कथा : रेञ्जर साइकल

~दीपक घिमिरे~

‘जात्तेरी, नैया साइकिल पो किनिस बड्डा !’

बाले दूध बजार पु¥याउनका लागि सजिलो होस् भनेर हिजो मात्र बजारबाट किनेर ल्याउनु भा’को एटलस कम्पनीको बडेमानको साइकल लगेर चौरमा सिक्न गा’को बेला थम्मने बडो चकित पर्दै मलाई सोध्यो ।

‘देखिस्, हाम्रा बाले मलाई स्कुल जान सजिलो होस् भनेर किन्देका हुन् ! तेरा बाजस्ता कञ्जुस हुन् र हाम्रा बा !’

चौरमा साइकल डो¥याउँदै थम्मनेलाई फुइँ हाँक्न थालें । उसो त हाम्रा बा भन्दा थम्मनेका बा अलि पैसावाला नै हुन् तर मैले साइकल सिक्ने तयारी गरिरहँदासम्म थमन्नेका बाले थम्मनेलाई राम्रा चप्पलसम्म किन्दिन्नथे ।

‘नाइ बड्डा, तेरा बा त देवतै हुन् नाश ! आफूले तेत्रो दुःख गर्चन् तर पनि तेरो लागि साइकल किन्दिन्चन् यार ! बा हुन् त तेरा बाजस्ता यार !’

मैले साइकल सिक्दै गरेको टुलुटुलु हेर्दै थम्मनेले गुनासो सुनायो । गुनासो सुनाउँदा उसको अनुहार पनि पीडाले अँध्यारो भएको सजिलै बुझिन्थ्यो ।

साइकल सिक्ने पनि स्टेप बाइ स्टेप हुन्थ्यो । पैला डो¥याउन जान्नुपर्ने । आफ्नो घरमा साइकल नहुूदासम्म कसैले साइकल डो¥याउन दिए पनि हुन्थ्यो भन्नेस लाग्नी । सुस्त सुस्त कैंचीबाट साइकल चलाउन सिकें । साइकलको दुइवटा डन्डीबाट खुट्टा छिराएर आधा मात्र प्यान्डिल घुमाउँदै चलाउनुलाई हामी कैंची चलाई भन्थिम । त्यो मैले सिकिसकें ।

अब थमन्नेलाई साइकल डो¥याउन पाउनु पनि ठूलो किस्मतको कुरा । चौरको छेउमा बसेर मैले कैंची साइकिल चला’को हेरेर बस्ने अनि घर आउूदा खै बड्डा घरसम्म साइकल म डो¥याउँछु भन्दै माग्ने पालो उसको । म पनि ठूलै साहुजस्तो गरी उसलाई साइकल दिएर पसिनै पसिनाले निथ्रुक्क भिजेको शरीरलाई सर्ट हल्लाएर हावा खाँदै घरसम्म आएँ ।

‘थुइय बेकूफ ! पर्सिदेखि परीक्षा छ, बसेर पढ्नु सढ्नु छैन । अब यही साइकल चलाएर पास होलास् नि हैन !’

घरको आँगन टेक्न नपाउँदै बाको रिस देखिहालियो । अघिसम्म खुब साइकल डो¥याउने रहर गरेको थम्मने साइकल मेरो जिम्मा लगाएर आफ्नो घरतिर टाप हान्यो । मैले खोलेको सर्टलाई कुममा हालें अनि साइकल डो¥याउँदै गोठमा राखेर लुसुक्क भित्र छिरें । बाको आदर्शवादी भाषण सकिएको थिएन । आमा भान्सामा पकाउँदै हुनुहुन्थ्यो । म लालटिन समातेर बाहिर निस्किएँ । लालटिनको सिसा सफा गर्नेदेखि मट्टितेल हाल्नुपर्ने काम मेरै जिम्मामा थियो ।

‘साइकल चलाउन सिकिस् त केटा ?’

