व्यङ्ग्य निबन्ध : महान् काका

~कैलाशकुमार सिवाकोटी~

हेर्दाहेर्दै काका ज्येष्ठ नागरिकको कित्तामा छिरिसकेका छन्। उनका ६३ वटा वसन्त अतीत भइसकेका छन्। जतिखेर उनी धर्तीमा उम्रिए, साथमा अस्थिरतारूपी जुम्ल्याहा सन्तान पनि ल्याएका थिए। उनको उत्पत्तिको समयमा वरिपरि गरिबी, पीडा, अभाव ढकमक्क फुलेको थियो। फोहोरमा झिँगा लुटुपुटु भएझैँ उनी पनि नजानी-नजानी अभाव र पीडासँग लुट्पुटिएका थिए। भेउ नपाई-नपाई गरिबीसँग झुम्रा र पुतलीको बिहेझैँ खेलिरहेका थिए। खुसी र वैभव उनको छेउमा आउन मानेन अर्थात  माया र प्रेम गर्न उनलाई योग्य ठानेन, कञ्जुस्याइँ गर्यो।

उनी उमेरसँगै बिस्तारै छिप्पड बन्दै थिए, ६/७ वर्षछि उनलाई आफू सम्पन्नताले आफूलाई ढोकाबाहिर राखी भित्रबाट ढोका ढेपेको भान हुन थाल्यो। रहर मारेर पनि उनी विरक्तिको सगरमाथा उक्लिरहेका थिए। त्यसलाई तह लगाउने दाउपेचको खोजीमा थिए। गरिबी पनि चानचुने थिएन, जब्बर थियो, जस्ता-तस्तालाई नटेर्ने नाथे काकासँग ऊ किन पाउ पर्थ्यो, लम्पसार पर्थ्यो, हारेँ भनी ग्वाँ गर्थ्यो! यति हुँदाहुँदै पनि काकाले अक्षरहरूसँग अङ्कमाल गर्न वा सरस्वतीसँग मायाप्रीति गाँस्न थालिसकेका थिए। यसमा उनी अब्बल नै ठहरिए।

कसैको जिन्दगी दयनीयताको डिलमा उभिएको छ भनी समय निदाउने कुरो थिएन। समयको आफ्नै रफ्तार थियो। कसैको पनि भनसुन चल्दैनथ्यो, चले पनि समयले सुन्दैनथ्यो, सुने पनि टेर्दैनथ्यो अर्थात आफ्नो धर्मबाट दायाबाया गर्नेवाला थिएन। समयको चालसँगै काकाको जीवनमा यौवनले हाँगाबिँगा हाल्न थालिसकेको थियो। यौवनका ती हाँगाबिँगा मलको मुलाझैँ हलक्क ज्यान हालेर चञ्चल बन्दै दगुर्न थाले। गरिबीसँग पनि उनको जवानी छेक्न र रोक्न सक्ने पाइन वा क्षमता नभएर होला, निस्फिक्री छोडिदियो।

गन्हाएका नामुदहरू सुलसुले शैलीमा चन्दादाता/क्रान्तिका सेवकमा गनिए। रित्ता र क्रान्ति जिन्दावाद भन्न नजान्ने लम्फूहरूको नयाँ न्वारन भयो- गद्दार!
आखिर काकाको पनि मन नै थियो, कुनै चट्टान थिएन, जहाँको तहीँ अडिरहने ! मनले पनि आफ्नो रहर वा चाहनाको विज्ञापन गर्न थालिसकेको थियो। पखेटा हालिसकेको थियो, त्यसैले भुर्र चरीजस्तो उड्थ्यो, उताउता कुद्थ्यो। प्रायः निराश भएर ‘चुच्चे ढुङ्गो उही टुङ्गो’मा आएर थन्किन्थ्यो तर काकाको मन यस मामिलामा त्यति अल्छी र हार मानिहाल्ने खालको थिएन। भौँतारिने यात्रामा कुनै सुस्तता, शिथिलता वा नैराश्यलाई छेउछाउ पर्न नै दिएनन्। एक दिन काकाको मन सफल भयो, पारि डाँडाघरे अन्तरे र दिलमायाकी फूल नीरमायामाथि गएर अडियो, त्यसभन्दा उता जाने जाँगर देखाएन। काकाको ज्यान आफ्नै लुरे महलमा फर्कियो तर ध्यान उतै छुट्यो, फर्केर आउनै मानेन।

