पुस्तक समीक्षा : महान् लेखक गोर्कीको प्रसिद्ध उपन्यास ‘आमा’

~आभा~book cover - Aama - Maxmi Gorky

गोर्कीलाई पढ्ने सायद थोरैले मात्र ‘आमा’ नपढेकोहोला। गोर्कीलाई चिनाउने पुस्तक नै ‘आमा’ उपन्यासभन्दा पनि सायदै फरक पर्ला। ‘आमा’ विश्वप्रसिद्ध साहित्यमा गनिने उपन्यास हो। ‘आमा’ को पहिलो प्रकाशन सन् १९०७ मा भएको थियो। यो तत्कालीन रुसी सामाजिक एवम् राजनैतिक परिवेशको शाब्दिक चित्र हो। यसले क्रान्तिको निम्ति लड्ने ती वीरहरूमा थप ऊर्जा प्रदान गर्‍यो। गोर्कीसँगको वार्तालापको सिलसिलामा लेनिनले ‘आमा’ उपन्यासबारे भन्नुभएको थियो –’जरुरी पुस्तक हो, धेरै मजदुरहरू क्रान्तिकारी आन्दोलनमा सजग रुपमा नभएर स्वतः स्फूर्त रुपमा भागलिंदै थिए। अब ‘आमा’ उपन्यास पढेर उनीहरूले धेरै फाइदा उठाउने छन् अति समयानुकूल पुस्तक हो यो।’

‘आमा’ उपन्यासको प्रारम्भमा देखिने एक कारखाना वरिपरिको साधारण मजदुर वस्तीको दयनीय स्थितिले पाठक गम्भीर बनाउँछ। त्यस मजदुर बस्तीमा रहेको मिखाइल ब्लासोबको परिवार पनि अरु परिवारजस्तै सामान्य छ। तर ब्लासोबको छोरो पाभेल केही भिन्न निस्कन्छन्। उनलाई कसैको अन्याय सह्य हुँदैन। रक्सीखाएर सबैलाई पिट्दै र तर्साउँदै हिंड्ने बुबाप्रति पनि उनमा घृणा उब्जन्छ। एकदिन जब पाभेललाई ब्लासोबले सधैंझें पिट्न खोज्छ तब घन उठाउँदै उनी प्रतिरोध गर्न खोज्छन्। रक्सीकै कारण ब्लासोबको मृत्यु हुन्छ।

एकदिन पाभेल पनि रक्सी खाएर घर आउँछन्। तर आमाको अगाडि उ लाचार हुन्छ। स्नेहका खानी आमाको पीडित आँखाले पाभेलको हृदयमा घोच्छ। मातले छोडिसकेको पाभेललाई उनी सम्झाउँदै भन्छिन् –’तिमी नपिऊ छोरा, तिम्रो बाबुले तिमीहरू दुवै जनाको लागि प्रशस्त पिइसके। उसले मलाई हुनसम्मको दुःख दिइसक्यो, तिमी त आफ्नी आमामाथि दया गर।’

त्यसपछि त्यस दुई सदस्यीय परिवारमा पहिलेभन्दा शान्ति एवम् परिवारमा पहिलेभन्दा शान्ति एवम् चैन छाउँछ। एकरात पाभेल पढ्दै गरेकोबेला आमा कोठाभित्र पस्दै भन्नि् ‘पाभेल, तिमी हर समय यो के पढ्दैछौ?’ जवाफमा पाभेल भन्छन् –’आमा, म गैरकानुनी किताब पढ्दै छु। यो गैरकानुनी यसकारण हो कि यसमा मजदुरहरूको बारेमा साँचो कुरा लेखिएको छ। तर जारशाही सत्यलाई अपराध ठान्छ। त्यसकारण यो लुकाएर छापिन्छ। योसँग पक्रिएँ भने जेल पठाई दिन सक्छ्।’ आमा पाभेलको कुरा सुनेर डराउँछिन् र रुन थाल्छिन्। पाभेल आमालाई सम्झाउँदै भन्छन् –’नरोऊ सोच यो हाम्रो कस्तो जीवन। तिमी चालीस वर्षकी भयौ, तिमीले आफ्नो जीवनमा कुनै सुख देख्यौ?’ आमा पाभेलको कुरा ध्यानपूर्वक सुनिन्छन् तर उनको मुटुको ढुकढुकी भने शान्त भएको हुन्न। पाभेलले आमालाई आफ्ना ‘गैरकानुनी’ साथीहरूबारे पनि बताउँछन्।

जनताको भलाइको निम्ति दिन रात लाग्ने ती ‘गैरकानुनी’ व्यक्तिहरूलाई सरकार हिंस्रक पशुजस्तै पिछा गर्छ, जेलमा थुन्छ, निर्वासित गर्छ।

‘आमा, यस्ता व्यक्तिहरूलाई म चिन्छु। तिनीहरू धर्तीका सच्चा सूर्य हुन्’ पाभेल भन्छ। सुरुमा आमा पाभेलका ती साथीहरूदेखि डराउँछिन्। तर उनीहरूसँगको प्रत्यक्ष चिनापर्चीबाट उनको सबै धारणा विलकुल परिवर्तन ल्याउँछ। आफ्नै घरमा भएको बैठकमा उनीहरूले गरेको मायालु र बुद्धिमतापूर्ण मानवीय व्यवहारले आमाको मन जित्छ र उनी भन्छिन् –’के गैरकानुनी, खतरनाक मानिसहरू यी नै हुन्? म यो मान्दिनँ।’

