~डा. माधवप्रसाद पोखरेल~
कवि घनश्याम कँडेल ‘देवयानी’ (२०३९), ‘उज्यालोतिर’ (२०५५), ‘वनको क्रन्दन’ (२०५८), ‘आँसुका अक्षर’ (२०६०) र ‘विश्वामित्र(मेनका’ (२०६६) पाँच ओटा खण्डकाव्य प्रकाशन गरिसकेपछि छैटौँ खण्डकाव्य ‘धृतराष्ट्र’ (२०७३) को प्रकाशनको तयारीमा छन्। यो समालोचना उनको प्रकाशोन्मुख खण्डकाव्य ‘धृतराष्ट्र’ मा केन्द्रित छ।
कवि कँडेलले महाभारतीय मिथक प्रयोग गरेर लेखेको ‘देवयानी’ (२०३९) र ‘विश्वामित्र-मेनका’ (२०६६) पछिको यो (धृतराष्ट्र) तेस्रो खण्डकाव्य हो। घनश्याम कवि महाभारत र मूल मिथकको कथास्रोतमै नभएका कुराको पुनर्निर्माण गर्छन्। कालिदासले ‘अभिज्ञान शाकुन्तल’ (कालिदास १.२०) मा लेखेका छन्, ‘सतां हि सन्देहपदेषु वस्तुषु, प्रमाणमन्तःकरणप्रवृत्तयः’ (सज्जनहरूलाई सन्देह लागेका कुरामा उनीहरूको आफ्नै मनले कसीको काम गर्छ)। बालकृष्ण समले भने झैँ ‘इतिहासको करङमा कल्पनाको मासु भर्ने’ काम कँडेलको कवित्वभित्र पर्छ। हिन्दीमा उखान छ, ‘जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि’। कवि कँडेल आफ्ना पात्रहरूको मनोरचना गर्छन् र उनीहरूको हृदय साक्षात्कार गर्छन्।
उनका अरू मिथकीय खण्डकाव्यहरूमा झैँ यस खण्डकाव्यमा पनि कवि कँडेलले कथाबीजलाई पन्छाएका पनि छैनन्, बङ्ग्याएका पनि छैनन्; मिथकहरूको कथाबीजकै खोल्सामा साँघु र पुल हालेका छन्; च्याप च्यापमा लिउन हालेका छन्। आफ्नो चासोसित नमिल्ने वा नचाहिने अङ्ग छाँटिदिएका छन्, छासिदिएका छन्।
एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो। समरसेट माम आफ्नो ‘चङ्गा’ शीर्षकको कथामा के भन्दछन् भने, साधारण व्यक्ति र लेखकमा कुन एउटा मुख्य तात्त्विक फरक हुन्छ भने, एउटा व्यक्तिको एउटै मात्र व्यक्तित्व हुन्छ, तर एउटा लेखकभित्र चाहिँ अनेक व्यक्तित्व हुन्छन्।
घनश्याम कँडेल खलपात्रहरूलाई आफ्ना नायक बनाउँछन् र पर्याप्त सहानुभूतिपूर्वक उनीहरूका खलत्वको औचित्य र न्यायको वकालत गर्छन्। कँडेल कानुनका पनि विद्यार्थी हुन्। घनश्याम कविले वकालत पनि पास गरेका छन्। कानुन व्यवसायीले व्यवहारमा प्रायः खलपात्रकै वकालत गरेर जिताउनुपर्ने अवस्था हुन्छ। यहाँ पनि उनी धृतराष्ट्र भएर धृतराष्ट्रकै पक्षमा वकालत गरिरहेका छन्।
कँडेलका पूर्ववर्ती काव्यहरूमा झैँ यस काव्यमा धृतराष्ट्रको वकालत गर्दै धृतराष्ट्रकै माध्यमबाट दुर्योधनको पनि वकालत गरेका छन्। ‘महाभारत’ यस्तो तटस्थ महाकाव्य हो, जसको पठनबाट महाभारतका सबै खल चरित्र (शकुनि, दुर्योधन, कर्ण, अश्वत्थामा, आदि) को पक्षमा वकालत गर्न सकिन्छ। भासले ‘उरूभङ्ग’ नाटक लेखे भने भट्टनारायणको ‘वेणीसंहार’ अर्को त्यस्तै सिर्जना हो। कर्णको वकालत गरेर पनि