नीरमायाको झझल्को, खेलिरहने यादले काकाको व्यस्ततामा एकाएक वृद्धि हुन पुग्यो। उनले एकान्तलाई कार्यथलो बनाए, खालखालका सपना बुने, कतिलाई रोपे, कति सपनासँग उनको स्वार्थ मिलेन, सम्बन्ध त्यहीँ टुङ्ग्याए। नीरमायासँगको संसार निर्माणको कल्पनाको पोखरीमा डुबुल्की मार्न थालेपछि सबैभन्दा ठूलो शत्रु गरिबी काकाको मानसपलटबाट भूमिगत हुन थालिसकेको थियो।

काकाले भित्रभित्रै हुर्काएको हुट्हुटी वा मनको व्यथा एक दिन चुहिएर घरभित्र छिरेछ। उमेरले उनी १३ मा हिँडिरहेका थिए। तत्कालीन समयको हिसाबकिताब गर्दा उनको दुई पटक झ्याइँपुटुङ झ्याइँ भइसक्ने बेला भइसकेको थियो। उता उनले कल्पनामा हुर्काएकी परी छ वर्षमा घुमिरहेकी थिई। घर-परिवार सर्वसम्मत रूपमा काकाको भूमिगत वा अव्यक्त माग पूरा गर्न बेचैन भइसकेको थियो। मिल्ने र सक्ने भा’ काकाले विजयी जुलुस निकाली सकेका हुन्थे।

गाउँमा लमीको गतिलो पहिचान बनाएका दिलनाथले आफूलाई फेरि एक पटक भाग्यमानी सम्झे। यस अवसरलाई भरमग्दुर उपयोगको खेतीमा लागे। काकाको परिवारको मञ्जुरीनामा बोकेर लगामको घोडाझैँ कन्याको बस्तीतिर धाइफल तोडे। दुलाहाको नालीबेली बिछ्याए। ३२ लक्षण थोर होला भन्ने लागेछ क्यार, जोडजाड पारी ४२ लक्षण पुर्याएछन्। कुम हल्लाउने बानीलाई पनि लक्षणकै रूपमा व्याख्या गर्दै शनि लखेट्ने र भविष्यमा ठूलो मान्छे बन्ने योग हो भनी अर्थ्याएछन्। त्यसपछि के चाहियो र! दुलही परिवार मख्खै मख्ख! दुलही त उही, जसोजसो आमाबुबा उसैउसै स्वाहा!

रिनपान, यताउता जोडजाड गरी रकम चाँजोपाँजो मिलाइयो। काका डोलीमा अघिअघि, पछिपछि जन्तीको उधुम, पञ्चेबाजाको रौनक! बारीका खेतका गरामा, आलीमा गाउँघरका जन्ती, टपरीमा जन्तेबाख्रो …! रमझममा खेलिरहेका काका बिस्तारै चारैतिरबाट समस्याहरूको आक्रमणमा पर्न थाले। काकी मोटाइसकेकी थिइन्। सासू-ससुरा नातिको बाटो कुरेर बसेका थिए। घरपरिवारबाट पनि कमाइ न धमाइ, घर मात्रै रमाई!

पखेटा पलाएपछि उड्नुपर्छ, चारो खोज्नुपर्छ जस्ता भावका वचन आ-आफ्नो शैलीअनुसार काकाप्रति समर्पित हुन थालिसकेका थिए। उपायको मुहान पनि थिएन।

