~दीपक घिमिरे~
‘ओइ एक प्याक लगाम्, रातीको ह्याङ चट् हुन्च…’ आँखा मिच्दै रिसिभ गरेको फोनमा ‘मोटे’ बोल्दै थियो ‘बचेको मासु तताउँदै गर् म ल्याएर आएँ ।’
म बोल्नै पाइनँ, उसले फोन राख्यो ।
कोठाका झ्याल छैनन् । आपसमा जोडिएका तर, बजारका अलगअलग घरहरु । उठेँ । झन्न रिँगाटा लाग्यो । लरबरिँदै भित्ताको स्वीच दाबेँ । कोठा उज्यालो भो ।
नचाहेरै नजर कोठाभरि दौडिएँ । ‘रोयल स्टेग’हरु असरल्ल थिए । कोठाभरि बोत्तल अनि हड्डीका टुक्रा ।
चुरोट अनि रक्सीको गन्ध । कोठा डुङडुङ्ती भएको थियो । टाउको बम्म थियो । कन्चट चिर्किरहेको थियो, फुट्लमजस्तै भएर ।
मनमनै सोँचे ‘साला रक्सी खान्नँ अब, कैलै खान्नँ ।’ खाटमा फर्किँदै थिएँ, खुट्टामा च्वास्स भयो । हेँरे कुखुराको हड्डीको टुक्रा रोपिएछ । खाटमा बसेर त्यो निकालेँ । रगतको मसिनो बुँद तप्प भो ।
आज अपिस जानु थिएन, शनिबार । शुक्रबारको साँझ हामी ‘झ्याप’ भयौँ । सायद हाम्रो लागि ‘गुड फ्राइडे’को सजिलो अर्थ ‘जाँड पार्टी’ हो । जो केही वर्षको जीवनमा नियमित जस्तै भएको छ ।
खाटमा बसेर टाउको समाएँ । घोप्टो परेँ । कपालमा औंला घुसारेर कपाल जुरुक्क पारेँ । टाउको अझैं चर्कियो । फेरि टाउको उठाएँ, कार्पेटभरि छरिएका हड्डीहरु, पोखिएका रक्सीका खाटाहरु अनि चुरोटका ठुटाहरु नजरमा सिधै ठोक्किए ।
कतै ससना चरहरुबाट घामका किरणहरु भित्र छिरेका थिए । मसिना सुनौला रेसा भएर घाम मेरो कोठाभरि छित्रिएको थियो । अबेला भइसक्यो तर, मलाई बाहिर निस्किन मन थिएन । ‘फेरि सुत्छु’ भनेर ओछ्यानमा पल्टिदैँ थिए मोबाइलमा म्याजेज टोन बज्यो ।
हेरेँ । प्राप्तीको रैछ । राति रक्सी खाएको तालमा फोन हानेर उसलाई मैले शनिबार सवारीकोट घुमाउने बाचा गरेको रैछु ।
उसको म्यासेज थियो ‘के हो यतिबेलासम्म सवारीकोट जाने भन्या हैन, म तयार भइसकेँ कता हो ?’
