कथा : एक्लो बीर

~कृष्णचन्द्र बञ्जारा~

‘तौल कति छ ?’ चाहिने जति छ साप । घटबढ छैन । ‘त्यसो भे अगाडि पठाइदे ।’

छनोटमा सहभागी भएकाहरुको टिपोट लिइरहेका डिएसपी सापले भने । वास्तवमा थोरै तौल पुगेको थिएन । त्यो हवल्दारले किन यस्तो भन्यो ? अरुको छिस्रिक्क दाग देखे जङ्गिने डिएसपीको आँखामा केले छल्यो ?

दौडमा पनि यस्तै भयो । सँगै दौडेको साथी एक कदम अगाडि बढेको थियो । नाम एक कदम पछाडिकै चढ्यो । बिचरा साथी खिस्रिक्क भयो । फौजीमा ‘जाउँ न यार’ भन्दै उ दिनरात भन्थ्यो । जसको लहैलहैमा लागियो उसकै नाम निस्किएन ।

अन्तर्वार्तामा जाने अघिल्लो दिनको कुरा हो । साथी गाउँ गएको थियो । उसको पनि जिम्मेवारी लिएर मार्केटिङमा जानुपर्ने भयो । काम गरेको कारखानाबाट बजार निस्कने दुई केटा मात्र थिए । अनि बिदा के मिल्नु ? कोठामा आइपुग्दा झमक्कै भएको थियो । खाना खान मन थिएन । टाउको पखाल्ने र फ्रेस हुन मन लाग्यो । मिठो कफी पिउने । धुमधडाक केही किताब हेर्ने सोच पलायो । दोस्रो पटक यस्तो मन भएको हो । पहिलो पटक यस्तो हुँदा उ एसएलसीको तयारी गथ्र्याे । त्यसपछि किताब हेर्ने फुर्सद भए पो पलाउनु ?

‘पुलिस क्याप्सुल’ नामको किताब हो पढ्नुपर्ने । तर त्यसलाई देख्नासाथ केही पनि दिमागमा घुस्ला जस्तो भएन । ‘अन्तर्वार्तामा पास गर्न पैसा ठिक पार्नुपर्छ । नेताको ‘पावर’ चाहिन्छ । अनि मात्र होइन्छ ।’ कुन्नि को–कोले हो यसो भनेको कुराले मनमनै चिरबिर गर्न थाले । साँझ बढ्दै गएपछि बाँसको झ्याङमा बास बस्न लागेका सारौंको आवाजझैं झन्–झन् खैलाबैला बढ्यो ।

‘ओइ रमेश के गर्दै छस् ? किताब हेर्दैछस् कि छैनस् ?’ सँगै दौडमा भाग लिएर पास नभएको साथी रहेछ । उसले गरेको फोनमा रमेशले यसो भन्यो । ‘पढ् यार पढ् । तैले नाम निकाल्छस् । भाग्यमा लेखेको रै’छ भने भुतले पनि तँलाई सहयोग गर्न तयार हुन्छ । भगवानले त ‘तँ गर म पु¥याउँछु’ भनेकै छन् । राति अबेरसम्म उसले यस्तै कुराले आत्मबल दिइरह्यो । जीवनमा संयोगले मात्र यस्ता साथीहरु भेटिन्छन् । ढुंगो भेट्दा देउता मिल्छ ।

रमेशले आफ्नो मम्मीलाई राम्रोसँग देख्नै पाएन । उ जब जन्मियो तब मम्मी मरिन् । नयाँ सन्तानसहित सुत्केरी श्रीमतीलाई घर फर्काउने सोचका साथ मम्मीलाई हस्पिटल पु¥याए बुबाले । नयाँ सन्तान त लिएर घर आए तर श्रीमती फर्काउन नसक्दाको दुःखले बुबा तीन महिना थलिए । ‘मम्मी किन हस्पिटलबाट नआएको बुवा ?’ पाँच बर्ष जेठी दिदी सानु भाइतिर हेर्दै सोध्थी । बुबा निरुत्तर हुन्थे । बिरामी ज्यान र साना छोराछोरीलाई तिनले धन्न धाने ।

बुबाले छोराछोरीलाई सँगै विद्यालयमा भर्ना गरिदिए । सँगै ९ कक्षासम्म पढाए । ९ कक्षाको अन्तिम रिजल्ट आइसकेको थियो । बुबाको शरिर एक्कासी कालो हुँदै गयो । मान्छेहरु उनलाई कालो जन्डिस भएको भन्थे । ज्वरोले थलिएका उनी ओछ्यानमा परे । दुई दिदीभाइले ओछ्यानमै थला भएका बुबालाई केही महिना स्याहारे । त्यसपछि बुबालाई दैबले लग्यो । उनीहरु एक्लो भए ।