खोई काकालाई फेरि के रोग लाग्यो, डाडुपन्यू आफ्नै हातमा लिए तर काका अहिले उस्ता फुर्तिला, जाँगरिला छैनन्, रोग यताको छ, औषधी छिमेकीको चलाउँछन्। नाच लैबरीको छ, चोलीके पिछे क्या हे गाउँछन् !
समाजमा फलेको असमानतासँग काका निकै नै चिढिएका थिए तर उनीसँग मुर्मुरिनुबाहेक तत्काल अर्को बाटो थिएन। त्यससँग जोरी खोज्नु भनेको नाकले पहाड भत्काउनु जस्तै नै थियो। गरिबीले लखेटे पनि सरस्वतीले उनलाई माया गरेकी थिइन्। काकाले प्रवेशिका परीक्षाको खुड्किलो फड्के। त्यहीबेला उनको अलिकति भाग्यको ढोका उघ्रियो, मास्टरीमा झुण्डिन पुगे। काकाको रित्ता खल्ती गह्रौँ बन्न थाले तर उनलाई आफ्नो जीवनमा खुसी छिरेको अनुभूति रत्तिभर भएन। आफू र समाजमाथिको असमान सिरेटोको प्रहारले उद्वेलित बनाइरह्यो।

पाठशालालाई उनले व्यवस्थालाई ढुट्याउने कारखानामा रूपान्तरण गर्न पुगे। काका खोक्न थाले- अब पुस्तक बोक्ने होइन, विद्रोह ओकल्नुपर्छ। हाम्रो भाग्य लुट्ने लुटाहा राजा-महाराजा हुन्। सत्तालाई टेको हाल्नेहरू तिनका डाडुचम्चा हुन्। यिनको बास नउठाइञ्जेलसम्म हाम्रा अंशमा परेका खुसी, शान्ति, अमनचयन हुर्कन  पाउने छैनन्। अब शिष्यहरू उठ, यो दलाली र बिचौलिया संसारमा आगो झोस, यही नै गतिलो शिक्षा हो। उनी यतिमा अडिएनन्, चेला र आफूजस्तै गुरुहरूलाई सङ्गठित रूपमा व्यवस्थाको घाँटी अठ्याउन राजनीतिक मैदानमा हाम्फाले र हाम्फाल्न लगाए। बाक्लिँदै गएका उनका यी तमासा प्रशासनको नजरमा धन्धुकारी गतिविधि थिए। उनी चोखेमा परे, व्यवस्थाको जरो काट्ने मुसाको रूपमा दर्ज भए। हिजो प्राथमिकतामा परेको जागिर र मुर्दावाद एकसाथ बस्न र हिँड्न सम्भव भएन। मुलुक र नागरिकको स्वार्थलाई अगाडि लगाएर जागिरसँग उनले सम्बन्धबिच्छेद गरे। झुपडी वस्तीतिर उनको जिन्दगी बाक्लिन पुग्यो। जाली, फटाहाका तमसुक चोक्टा-चोक्टा पार्नु, गाउँले सामन्तीका छाला तर्नु, फाटफुट प्रहरी चौकी सुटुनी पोल्नु आदि कार्य उनका दैनिकी बन्न पुगे। हेर्दाहेर्दै काकाले सरकारबाट आतङ्ककारीको तक्मा पाए।

दाउ छोपेर उनी निशाचर बेलामा घरतिर पनि झुल्कन्थे, छिमेकीकोमा आगो लिन गएजस्तो ! हेर्दाहेर्दै देशमा बहुदल पनि छिर्यो तर काकाको अनुहारको अँध्यारो ओइलाएन। निर्धन बस्तीतिर लोकतन्त्र झरेन। माथि-माथि नै सम्पन्न बस्तीतिर भाग लाग्यो। काका, बकुल्लाले माछा ठुङ्न दाउ हेरेजस्तो यस व्यवस्थालाई कुच्याउन जोखाना हेरिरहेका थिए। भलै उनी यहीभित्र पनि नखेलेका होइनन् तर महत्त्वाकाङ्क्षाले उनलाई यतिमै खुम्चन दिएन। व्यवस्थाले यत्रतत्र सर्वत्र फोहोरमैला उत्पादन गर्दै गयो। भाले सांसद्हरू सुत्केरीमा अनुवाद हुन थाले, उनीहरूको किनबेच बाक्लियो। उनीहरूको सुविधा र भ्रष्टाचार भटभट उम्रन थाल्यो।