एकछिन टोलाएँ । अनि टाइप गरेँ ‘सरी आज यस्तै भो, अब अर्काेपटक’ बाहाना देखाएँ ‘इमरजेन्सी भएर घर जाँदैछु…. ।’ डेलिभरि रिपोर्ट आयो तर, उसको रिप्लाइ आएन । ढुक्क भो ।
पल्टिनै लाग्दा फेरि फोन बज्यो । हरेँ बाको रैछ ।
‘हिँजै आउनुपर्ने मान्छे किन आइनस् आज टाइममै आइज, आमाले भात पकाउँछे, तँ चाँडै आ, कान्छीलाई हेर्न केटा घरका मान्छे आउँदैछन्’ बाले केही सोधेनन् । सिधै योजना बताएँ ।
फेरि बाहाना खोजेँ र, भनेँ ‘आज छुट्टी त हो तर, अपीसमा काम छ, आजै अडिट गर्नुपर्ने छ । अर्काे शुक्रबार आउँछु ।’
सोझा बाले फोन गर्दै सायद टाउको हल्लाए होलान् । अनि भने ‘हुन्छ तो, शुक्रबार आएस् नि पक्का ।’ मैले हस् भनिनसक्दै बाले फोन काटे ।
साला फोन पनि बति बज्या ! अफ गर्दिउँ कि जस्तो लागिराथ्यो ।
मेलै सोचिनसक्दै फेरि फोनमा आवाज आयो ‘त्यो रातिको सितन तताएर राख् है म आइगे ।’ कुरै नसुनी मोटेले फोन राख्दियो ।
म खाँदिनँ अब रक्सी । यस्तै सोँच्दै ओछ्यानमा पल्टिएँ । प्यासले मुख प्याक प्याक थियो ।
कोठाभरि हेरेँ एउटा फ्यान्टाको बोत्तल ढलेको रैछ । उठाएँ । एक गिलास जत्ति नि रैनछ पानी । मुख भिजाएँ ।
मासुका रेसा अड्किएर दाँतका चेपाहरु असजिला भएका थिए । मुख कुल्ला गरेँ । केही भएन । ब्रस गरेँ अनि मुख धोएँ । टाउको नुहाएँ । केही हल्ला भो मुख त । तर, टाउको उस्तै, झन् खस्ला जस्तो भो ।
ढोका ढक्ढक् भयो । खोलेँ मोटे थियो । कालो प्लास्टिक समाएर उभिएको ढोकामै । सिधै भित्र हेरेर उसले भन्यो ‘साले यतिबेलासम्म मासु तताको छैनस् ?’
‘नाइँ यार, म त खान्न बड्डा, हिँजैको ह्याङ लास्टै भाछ’ भित्र छिर्दै भनेँ ‘आफैँ तता अनि आफैंले खा, म त सुत्छु ।’
उसले ग्याँस सल्कायो । म ओछ्यानमा ढलेँ, टाउको समाउँदै । बलिरहेको ग्याँसको नीला रापहरुमा उसले कराइ बसाल्यो । त्यहीँबाट बोल्यो ‘साले फलामले फलामलाई काट्छ के, एक प्याक लगाम् टाउको दुखाइ चट् हुन्छ ।’
दारुवालहरुको यो नियमसँग पनि परिचित थिएँ ।
राति धेरै पिएर बिहान उठ्दा टाउको दुख्छ अनि एक प्याक स्वाट्ट पारेपछि त्यो दुखाइ आफैं भाग्छ । यो साँच्चिकै त्यसको औषधी थियो वा दरुवाहरुले बनाएको नियम ? थाहा छैन तर, यथार्थ यही हो ।
तर, म फेरि पिउने पक्षमा थिइनँ । उसलाई नाइनास्ती गरेँ । म ओछ्यानमै थिएँ । ऊ दुइ प्याक तयार गरेर कार्पेटमा बसिसकेछ । म बाथरुम छिरेँ । पेट दुखेको बाहानामा ।
धेरै बेर त्यहीँ बसे । ऊ कराइरह्यो । म निस्किनँ । उ आफूले खाइसकेर हिँडिसकेछ । धेरैपछि निस्केँ । एउटा पेग मलाई हेरेर ‘ङिच्च’ गरिरहेको थियो । एकछिन् त्यो गिलास हेरेर टोलाएँ, अनि डस्टबिनमा घोप्टाएँ । ओछ्यानमा पल्टिएँ ।
केही बेर पल्टिएँ । पेट निमोठिएको थियो । सायद भोकले होला । राति रक्सीमात्रै भो । अन्न केही खाइएन सायद । याद पनि भएन ।