लालटिनको सिसा निकालेर टालोले सफा गर्दै गर्दा बाले छेवैमा टुसुक्क बसेर सोध्नु भो । अरु बेला रिसाको भन्दा आजको रिसमा बा अलि नरम नै देखिनु भा’को थियो , साँच्चै रहेछ । तर पनि हतारमा खुशी भैहाल्नुपर्ने चैं थिएन । किनभने कैलेकाहीं बाले गफै गफमा गल्ती पकडेर रामधुलाई गरेको ताजै छ । आफ्नो सिसा पुछ्ने कामलाई निरन्तरता दिदै सुस्तरी बोलें, ‘कैंचीबाट सिकें ।’

बा मख्ख पर्दै मेरो पिठ्यूँमा धाप मार्नु भो अनि बेस्सारी हाँस्दै भान्सामा जानु भो । बाको मुहारमा छोराको प्रगतिको हाँसो थियो सायद । म पनि कैंचीबाट भए पनि साइकल चलाउन जानेकोमा खुशी नै थिएँ । बा पनि खुशी अनि आमा त झनै खुशी । माइत जाँदा छोराले साइकलमा सररर पु¥याउन जान्छ भन्ने ठूलो आशा मेरी आमालाई । धाक पनि धेरै ला’को थिएँ मैले ।

‘आमा मैले साइकल चलाउन जानम् मात्र । मामाघर जाँदा तपाईंलाई हिडेर जानै पर्दैन, साइकलमा कुदाएर लग्छु अनि सबले देख्चन् । क्या शान होला, फलाना त साइकलमा माइत आकी थी भनेर हैन्त आमा ?’

मैले यस्ता सपनाहरु देखाउँदा मेरी सोझी आमा किच्च बत्तीस दन्त देखाएर मुस्काउनु हुन्थ्यो । थम्मनेले भनेजस्तै मैले बा मात्र हैन बा र आमा दुबै देवता नै पाएको छु भन्नेस लाग्थ्यो । जाबो साइकल सिक्ने प्रगतिमा त मेरा बाआमा यति खुशी छन् भने अझ धेरै प्रगति गरे भने कति खुशी होलान् भन्ने सपना बुन्दै लालटिनमा मट्टितेल हालें अनि हात सफा गरेर भात खान भान्सातिर लागें ।

‘छोरो ठूलो भैगो हेर बड्डी, साइकल चलाउन जान्ने भैगो मेरो छोरो । अब यसलाई खानपिनमा अलि माया गरेर मिठो खुवाउने गर है ।’

बाको खुशी अझै सकिएको रहेनछ । खाने बेला पनि खुशी हुूदै आमालाई सुनाउनु भो । आमा पनि मुसुमुसु हाँस्दै मलाई पुलुक्क हेर्दै हामी बाउछोराको खुशीमा अझ धेरै खुशी थपिरहनु भो ।

साइकल चलाउन जानेको खुशीयालीमा रातभर निद्रा लाग्ने त कुरै थिएन । कहिले यता त कहिले उता कोल्टे फेर्दैमा रात बित्यो । मेरो उमेरमा साइकल चलाउन जान्ने म नै पहिलो केटो थिएँ गाउँभरिमा । त्यसैले पनि होला बाको नाक अलिकति लम्बिएको ।

‘ओइ तेरो साइकल आज चौरमा ल्याउँछस् कि नाइ बड्डा ? ल्याइस् भने मलाई पनि कैंचीबाट चलाउन सिकाइदेस् न यार ।’

स्कुल जाने बेला बाटोमा थम्मने र ओखरेले मलाई फकाउन थाले । उनीहरुलाई पनि मैलेजस्तै कैंचीबाट भए पनि साइकल चलाउने ठूलो धोको थियो । तर म उनीहरुलाई पनि साइकल सिकाएर बाको गाली खान चाहदैनथें । खुब कोशिश गरे तर म उनीहरुलाई डो¥याउन सम्म दिन्थें, सिकाउनेवाला थिइनँ ।

