~शुष्मा रुपाबुङ~
उ भन्दै थियो
गाउँमा बस्ने मान्छेहरु असभ्य हुन्छन रे
केही जान्दैनन रे
मैले भने,
गाउँ त्यो हो जहाँ शान्तिले सास लिन सकिन्छ
अनि त्यहा बस्ने मान्छेहरु ..
जस्को निश्चल मुस्कान ले पीडा भुलाउछ
एउटा को दुखमा बिनाशुल्क सयौ हात उठ्छन
अतिथिलाई खाटमा राखी आफू भुइमा सुत्छन
अल्मलिदा हात पक्डेर गन्तव्य पुर्याईदिन्छन
हिड्न नसक्नेलाई अघि लगाई हिड्छन
साइनो र सदभाबले सदा आदर सत्कार गर्छन
लाजको सिमारेखा कहिल्यै पार गर्दैनन…
तिम्रो लागि यी असभ्यता हो भने
आज म सोध्छु,
तिम्रो शहरमा रक्सीको प्याक सङ्ग
आत्मासम्मान साट्नेहरु
एउटालाई दुख पर्दा अर्को हास्नेहरु
मानबियता र मुस्कानको सौदा गर्नेहरु
छिमेकिलाई आपत पर्दा झ्यालढोका थुन्नेहरु
पुर्व सोध्दा पश्चिम देखाउनेहरु
अघि हिड्नेको खुट्टा समाउदै पछाडी तान्नेहरु
लाज सरम फालेर नाङ्गै चोकमा खुलेआम भौतारिनेहरु
अर्काको भावना र सम्बेदनाको मोलमोलाई गर्नेहरु
शभ्य हुन??
तिम्रो शहरको सभ्यता हो??
यदि तिमिलाई यस्तो लाग्छ भने
आउ मेरो गाउमा सभ्यताको अर्थ बुझ्न
जहाँ तिम्रो पुर्खाले हिडेको हरेक पाईला पाइलामा
सभ्यताको डोबहरु पढ्न पाउनेछौ,,
किनकी शहरले गाउँ बनाएको हैन
गाउले शहर जन्माएको हो
अब आफै भन तिमी
बाउआमा पहिला जन्मिन्छन कि सन्तान??
– सुनाकोटी,ललितपुर
(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )