~बिन्दु प्याकुरेल ‘लुना’~
सैलुङ्ग डाँडाको काखमा यौवना विधवाको झाँक्रो झैँ फिजिएको छ मदनकुडारी गाउँ। प्राकृतिक रुपमा सुन्दर छ मदनकुडारी गाउँ तर त्यो सौन्दर्यको उपभोग गर्नेहरु कम छन् त्यो गाउँमा। त्यसैले कोरीबाटी चिटिक्क नपरेकी उजाड विधवा झैँ देखिन्छ मदनकुडारी गाउँ।
~~~~
मुलुकमा राजनीतिक परिवर्तन शुरु हुन थालेदेखि र ठाउँ-ठाउँमा गृहयुद्ध भएदेखि त्यस गाउँका धेरै युवायुवती गाउँ छोडेर कोही काठमाडौँ, कोही भारतका विभिन्न सहर, कोही जग्गा बेचेर या धितो राखेरै भए पनि खाडी मुलुकतिर पसेका छन्।
~~~~
त्यही गाउँको एउटा घरको कथा।
घर माटो-काठले बनेको छ, खरले छाएको छानो छ। घरमा चारैतिर पाली छ। घरको पछाडिको पालिमा भेडा-बाख्रा -खसी-पाठापाठीहरु बाँधिएका छन्। घरको दायाँ पालीमा दाउरा-मुढा चाङ मिलाएर राखिएको छ। बायाँ पालीमा अगेनो छ, जहाँ अहिले रक्सी पारिँदै छ, धूँवा निस्किरहेको छ।
~~~~
पाते (बुहारीको नाम) फू-फू गर्दै दाउरा बाल्दै रक्सीको बान (पानी) फेर्दै छे। आँगनमा बोजू (बज्यै-पातेकी सासु आमा) लट्ठीले ‘ हा! हा!’ गर्दै कुखुरा धपाउँदै सुकाइराखेको कोदोलाई बेलाबेलामा चलाइरहेकी छिन्। अन्तरे (बोजूको नाती, पातेका श्रीमान) भर्खर घाँसको भारी ल्याएर आँगन नजिकैको भैंसी गोठमा राख्दै घाँसको भारी फुकाउँदै छ चौपायालाई दिनलाई।
~~~~
आँगनको गुन्द्रीमा बसिरहेकी बोजुले हत्केलाले घामको ज्योतिलाई छेक्दै आकाशतिर हेर्दै भनिन, ‘ पाते ! खोर्सानी पा नी सा प्युइ ले त यता मोइले सुकाम्छा’
पातेले एक डाली खुर्सानी घरभित्रबाट आँगनमा ल्याएर राख्दै पुराना गुन्द्रीलाई जोडेर फराकिलो बनाई त्यसै माथि खुर्सानी थुपार्दै भनी, ‘मो मोर्चा ल्याउनु जान्छ , न्याप्टिले द्यान्छ रे हिजोइ माग्या को, मो जाम् बाजू ? ‘ ( मोर्चा लिन जानुछ, हिजै नेप्टीसँग मागेको, उसले दिन्छे रे, म जाउँ बजू ? )
‘जा-जा बारु घ्याम्पाको जाँड त्यास्को बौलाई पानि लाइ दे’ बोजुले पातेतिर हेर्दै नहेरी खुरुखुरु खुर्सानीको थुप्रो सम्याउँदै भनिन्।
~~~~
बोजूलाई खुर्सानीको रागले ६-७ पटक हाछ्युँ आयो।
~~~~
एकै छिनमा पाते मोर्चा लिएर आइपुगिन् र रक्सी पार्दै गरेको बानमा फेरि पानी थपिदिइन्।
अन्तरे पनि गोठको काम सिध्याएर पातेतिर पुलुक्क हेर्दै बोजूको छेउमा गएर बस्यो।
~~~~
आज घाम चरक्क चर्के पनि बोजु, अन्तरे र पातेको जिउमा घाम लाग्या छैन। भोलि अन्तरे काठमाडौँ जाँदैछ, फूल जस्ती, जून जस्ती ढकमक्क फूलेकी पाते र डाँडा माथिकी घाम बोजुलाई छोडेर। बोजु, अन्तरे र पाते तीनै जनाको मुहार औँसीको रात जस्तो अँध्यारो भएको छ।
~~~~
कुखुराहरु आएर सुकाइराखेको कोदोमाथि दाईँ गर्न थाले। तीनै जनाले एकै स्वरमा ‘ हा! हा! ‘ गरे। पातेले उठ्दै गएर परसम्म धपाइन् कुखुराहरुलाई र घरभित्र पसेर भर्खरै बनाएको रक्सी र सुकुटीको सितन ल्याएर बोजु र अन्तरेको छेउमा राखिदिइन् र फेरि आफू अगेनोमा दाउरा जोड्न गइन्।
