~बासु शर्मा ~
आफू उभिएको माटो
आफू हिँडेको बाटो
खै कसरी मजबूत हुने होला
जब कि देश उठाउने बिँडो बोकेकाहरु
मध्यमार्गमै जिम्मेवारीको ढाकर बिसाएर
आपसी गाली गलौजमा उत्रन्छन्
र, लाज शरम पचाएर
नाङ्गानाङ्गै नाचेर उफ्रन्छन्
तिनको यस्तो नाङ्गो नाच हेर्न नसकेर
आँखा चिम्लेर झोक्राएको छ हिमाल पनि ।
हिंसाको भुमरीमा परेर
कमाउ छोरा गुमाएकी एक्ली बृद्ध आमा
आशै आशको बाढीमा बगेकी छन्
तर देश हाँक्ने हामी हौँ भन्नेहरु
जिम्मेवारीलाई स्वार्थको रछ्यानमा प्mयाँकेर
भाँड भैलोमा रमाइरहेको परिदृश्यले
स्वाभिमान र गौरव धारासायी बनिरहेछ निरन्तर ।
कति छन् बञ्जर बाँझाहरु फोर्न बाँकी अझै
तर मेलोमा जुटेको देखिन्न
कर्मठ हातहरु थन्क्याएर
कहिल्यै भविष्य लेखिन्न ।
राजनीति !
तिम्रो लागि स्वार्थको खेल होला
तर मुलुकको निम्ति त यो जिन्दगी हो
राजनीति !
तिम्रो लागि यो कपटी झेल होला
तर जनताको निम्ति यो अभिलाषा हो
तमाशा बन्द गर अब
र, जवाफ देउ देश र जनतालाई
कसले दियो तिमीलाई
लगातार खेलबाड गर्ने अधिकार ?
पल्लो गाउँका माइला सुनार
दाहाल गाउँका दाहाल बाजे
पारिथोकका खड्का मुखिया
खोला पारिका जेठा सुव्वा
सबै संझदा हुन् झलझली
उमेरमा सँगै गाउँदै मेला भरेका पलहरु
साहुको माल खेप्न सँगै सहर झरेका दिनहरु
सम्झदै होलान् आप्mना बुढ्यौलीमा
रमाइला क्षणका मिठासहरु
तर विडम्वना !
तिनका नातिहरु
अव दुश्मन भए रे आपसमा
जातको कारणले भिन्ना भिन्नै भएकाले
तिनका छोराहरु
बोल्न छाडे रे आपसमा
आ–आप्mनो जातीय संगठनमा आवद्ध भएकाले
लौ न कता पुग्ने होलान् ती
गन्तव्य धमिलो छ
फेरि पनि देशको बिंडो बोकेकाहरु
यही लडाईंमा रमाएका छन्
देश भने आपूm टुक्रा टुक्रा हुने भयले आक्रान्त छ
र, मर्मान्तक पीडाले रोइरहेको छ ।
यो एउटा सानो देश
उठाउन सके कति माथि उठ्थ्यो होला
सिंगार्न सके कति सुन्दर बन्थ्यो होला
मेहनती जनताको वास छ यहाँ
प्रकृतिको सम्पदा खास छ यहाँ
किन्तु योजनाका ठेकेदारहरु
सत्ता, शक्ति र सुविधाका भोगी भए
सोच सिंचन गर्नुपर्नेहरु नै सोचका रोगी भए
सपार्नका लागि होइन बिगार्नका लागि
दलहरु आपसमा पौंठेजोरी खेल्छन्
द्वन्द्व, हिंसा र अस्थिरता
राजनीतिको मूल मन्त्र मानेकाछन् तिनले
घात, प्रतिघात र अन्तर्घात
सत्ता प्राप्तिको अचूक अश्त्र ठानेकाछन् तिनले
जनताको आशा भाँडमै जावोस्
देशको भविष्य भाँडमै जावोस्
र, यसरी यो एउटा सानो देशले
कहिले सामन्ती स्वार्थको शिकार बन्नु प¥यो
कहिले दलगत स्वार्थको अचानो बन्नु प¥यो
र, देश पीडाले रोइरहेको छ ।
देश रोएको यो बेला
नेपाल आमाको छाती पिँधिएको यो बेला
यत्र, तत्र, सर्वत्र
आवाजहरु उराल्न जरुरी भो
खबरदारी बोल्न जरुरी भो
देशलाई क्रिडास्थल ठान्नेहरुलाई
कठघरामा उभ्याउन जरुरी भो ।
(लण्डन)
(स्रोत : सत्यतथ्य मासिक)