नियात्रा : दिउँसोको मस्को र उज्यालो रातको लेनिनग्राड

~प्रदीप नेपाल~

मस्कोमा मलाई हेर्न मन लागेको अब एउटा मात्र स्थान थियो – भूमिगत रेल । चर्चा खुबै सुनिएको थियो मस्को मेट्रोको । चर्चा गरिनलायक पनि रहेछ त्यहाँको भूमिगत रेल । मैले अमेरिका, चीन, हङकङ, भारतमा पनि मेट्रो चढेको छु तर मस्कोको मेट्रोसँग अहिले पनि कसैको तुलना हुनसक्छ जस्तो मलाई लाग्दैन । मस्को मेट्रो चढाउने र घुमाउने जिम्मा चाहिँ मेरै नाति प्रद्युम्न नेपालको भागमा परेको रहेछ ।

मस्कोको चर्चा गर्दा मैले, हाम्रो नेपाली उपेन्द्र महतोको विशाल बजारका बारेमा पनि चर्चा गर्नुपर्छ । किनभने मस्कोमा रहुन्जेल प्रायः प्रत्येक दिन म त्यो बजारमा पस्ने, निस्कने गरिरहेँ । अरूणहरूको कार्यालय पनि त्यहीँ बजारको माथिल्लो तलामा रहेछ । मस्कोको मुटु मानिने गर्बुस्का भन्ने ठाउँमा महिनाको सत्तरी/असी लाख डलर भाडा उठाउने त्यो विशाल बजार हाम्रो नेपालका सबै विशाल बजारलाई एकै ठाउँमा जोड्दा जति ठूलो बन्छ, त्योभन्दा पनि ठूलो रहेछ । भाइहरूको भनाइमा उपेन्द्रजीको त्यो सबैभन्दा ठूलो व्यवसाय चाहिँ होइन रहेछ । एउटा नेपालीको प्रगति सुन्दा र देख्ता आफ्नो मन पनि खुसीले मौलाउँदो रहेछ । मलाई भित्रैदेखि खुसी लाग्यो ।

पिटर्सवर्ग/लेनिनग्राड

मलाई पिटर्सवर्ग भनौँ या लेनिनग्राड भनौँ, घुमाउने जिम्मा चाहिँ एकनारायण चापागाईं र बद्री के.सी. भाइहरूको जिम्मामा परेको रहेछ । यी दुइजना भाइहरूलाई मैले नेपाली चियाको प्रवर्द्धनकर्ताका रूपमा काठमाडौँमा चिनेको थिएँ । कम्पनीको कामले बद्री भाइ मस्को छोड्न नमिल्ने भएको हुनाले एकनारायण भाइले मलाई लेनिनग्राड घुमाउने जिम्मा लिनुभयो ।

रेलमा शायद छ घण्टा लाग्यो होला तर यात्रा भने साह्रै मज्जाको । एक प्रकारले भन्ने हो भने हवाइजहाज भन्दा आनन्दको । जाँदा पनि राति सुतेरै गइयो । र्फकंदा पनि सुतेरै फर्किइयो ।

पिटर्सवर्गको नाम दुई जना ठूला रुसी नेताहरूसँग जोडिएको छ । पिटर महान् रुसका ठूला सम्राट हुन् भने निकोलाई लेनिन सोभियत सङ्घका निर्माता हुन् । दुबैले आआफ्नो भाषामा विशाल साम्राज्य खडा गरेका थिए तर रुसको सन्दर्भमा सबैभन्दा ठूलो सामन्त र सबैभन्दा ठूलो कम्युनिस्टको नामसँग जोडिएको त्यो सहरलाई मैले उदास, हतास र दिक्दार भएर बैरागिएको मान्छेजस्तो भेटेँ । भित्ता उक्किएका घरहरू, पुराना र थोत्रा गाडीहरू, लेनिनको विशाल मूर्ति भएको प्याभिलियन फोहोरमा हराएको, सडकै पनि खोपिल्टा खोपिल्टी परेको । मन दुख्यो पिटर्सवर्ग/लेनिनग्राडको अनुहार देखेर ।