~~~~
‘ तोँ पा नि खा ! अइजा ! ‘ बोजुले पातेलाई डाकिन्। ‘ पानी फेर्नु देउ आ नि ‘ पातेले भनिन् र पानी फेर्न थालिन्। ‘ तीन पानीको झिक ‘ ! बोजुले अर्हाइन्।
तीन पानीको रक्सी झिकेर फेरि पानी बानमा थपिदिँदै दाउरा पनि जोडेर पाते, अन्तरे र बोजूको छेउमा आएर बसिन्।
~~~~
छेउमै रातो भालेले छिर्केमिर्के पोथीलाई सिउरमा ठुङ्ग्न थाल्यो। पातेले ‘ हा!’ गर्दै धपाइन्। अन्तरे मसक्क मस्क्यो —।
~~~~
बोजूले अन्तरेको मुखमा हेर्दै भनिन् ‘ तोँ ना जा भान्चा मो। तारुनी स्वास्नी रा मो बुढीलाई घारमा राख, तोँ चैँ जा, गाउँ भारी मुन्छे छैन ! तोँ हाम्लाई कासारी छोड्चा ! तोँ ना जा ! मोइले भानेको मान् ! खानु पुग्चा, पाटे (खसी) भोन्टी (भैंसी) यात्रो कुगुरा (कुखुरा) छ , साप्पै पुग्चा , तो शाहर ( काठमाडौँ ) ना जा ! ‘
नाति काठमाडौँ जाने कुराले बोजू पिरोलिएकी थिइन्।
अन्तरेले भन्यो , ‘ गोराहारु ता मान्कारी हुन्चा रे , द्यानको पान्से – हाज्जार द्यान्चा रे , माङ्ग्गो जोत्ता द्यान्चा रे ! कोइ ता उस्काइ देश पानि लान्छा रे ! , त्यो द्यासको पोइसा ता कात्ती कात्ती ! ! भागे मा भे ता मो पानि जान्छा , नभे पानि पोइसा ता कमौछा ! मो तिम्लाई, पातेलाई लाउरी ढिकी फोली ल्यान्छा , घाडि पोनि ल्यान्चा !’
( गोराहरु मनकारी हुन्छन् रे , दिनको पाँच सयदेखि हजार दिन्छ रे, कोइ त उसकै देश पनि लान्छ रे, त्यो देशको पैसा त यहाँको पैसासँग साट्दा कति कति ! , भाग्यमा भए म पनि जान्छु, नभए पनि पैसा कमाएर तिमीलाई र पातेलाई लाहुरे ढिकी फूली र घडी ल्याउँछु — )
बोजुले भनिन् , ‘ क्या तो घादि ! ? के गार्छा मो बुढी त्या घादि ! (म बूढीले के गर्ने त्यो घडी ! )
‘ लोसार मा लाउला नि ‘ ! अन्तरेले भन्यो।
पातेले ‘ तू मात्याको ! क्यानु जानु पार्ने ! ‘ त्यति मात्रै भनेर गुन्द्रीको छेस्का चुँडाएर त्यसैको टुक्राले खुट्टाको नङको माटो कोट्याइ रही।
बोजुले पातेलाई टीठलाग्दो आँखाले हेर्दै भनिन्, ‘ तो पानि जा नु ता आन्तारे साङ्गु ! ‘ ( तँ पनि जा न त अन्तरेसँग)
पातेले पुलुक्क बोजुको मुखमा हेर्दै भनिन , ‘ को द्यान्चा घास पाटे – भोन्टीलाई ? ‘
बोजुले भनिन् ‘ मो गार्चा नि ! ‘
‘ आ ! गार्चा ! ढ्याडो (ढिडो) मास्काउना (ओढाल्न) ता सा क् ताइ ना ! आबु घासको भारी पो बोक्छु भान्चा ! मो तिम्लाई छोड्दाइना पो बोजू ! बारु यल्लाई छोड्चा ! ‘ अन्तरेतिर आँखा तेर्साउँदै भनिन् पातेले।
बोजुले मायालु आँखाले पातेलाई हेरिरहिन्।
~~~~
पातेलाई आफ्नो लोग्ने आफूले र बोजुले नजाउ भन्दाभन्दै पनि काठमाडौँ जान लागेकोले खुब चित्त दुखिरहेको थियो। उसको पालो खुइखुइ बटुकोमा रक्सी खन्याउँदै तन्काइदिइ। ऊ बोजुलाई असाध्यै माया गर्थी। त्यसैले खुब लाडिएकी थिइ बोजुसँग। कति पनि धक नमानी मज्जाले लगातार ६-७ बटुको भरी रक्सी रित्याइ दिइ।