गाउँघरमा साइकल हुनु पनि ठूलो कुरा थियो । अझ त्यसमा पनि नयाँ साइकलको मालिक भए’सी मेरा पछि लाग्ने केटाहरुको कमी थिएन । हिजोसम्म मलाई स्वाद नमान्ने केटाहरु पनि मेरो हितैषी दोस्त बन्न खोज्दै थिए । म भने आफूलाई उनीहरुभन्दा बेग्लै महसुस गर्दै थिएँ । किनभने मसँग साइकल थियो ।

समय बित्दै गयो । कैंचीबाट साइकल सिकेको मैले चट्ट सिटमै बसेर कुदाउने भएँ । मेरो साथी थम्मनेले पनि डो¥याउँदा डो¥याउँदै कैंचीबाट कुदाउने भयो । अरु घरहरुमा पनि नयाँ पुराना साइकलहरु देखिन थाले । अरु घरहरुमा नयाँ साइकल आउनासाथ मेरो घरको बूढो एटलस साइकल पुरानोमा गनियो । साइकल सिकेको केही दिनमै थम्मनेले गेयरवाला खत्रा साइकल किन्यो । हेर्दाहेर्दै सबै धनी भए । नसिबवाला भए तर आफूलाई भने बाले दूध बजारसम्म पु¥याउने बूढो एटलस नै साथी भैरह्यो– धेरै समयसम्म ।

बा बूढो हुनु भो । साइकल बूढो भो । अनि म जवान भएँ । मलाई त्यो पुरानो साइकल कुदाउन लाज लाग्न थाल्यो । हिजो मेरो साइकल देखेर लोभिनेहरुले मलाई नै लोभ्याउन थाले । मैले पनि अरुले जस्तै गेयरवाला साइकलको सपना देख्न थालें । मलाई पनि नयाँ हिरो रेञ्जर साइकलको मालिक बन्न मन लाग्यो । बा दूध बेच्ने मान्छेभन्दा माथि उठ्न सक्नुभएको थिएन तर म हिजोको भन्दा धेरै माथि उठ्न चाहन्थें ।

‘बा मलाई पनि थम्मनेको जस्तै गेयरवाला हिरो रेञ्जर साइकल किन्दिनु न ।’

बेलुकीको भात खाँदै गर्दा एक्कासी मेरो मागले बा टेन्सनमा पर्नु भो । मुखनिरै लगेको भातको गाँस पनि थालमा राखेर एकोहोरो मलाई हेर्नु भो अनि भन्नु भो, ‘सक्दिनँ छोरो मैले, खेत बेचेर साइकल किन्नु भएन । दूध बेचेको पैसाले घर खर्च र तेरो पढाइलाई ठिक्क हुन्च अनि कसरी किन्नु भन त रेञ्जर साइकल ?’

एटलस साइकल किन्दा देवता सम्झिने मेरा बा अहिले मलाई दानव लाग्न थाले । मेरा बा भन्दा असल अनि देवता त थम्मनेका बा लाग्न थाले । जन्मदेखि हिजोसम्मको माया ममता सबै बिर्सेर साइकलको लागि आफ्ना बा भन्दा अर्कैका बा असल देख्ने भएछु ।

बाले पनि पेटभरि भात नखाइ उठ्नु भो । म त झन बाको सक्दिनँ भन्ने सुन्नासाथ भात खाने मुडमै थिइनँ । आमाले त के भात खानुभयो होला र ?

घरको अवस्थाबारे मलाई मतलब थिएन । घर जसरी चलोस् तर मलाई हिरो रेञ्जर गेयरवाला साइकल जसरी पनि चाहिएको थियो । बा बूढा छन् अनि बाको साइकल पनि बूढो छ । म त जवान छु, मलाई नयाँ साइकल चाहियो नि । बाले त्यही बूढो थोत्रो साइकल कुदाऊन् तर म त्यो कुदाउनेवाला थिइनँ ।

बाको मन न हो, मेरो जिद्दी स्वभावको अगाडि बाको केही सीप चलेन । रने साहुसँग ब्याजमा ऋण खोजेर साइकल किन्दिनु भो । बा ऋणले गर्दा शीर निहुराएर हिडे पनि गेयरवाला साइकल पाएर छोरो चैं शीर ठाडो पार्दै हिड्यो ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.