तिम्रो प्रतिक्षा गर्दागर्दै
बगेर गयो बैंशालु उमेर ।
जमे आँशुका दहहरु,
म रुदाँ रुदाँ
लेघ्रो बसिसकेछ, परेलीमुनि ।
फेरी पनि मायाँलु
म तिमीलाई पर्खेर बसेकी छु ।
म तिमी आउने बाटो हेरेर बसेकी छु ।।
बर्षौं पहिले,
मेरो कुमारी मनभित्र
जसरी स्थापित भएथ्यो
तिम्रो आदिम सौन्दर्य ।
मैले सबैभन्दा पहिले देखेको
तिम्रो मायावी स्वरुप ।
मैले तिमीलाई गरेको पहिलो विश्वास,
मलाई तिमीसँग भएको पहिलो प्रेमको अनुभुति ।
जतन गरेर राखेकी छु आज पनि
चोखो मायाँले भरिएका तिम्रा सुन्दर यादहरु ।
म त्यहींनेर छु ।
जहाँ तिमीले मलाई उभिनु भनेर गएका थियौ ।
म नआउञ्जेल पर्खिरहनु,
नथाक्नु, हरेश नखानु
छायाहरुसँग तर्सेर आफ्नो सातो नगुमाउनु ।
र्हुहुरे बतासले कसिंगर ल्याएर आँखामा हुत्याईदिन सक्छ ।
आँधीे भुमरी भएर उडाउला उडाउला जस्तो हुनसक्छ ।
आँखाको कशलाई बरु आँशुले बगाउनु ।
सतिशाल जस्तो भएर उभिरहनु, नहल्लिनु
म अबश्य आउनेछु ।
मलाई अन्तिम घडीसम्म
पर्खिरहनु भनेर गएका थियौ
हेर न ।
यी मान्छेहरु भन्छन्
तिमीले मलाई छाडिसकेका छौ ।।
तिमी आफूले हिंडेर आएको
गाँउको गोरेटो,
थाकेर भारी बिसाएको
भञ्ज्याङको चौतारो,
प्यास लाग्दा तिर्खा मेटाएको
चिसो पानीको ढुंगेधारो
सबैसबै बिर्सिसकेका छौ भन्छन् ।
तिमी प्रति
त्यो बेलाको मेरो सम्पूर्ण समपर्ण
मेरो हृदयमा बढेको गति
मेरा आँखामा चम्किएको आत्मबिश्वास ।
मेरो मुहारमा भरिएको आभा
मेरो छातिमा पौडिईरहेको तिब्र बेग ।
मैले तिमीलाई गरेको भरोसा ।
के ति सबै सबैलाई तिमीले बिर्सिएकै हौ र ?
वरु मलाई यी मान्छेहरुले भनेको
रत्तिभर विश्वाश छैन ।
तिमी आउनेछौ भन्ने कुरामा
मलाई कत्तिपनि सन्देह छैन ।
कालो रातपछि आउने मिर्मिरे उज्यालोजस्तो
सिमसिमे झरीपछि खुल्ने चम्किलो आकाशजस्तो
कायम राखेर
तिमीप्रतिको एउटा असिम विश्वाश
मायाँलु
म तिमीलाई युगयुग
प्रतिक्षा गरिरहेकी छु ।
तिम्रो प्रतिक्षा गर्दागर्दै
बगेर गयो बैंशालु उमेर ।
जमे आँशुका दहहरु,
म रुदाँ रुदाँ
लेघ्रो बसिसकेछ, परेलीमुनि ।
फेरी पनि मायाँलु
म तिमीलाई पर्खेर बसेकी छु ।
म तिमी आउने बाटो हेरेर बसेकी छु ।
२०७२।१२।१४
(स्रोत : रचनाकारको ब्लगबाट सभार)