बोजु नातिनी बुहारीको चाल देखेर अहिले चाँही मुसुमुसु हाँस्दै रक्सीमा पानी फेर्न आफै उठेर गइन्।
~~~~
अन्तरेले मायालु बोलीले भन्यो ‘ रक्सी धेराइ नापि कान्छी ! (रक्सी धेरै नपिऊ कान्छी ! )
‘ पिउँछ ! तू लाई के ! तू लाई क्या मान खान्छ ! (तिम्रो के मन खान्छ र ! पिउँछु ! – घुर्की –
उनी घुर्क्याउन थालिन्।
अन्तरेले पातेलाई फकाउन थालयो , ‘ या ग् माइना (एक महिना) ता हो नि तु त्याती पानि ( त्यति पनि ) खाप्नु साक्तैना ! ‘
अब पातेको रिसको पारोले सगरमाथाको टुप्पो छुन थालयो। बोजुको साथ पाएकै थिइ शहर नजाऊ भन्नलाई। अब के चाहियो र ! अन्तरेले ‘ एक महिना त हो नि , त्यति पर्खन पनि कति गार्हो हुन्छ र ! ‘ भने पछि ऊ ढल्मलिँदै बसेको ठाउँबाट उठी र ‘ यी याति खाप्नु साक्छ! भन्दै — उचाली। अन्तरेले दिउँसै तारा देख्यो –
~~~~
बिहान भयो। अन्तरे काठमाडौँ जान ठिक्क परेको छ। बोजु आँगनमा हुक्का तानेर बसिरहेकी थिइन्, पातेले हुक्कामा ‘ फू’ गरिन् आगोमाथि सेतै खरानी देखेर। खरानी उड्यो, आगो भररर भो।
‘ मो जान्छ ! ‘ अन्तरेले पातेतिर नहेरी बोजूलाई मात्र हेरेर भन्यो। (पातेलाई हेर्नै सकेन, यसै त चिम्सा तिलचाम्ले आँखा झन रोएर सुन्निँदा असाध्यैको टीठलाग्दो देखिएको थियो , त्यसैले अन्तरेले पातेलाई हेर्नै सकेन)
बोजुले बिस्तारै ‘ लु ता छ्याट्टो आइजा ! ‘ काँपेको स्वरमा भनिन्।
अब पातेसँग बिदा माग्नु थियो। एक पल्ट् ख्वाक्क खोक्यो र गर्हौँ मनले बोल्यो ‘ बस है कान्छी , मो गा यो ! ‘
बल्ल पातेले बिस्तारै भनी , ‘ छि ट्तै आउ ला ! ‘
यसो भन्दा पातेको आँखाबाट बलिन्द्र धारा आँसु चुहिरहेको थियो।
पाते र बुढी बोजूलाई छोडेर हिंड्नु पर्दा अन्तरेको खुट्टामा जातो खुन्डिएको-झुन्डिएको जस्तै भएको थियो।
तर पनि ऊ गाउँका अरु साथीहरुले झैँ शहर गएर कमाएर ल्याउने ध्याउन्नमा थियो र आफ्नो रहरमा अडिग हुँदै पाइला अगाडि बढायो काठमाडौँतर्फ।
~~~~~
दिनभर हिंडेर साँझ टाढा छिमेकी गाउँमा बास बसेर भोलिपल्ट एकाबिहानैको बस समातेपछि अन्तरे दिउँसो नै काठमाडौँको रत्नपार्कमा झर्यो।
जीवनमा पहिलो पल्ट यति ठूलो शहरमा एक्लै आएको थियो अन्तरे। यतै ठेलमठेल उतै ठेलमठेल। मान्छेहरुलाई सोध्दै ऊ घण्टाघरमुनिको गेटढोकामै टाँसिएर उभिरह्यो। धने (अन्तरेको साथी) ले ‘ घान्टाघार सोधेरा तिँ मुनि बा स ! मो घान्टाघारमा आउचा लिना, तु हाराउला ! ति कुरी बास ! कतोइ ना जा ! ‘ भनेको थियो।
सडकमा सवारी साधनहरुका ताँती हुँइकिरहेको थियो। थरिथरिका, रङ्ग-रङ्गका सवारी साधनहरु धूँवाको मुस्लो फाल्दै कुद्थे। अन्तरेले हेर्दै, कुर्दाकुर्दै २ घण्टा जति बितायो। अँह ! धने आएन !
