कविता : नयाँ नेपालको व्यङ्ग्यचित्र

~गणेश खड्का~Ganesh Khadka

साइँली बज्यै !
नातीको फोटो हेरेर किन रुन्छ्यौ बेकार,
सतीले सरापेको देशमा अब फेरी तिम्रो श्राप…!
चुपो लाग, यहाँ बोल्नु हुँदैन
अपहरित तिम्रो नाती कहिल्यै फर्केर आउँदैन
यो नयाँ नेपाल हो l

ठुलीकान्छी भाउजू !
छोराको लुगा सुँघ्दै घोप्टो परेर किन भक्कानिन्छ्यौ
बिनासित्ति,
धर्म मासिएको मुलुकमा
तिम्रो आरधना, तिम्रो प्रार्थना
मन्दिरको गजुरमा ठोक्किएर
तिम्रो आवाज, तिम्रो चित्कार तिमीतिरै फर्किन्छ
हराएको तिम्रो छोरो कहिल्यै भेटिँदैन
यो नयाँ नेपाल हो l

अन्तरे दाई !
पटुका कसेर के मरिहत्ते गर्छौ बित्थामा,
ठग र दलालहरुले धावा बोलेको राष्ट्रमा
तिम्रो राष्ट्रियता, तिम्रो स्वाभिमान
युरिया मिश्रित रक्सीभन्दा सस्तो
तिम्रो पसिनाले कहिल्यै मूल्य पाउँदैन
संस्कृति र परम्पराको त झन् कुरै नगर
यो नयाँ नेपाल हो l

नयाँ नेपालमा –
सानो मर्छ, ठुलो बाँच्छ
गरिब रुन्छ, धनी हाँस्छ
हुनेले खान्छ, नहुनेले हेर्छ
प्रहरी र प्रशासन चोरसँग मिलेमतो गर्छन्
हाकिम र कर्मचारीहरु साझेदारीमा घुस खान्छन्
नेता र मन्त्रीहरु कमिसनतन्त्रको नाइके बन्छन् l

बिर्खे भाइ !
किन मर्नु पर्यो र देशको खातिर ताई न तुई,
स्वार्थी, पापी र पाखण्डीहरुको अखडामा तिम्रो रगत
ढलमा बगेको पानी जत्ति नि महत्वको हुँदैन भने
गुमेको तिम्रो ज्यानले,
तिम्रो आत्माले कहिल्यै वीरगति पाउँदैन
फौजदारीमा मरेका नेता-मन्त्रीका आफन्तहरु
धमाधम महान शहीदमा सूचिकृत भएपछी
तिम्रो पवित्रताले कहिल्यै मोक्ष पाउँदैन
यो नयाँ नेपाल हो l

अन्यत्र, जनहत्यारालाई दण्डित गरिन्छ
तर यहाँ पुरस्कृत गरिन्छ
जसले बढी युद्द गर्छ, आतंक मच्चाउँछ
उसैले शान्ति पुरस्कार पाउँछ
बाघ हिंस्रक छ
सायद अब उसले पनि
जङ्गलबाट दाबी गर्छ
र, शान्ति पुरस्कार पाउँछ
नयाँ नेपालमा l

अब हेर्न बाँकी छ
नयाँ नेपालबाट पाठ सिकेर
विश्व नोबेल शान्ति पुरस्कारको
दाबेदार बन्न सक्छन्
थुप्रै बिन लादेनहरु…
सद्दामहरु…
तामिल टाइगरका नाइकेहरु…
र, मुसरफहरु… !

( कविता सङ्ग्रह : ” हिउँले आगो पगालेर ” बाट l )

भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.