भैरव अर्यालले कोरेजस्तै गरी काकाले पनि गुण्डालाई केटी, देउतालाई भेटी, नपढ्नेलाई पास, खेल्नेलाई तास… दिने वाचाकसम गरे।
जनताको अंशमा छुट्याइएको अन्याय, अत्याचार, तस्करी, भष्टाचार, अतिचार, व्यभिभार सबै मुर्दावाद! व्यवस्थाले खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसलको उपमा पायो। काका त्यतिमै अघाएनन्, तल्तिरबाट माटो छिरछिर हुने गरी कोतरिएको, ज्यानभन्दा गह्रौँ र घोचिरहने काँडादार सन्धिहरू भिडाएको, हाम्रा लेण्डुप बनी तथास्तु, जो आज्ञा भनी शिरोपरको लागि प्रतिस्पर्धात्मक जाँचमा उत्रिएको आदिइत्यादि भन्दै नियमापत्ति भयो। जे गर्छ, अब यही काकाको ओडारे तागतले गर्छ! यस्तै स्वादका सन्देहसहित काकाले लिखित र मौखिक भाकामा समय-पल्ला तोकेरै काका गर्जिए- १/१ मा हाम्रा आग्रह, चाहना र मागलाई सुम्सुम्याइएन वा माया गरिएन भने हामी भण्डारबाट ओडार छिर्न बाध्य हुन्छौँ! सत्ताको कान बाक्लो मात्र होइन, पुरै कानेगुजीको शासनमा परिसकेको थियो। ऊ र उसका दिमागमा यो भुराभुरीको घुर्क्याइ हो, उफ्रिन्छ, थाक्छ अनि थुप्रिन्छ, नभए सत्ताको लाठी जिन्दावाद! दुइटै शान्तिको च्याबरुङ ठोक्दै एके फोटी सेभेनको सपना ओड्ने दाउ कुरेर बसिरहेका थिए। बेलामौकामा सत्ताको झम्टाइमा परेका काका भण्डार कब्जा गर्न ओडार छिर्न बेचैन थिए। आफैँले दिएको भाका पनि नकुरी फुत्त हानिए।

दुई ढुङ्गाबीचको घर अन्ततः ओडार र भण्डारबीच च्यापियो। भएका, भइरहेका र भइरहने धन्दा सबै घर रक्षा र परिवारको समुन्नत सपनालाई फलाउन थियो! एउटै घरका भूमि रक्षा र मुहार हराभरा पार्न भनी अह्राइएका सगोत्रीहरू सिध्याइयो। तिनको भागमा महान् देशभक्त र महान् शहीदको विशेषण आइपर्यो। सरस्वती रूपी कारखानामा बङ्करकुमार र बन्दुककुमारीहरू उम्रिन थाले। लठैतप्रसाद र बमबहादुरहरूको छ्याप्छ्याप्ती हुन थाल्यो। चल-अचल, निजी, अनिजी सुकोको भाग्य खरानी बन्ने गरी कोरियो। गन्हाएका नामुदहरू सुलसुले शैलीमा चन्दादाता/क्रान्तिका सेवकमा गनिए। रित्ता र क्रान्ति जिन्दावाद भन्न नजान्ने लम्फूहरूको नयाँ न्वारन भयो- गद्दार! तीमध्ये कतिलाई नफर्कने गरी बिदावारी गरियो भने कतिपयलाई ऐया र आथ्था हुन मिल्ने गरी अङ्गहरूलाई फक्ल्याँटा-फक्ल्याँटा पारियो। कल्कलाउँदा सिउँदाहरू पखालिनु र विधुर बन्नु दैनिकी नै बन्न पुगे। ओडारे तन्नम बस्तीमा क्रान्तभित्र भविष्य फल्ने सपना वितरण गरी नभए स्वर्गलोक जाने मार्गचित्र देखाउँथे। ‘दुश्मनका कानमा यहाँको नालीबेली छिरो पनि भने तिमी पनि माथि…!’ भनी मायालु भाषा ओकल्थे। भण्डारे गन्ध सुँघिरहेको हुन्थ्यो, ढाडिएको भुँडी हल्लाउँदै ओडारे बाटो नाप्न थालेपछि भण्डारेको सवारी हुन्थ्यो र उही करदातालाई ओडारे पोसेको बातमा स्वादसँग ढुट्याउँथ्यो। ‘तेरिमा सुलसुले’ भन्दै भोलिपल्ट ओडारेले नमिलेका अङ्ग ठोकठाक पारी मिलाइदिन्थ्यो। ‘माओ कमरेड अमर रहुन्’ भन्दै जस उनीमाथि थुपार्थ्यो।