धेरै काव्यहरू रचना गरिएका छन्। कवि कँडेलले पनि न्यायका तराजुमा महाभारतका खल चरित्रहरूलाई नायकत्व दिएका छन्। घनश्याम कविका कवित्वको यो एउटा मुख्य विशेषता हो। ‘धृतराष्ट्र’ भन्ने काव्यमा पनि कवि कँडेल आफूमा धृतराष्ट्रका देउता चढेर बकेका छन्। उनले धृतराष्ट्रलाई पर्याप्त सहानुभूति दिएका छन्। एउटा सफल आख्यानकारले आफ्ना सबै पात्रहरूलाई बराबर माया र सहानुभूति गर्नुपर्छ भन्ने कुराको प्रमाण पनि हो यो। समरसेट माम आफ्नो ‘चङ्गा’ शीर्षकको कथामा के भन्दछन् भने, साधारण व्यक्ति र लेखकमा कुन एउटा मुख्य तात्त्विक फरक हुन्छ भने, एउटा व्यक्तिको एउटै मात्र व्यक्तित्व हुन्छ, तर एउटा लेखकभित्र चाहिँ अनेक व्यक्तित्व हुन्छन्। कवि घनश्याम कँडेलको यस काव्यमा पनि समरसेट मामको यो भनाइ चरितार्थ हुन्छ।
घनश्याम कँडेलका कवितामा गोटागोटी भाषिक वक्रता अथवा वक्रोक्ति पाइए पनि वक्रोक्ति कवि कँडेलका कविता र काव्यको विशेषता होइन, त्यसैले कँडेल अलङ्कार सम्प्रदाय, गुण सम्प्रदाय, रीति सम्प्रदाय वा वक्रोक्ति सम्प्रदायसित जोडिँदैनन्। भामह (भामह) र कुन्तक (कुन्तक) को वक्रोक्ति (छेकानुप्रास, वृत्यनुप्रास, अन्त्यानुप्रास, यमक र श्लेष जस्ता शब्दालङ्कार र अर्थालङ्कारको अभ्यासबाट उब्जाइने भाषिक भङ्गमिा) घनश्याम कँडेलको विशेषता होइन।
घनश्याम कँडेलका काव्यात्मक आविष्कारका नमुनाहरू निम्न लिखित छन्:
क. वक्रोक्तिको उदाहरण
१. दर्शनीय छ यो सृष्टि म भने देख्न सक्तिनँ। (अन्धत्व चेत, ८)
ख. आलङ्कारिकता (गौतम)
२. उपमा, रूपक, उत्प्रेक्षा, समासोक्ति अलङ्कारको शंकर
थिए आशाहरू मेरा मानौँ सिमलका भुवा।
उडे तत्काल हावामा उडे झैँ हलुका रुवा।
डढेलामा डढे मेरा आस्थाका बचराहरू।
उहापोह भयो मेरो मनमा के गरूँ गरूँ।
बन्यो घोर निराशाको अब जङ्गल यो मन।
थाले स्वप्न अनास्थाका त्यहीँ नै सल्बलाउन।
थाले लप्काहरू उठ्न मभित्र अब क्रोधको।
जल्न थालेँ स्वयं नै म ज्वालामा प्रतिशोधको। (स्वप्नभङ्ग, २२)
३. विरोधाभास अलङ्कार
यदि हो त्यो विधाता नै यो सारा सृष्टिचालक।
किन सृष्टि बनाएन उसले न्यायसङ्गत? (अन्धत्व चेत, २७)
कि हो यो भाग्यको लेखा, कि हो संयोग मात्र नै।
अकस्मात् म बनेँ राजा, सोच्दा लाग्छ अचम्म नै।।
अधिकार थियो मेरो त्यो बेला तर पाइनँ।
नचाहे पनि यो बेला, नबनी सुख पाइनँ।।
पहिले मानियो मेरो अन्धता अभिशाप नै।
बाधा बनेन त्यो आज राजा बनाइएँ म नै।।
रोऊँ कि आज हाँसूँ म के गरूँ के गरूँ भयो।
(अप्रत्याशित राज्यप्राप्ति, १-१३)
४. मनोवैज्ञानिक सहानुभूति
अ. थिएन अन्धता के हो बोध नै शिशु कालमा। (अन्धत्व चेत, २)
थाहा पाएँ अरूबाटै दृष्टिहीन रहेछु म। (अन्धत्व चेत, ८)
