~दिलीप आचार्य~
त्यस ठाउँमा एउटा बृहत् कृषि मेलाको आयोजना भएको थियो । गाउँका मात्रै हैन, शहरबाट समेत ठूला-ठूला नेताहरू सो मेलाको शोभा बढाउन त्यहाँ उपस्थित भएका थिए । स्टेजको एकतर्फ स्थानीय किसानहरू ले उब्जाएका उन्नत, फलफूल र तरकारीका नमुनाहरू राखिएका थिए ।
औपचारिक रूपमा कार्यक्रम सुरु हुने बित्तिकै बहालवाला कृषि मन्त्रीले आफ्नो पक्षको सरकार आउने बित्तिकै कृषि क्षेत्रमा आमूल परिवर्तन देखिन थालेको बताएर ओज पूर्ण भाषण छाँटे । भर्खरै खूइलिएका विपक्षीका नेताले आफ्नो कार्यकालमा लिइएको खुला बजार नीतिका कारण बजारमा गुणस्तरीय बिउबिजन र मल खाद उपलब्ध भएकोले कृषिमा भएको प्रगतिको जस आफूहरूले पाउनु पर्ने तर्क तेर्स्याए ।
नेता-उपनेता र कृषिसँग सात जन्म कुनै सम्बन्ध नभएका लाउके र उप-लाउकेहरुले समेत भेलामा आ-आफ्नो धारणा व्यक्त गर्ने मौका पाए। आफ्नै घरमा नयाँ तरिकाले ब्याड सारेर १० किलोको काउली फलाउने सन्ते, गोबर, खरानी र कालोमाटोको निश्चित मात्रा मिसाएर माटो उर्बर बनाउन सफल बिर्खे र गाउँकै सर्जाम प्रयोग गरेर बेमौसमी तरकारी उत्पादन गर्न सफल हर्केले आफूले पनि बोल्न पाइन्छ कि भनेर धेरै बेर पर्खै। तर ठूला नेता र विज्ञ विद्वानले बोल्दा बोल्दै उनीहरूको बोल्ने समय नै आएन ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)