काका लरतरा थिएनन्। यता सुरुङ र बङ्करको पनि विमोचन गरे। बिस्तारवादको शिरछेदन गर्ने कसम पनि हाले। जहाँ जस्ता अनुहार भेटिन्छन्, जात, धर्म देखिन्छ, सबैलाई देशको नक्सा दिए। ‘तपाईँ …प्रदेशको मुख्य मन्त्री’ भागै लगाइदिए। अनि कथा वाचन गरे- ‘कतारको तातो बालुवामा भविष्य भेटिदैँन।’ सरकारी कार्यालयतिर शङ्केत गर्दै ‘तिम्रो भाग्य लुट्ने त्यो सामन्ती हो, त्यसको जरो उखेल्नुपर्छ ! सुम्सुम्याउ बन्दुकका नालहरू !’ भैरव अर्यालले कोरेजस्तै गरी काकाले पनि गुण्डालाई केटी, देउतालाई भेटी, नपढ्नेलाई पास, खेल्नेलाई तास… दिने वाचाकसम गरे। तत्काल विनाशशाली तमासा ओइलाउने छनक देखिएन।

पटक-पटक भण्डार छिर्ने दाउ हेर्दै फिर्दै गरेका काका अन्ततः बितण्डता कुराकानीमार्फत् छिनोफानो गर्नेमा पुगे। छिमेकीसँग पीडा बिसाए। दरबारले भाग खोसिदिएपछि जिब्रो फड्कारी बसिरहेका आधा दर्जनेहरू पनि मौकामा चौकाको खोजीमा थिए। छिमेकीले आफ्नै बारीको बेहोसी पदार्थ चखाएर दुवैको अनशन तोडायो। एउटाले दरबार र अर्काले तरबार छोड्नुपर्नेमा मुख मिल्यो। काम चलाउ शास्त्र पनि कोरियो। चुन्ने, चुनाउने, छान्ने छनाउने खेलमा काका पहिलो भए। अलिक ढिलै भए पनि भण्डार प्रमुखमा निर्वाचित भए। गजुरबाट राजीनामा नदिई बनेका मजुर पनि नागार्जुनतिर लागे। काका यति फुर्किए, केही कुराको भेउ पाउन छोडे। हिँड्नुपर्ने ठाउँमा दगुरे, कुद्नुपर्ने ठाउँमा निदाए। जेहोस्, खालखालका रत्यौली देखाइरहे। ओखलढुङ्गे ठिटोसँग पाखुरा सुर्केछन्, सडकमा पुग्ने गरी तीन चित खान भ्याए। दिनभर दक्षिणतिर धारे हात पारिरहे, बेलुकी लैनचोरमा खुवाइ र सुताइ चल्दै गयो। रन्थनिएको घाउ बिसेक पार्न सडक तामासा सुरु गरे, छेरपाटेले क्रान्तिकारीहरू थला पर्न थालेपछि तमासा पनि आफैँ किनारा लाग्यो। काकाले हिजो भविष्यमा सुन्दर सपना फल्छ भनी बम, बारुद, बन्दुक मुसार्दै, कखगघ…लाई सराप्नेहरूको भाग पनि खाए। अलिकति ठाउँमा छिराए, बाँकीलाई अयोग्य विशेषण दिलाए। अहिले कति अरबमा त कति यतै आँसु र पीडामा डुबुल्की मारिरहेका छन्।