अन्तरेको ओठ-तालु सुक्न थाल्यो, कतै आफू हराउने हो कि भन्ने पिरले। केही बेर अगाडिसम्म रमाइलो लागेको मोटरगाडी अब उसलाई तर्साउने झैँ लाग्दै थियो। गाडीको हर्नले ऊ तर्सिन्थियो घरिघरि। चर्को घाम, गाडीको धुँवा , टिँ टिँ टिँ आवाज, भटभटेले बाटो काट्दै कुदेको दृश्यले ऊ लुगलुग कामे जस्तै डराउन थाल्यो।
व्यस्त भीडभाड सडकलाई हेर्दाहेर्दै उसको आँखा थाक्दै थियो।
केही पर निकै होहल्ला सुन्यो उसले। बिस्तारै मान्छेहरुको भीड अगाडि बढ्दै आइरहेको थियो। हेर्दाहेर्दै गाडीहरु कमिलाको ताँती जस्तो सडक किनारामा रोकिन थाले। सडकलाई निजी बिर्ता झैँ ओगटेर हिँडिरहेको भीडले गर्दा थुप्रैथुप्रै सवारी साधनहरु सडक मै ठप्प रोकिएका थिए।
उसले हरेक सवारी साधनहरुभित्र आँखा दौडायो। ड्राइभरले घरिघरि पसिना पुछ्दै थिए कहिले भीडले बाटो छोड्ला भनेर। गाडीभित्र बसेका सबै मान्छेहरु पनि तर्सिएका, दिक्क भएका, थाकेका जस्ता देखिन्थे। कसैको अनुहार उज्यालो देखेन उसले।
मलामीबाट फर्केका मान्छेहरुको जस्तो उदास अनुहार थियो सबैको।
शहरमा त मान्छे खुशी भएर बाँच्छ्न् भन्ने सोचेको थियो उसले गाउँमा तर यहाँ त —-
अगाडि बढ्दै गएको भीडले टायर बाल्न थाले। उसले हेर्दाहेर्दै आकाशकुहिरी मन्डल भो कालो टायरको धूँवाले। एक छिनपछि प्रहरीको भ्यान हुइहुइ कराउँदै आइपुग्यो। मान्छेहरुको भीड तितरबितर भो।
घण्टाघरको पर्खालको भित्तामा टाँसिएर खत्र्याङ खुर्तुङ्ग बेच्ने दिदीले सानो काखे बच्चालाई कोक्रामा राखेकी थिइ। होहल्लाको आवाजले बच्चा बिउँझियो च्याँ-च्याँ गर्दै। तिनले पछ्यौरीले ढाकेर दूध खुवाइन् बच्चालाई।
भीड तितरबितर भएपछि अहिले लामवद्घ पर्खिएका सवारी साधनहरु बिस्तारै अघि बढ्न थाले।
कालो टायरको धूलोमा पाङ्ग्राले कुल्चिँदा वातावरण धुलाम्मे भएको थियो। पोलेको टायरको गन्ध नराम्रोसँग फैलिएको थियो हावामा। अन्तरेको नाक पोल्यो। उसले दुधे बालकलाई मायालाग्दो आँखाले हेर्यो
मायालाग्दो आँखाले हेर्दै टोलायो।
कसैले एक्कासी घ्याच्च घच्च्याउँदा ऊ झसङ्ग भएर पछाडि फर्क्यो।
अघिसम्म हराउँछु कि भनेर ओठ-तालु सुकेको अन्तरेको ज्यानमा बल्ल उर्जाको रक्त संचार भो आफ्नो गाउँले साथी धनेलाई देखेर।
~~~~
