~लेनिन बञ्जाडे~
‘आमा! ल्याइदियू?’
कुराको सन्दर्भ बुझिनन् भाउजू।
तैपनि मन्टो हल्लाउनु गाह्रो काम होइन, हल्लाइदिइन्– ‘अहँ’।
‘अस्तिनै भन्याहैनियू ल्याइदिन्छु भनेर?’
‘के ल्याइदिने?’
‘परीक्षा फिस नल्याए बस्न दिन्नम् भन्याछन्।’
अलि पहिले वाचा खाएकी थिइन् फिस ल्याइदिने भाउजूले। तर ढुङ्गा उतिसाह्रो बिकेका छैनन् यसपालि। हेर्छिन् चाङमाथि चाङ थुप्रिरहेछ। एक्लै भइदिए जे पनि गर्थिन् उनी। तर उनीसँग उनको सिङ्गो जीवन छ र त्यही जीवनभित्र उनका खसम (लोग्ने) र फिष्टे आड लिइरहेछन्। तर, गर्न सक्दिनन् उनी केही।
‘के गर्ने?’
(ऐठन परिरह्यो पलपल भाउजूलाई। उपाय खोजिन् भ्याएसम्म। फिष्टेको फिसभन्दा पहिले उनलाई आगो बाल्नु छ चुलोमा। एकमन झनक्क रामुदाइलाई सरापिन्। यसरी सरापिन् मानौ तातो पानीले घर जल्ने भए सानो कटेरो जलिसक्थ्यो। उनलाई थाहा छ– पैसा नबुझाए स्कुलले फिष्टेको जाँच रोक्छ।)
‘बा पनि काँ मर्या हुन्, अलिति (अलिकति) घरको पनि त ख्याल गर्नुपर्छ नि!’
बाउलाई गाली गर्ने मन त फिष्टेको पनि हो– सकेन।
‘बाउ किन यस्तो हावा बन्याहोलान्?’ उसले यतिमात्रै सोच्न सक्यो, बोल्न सकेन। बोलेको भए सायद आमाले गरालो उठाएर हिर्काउँथिन् उसलाई।
‘आज जान्न इस्कुल त्यसोभए …’
‘किन नजाने? तँ जा, भरेसम्म खोज्छु।’
उसलाई सान्त्वनाभन्दा पैसा चाहिएको छ। (त्यो पैसा– जसले उसले आफ्नो भविष्य किन्छ। त्यो पैसा– जसले उसको जीवनको बाटो कोरिन्छ। तर आज उसँग आफ्नो भविष्य छैन, उसँग आफ्नो जीवन छैन। भनौं– उसको भविष्य स्कुलको लेखाफाँटमा अल्भि्कएको छ। उसको भविष्यको रिमोट स्कुलको हेडमास्टरले समाएको छ, जसले जे चाह्यो, त्यो हुन्छ।)
(उसले सोंच्न भ्याएसम्म सोच्यो। पढेर ठूलो मान्छे बन्नलाई पैसा सबैथोक हो? पैसा नभए उसले पढ्न सक्दैन?)
– सक्छ।
(सक्ने भए उसलाई किन फिस बुझाउनुपर्थ्यो हरेक जाँचमा? सक्ने भए ऊ सँधै पैसाको लागि किन रोइरहनुपर्थ्यो खोलावारि? उराठ बगरमा फूल फुल्न सक्दैन कहिल्यै?)
– सक्छ।
(सक्ने भए लोकी भाउजूले किन फुलाएकी छैनिन् ऐलेसम्म? सक्ने भए किन रामुदाइ किन मुठ्ठी कसेर हिँड्नुपर्थ्यो घरबार छाडेर?)