“ठूली हुन्थिस् नि, लौ खा” भनेर मस्कोले हियाएकी जेठी सौताजस्तै लाग्यो मलाई यो पिटर्सवर्ग ।

समुद्रको पानीलाई शाही दरबारसम्म तानेर बनाइएका ठूलाठूला फोहराहरू हेर्दा मलाई नेपालका राजा गरिब छन् भनेर विजयाराजे सिन्धियाले गरेको टिप्पणीको सम्झना भयो । चार पाँच सय हेक्टर जमिनमा जताततै नहर, सुधारिएको जङ्गल, सुनको लेपन गरिएजस्ता चिल्ला पहेँला दर्जनौँ विशालकाय मूर्तिहरू आफैँ जारकालीन समृद्धिको परिचय थियो भने सत्तरी वर्षसम्म त्यसलाई जोगाएर राख्ने सोभियत संघको पनि त्यतिबेला चाहिँ सम्मान नगरी रहन सकिएन ।

तर मस्कोभन्दा यहाँ एउटा भिन्नता चाहिँ देखिहालेँ होटल पस्नेबित्तिकै । लेनिनग्राडका होटलमा काम गर्नेहरू अङ्ग्रेजी बुझ्दा रहेछन् । अर्थात् लेनिनग्राड एउटा पर्यटक सहर रहेछ । मस्कोको होटलमा मैले सबै काम इशारामा बुझाउनु परेको थियो । पिटर्सवर्गमा त सडकमा पनि अङ्ग्रेजी बोल्नेहरू भेटिए ।

पिटर्सवर्गको दोस्रो दिन हामीले अक्टोबर क्रान्तिलाई दिने सोच बनाएका थियौँ । त्यसैले हामी लामै समयसम्म नेभा नदीको किनारै किनार गुड्यौँ । जहाज चल्ने त्यो विशाल नदीलाई दुबै किनारामा बाँधिएको रहेछ । गर्नेहरूले विदेशीको आश गर्दैनन् भन्ने लाग्यो । नेपालीको जात केही गर्नै नचाहने पो हो कि भनेर मन पनि दुख्यो ।

नदीको किनारैमा एउटा विशाल क्याथेड्रल भेटियो । बाहिरैबाट त्यसको विशालता देखेर मलाई क्याथेड्रल घुम्न मन लाग्यो । त्यो रुसको सबैभन्दा ठूलो क्याथेड्रल हो भन्ने जानकारी हाम्रा स्थानीय गाइडले दिए । रुसको मात्रै होइन, त्यो त संसारकै ठूलो हो कि भन्ने मलाई लाग्यो । किनभने मैले यत्ति ठूलो क्याथेड्रल अमेरिका, फ्रान्स, जर्मन कतै पनि देख्न पाएको थिइन ।

मैले मनमनै क्याथेड्रलको निर्मातालाई धन्यवाद दिएँ, हामीलाई यति सुन्दर भवनको दर्शन गराउने औसर जुराएकोमा ।

हाम्रो गन्तव्य थियो अबरोरा जहाज । नेभा नदीलाई दाहिने पारेर हामीले एउटा पुल तर्‍यौँ र जारहरूको एउटा दरबारको सङ्ग्रहालयतिर लाग्यौँ । नेभा नदीको किनारै छोपेर बनाइएको त्यो दरबार घुमेपछि हामी रुसी अक्टोबर क्रान्तिमा आफैँ अजम्बरी कथा भएको अबरोरा जहाज हेर्न अगाडि बढ्यौँ ।

सन् १९१७ को त्यो परिवर्तनकारी आँधी बोकेर आएको जहाजलाई अत्यन्तै राम्ररी राखिएको रहेछ ।

