~टङ्क उप्रेती~
मेरो गाउँको भग्न चौतारोमा
अझै खेलिरहेको बच्चा देखेँ
उसलाई देखेर रोमाञ्चित भएँ म
उसको हातमा थियो- सेलरोटीको अर्धचन्द्राकार टुक्रा।
त्यस चौतारोमा
पेसाबाट निवृत्त वृद्धवृद्धाहरू
आफ्नै अधुरा सपनाका टुक्राहरूले आँखा छोपेर
साँझपख सुस्ताइरहेका थिए।
त्यहाँ थिएनन् थाकेका युवाहरू
तर छरिएका देखेँ तिनका
रङ्गीन सपना चाङ।
हाम्रा पुर्खा, निर्माण गरेर
पहिलोचोटि बसेका थिए
यो चौतारोमा
तर थाहा छैन को बस्ने हो
अन्तिम पटक
यो भग्न चौतारोमा?