उठेर बजार निस्केँ । नजिकैको नास्ता पसलमा छोला र समोसा खाएँ । एक छिन बजारमै भड्किएँ, यताउता ।
शनिबारे बजार । सुनसानजस्तै । त्यत्ति मजा लागेन । कोठामा फर्किँए । सुत्ने मुडमा । ताल्चा खोल्नै लाग्दा मोबाइल बज्यो, थापा काजीको रैछ ।
उठाम् कि नउठाम् भो । उठाए, फेरि भट्टीमै बोलाउने हो । नउठाम् रिसाउँछ फेरि । जर्वजस्ती फोन रिसिभ गरेँ ‘ओइ पुरेत छिटो आइज, दारु र माछा खिच्न….’ मैले हेल्लो भन्नै पाइनँ ।
तर, मलाई केही खाने मुड थिएन । भनेँ ‘मैले आज खान्न यार, हिँजैको लागिराछ’ उताबाट जवाफ आयो ‘थुइकक पुरेत, त्यत्ति रक्सी नि पचाउन सक्दैननस् है यो जवानीमा तुरन्त आइज लोकल माछा अनि जुस खालास् ।’
लोकल माछा, ओहो । मुख आफैँ रसायो । ढोका खोलिनँ । सरासर उतै हानिएँ ।
चड्डाको पाटी रैछ । दमदार । सारा होटेल झुमेको थियो । दारु नखाएका सायदै थिए । काजीहरु बसेको टेबुलमा गएँ । एउटा कुर्सी खाली थियो । टेबुल पूरै भरिएको ।
उनको कोरिया जाने नाम निस्कियो । खुसीको पाटी रैछ । बगयरबुटवाको कटेल पूरै प्याक थियो । थापाकाजी, मदनेहरुको टेबलु प्याक थियो । हात मिलाउँदै एउटा कुर्सीमा बसेँ ।
रोयल स्टेगका खाली अनि आधा भएका बोत्तलहरु मलाई हेर्दै ङिच्चिएको जस्तो लाग्दै थियो ।
थापाकाजीले टेबुल ठटाए ‘कान्छा एउटा गिलास र माछा ल्याउ ।’
मैले बिन्ती गरेँ ‘आज खान्नँ यार….. ।’
मलाई उडाउनसम्म उडाए । के के भने भने । तर, मैले मान्दै मानिनँ । हार मानेजस्तै गरेर काजीले अर्डर गरे ‘ल रेडबुल ल्याउ ।’
टेबुलमा रेडबुल आयो । खोलेर घुटुक्क पारेँ । माछा चपाएँ ।
हिँजो दारुको ह्याङमा रेडबुल ! अँह । कत्ति स्वाद लाएन आफैलाई ।
रोयल स्टेगका बोत्तलहरु खिस्स गरिरहेका थिए । चड्डाहरु झुमिरहेका थिए, आफैँ दोहोरी गीत हान्दै थिए । नाच्दै थिए ।
दारु खाएसी वर्षिने गफहरु । त्यसपछि गरिने हर्कतहरु । यी सबको सम्झनाले मेरा हात बिस्तारै बोत्तलतिर लम्किदैँ थिए । चड्डाहरु मलाई उडाउँदै थिए । रक्सी खान कर गर्दै थिए ।
मनले कसरी मानोस् ? एउटा गिलास् थापकाजी तिर सार्दै भनेँ ‘बना मुला प्याक, आजके साम, चड्डाके नाम……।’ बल्ल पो मजा । पाटी बल्ल जमेजस्तो भो ।
कति बोत्तलहरु अनि माछाहरु सहिद भए कसले हिसाब राखोस् ? त्यसपछि पार्टी अझ जम्यो ।
हर दिन मेरा लागि स्पेशल भइदिन्छ । गुड फ्राइडे मात्रै होइन, सटर्डे अनि सन्डेहरु मात्रै हैन । हर डेहरु मेरा यसैगरी बित्छन् । टेबुलमा रक्सीको बोत्तल समाउँछु अनि मनमनै भन्छु ‘भोलि देखि त खाँदै खान्नँ आजमात्रै खान्छु…… ।’
बिहानै टाउको बम्म हुन्छ अनि फेरि भन्छु अब त खाँदै खान्नँ के । जब अपिस छुट्टी हुन्छ । घाम मलिन हुँदै जान्छ, अनि साँझ जवान हुँदै गर्दा म भट्टीमा पुगिसकेको हुन्छु । र फेरि भन्छु ‘भोलिदेखि पिउँदिन ल….।’
तर, जीवनमा न त्यो मेरो भोलि नै आयो । न त भोलिसम्मै पुगेँ ।
(स्रोत : Ratopati.com)