लेनिनग्राडको रात रमाइलो लाग्यो । गएको दिन राति ११ गते सुत्ने तयारी गरिरहेको बेला पनि आकास उज्यालै थियो भने बिहान ५ बजे ओछ्यान छोडेर झ्यालको पर्दा खोल्दा पनि आकास उज्यालो भैसकेको थियो ।

फर्किने समय रातको १२ बजे थियो । १० बजे हामी होटेलबाट निस्कियौँ । बाटामा मान्छेको चहलपहल राम्रै थियो । रेल स्टेसनको ढोकामा हामी ट्याक्सीबाट ओर्लियौँ । आकाश त हाम्रो नेपालतिरको गोधुलिको घाम अस्ताउँदै गर्दाको जस्तै थियो ।

चेतनारायण भाइले पश्चिमतिरको आकासतिर हेर्दै भन्नुभयो, “दाइ, हामी एक हप्ता ढिलो भयौँ । हप्ता दिन अगाडि आउन सकेको भए हामी “हृवाइट नाइट” को रमाइलोमा सहभागी हुनपाउने थियौँ ।”

समयले साथ नदिएपछि चुकचुकाउनुको पनि कुनै अर्थ हुँदैनथ्यो । म देखिएको उज्यालो आकाश हेर्दै रेल स्टेसनभित्र छिरेँ ।

मस्कोको नेपाल

मस्कोमा धेरै ठाउँमा नेपाल भेटिन्छ । व्यवसायमा नेपाल भेटिन्छ । कलेजहरूमा पनि नेपाल भेटिँदोरहेछ । दूतावासमा त नेपाल भेटिने टुङ्गै भैहाल्यो ।

लेनिनग्राड/पिटर्सवर्गबाट फर्किएपछि मैले दूतावासमै बस्ने योजना बनाएको थिएँ । किरणजीसँगको संसददेखिको सम्बन्धले पनि मलाई त्यहाँ बस्न तानिरहेको थियो । मस्कोको घुमघाममा पनि किरणजी र म प्रायः एउटै गाडीमा चढेका थियौँ । मस्को बाहिरका विशाल घाँसे मैदानलाई हेर्दै किरणजी सधैँ जमिन खेर गएकोमा चुकचुकाउनु हुन्थ्यो । म बसेको होटेल सहर बाहिरको शान्त स्थानमा भएको भए पनि मलाई सधैँ सहर आइरहनु पर्ने हुनाले मैले सहरभित्रै बस्ने सोच बनाएको थिएँ ।

अरूणलाई अप्ठ्यारो लागिरहेको थियो । उनले “दूतावासमा बस्न दाजुलाई अप्ठ्यारो लाग्छ कि !” भनेर दुई पटक सोधेका पनि थिए । किरणजी राजदूत भएको निवासमा बस्न मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन भनेर अरूणलाई आश्वस्त पारेको थिएँ र म रमाएँ पनि दूतावासमा । किरणजीको एउटा सपना रहेछ – अबकासपछि घाचोकमा सानो घर बनाएर जीवन बिताउने । मलाई लाग्थ्यो – किरणजी काठमाडौंको महाराजगञ्ज निवासी हुनुहुन्छ र राम्रैसँग सहरीया भैसक्नुभएको छ । मस्कोमा पुगेर मात्र मैले उहाँको घर कास्कीको घाचोकमा भएको र अबकासप्राप्त जीवनमा उतै गएर बस्ने मन बनाउनुभएको रहेछ । मेरो रुचि पनि त्यस्तै भएको हुनाले हामीले लामो गन्थन गर्‍यौँ अबकासपछिको जिन्दगीका बारेमा ।

मैले किरणजीको श्रीमतीसँग उहाँको नाम सोधेँ ।

“दाइ हाँस्नुहुन्छ ।”

नाम सुनेर म हाँसेँ पनि । उहाँको नाम डली गुरुङ् रहेछ । म भूमिगतरूपमा काठमाडौंमा क्रियाशील भएको समयमा एउटी डली गुरुङको नामको विगविगी थियो – तर असाध्यै नकारात्मकरूपमा ।