धनेले ट्याक्सी रोक्दै अन्तरेलाई राखेर ठमेलसम्म ल्यायो। अन्तरेले जीवनमा पहिलो पटक यस्तो भैंसी जत्रो सानो गाडीमा चढेको थियो। अघिसम्मको दिनभरिको थकानलाई भुल्दै ऊ दङ्ग परेर धनेसँगै ट्याक्सीमा ठमेल पुग्यो। धनेले ११५ रुप्पे तिर्यो। अन्तरेले जिब्रो टोक्यो। अघि भर्खर चढेको जस्तो लाग्छ गाडीमा यत्रो पैसा दियो भनेर अन्तरेले पुलुक्क धनेको मुखमा हेर्यो। धने मख्ख पर्यो आफूले अन्तरेलाई दङ्ग पार्न सकेकोमा।
~~~~~
आज साँझ धने एल बी दाइको ग्रुपसँग रेस्टुरेन्टमा खान जाँदै थियो अन्तरेलाई पनि लिएर। धने ४ दिनपछि एल बी दाइको ग्रुपमा अन्तरेलाई भरियाको जिम्मा लगाएर लैजाँदै थियो। धने आफू चाँहि गाइड जस्तै भएको थियो १-२ वर्षको भरिया अनुभवले खारिएर। टट्याङटुटुङ्ग अङ्रेजी पनि बोल्थ्यो।
~~~~
काठमाडौँ आएकै दिन काठमाडौँ शहरको त्यो बिजोग देख्यो भने त्यही दिन साँझ राति ठमेलको झिलिमिली देखेर चाँही अन्तरे दङै पर्यो।
रङ्गीचङ्गी सामानहरुले सजिएका पसलहरु, थरिथरिका मान्छेहरु देखेर ऊ ट्वाँ पर्दै हेर्थ्यो। धनेले ‘ ओ आइ! अन्तरे ! ‘ भनेपछि फेरि धनेको पछि पछि लाग्थ्यो।
साँझ यसरी बित्यो जसरी पृथ्वीको कुनै एक प्राणी अर्को ग्रहको भीडभाड र रमझममा पुगेर बित्छ !
~~~~
भोलिपल्ट बिहान उज्यालो हुन नपाउँदै धनेले ठूलाठूला जर्किन हातमा लियो र पानीको लागि लाइन बस्न गयो धारामा। अन्तरे पनि आँखा मिच्दै उठेर धनेसँगै आयो। आज छिट्टै उठेको भएर त्यति धेरै पछाडि पर्नु परेको रहेनछ, बस्दाबस्दै १५-२० मिनेट मै पानी भरेर डेरामा आए दुवै जना।
धनेले स्टोभ बाल्न खोज्यो चिया बनाउन , मट्टितेल सिद्दिएछ। ‘ आजु तो रा मो लाइन बास्ने माटित्याल ल्यानु’ धनेले भन्यो र दुबै जना जर्किन बोकेर हिंडे मट्टितेल बाँड्ने ठाउँ नजिक। लाइनमा जर्किन राखेर दुबै जना छेउ कै चिया पसलमा चिया र दुनोट खान लागे। धनेले दुई जनाको गरेर ४० रुप्पे बुझायो। अन्तरे छक्क पर्यो जाबो २ कप चिया र २ वटा दुनोट को ४० रुप्पे तिरेको देखेर।
~~~~~
मट्टितेल भर्ने पालो आइपुगेको छैन। उनीहरु सडकदेखि नजिकैको किनारमा थिए। हिजो त्यो सडकमा पनि आन्दोलनकारीहरुले टायर जलाएका रहेछन्। सडक जलेको टायरको धुलोले कालाम्य देखिन्थ्यो। सिसाका टुक्राहरु पनि छरपस्टै देखिन्थ्यो सडकमा।
केही सानासाना स्कूले बालबालिकाहरु एउटै रङ्को लुगा लगाएर पछाडि करिब-करिब आफू जत्रै झोलाका भारी बोकेर हिँड्दै थिए। उनीहरुले आफ्ना साना-साना खुट्टालाई सडक भरी छरपष्टिएका सिसाका टुक्राहरुबाट जोगाउँदै हिँडिरहेका थिए। अन्तरेको जिउ सिरिङ भो यो देखेर।
