु गएको आँखाले भ्याउञ्जेलसम्म हेरिरहें । उनिहरु आँखाबाट ओझेल परे । अब म जाँचको लागि लाम लागेका र वरपर ओहोर दोहोर गर्ने अपरिचित अनुहारहुरुलाई पालैपालो नियाल्न थालें । त्यतिकैमा हतारिँदै रातो र पिरो अनुहार लाएर हातमा काँधमा झोला झुन्ड्याउँदै सुटकेश गुडाएर एक नेपाली चेली आएर जाँचको लाममा उभिइन् ।
उनी आफ्नै धुनमा थिइन् । मतिर उनका नजर परेका थिएनन् । उनितिर भने मेरा नजर घरीघरी परीरहेका थिए । किनकी अर्काको मुलुक । त्यहाँ माथि अपरिचितको खचाखच भीड । आफ्नो देशकी नेपाली चेली उनीसँग मेरो रगतको साईनो नभएपनि आफ्नी लाग्नु स्वभाविक थियो । त्यसैले उनी मलाई विशेष लागिन् ।
उनी भन्दा अगाडि उभिएका मान्छेको पालो सकियो । उनको पालो आयो । उनको समान लैजान पाइने भन्दा निक्कै बढि भएको अवगत गराइयो समान जोख्ने ठाउँमा । यो सबै चिज लाने भए पाँचसय डलर बुझाउनुपर्छ भन्ने उर्दी भयो । अब उनी रिसले मुर्मुरिन थालिन् । आधी समान निकालेर भूइँमा थुपारिन् । सुटकेस खोलेर कुन चिज लाने कुन नलाने छान्न थालिन । लाग्थ्यो, उनले इजरायलको एउटा पसलै उठाएर ल्याएकी छन् । आफ्नो देशमा पैसाको पो अभाव छ । पैसा भएपछि चिजबिजको त के खाँचो ? जुनसुकै देशको पनि रोजी रोजी पाइन्छ । भारी कसेकी पनि उतै पाउने चकलेट स्याम्पु, बडीलोसन के के हो हो । एउटा चिज झिक्छिन् अनि भुत्भुताउँछिन् । अर्को चिज झिक्छिन् फेरी भुत्भुताउँछिन् । मुटु माथि पत्थर राख्दै आधी समान झिकेर पाखा लगाइन र फेरि जोख्ने ठाउँमा पुर्याइन् ।
फेरी पनि धेरै भयो समान । दुई सय डलर तिर्नु पर्छ । नत्र यहाँ धेरै कचकच गरिस् भने पुलिस बोलाएर जिम्मा लगाइदिन्छु भन्छे इजरायली । त्यसमा इजरायलीको पनि के दोष ? ऊ त आफ्नो कामको जिम्मेदारी निभाउँदै थिइ । नियम भन्दा विपरित जाओस् पनि कसरी ? उनी एउटीलाई कठैबरी भनेर छोडिदिएर नियमको पर्खाल भत्काउनु पनि त भएन । इजरायलीले कड्किएर पुलिसको धम्की दिएपछि उनी दुई सय डलर तिर्न राजी भइन् । त्यसपछि उनको समान प्लेनभित्र थन्क्याउन लगियो ।
उनी ज्यादा भएको समान थुपारेको स्थानमा आइन । भूइँमा टुक्रुक्क बसिन् । मान्छेको चहलपहल अघिको भन्दा अलि पातलिएको छ । पाखामा राखेको समान पनि उनलाई मिल्काएर हिँड्न मन लागेको थिएन । मुटु कटक्क काटिएको कुरा उनको अनुहारमा प्रष्टै झल्किरहेको थियो । कसो कसो उनका नजर मेरा नजरसँग ठोकिए । उनी मुसुक्क मुस्कुराइन् र भूइँमा थुपारेका समान सुमसुम्याउदै चुकचुकाइन् । मनमा जति औडाह छट्पटी भएपनि उनले मुस्कुराउन भने बिर्सिएकी थिइनन् । मलाई खुसी लाग्यो ।
सोधिन-तपाई नेपाली होइन ?
हो ।
नेपालमा घर कता हो ?
मोरङ ।
अनि तपाईको कता हो नी ?
मेरो पोखरा ।
यो इजरायली नक्कलीको के जान्थ्यो यति समान लान दिएको भए ? कति दु:ख गरेर यो छोरी, छोरा, आमा, बहिनीको लागि किनेकी थिएँ । पैसा पैसाको वर्वात भयो । अब कसरी यति महंगो समान फोहर मिल्काउने भाँडोमा फालेर जानुँ ?
उनको कारुणिक आवाज र समानप्रतिको मोह देखेर म भावुक भएँ । सोचें, आखिर मेरो हातेझोलामा मुख पुछ्ने तौलिया र दुई-चार जोर कपडा छन् । त्यसैमा राखेर भित्र छिराइदिनु पर्यो । त्यसपछि त ड्युटीफ्रीमा किनेको भनेर पनि लान्छिन् भन्ने ठानेर उनलाई सुनाएँ । उनले पनि सहमती जनाईन् ‘मैले आधी, तपाईले आधी गरेर भित्र छिर्याउने । अनि एउटा झोला किनेर ड्युटीफ्रीमा किनेको भन्ने पारेर लान्छु । दिमागी हिसाबले सोचेको भए त्यो कानुन विपरित कार्य थियो । त्यसरी कानुनको उलङघन गर्नु नहुने थियो । भावनात्मक हिसाबले सोच्दा त्यो कार्य गलत लागेन । परिवारबाट टाढा रहेर,यादले कल्पी-कल्पी दिन कटाउँदै मेहनतको पैसाले किनेको चिजबिज फ्यात्त फोहोर मिल्काउने भाँडोमा मिल्काएर हिँड्दा कस्को मन अमिलो हुँदैन र ? भन्न पो सजिलो ‘ आ ! त्यस्ता जावा समानको लोभ नगर । ‘ तर यो मनलाई मनाउन भने जस्तो सजिलो कहाँ हुन्छ र ?