“त्यही डलीको नाम सुनेर दाइको उमेरका सबै मान्छे मेरो नाम सुन्ने वित्तिकै हाँस्नु हुन्छ ।”

“म चाहिँ तपाईंलाई देवी बैनी भनेर बोलाउँला ।”

परिवारसँग रत्तिन साह्रै गाह्रो लाग्दैन मलाई । मस्कोका पछिल्ला दुई दिन रमाइलै रहे ।

दूतावासले आयोजना गरेको अन्तक्रिर्याका बारेमा चर्चा नगर्ने हो भने मेरो संस्मरण अधूरै हुन्छ । नेपालबाट विशिष्टखाले पाहुनाहरू जाँदा दूतावासमा गरिने अन्तक्रिर्या कार्यक्रममा नेपाली साथीहरूका साथै दुई जना रुसी पाहुनाहरू पनि उपस्थित हुनुहुन्थ्यो । गैरआवासीय नेपालीहरूको संस्थाबाट जीवा भाइले

दोहोरो नागरिकताको मुद्दा उठाउनु भयो । त्यहाँ उपस्थित सबैको गैरआवासीय नेपालीलाई नेपालसँग जोडिरहन दोहोरो नागरिकता दिनुपर्छ भन्ने निष्कर्ष थियो ।

मैले आफ्नो वचन दिएँ, “म यसलाई कार्यान्वयन गर्नसक्ने ठाउँमा त छैन तर म आफ्नो पार्टीका नेताहरू, वर्तमान प्रधानमन्त्री तथा अन्य पार्टीका नेताहरूसँग यसको समर्थनमा कुरा उठाउने छु र म नेपाली पत्रपत्रिकामा पनि दोहोरो नागरिकताका पक्षमा लेख्नेछु ।”

नेपाल फर्किएपछि गोरखापत्रमा मैले दोहोरो नागरिकताको समर्थनमा एउटा टिप्पणी लेखेको पनि थिएँ ।

सधैँ म विदेशमा छँदा घर फर्किन हतारिन्थेँ तर मस्कोले मोहनी लगायो मलाई । बिदाइको क्षण मिठो लागेन । किरणजी आफैँ आउनुभएको थियो बिदा गर्न । अरूण, रामेश्वरहरूको उपस्थिति त स्वभाविक हुने भैहाल्यो ।

समयका बारेमा चाहिँ रुसीहरू पनि हाम्रै साथी रहेछन् । जहाज ठ्याक्कै एक घण्टा बीस मिनेट ढिलो उड्यो । हामीले दिल्ली विमानस्थलमा काठमाडौं जाने पहिलो जहाज भेट्टाउन सम्भव नै थिएन । फेरि दिल्ली विमानस्थलमा बेकारको छ घण्टा बिताउनुपर्ने भयो भनेर जहाजमा बस्ताबस्तै आँखा लोलाउन थालिहाले ।

दाचा भ्रमण

चेखोबका नाटक र कथाहरू पढ्दा मेरो मथिङ्गलमा ग्रामीण बस्तीको सानो घर परिकल्पित भएको थियो । त्यसलाई दाचा भनिने गरेको जानकारी पनि मलाई सोभियत साहित्यले नै दिएको थियो । मस्को सहरको रमझम मेरालागि खासै आकर्षण गर्ने विषय थिएन । टोकियो, लण्डन, न्युयोर्क, बेइजिङजस्ता सहरहरूको भ्रमण गरिसकेपछि मस्को सहरको सुन्दरताले साह्रै आकषिर्त गर्ने कुरो पनि भएन । त्यसैले मैले अरूणलाई एकदिन दाचातिर जाने कुरा राखेको थिएँ ।

