~विमल पोखरेल~
स्वच्छ पानीका छालहरू
दौडिरहेका छन् हजारौं वर्षदेखि
म छालहरूको छेउमा उभिएको छु
अथाह पानीको सागरमा
माछाहरू पौडिरहेका छन्
ती तालका गहनाहरू हुन्
ढल्की ढल्की नाचिरहेका छन्
आँखा जुधाउँदा लुक्न खोज्छन्
लजाए जसरी
म हराएको छु पानीभित्रै
तर चुचामारेसम्मै फ्याँकिएको छ सुन्दरता
सूर्य र चन्द्रमाको ऐना बनेको छ रारा
हिउँदमा हिउँले ढाकिन्छ रारा
सूर्यको प्रकाशमा टल्किन्छ रारा
साँझपख सुसाउँछ रारा
हावाको मन्द वा तीब्र गतिमा
सल्लाका रूखहरू सुसाउँदै गीत बनाउँछन्
राराको पानीले धुन निकाल्दछ
सल्लाका रूख र राराका छालहरूले
मित लगाएका छन्, प्रित गाँसेका छन्
राराको छेउमा उभिएर मैले
गीत र धुनहरू सुनिरहेको छु
आहा मेरो देशको रारा ¤
राराको अलि माथि रहेको
सुन्दर गाउँ छाप्रुबाट
करिब ३५ वर्षअघि हटाइएका गाउँलेहरूले
राराकै निम्ति बलिदान गरे
उनीहरूलाई तराईको चिसापानीमा
बसालिएको छ छाप्राहरूमा
उनीहरू आजभोलि हिउँ खेल्दैनन्
राराका छालहरू देख्न पाएका छैनन्
आँखै अगाडि देखिने हिमालका दृश्यहरू
लोप भएका छन् ÷अदृश्य भएका छन्
समथर भए पनि तराईमा
तातो हावाको मुस्लोले अत्याउँछ
हिउँ विनाको जाडोले कपाउँछ
शीतलहरले भिजाउँछ
बढेका छन् पीडाहरू
खत्याड, पिन, रारा र श्रीनगरका मान्छेहरू
सम्झिरहेका छन् उनीहरूलाई
सँगैका दौंतरीहरू
दशकौंदेखि भेट भएका छैनन्
कोही संसारबाट विदा भए होलान्
कसैले अझै सम्झंदै होलान्
त्यो छाप्रु, पानी, हिउँ, जंगल
त्यो गाउँ राष्ट्रिय निकुञ्ज बनेको छ ।
गाई, भैसी, भेडा, खच्चड चराउन
प्रतिबन्ध लगाइएको छ
आज छाप्रु प्रतिबन्धित छ ।
चुचामारेको लेकमा
सेतै फुलेका गुराँसहरूले
सुगन्ध छरिरहेका छन्
सुन्दरता फैलाइरहेका छन्
अहो चुचामारे ¤
जहाँबाट हिमाल बाहेक अरू देखिंदैनन्
त्यो हिमालको संसार, त्यो हिंउको संसार
जताततै सेताम्मे सुन्दरता
मानौं कैलाश पर्वत यहीं नजिकै छ
म कैलाश पर्वतको काखमा आनन्दसाथ रमाइरहेको छु
अरू सारा दुनियाँ मबाट कति टाढा छ
न धुलो, न धुवाँ, न दुर्गन्ध, न फोहोर
सारा सुगन्धले भरिएको छ
दर्जनौं फूलहरूले, सयौं जडीबुटीहरूले
यो हो रारा तालको छेउ
राराका सौन्दर्य
सुगन्ध, सुन्दरता र पानीले भरिएको छ रारा
म राराको छेउमा उभिएर
एक टकले हेरिरहेको छु
राराको छेउमा उभिएको छ मेरो देश
ऐना बनिरहेको छ रारा ।
(प्रकाशोन्मुख खन्डकाव्य “भीरमा भारी बोकिरहेछ कर्णाली” को एक अंश)
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३ – Nov. 23, 2011 – २०६८ मंसिर ७ गते, बुधबार)