शास्त्र कोर्नु थियो। काका खेत चिरा पारी बाँड्न लागिपरे। घरभित्र, आँगन, सडक सबैतिर रडाको रोप्न लागे। अन्ततः आफैँ थच्चिए। शास्त्र हेरेको हेर्यै भयो। दोस्रो छान्ने-छनाउने खेलमा विचरा पहिलो श्रेणीका काका तेस्रोमा झरे ! झुसे, चिटिक्के, ठीक्के, पूर्वे, पश्चिमे, बीचे, उप्रे, नौसिङे सबैलाई धोकेवाज, विश्वासघाती! यथास्थितिवादको अँगेनोका अग्रगामी पाइलाहरूलाई डामियो। अब्बल दर्जाको काका कसरी तेस्रो? जालझेल, षड्यन्त्र मुर्दावाद! काका कुर्लिए। फेरि उफ्रिए, उफारे, आफैँ थाके, भएको भाग पनि जाने बुझेपछि यो के भएको हिसाबकिताब गर्नुपर्छ भनी सही गरे अनि थन्किए। पछि हिसाब खोज्ने जाँगर पनि चलाएनन्।

सडकमा उफ्रीपाफ्री गर्दा गलेका वा थाकेका काका सहकार्यको कोठामा छिरे। भूकम्पले चेतनाको बिर्को खोलिदिएछ क्यार, शास्त्र बनाउन पो लागे! एक किसिमले भन्ने हो भने काका सुध्रिए, छिमेकी तिल्मिलायो, आयो, करायो तर काका सतिसाल बने, मिलीजुलीमा शास्त्र जारी भयो। भण्डारको प्रमुख नभए पनि अरनखटन गर्ने ठाउँमा काका रहे। छिमेकीलाई म पनि सक्छु भन्ने पाठ पिलाए। खोई काकालाई फेरि के रोग लाग्यो, डाडुपन्यू आफ्नै हातमा लिए तर काका अहिले उस्ता फुर्तिला, जाँगरिला छैनन्, रोग यताको छ, औषधी छिमेकीको चलाउँछन्। नाच लैबरीको छ, चोलीके पिछे क्या हे गाउँछन् !

अहिले पनि काका झुपडीकै बात मार्छन्। सिरीखुरी सम्पत्ति कठ्ठामा देखाउँछन्। सङ्गत, बसाइ, खुवाइ मात्रै ल्यारकालसँग हो। देश दुखेकै बात मार्छन्, उही मिलेको माटो पनि चिरफार गरी तल्तिर मिलाउन अघि सर्ने मात्रै हुन्। गिनिज बुकमा नाम कोर्ने सुनौलो अवसर छ, उनी अहिले पनि नम्बर १ अग्रगामी र क्रान्तिकारी नै हुन्, अरू जस्तो उनी १००/१५० होइन, झण्डै ४० गुना बढी झुण्डको प्रमुखमा चुनिएका छन्। काका गल्ती सच्याउन खप्पिस छन्। हिजो एउटा भालेले बहुपोथी ल्यायो भनी भाटा लगाउने काकाले घरबाटै गल्ती सच्याएका छन्। भट्टी फोर्ने अहिले भट्टीका संरक्षकमा अनुवाद भएका छन्। भीड मुर्दावाद, विचार जिन्दावाद! काका चार हजारको क्लबलाई त्यतै डोर्याउँदै छन्। यस्तै… यस्तै…! भण्डार प्रमुखको आशीष पाएपछि  साइकल चढी माटो जोगाउने बात छली भएको महसुसपछि दक्षिणी ग्रह मलिलो छ, फाप्छ भन्दै उतै ढल्किएका छन्। केमेष्ट्री मिल्छ भन्दै भारुमा कुम हल्लाउन पल्किएका छन्। हिजो तल्तिरबाट झ्याल-ढोका सबै थुनिँदा, भोकै पर्दा उत्तरी ग्रहमा सल्केका काका पश्चातापबाट मुक्त हुँदै छन्। यी महान् अग्रगामी काका अहिले लेण्डुप पथमा आफ्नो भविष्य सुरक्षित देखिरहेका छन्। बस्, शुभकामना काकाका यी राष्ट्रिय चिन्ताहरूलाई, राष्ट्रहितका क्रान्तिकारी पाइलाहरूलाई!

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.