एकदिनको यात्रा छुट्याउनुपर्दोरहेछ दाचाको रमाइलो लिन जाँदा ।

नेपालका पुराना रुसी उद्यमी हुनुहुँदोरहेछ भरत पौडेल । साथीहरूले त्यहीँ लानु हुने भयो तर त्यो मैले पढेको दाचाजस्तो थिएन । गाउँमा भएको राम्रो घर थियो त्यो । मेरो स्मृतिमा भएको दाचा अहिलेको रुसमा छैन कि जस्तो पनि लाग्यो । खाना खाँदाखाँदै मैले दाचाको कुरा चलाएँ । सबै साथीले भरत पौडेलको ससुराली मेरो कल्पनाको दाचाजस्तो ठान्नुभयो । खाना खाइसकेपछि हामी ससुराली दाचातिर लाग्यौँ । एकैछिनमा पुगिन्छ भनिएको थियो तर बाटो लामै रहेछ । एउटा लामो जङ्गल पार गरेपछि बाटो ग्रामीणक्षेत्रतिर लाग्यो । राजमार्ग छोडेर गाउँका घुमाउरा सडकमा गुड्न थालेपछि मलाई साँच्चै गाउँ पसेजस्तो लाग्यो । सर्पाकार जसरी बटारिएको बाटो १५ मिनेटजति गुडेपछि हामी १२/१५ घर भएको एउटा गाउँमा पुग्यौँ । त्यहीँ रहेछ भरतजीको ससुराली दाचा ।

यामानका चार जना बूढाबूढीहरूले हामीलाई मायालु स्वागत गरे । तिनले आफ्नो ज्वाइर्ंको साथीलाई स्वागत गरेका हुन् कि दाचा हेर्न आएको नेपालीको स्वागत गरेका हुन् । मैले छुट्याउन सकिन तर जे भए पनि रमाइलो लाग्यो । पुरुषभन्दा महिला फूर्तिला । हाम्रो नेपालको लिम्बू परिवारजस्तो । सासू बूढीमा बोलिरहनु पर्ने, उहाँकी भाइबुहारी पनि रमाइरहनु पर्ने । ससुरा बूढाले आफ्नो काठेघरका कोठा देखाए । घर बाहिर सुँगुर पनि पालिएको रहेछ तर पित्को दुर्गन्ध नाईं ! छक्कै परेँ म । दाना खाइरहेको गाई, फुत्तफुत्त उफ्रिइरहेका कुखुराकुखुरीहरू ! मैले खाली चेखबलाई सम्झिइरहेँ दाचामा ।

फोटो खिचाउने कुरो चल्यो । त्यतिबेला मलाई थाहा भयो – भाषा नबुझे पनि म नै प्रमुख अतिथि रहेँछु त्यहाँ । परिवारका सबैले मसँग बसेर फोटो खिचाउने रहर गरेको कुरो अरूणले मलाई सुनाए । आपत्ति गर्नुपर्ने कुरै के थियो र ! मैले हुन्छ भनेँ । चार जनाको बीचमा बस्ता त तैबरु तैबरु म मान्छेजस्तै देखिएँ होला । दुइटी बूढी मान्छेको बीचमा उभिँदा म त हराउने अबस्थामा परेँछु । त्यसैबेला दुइटै बूढी मान्छेहरूले मेरो गालामा म्वाइँ खाए । केटाकेटीमा आमा, सानिमा र दिदीले गालामा खाएको म्वाइँपछि मेरो गालो सुरक्षित रहेको थियो । बूढी आमैहरूको ओठको चिसोले गाला छुँदा अप्ठ्यारो लागिरहृयो तर पनि मैले मणि पोखरेललाई फोटो खिचिदिन चाहिँ अनुरोध गरेरै छोडेँ ।

मणिजीले म फोटो पठाइदिउँला भन्नुभएको थियो । शायद उहाँ आफैँ नेपाल आउँदा लिएर आउनु हुन्छ कि !

भदौ २७, ०६७ काठमाडौं

(स्रोत : मधुपर्क २०६७ मंसिर)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.