पुस्तक समीक्षा : थप परिष्कारको अपेक्षा गर्ने कथाहरू

~हरि अधिकारी~book-cover-gobinda-giri-prerana-ghorahi-shunya-kilometer

साहित्यका सबैजसो प्रमुख विधाहरूमा समानरूपले कलम चलाउँदै आएका उत्साही लेखक गोविन्द गिरी ‘प्रेरणा’ को नवीनतम् कथासङ्ग्रह ‘घोराही शून्य किलोमिटर’ मा समसामयिक विषयवस्तुमा केन्द्रित भई लेखिएको २० वटा कथा सङ्कलित छन् । सङ्ख्यात्मक हिसाबले हेर्दा निक्कै नै उर्वर देखिने प्रेरणाका यसअघि नै ‘सुतेको समुद्र’, ‘अन्तराल’ र ‘यात्रा अनन्त’ शीर्षकमा ३ थान कथासङ्ग्रह प्रकाशमा आइसकेका छन् । अमेरिकामा बसाइँ सारेका प्रेरणा त्यहाँको तीब्र, जटिल र व्यस्ततम् जीवनशैलीको व्यवस्थापन गरेर साहित्य साधनामा नै रहेका छन् र प्रत्येक वर्ष कुनै न कुनै विधामा १-२ कृति प्रकाशन गरिरहेका छन् । नेपाली भाषा र साहित्यप्रतिको उनको यो विशेष अनुराग स्वागतयोग्य छ ।

गोविन्द गिरी प्रेरणाले आफ्नो कथा-लेखनको प्रेरणा स्रोत नेपाली समाज र नेपाली सामान्य-जनलाई बनाएका छन् । हाम्रो समाजको सङ्क्रमणकालीन चरित्रको चिरफार गर्नमा उनको विशेष अभिरुचि देखिन्छ । पुरानो रhari-adhakari नयाँ मानसिकताका बीचको द्वन्द्व, उपभोक्ता संस्कृतिका कारण उत्पन्न भएको विचलन, सामाजिक र आर्थिक क्षेत्रमा व्याप्त विकृति एवं विसङ्गतिहरू, व्यक्ति-व्यक्तिका बीचका सम्बन्धमा थपिएको जटिलता र समाज उदार एवं लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि देखिएका अन्योल, अनुशासनहीनता र अबयवस्थाजस्ता विषयहरूमा टेकेर गिरीले आफ्ना कथाहरू बुन्ने प्रयत्न गरेका छन् । राजनीतिकक्षेत्रमा व्याप्त विसङ्गति उनको अर्को पि्रय विषय हो ।

‘घोराही शून्य किलोमिटर’ मा सङ्कलित कथाहरू विषयगत विविधताका दृष्टिले उल्लेखनीय छन् । सङ्ग्रहको शीर्षक-कथा ‘घोराही शून्य किलोमिटर’मा पश्चिम नेपालको सीमान्तीकृत, दलित वादी जातिको कहानी कहने प्रयास गरिएको छ भने ‘कलावती जिन्दावाद’, ‘दुःस्वप्न’, ‘माओवादी’, ‘भाते खकारप्रसाद’, र ‘प्रजातन्त्र’ जस्ता कथाहरूमा नेपाली राजनीतिको क्षेत्रमा उभारमा आएका असङ्गत परिस्थिति र चरित्र विशेषको चित्रण गर्ने जमर्को छ । ‘अन्तिम रात’, ‘दर्शनढुङ्गा’ र ‘टाढा, टाढा, धेरै टाढा’ शीर्षकका कथाहरूमा स्त्री-पुरुष सम्बन्धका बहु-आयामको पडताल गर्ने प्रयत्न गरिएको पाइन्छ । यी कथामा पति-पत्नी वा प्रेमी-प्रेमिकाबीचको सम्बन्धमा उत्तरआधुनिक जीवनशैलीका कारण पैदा भएका जटिलताहरूलाई नौलो ढङ्गले हेर्ने चेष्टा गरेका छन् कथाकार गिरीले । ‘समानान्तर’ नेपाल बन्द ‘दुई मोरीहरू’ शीर्षकका कथामा श्रम र यौन शोषणमा परेका निरीह नेपाली किशोर र युवतीहरूको पीडालाई वाणी दिइएको छ । यी दुबै कथा मार्मिक बनेका छन् ।

अभिव्यक्तिको सुसङ्गठित स्वरूप, भाषिक लालित्य, शब्दानुशासन र मीतव्ययी लेखनको दृष्टिले भने गोविन्द गिरी प्रेरणा कमजोर देखिन्छन् । कतिपय अवसरमा उनको लेखनमा हतपत्, उरेन्ठेलोपना र हलुकोपन मूलभूत विशेषता भएर उभारमा आएका पाइन्छन् भने धेरै कथाहरूमा अतिभावुकता र अति नाटकीय प्रमुख तत्वझैँ लाग्दछन् । कसिलो बुनावट भएको एउटा कथामा आवश्यक छरितोपना, कथावस्तु र चरित्रहरूको विश्वसनीय विकास-क्रम एवं सुविचारित उत्कर्षका कसीमा घोटेर हेर्ने हो भने ‘घोराही शून्य किलोमिटर’ का कथाहरू प्रभावहीन लाग्दछन् । चारवटा सङ्ग्रमार्फत् सय थान भन्दा बढी कथाहरू प्रकाशमा ल्याइसकेका कथाकार गिरीका कथा, यात्रा परिष्कार र सौन्दर्यका दृष्टिले प्रारम्भिक अवस्थातिरै अलमलिरहेको पाइनु निराशाजनक विषय हो । धेरै विधामा कलम चलाउने गिरीले कथा लेखनको कला पक्षप्रति ध्यान दिन नसकेकाले पनि यस्तो भएको हुन सक्दछ । गिरीले आगामी दिनमा आख्यान साहित्य लेख्ने क्रममा यी कमजोरीहरूलाई हटाउने प्रयत्न गर्ने छन् भन्ने आशा गर्नु अनुचित हुने छैन । यसबाहेक गिरीले सङ्ख्यात्मकरूपमा आफूलाई अब्बल सावित गर्ने चेष्टा गर्नुभन्दा सङ्ख्यामा कमै भए पनि गुणवत्ताको दृष्टिले उत्कृष्ट कृति धेरै समय लगाएरै भए पनि तयार गर्ने र साहित्यको श्रीवृद्धि गर्ने प्रयत्न गर्नु राम्रो हुनेछ ।

पुस्तक : घोराही शून्य किलोमिटर (कथासङ्ग्रह)
कथाकार : गोविन्द गिरी प्रेरणा
प्रकाशक : रत्न पुस्तक भण्डार
संस्मरण : २०६७ प्रथम
पृष्ठ : १५+१३०
मूल्य : रु. १५०।-

(स्रोत : मधुपर्क २०६७ मंसिर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.