आ. हुँदो रहेछ अन्धो हुँ भन्दा पीडा कता कता।
थपिन्छ झन् त्यहीँ पीडा कुरा सुन्दा नचाहिँदा। (संवेदनहीनहरूप्रति, १५)
इ. मिठा सम्भावना मेरा छन् सुषुप्त मभित्र नै।
ढिलो चाँडो कुनै बेला ब्युँझने छन् अवश्य नै। (संवेदनहीनहरूप्रति, ३९)
५. बुद्ध दर्शन, कान्ट, बलमको प्रज्ञा र किर्केगार्ड, हाइडिगर र साख्थेको अस्तित्ववादी चेत
अ. के हो जीवनको सत्य, जान्न सक्तैन क्वै पनि।
पाएको जिन्दगी भोग्न व्यक्ति बाध्य छ तैपनि। (अन्धत्व चेत, ३३)
आ. यही जीवनमा मात्र हुन्छन् सम्भावना सबै।
नरहे जिन्दगी शेष, सकिन्छन् ती स्वयम् सबै।
भने, हुँ भोग्न आएको, म भोग्छु जे परे पनि।
जिन्दगीबाट भागेर पर जान्न कतै पनि। (अन्धत्व चेत, ४५-४६)
इ. बाँच्छन् संवेदनाशून्य जो स्वयं शुष्क जीवन।
किन सम्झूँ स्वयंलाई तिनका सामु हीन म ( (संवेदनाहीनहरूप्रति, ३३र्)र्
इ. मैले सकिनँ जे गर्न सकोस् ऊ गर्न जे पनि।
देओस् मलाइ सन्तुष्टि उसले जसरी पनि।। (अप्रत्याशित राज्यप्राप्ति, २६)
६. पुरुष प्रधान समाजको महाभारतकालीन नियोग प्रथाको धर्म र न्यायलाई अन्यायको घोषणा र असहमति
वैधव्य विपदाबाट मेरी आमा थिइन् दुखी।
परिछन् त्यस वेला नै देह सुम्पन बाध्य ती। (संवेदनाहीनहरूप्रति, ४)
७. धृतराष्ट्रलाई परेको अन्याय, विसङ्गतिवाद, अल्बेयर कामु
आफ्ना जनकको मैले कहिल्यै स्नेह पाइनँ।
मेरा जनक नै को हुन् जान्न त्यो पनि पाइनँ। (संवेदनाहीनहरूप्रति, ९)
८. सत्ता र शक्तिको मनोविज्ञान हेगल, मार्क्स, नित्से, फुको
अ. स्वप्नको पनि सत्ताले पार्यो मलाइ मोहित।
तिनको हाल के होला साँच्चै सत्ता छ जोसित। (सत्तास्वप्न, ३१)
आ. होस् दुर्योधनको हत्या, होस् दानवीर कर्णको।
पर्दा पछाडि षड्यन्त्र थियो केवल कृष्णको।।
गीता गाएर जिल्ल्याउन् चाहे संसारलाइ नै।
हो यस्तो नरसंहार सर्वथा झुर कार्य नै।।
कृष्ण छन् बलिया आज, त्यसैले गुण गाउँछन्।
गयो शक्ति भने भोलि, तिनै ताली बजाउँछन्।।
मेरा लागि त हुन् कृष्ण वैरी बिर्सीसक्नुकै।
बचेनन् तिनले गर्दा मेरो त वंशमै कुनै।।
(युद्धको त्रासदीपछि, ४५)
घनश्याम कविको वक्रोक्ति
माथिको विश्लेषणका आधारमा समग्र काव्यको भाषिक शैलीलाई वक्रोक्ति मान्ने भामह र कुन्तकका विचारलाई पत्याउनु हो भने, कवि घनश्याम कँडेलको ‘धृतराष्ट्र’ काव्यको वक्रोक्ति वा कवित्वलाई प्रकरण वक्रोक्ति भन्न सकिएला, किनभने यहाँ महाभारतले खल चरित्र मानेका धृतराष्ट्रको पक्षबाट सहानुभूतिपूर्वक वकालत गरिएको छ भने, महाभारतले सर्वश्रेष्ठ ठहराएका कृष्णलाई कुटिल र त्यागी मानिएका भीष्मलाई कुण्ठाग्रस्त भएको तर्क स्थापित गरिएको छ।
(कँडेलको हालै प्रकाशित खण्डकाव्य ‘धृतराष्ट्र’बारे प्रा. डा. पोखरेलको समीक्षात्मक भूमिकाको सम्पादित अंश।)