बल्ल बल्ल १० बजेतिर मट्टितेल भर्ने पालो आयो। अन्तरेले लामो सास फेर्यो। गाउँको ठिटो आत्तिएको थियो शहरी बिजोग देखेर।
मट्टितेल डेरामा पुर्याएर आज खाना होटलमै खाने विचार ले धनेले अन्तरेलाई होटलमा लग्यो।
भित्र ओस परेको गल्ली छिर्ने चोकको बाटो छेउमा फोहोरको थुप्रो थुप्रिएको थियो। त्यहाँ स- साना नानीहरुले नाङ्गै खुट्टा टेक्दै केही खोजिरहेका झैँ देखिन्थे। अन्तरेले धेरै तला भएको घरमुनि थुप्रिएको त्यो गन्हाउने फोहर र ती फोहरमा आफ्ना भविष्य खोजिरहे झैँ देखिने नानीहरुलाई हेर्दै गल्लीभित्रको होटलमा पुग्यो।
धनेले कुखुराको मासु र भात मगाएर खुवायो अन्तरेलाई। उनीहरु डेरामा आए। अन्तरेलाई खाना नपचेर बेस्मारी पेट दुख्न शुरु गरिसकेको थियो। २-३-४- हुँदै लगातार ऊ पाइखाना जानु पर्ने भो।
पाइखाना असाध्यै फोहर थियो। गाउँको खुला पाखामा आची गरेको अन्तरे शहरको यो गुम्सिएको दुर्गन्धित पाइखानामा बस्नु पर्दा उसलाई बान्ता आउला जस्तो पनि भएको थियो।
~~~~
३ दिन भइसकेको थियो काठमाडौँ आएको, अब भोलि ट्रेकिङ जाने दिन। ऊ भने काठमाडौँको हावा, पानी, खाना नपचेर बिरामी परे जस्तो भएको थियो। धनेले औषधी किनेर ल्यायो र अन्तरेलाई दिँदै भन्यो ‘ आउ साथी खा , ! निको हुन्चा ! ‘। धनेले जीवनमा पहिलो चोटी यस्तो औषधी खाएको थियो। ग्वाम ग्वाम चपायो के-के नै मीठो होला भनेर ! उसको मुख नराम्रोसँग बिग्रियो। धनेले काम पायो , मरी मरी हाँस्यो।
~~~~
आजदेखि ट्रेकिङ जानुपर्ने, उनीहरु गए। १४ दिन ट्रेकिङमा बिताएर काठमाडौँ फर्किए। आएको दिनदेखि अहिलेसम्म गन्दा करिब ३ हप्ता भइसकेको थियो बूढी बोजूसँग बसेर तोङ्बा नखाएको र पातेको ढकम्क्क फूलेको फूल जस्तो मुहार नहेरेको। उसलाई एकदम न्यास्रो लाग्यो।
अब को दिनदेखि फेरि ९ दिनपछि अर्को ग्रुप थियो ११ दिनको लागि लाङ्टाङ जाने। अन्तरे यही ९ दिनको बीचमा पहाड गएर आउन चाहन्थ्यो। जान २ दिन आउन २ दिन – ४ दिन लाग्थ्यो। त्यसैले धनेले उसलाई नजान सल्लाह दियो। ऊ गएन।
~~~~
धनेका परिवारहरु आउने-जाने गर्ने हुनाले एउटै कोठामा अन्तरे धेरै दिनको लागि पाहुना भएर बस्न मिल्दैन थियो त्यसैले यही बीचमा धनेले अन्तरेको लागि आफ्नो डेरा नजिकै कोठा खोज्यो। बल्ल बल्ल कोठा पायो। कोठामा चाहिने सर-सामान अघिल्लो ट्रेकिङबाट जम्मा गरेको पैसाले किन्यो। यही बीचमा हिँडडुल गरिरहँदा अन्तरे फेरि बिरामी पर्यो। उसलाई काठमाडौँको दुषित हावापानी, खाना पटक्कै पचेन। औषधी खाँदै दिन बिताउँदा दोस्रो ट्रेकिङ जाने दिन पनि आयो। गयो। यस पटकको ट्रेकिङका अवधिभर पातेलाई बेस्मारी सम्झियो अन्तरेले।