समय एकदिन त कुकुरको पनि आउँछ भन्थे बुढापाकाहरु। तर रामुदाइको जीवनमा किन समय आइसकेको छैन? लोकी भाउजूको जीवनमा समयले किन हाँक हालिरहन्छ बेलाबेलामा? नआइसकेको समय र नआइसकेका खसमलाई पर्खेर बसिरहिन् भाउजू ढुङ्गामाथि।
एकमन आमालाई पढ्छ फिष्टे–
तर पढिनसक्नुकी छन् भाउजू, जसले हरेक पल आफ्नो खसम र फिष्टेलाई सुम्पिएकी छन्।
‘तँ गएर हेडमास्टरलाई भन्, म भरेसम्म जाँबाड भएनि खोज्दिन्छु।’
भन्न त भनिन् तर खोज्ने कहाँबाट? र, गइन् छिमेकी ट्युरीकहाँ। (ट्युरी– जसको नाम पनि भाउजूका लागि सह्य छैन। त्यो उही ट्युरी हो जसको हरेक बोलीमा डोमिनेसन छ। ट्युरी यस्तो एब्स्ट्रयाक्ट हो, जसलाई बुझ्न उसको प्रतिलिपिले पनि सक्दैन। रामुदाइ भइदिएको भए गर्थे केही यतिबेला। सायद ढुङ्गा लगेर बजार जान्थे, सायद भारी बोक्थे, सायद बरफ बेच्थे या सायद रिक्सा चलाउँथे। उनी नहुनुले धेरै ‘सायद’ जन्माइरहेछ।)
‘………’
बोल्न सकिनन् भाउजू– ट्युरीअघि।
‘काँबाड हो लोकी आज एकाएक? बाटो भुल्यौ कि क्या हो?’
‘काँबाड भुल्नी हो नि बाटो!’ अलिअलि झुकेजस्तो गरिन् भाउजू। ट्युरीजस्तालाई यस्तो झुकाइको बढी महत्व हुन्छ।
‘काम नभएर त कैले पो आयू र? तिमी कम छ्यौ र?’
ट्युरीले कुरा नकोट्याओस् भनेर भाउजू चनाखो थिइन्। तर कुरा कोट्याइछाडी ट्युरीले।
‘अँ खास्सै त हैन, स्यानो काम थ्यो ….’
ट्युरीले बुझी काम कस्तो हो।
यसअघि सानासाना काम लिएर भाउजू कहिल्यै ट्युरीकहाँ गइनन्। ट्युरीले पनि मौका कुरेर बसेकी थिई– पैँचो तिर्ने।
‘पैसा चाहिएको होला नि, नत्र किन आउँथी?’ सोची मनैमन।
यतिछिटो उम्काउन उसलाई मन लागेन।
‘अनि खसम त हराएको हरायै छन् रे तिम्रा!’
(भाउजूलाई एकमन लाग्यो– छेवैंको ढुङ्गा टिपेर टाउकोमा हानिदिऊँ र भएभरको बल लगाएर उसको चुल्ठो उखेलिदिउँ। तर, उनलाई ट्युरी खप्नु छ केहीबेर। नत्र भने उनको छोराको भविष्यलाई हेडमास्टरले स्वीच अफ गरिदिन्छ।)
‘आउलान् नि भरेसम्म, कैँ गा’हैनन्।’
‘आया आयै हो साइँली। जुलुसमा गा’छन् रे था छ? अस्ती भख्खर जुलुसमा गोली हानेर एउटालाई मारे रे था छैन?’ (यो कथा जुलुसमा जाँदा गोली खानुपर्ने बेलाको हो।)
(ट्युरीले मुटुभरि वाण हानिरही। खसम गएदेखि एकान्तिएकी भाउजूलाई उसका हरेक शब्दले पालैपालो घोचिरहे। उनी कुनै पनि हालतमा खसम गुमाउन तयार छैनिन्। उनका खसम उनका लागि सबथोक हुन्, उनी नभए त उनलाई उहिल्यै कुनै कुलवीरेले निलिसक्थ्यो कुनै अरङ्खोलामाथि। बोल्न नसकेरै हिँडिन् भाउजू।)
– – –
धेरै दिनपछि आज भाउजू हाँसिन्। धेरै भइसकेथ्यो भाउजूको हाँसो हराइसकेको। लाग्छ– संसारबाट हाँसो हराइसक्यो उहिल्यै। मुजा पर्न लागिसकेका गालाका डिलमा धेरै दिनपछि हाँसोले स्वागत पायो। खेलावारिको कटेरामा त्यो हाँसो कति टिक्छ, यसै भन्न सकिन्न।
भन्छन्– यसपालि पनि तेल बढ्यो रे!
तेलले आकाशमा उड्ने जहाजलाई पनि उछिन्यो रे!