आफूलाई उनको ठाउँमा राखेर सोचें । त्यसपछि भूइँमा अलपत्र परेको समान उठाएर झोलामा कोचे । र भित्रसम्म लगिदिएँ । उनले मेरो धान्यवाद दिँदै आफ्नो समान जिम्मा लिइन् । झोला किनेर प्याक गरिन् । एयरपोर्टबाटै उनका साथीलाई सुनाइन्-चेकजाँचमा समान धेरै भएर कुकुरले नपाएको दु:ख पाइयो । धन्न मिल्काउन झिकेको समान एकजना बहिनीले भित्रसम्म ल्याउन मद्घत गरीदिनु भयो । उनी त्यतिबेला हात हल्लाइ हल्लाइ फोनमा गफ गर्न मस्त थिएन् ।
म यता उता डुल्दै ड्युटीफ्रीका सर-समानहरू नियालिरहें । किन्नु केही थिएन । नकिने पनि ति सिसाका सोकेशभित्र सजिएका रङगिविरङगी सर-समान हेर्दा मात्र पनि आनन्दको अनुभूति सिंगो शरीरको नसा नसामा दौडिरहेको थियो । अब प्लेन भएको ठाउँमा जानुपर्ने समय भयो । भयो। भित्र छिर्ने ठाउँमा दुइटा गेट थिए । उनी र म एउटै प्लेनमा जाने त होनि भनेर एउटै गेटबाट भित्र छिर्न लागेका थियौँ । एक व्यक्तिले परैबाट हातको ईशाराले अर्को गेटबाट जा भन्यो मलाई । मत सरासरी गएँ । कुनै झैंझमेला भएन । शायद चेकजाँचमा बस्ने व्यक्तिहरू दिनरात अनगिन्ती मान्छेको चेहेरा हेर्दाहेर्दै हिँडाइ बोलाई हाउभाउले यात्रुहरूको मनोविज्ञान पढ्न सिपालु हुन्छन् क्यारे ।
उनलाई त्यहाँ पनि उभ्याएर निकैबेर केरकार पारेछ । हातेव्यागमा भएको क्रिम पाउडर लिपिष्टिक पनि खोसेछ । त्यो झोलाको समान पनि लान पाउँदिनस् भनेर दिएनछ । म प्लेनमा बेसेपछि उनी निलो र कालो अनुहार लगाएर आइपुगिन् । उनको भन्दा तीन चार सिट अगाडि थियो मेरो सिट । उनी झोला राखेर मेरो सामुन्ने उभिइन् ।
मैले सोधें- किन ढिलो गर्नु भा’को ?
मलाई त कति दु:ख दियो एउटा बजियाले । पाँचसय सेकलमा किनेको त्यति महंगो क्रिम पनि लान मिल्दैन भनेर खोसेर राख्यो । झोलाको समान पनि लान पाउदिनस् भन्यो । मान्छेको अनुहार हेरेर व्यवहार गर्दो रहेछ । तपाईलाई अर्कै गेटबाट जा भन्यो । कति सजिलै आउँनु भयो । हैजाले लाननसकेको बजियालाई । मलाई त दिनसम्म दु:ख दियो । त्यो क्रिम र लिपिष्टिक त दिने भनेर हात जोड्दा पनि दिएन । मर्ननसकेको मोरो कति सम्मको ननीको त ।
उनले बोलेका शब्दमा म एकछिन् जिल्लिएँ । उनको भ्रम दूर होस् भनेर भनें- अनुहार हेरेर व्यवहार गर्ने भन्दा पनि नियम पालाना गर्नेलाई सहज हुन्छ यात्रा । अनुहार हेरेर व्यवहार गरेर के फाईदा तिनीहरूलाई चिन्नुन जान्नुका यात्रुहरूसँग ? अनुसाशनलेनै हरेक नराम्रो कुरालाई हामी नजिक आउनबाट रोक्छ । हातमा पाँच किलो । सुटकेसमा पच्चिस किलो ल्याउन छुट दिएकै छ । हामीनै नियम विपरित हिँड्छौं । हाम्रो गल्तीको कारण उनिहरु कडा रुपमा प्रस्तुत हुन् वाध्य हुन्छन् ।
तर उनी मेरा कुरा मनन गरेर आफ्नो गल्ती कमजोरी मान्न तयार थिइनन् । नेपालसम्म पनि त्यो महंगो क्रिम र लिपिष्टिक सम्झिएर फतफताइरहिन ।
एयरपोर्टबाट बाहिर निस्किएपछि भने हाम्रो गन्तव्य फरक भयो । जन्मभूमिमा पाइला परेपछि मेरो खुसीले होस् हवास हराएको थियो । पराइभूमिबाट आएकीलाई आफ्नो भूमिका सबै मान्छे आफ्ना लाग्थे । आफ्नाको बीचमा पुगेकी मलाई उनको सम्पर्क नम्वर माग्ने हेक्कै भएन । एक अर्काको सम्पर्क नम्वर नभएपछि उनको र मेरो मित्रता विमान चढ्नुअघिको जाँचबाट शुरु भएर प्लेनको यात्रा समाप्तसँगै समाप्त भयो ।
– See more at: http://www.nepalplus.com/archives/19414#sthash.LN04VrsK.dpuf