ट्रेकिङबाट पुनः फर्किएर काठमाडौँ आयो। अबको चार दिनपछि फेरि अर्को ग्रुप थियो एक हप्ताको काठमाडौँ उपत्यका ट्रेकिङ गर्ने।
४ दिन फेरि कुर्नु पर्ने भो। उही धुलो, फोहोर, धूँवा, दुषित पानी, दुषित पानीमा पकाएको मिसावटयुक्त्त खानेकुरा ! अन्तरे यस पटक नराम्रोसँग बिरामी पर्यो।
‘ यास्तारी ता काइले पोनि थाकेको थेना ! क्या भो ! क्या भो ! फापेन मुलाई ता यो शाहर , कान्छीको आँशुले पोल्यो की क्या हो ! ‘ ऊ झोक्राएर सोच्न थाल्यो।
दुई छाक खान पुग्ने बारी, भैंसी गोठ, बाख्राबाख्री, पाठापाठी, कुखुरा, बारीको ताजा तरकारी, पातेले मस्काएको ढेडोमा सुकुटी, आलु, मुलाको चाना मिसाएर बनाएको छिप्छिपेमा ढिँडो चोब्दै खाएको झल्झली सम्झियो। आँगनमा बसेर बोजुसँग तोङ्बा पिएको, पातेले मसक्क मस्कँदै कुखुरा धपाएको दृश्य सम्झेर ऊ कल्पनामा डुब्न थाल्यो।
माटोको डल्लाले प्वाक्क पातेको ढाडमा हिर्काएको, पातेले फर्केर हेर्दा उसले देखे नदेखे झैँ गरी आकाशतिर हेर्दै बसेको अनि पातेको पालो गाग्रीभरिको पानी ल्याएर अन्तरेलाई निथ्रुक्कै भिजाइदिएको अनि त्यसपछि ओह!!!!!!!!!!!!!
कल्पनामा डुब्दाडुब्द्दै विपनामा उसको घाँटी सुक्यो तिर्खाले। डराई डराई पानी खायो उसले। धनेले बोतलको पानी किनेर खान भनेको थियो तर उसले पानी किनेर खान मन गरेन, भरेर ल्याएको पानी खायो।
‘ यस्तो पानी खान पनि डराउनु पर्ने ! ‘ उसको मनमा अब चाँही साँच्चै नै वितृष्णा फैलिसकेको थियो शहरदेखि।
~~~~
काठमाडौँ उपत्यका ट्रेकिङ जानुअघि ऊ फेरि बिरामी पर्यो। यस पटक चाँहि सिकिस्तै बिरामी पर्यो। धनेले अस्पताल भर्ना गरेर चिनेको मान्छेलाई १ हप्ताको लागि जिम्मा लगाई आफू ट्रेकिङ गयो।
अन्तरेले अस्पतालको बेडमा बस्दा मनमा अठोट लिइसकेको थियो, ‘ मोलाई यास्तो खाउ खाउ लाउ लाउ को उमेरमा मार्नु खोज्ने यो शहरमा मो बास्दाइना ! मो मेरो गाउँ जान्छा, कुवाको पानी घाट घाट खान्छा , मो जान्छा आ बा ! ‘
यसरी त्यो गाउँको ठिटोले शहरको प्रदूषणबाट वाक्कदिक्क भएर अन्तमा आफ्नै हराभरा स्वच्छ सुन्दर गाउँ फर्कियो।
-समाप्त-
January 31st, 2009
(स्रोत : माइ संसार डट कम)