तर पनि आज हाँसिन् भाउजू।
हुनसक्छ उनका खसम फर्किए। हुनसक्छ उनको छोरो पास भयो जाँचमा। हुनसक्छ ट्युरीको ढुङ्गा बिकेन। या हुनसक्छ– ह्वात्तै घट्यो तेल।
भाउजू हाँसिन्, कारण– आज फिष्टेले मार्कसिट ल्याएको छ स्कुलबाट। मार्कसिट– जसमा फिष्टेेसँगै उसका बाउ र आमाको भविष्य पनि कताकता झल्किरहेछ।
अलिक दिन भयो रामुदाइ गएको। गएदेखि खबर आएको छैन। अघिल्लोपालि हराउँदा बेस्मारी एक्लिएकी भाउजूलाई यो प्रहर त्योभन्दा पनि गह्रौँ लाग्छ। खोलावारि ढुङ्गाको चाङ नदेख्दा राम्ररी नसुत्ने भाउजूलाई आज पनि राम्ररी निद लाग्दैन। आज ढुङ्गा कताकता गौण लागे– उनलाई त बस् उनै रामुदाइ चाहिएको छ– जसले हरेक पल, हरेक क्षण उनलाई माया गरिरहन्छ।
छोराको मार्कसिट हेर्न उनी सक्दिनन्। फिष्टेले भनेको बुझेरै उनी बिहान हाँसेकी हुन्।
(हाँस्नु पनि त एउटा जीवन हो)
– – –
‘बा त आउनुपर्ने हो नि आमा?’
शून्यबाट झार्यो फिष्टेले आमालाई।
‘आउनुपर्ने त हो तर किन आएनन अझै? गा’को पनि ३ दिन हुन लाग्यो’
वरिपरि आमा छोराबाहेक अरु बोलेको सुनिदैन। खोला एकनासले सुसाइरहेछ– आफ्नै गति र आफ्नै जीवन छ खोलाको। खोला तरेर हिँड्नेहरु हिडिरहेछन् बिहानैदेखि। पुण्य कमाउन मन्दिर जानेहरु पनि गएको गयै छन्। बिहेको लगनगाँठो कस्न जानेहरुको पनि कमी छैन बाटोमा। बाटो एउटा छ– जहाँ हरेक जीवनहरु आफ्नो जीवनको रेखा कोर्छन्। त्यस्तै रेखा कोर्छ एउटा जोडी बगरवारि– ट्वाकट्वाक ट्वाकट्वाकसँगै। तर, जोडीबाट एउटा पात्र तीनदिनदेखि छैन वरिपरि। त्यसैले हुनसक्छ जोडीको अर्को पात्रले हाँस्न भुलिसक्यो।
मौसम पनि उदेकलाग्दो गरी ठुस्सिएको छ। निमेषभर सुस्ताएको छैन आकाश। सँगै भाउजू पनि समयसँग ठुस्सिएजस्तो गर्छिन्। हात हेर्छिन्– ठेला परेर काट्ठिएका जिना हात। निधार छाम्छिन्, नाम्लोले खुल्सिएको छ। अनि एकबार आफैले आफैलाई पढ्छिन्– हारेको एउटा जीवन। एकबार (हराएका) रामुदाइलाई पढ्छिन्– इष्टिकोटसँगै उनका सपना पनि च्यातिएका छन्। बिहेताका उधुमका सपना बुनेथे उनीहरु। सानो फिष्टे आएपछि बुढेसकालको लौरो भन्दै सुम्सुम्याएथे। ऐले त्यही ‘लौरो’ राम्ररी खान नपाएर खिउटिएको छ।
(खोलाको बगरमा गिट्टी कुट्ने जोडीको कथा हो यो। रोल्पाबाट दाङ झरेको त्यो जोडीका एउटा सदस्य रामुदाइ हुन्, जो ३–४ दिनअघि जुलुसमा निस्किएका थिए र अझैसम्म फिरेका छैनन्। गिट्टी बेचेर जीवन गुजारा गर्दै गरेको परिवारमा लोकी भाउजू अर्की सदस्य हुन्। र, परिवारमा नयाँ सदस्य थपिएको छ– फिष्टे, जसले भर्खरै १ कक्षा पास गरेको मार्कसिट ल्याएर ‘नपढेकी’ आमालाई सुम्पिएको छ।)
(स्रोत : Mysansar.com)