दुई जनाको दुःख देखेको मैले स्थानीय पत्रिकामा उनीहरुको अवस्थाबारे समाचार लेखेको थिएँ । सोच्थें उनीहरुको सहाराबिहीन जिन्दगीलाई कसैले सहयोग गर्नेछ । भविष्य बनाइदिने छ । पत्रकारिता गर्दाको त्यो सुरु–सुरुको मेरो प्रयत्न सम्झिएर आज दिक्क लाग्छ । किनकि उनीहरुलाई कसैले सहयोग गरेन । दिदी पनि एसएलसी दिदादिदै बिहे गरेर अन्तै गई । रमेशको आफ्नो भन्ने कोही रहेनन् । उसले जिन्दगीका तमाम यात्रा एक्लै गर्नुपर्ने भयो ।

‘दाइ केही सामान्य ज्ञानका प्रश्नहरु छन् । तपाईलाई उत्तरहरु थाहा छ कि ?’ बिहान झिसमिसमै फोन गरेर उसले सोध्यो । आर्मी पुलिसमा लाग्न लागिस् कि क्यै ? मैले सोधेँ । ‘हैन दाइ । त्यत्तिकै हो । त्यही मार्केटिङको काम गर्दैछु । पछि गाडि चलाउन सिक्ने सोच छ । उसले यसो भनेर ढाँट्यो । उ आफ्ना कुराहरु अरुलाई त्यति भन्न खोज्दैन थियो । कहिलेकाहीं उसलाई फोन गरेर केही समस्या छ कि ? भनेर सोधें भने ‘केही छैन दाइ’ भनेर टार्ने गथ्र्यो । थाहा भएको केही प्रश्नहरुको उत्तर दिएँ । बाँकी उसैले अनलाइनतिर खोजेछ । अन्तमा भने उसले ढाँटेन । ‘आर्मी बन्न जाँदैछु । आज अन्तरवार्ता छ । सात बजे ब्यारेक छिर्नु छ ।’ भनेर फोन राखिदियो ।

एक बर्षसम्म त्यसपछि उ सम्पर्कमा आएन । नाम निस्कियो निस्किएन ? के गर्दैछ ? थाहा पतो भएन । घरको आँगनमा घाँस उम्रिएको थियो । ढोकामा ताला लगाइएको थियो । खोपामा गएर कान ठाडो पारेर सुन्ने हो भने भित्र मुसाको निकै ठूलो चाइचाई चुइचुई सुनिन्थ्यो । लाग्थ्यो त्यहाँ दिनहुँ संसद बैठक हुन्छ । नेताहरु दिक्कलाग्दो हल्ला पिटिरहेका हुन्छन् ।

‘दाइ घरतिर सन्चै छ ?’ एक बर्षपछि नयाँ नम्बरबाट अचानक उसैले फोन गरेर सोध्यो । ‘एक बर्षसम्म कता हराइस ?’ खुसी हुँदै पहिलो प्रश्न हत्तपत्त गरें । उ भेट्नै आयो ।

‘साथीले भनेझैं भुतले काम ग¥यो दाइ । भगवानले धेरै ठगेको देखेपछि भुत सहयोग गर्न आइपुग्दो रहेछ । अरुलाई छलेर भए पनि सफलता दिँदो रहेछ । दौडदेखि अन्तरवार्तासम्म नपत्याउने तालले मेरो नाम कसरी निस्कियो मलाई नै विश्वास छैन । नत्र ती सबै जना त्यसरी किन झुक्किए ? अन्तर्वार्ताको बेलामा पनि म धेरैजसो मौखिक उत्तर दिएर फर्किएको थिएँ । ज्यान पनि लुरे थियो । हट्टाकट्टा थिएन । अन्तमा नाम निस्किएछ । एक बर्षसम्मको तालिम सक्काएँ ।’ उसले भन्यो । तालिममा सफल हुँदा पाएको तक्मा पनि देखायो । तक्मा देखेपछि त्यो उसले हैन म आफैले हाँसिल गरेझैं भान भयो ।

गाउँले बुबालाई ‘एक्ले’ भनेर हेप्थे । उ एक्लो बीर भएर घर आयो । देशको रक्षार्थ लड्ने जवान भएर आयो । बुबाले आफ्नो जीवनका लागि आफै लड्नुपर्छ । आफ्नै पसिनाले सफलताको शिखरमा पुग्नुपर्छ भन्ने जीवन सूत्र सिकाएका थिए । त्यही आडमा उभिएर उ ‘अरुले सलाम गर्ने मान्छे’ बन्यो । अरुको भरमा हिडनेहरु आफ्ना लागि केही गर्न सक्दैनन् । आफ्नो लागि आफै लड्न तयार हुनेहरु एक्लो बीर बन्छन् ।

@Banjara_kcb

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.