~दिनेश अधिकारी~
देश एउटै हो भन्नुहुन्छ
झण्डा एउटै हो भन्नुहुन्छ
कानून एउटै हो भन्नुहुन्छ
सरकार एउटै हो भन्नुहुन्छ
तर हामी
किन आकाश-पाताल
जस्तै फरक छौं
तपाईको शरिर हो कि लुगाबाट
यी ! कस्तो मग्मगाउँदो
बास्ना आइरहेछ
र तपाईकै भाषामा
मेरो शरिर भने
लुगा सहित
पर—परसम्म
डुङ्डुङ्ति गन्हाइरहेछ
म मुगुको बासिन्दा –
पूर्ण बहादुर
विश्वकर्मा !
तपाई राजधानीमा
बस्नेसँग सोधिरहेछु-
हजुर !
हामी बीचको समानता
तपाई
कहाँ देख्नु हुन्छ ?
तपाई
हवाईजहाज चढेर
रारा हेर्न आउनु भयो
र यसको सुन्दरताको
बखान गर्नमा
घण्टौं घण्टा खर्च
गर्दै हुनुहुन्छ
म छु-
यहीं जन्मेर
मर्ने उमेरको भइसकें
फेरि पनि राराले
मेरो मन भने
अझै खिच्न सकेको छैन
कहीं तपाईको पेट
सधै भरिएको
र
मेरो पेट
सधैं भोकाएकोले
यस्तो भएको त हैन
होइन भने
तपाईलाई प्यारो लाग्ने
रारा र यो जुनेली रात
मलाई किन
आङ्गभरि काँढा उमार्ने
भएर
रहेको छ
तपाई सरकारको ढुकुटी चलाउनेसँग
सोधिरहेछु-
हजुर !
हामी बीचको समानता
तपाई
केमा नाप्न हुन्छ ?
उसो त तपाई र म
सँगसंगै
केहीबेर
एउटै बाटो पनि त हिड्यौं नि
हिँड्दा पनि यो बाटोलाई
तपाईको जुत्ता
र मेरो खुट्टाले नापेको छ
धुलो उड्दा त्यसको विझाई
तपाईको चश्मा
र मेरो आँखाले भोगेको छ
पानी पर्दा तपाईको
छाता भिज्यो
मेरो भने
फेरि घामले नसुकाएसम्म
भएको आङको
तातो पनि हराएको छ
संविधानको कुनै धाराले
सामानताको घोषणा गर्नु
अर्कै
कुरा भयो
होइन र त्यो भोग्य पनि
हुनु पर्छ भन्ने
हो भने
तपाई देश दर्शनमा
आउनेसँग सोधिरहेछु-
हजुर !
हामी बीचको समानता
तपाई
कहाँ भेट्टाउनु हुन्छ ?
देख्नु भयो नि तपाईले
राराको नीलो दह
हो ! हाम्रो बह पनि त्यस्तै
नीलो छ
सुख-शान्ति त डाँडापारीकै
कुरा भयो
यताका हामी त
सास पनि राम्ररी फेर्न सक्तैनौं
औषधीमूलो केही छैन
र घाँटीकै बीचमा पिलो छ
दस्तुर तिरेर लिनु पर्ने
नागरिकताको प्रमाण पत्र वाहेक
अरु के पाएका छौं हामीले
तपाईले सरह
अनुभूतिको तहमा
ओर्लेर नढाँटी भन्ने
हो भने
कर्णालीतिरका
हामी सबैका छातिमा
राजधानीले गाडेको फलामे
किलो छ
तपाई देशलाई दिमागले
नाप्न बस्नु
भएको योजनाकारसँग
सोधिरहेछु-
हजुर ! हामी बीचको
यो असमानतालाई
तपाई कहिलेसम्म
समानता ठानिरहनु
हुन्छ ?
नढाँटीभन्नुस त
के तपाईसँग कर्णालीको
नक्सा छ ?