त्यसपछि हरेक शनिबार पाभेलको घरमा बैठक हुनथाल्छ। बैठकमा आउनेको सङ्ख्या बढ्दै जान्छ। सबैजना आमालाई बडो सम्मान गर्छन् र आमा पनि उनीहरूलाई आफ्नै सन्तानझैं माया गर्छिन्।
कारखानामा पाभेलसँगै काम गर्ने एक उक्राइनी हुन्छ। पाभेल उक्राइनीको मित्रता गाढा हुँदै जान्छ। उक्राइनी टुहुरो भन्ने थाहा पाएर उनलाई आमा आफ्नै घरमा बसाउन थाल्छिन्।

बैठकमा सहरबाट आउनेहरूमा सांशा र नाताशा नामका दुई नौजवान लडकीहरू पनि छन्। उनीहरूलाई देखेर आमा चकित हुने गर्छिन्। उनीहरूमध्ये एकको बाबु निकै धनी जमिनदार थियो र अर्कोको बुबा उच्च सरकारी अफिसर थियो। सांशा र नाताशा भने स–साना नोकरी गर्छन्। तिनीहरू बरफको तुफानी रातमा पनि एक्लै हिंड्छन्। आमा उनीहरूको साहसबाट प्रभावित हुन्छिन्।

बस्तीमा कारखाना मालिकहरूको विरोधमा छापिएको पर्चा र त्यसलाई छर्ने समाजवादीहरूको चर्चा चल्न थाल्छ। पर्चामा मजदुरहरूलाई एकगत हुन आह्वान गरिएको हुन्छ।

एकरात प्रहरीबाट पाभेलको घरमा खानतलासी लिइन्छ। तिनीहरूले पर्चाको कुनै सङ्केत भेट्टाउन सकेनन्। तर उक्राइनीलाई भने गिरफ्तार गरी लग्छन्। उसको त्यो गिरफ्तारी तेस्रो हुन्छ।

बन्दी बन्ने पालो पाभेलको पनि तुरुन्तै आउँछ। कारखाना वरिपरिको फोहर दलदल सफा गर्न मजदुरहरूको तलबमा पैसा कटाउने मालिकहरूको निर्णयविरुद्ध हड्ताल गर्ने आह्वान गरिएको राती पाभेललगायत अन्य पचासजना मजदुरहरूलाई गिरफ्तार गरिन्छ।

पाभेलको गिरफ्तारीबाट आमा निकै दुःखी हुन्छिन्। पाभेलका सबै जसो साथीहरू पक्रीसकेको हुन्छ र बाँकीमा डर फैलिएको हुन्छ। तसर्थ आमाको घरमा दुईदिनसम्म कोही आएको हुन्न। तेस्रो दिनमा सहरबाट पाभेलका दुई साथीहरू येगोर र समोइलोब आउँछन्।

‘आमा, तपाईंलाई थाहा छ, यहाँका हाम्रा सबैजसो साथीहरू पक्रिसकेका छन्। अहिले यहाँ काम गर्ने कोही छैनन्। पर्चा बाँड्नेसम्म पनि साथीहरू छैन। त्यसैले पाभेलहरूले नै पर्चा बाँड्ने काम गर्छन् भन्ने अन्दाज प्रहरीले लगाउने डर छ। यो नै तिनीहरूलाई सजाय दिने प्रमाण हुनेछ।’ पाभेलका ती साथीहरूको यस्तो कुरा सुनी आमाले कारखानामा पर्चा छर्ने जिम्मा आफूले लिन्छिन् र भन्छिन् –’तिनीहरूले पनि देखोस् कि पाभेलको हात जेल बाहिर पनि पुग्नसक्छ।’

अर्को दिन आमा खाना बेच्ने बहानामा टोकरीमा खाना राखी कारखानाभित्र पस्छिन्। पर्चा बाँडिन्छ। प्रहरी छक्क पर्छन्। पर्चाले मजदुरहरूमा साहस बढाई दिन्छ र उनीहरूमा अन्यायको विरुद्ध लड्ने भावना पैदा गरिदिन्छ। मजदुरहरूको चर्को विरोधको कारण तलबमा कटौती गर्ने निर्णय फिर्ता लिइन्छ। अर्कोतिर पक्रिएका व्यक्तिहरूविरुद्ध कुनै प्रमाण नभएपछि उनीहरु एक एक गरी छोडिन्छन्।

पाभेलभन्दा पहिला उक्राइनी (आन्द्रेइ) जेलबाट छुट्छ र उनी आमाले कारखानामा पर्चा बाँडेकोमा खुशी व्यक्त गर्दै सराहना व्यक्त गर्छन्। आमा आफ्ना सफलतामा प्रसन्न हुन्छिन्।

आमाको जीवन पहिले जस्तो अब निरास, तनावपूर्ण एवम् कठीन हुँदैन। उनमा नयाँ नयाँ घटनाप्रति चासो हुनथाल्छ।

आमा पाभेललाई जेलमा बरोबर भेट्न जान्छिन्। पाभेल जेलमा भए पनि उनका अरु साथी छुटेकाले आमाको घरमा पहिलेजस्तै बैठक हुनथाल्छ। उनीहरू चिया निकै पिउँथे। आमा उनीहरूको लागि मिठो चिया बनाई दिन्छिन्। आमा बैठकमा भएका कुराहरू ध्यानपूर्वक सुन्छिन् तर सबै नबुझ्दा दुःखी हुन्छिन्। आमा आफूले राम्रो पढ्न नजानेकोमा पछुताउ गर्छिन्। तैपनि आमा पढ्ने प्रयत्न गर्छिन्। विस्तारै भुलेका अक्षरहरू सम्झनथाल्छिन्। उक्राइनी आमालाई पढ्न सिकाउँछन्।

मिखाइल रिविन आमाको छिमेकी हो। सुरुमा उनको धर्मविरोधी कुराबाट आमालाई चित्त बुझेको हुँदैन तर बुझ्न थालेपछि भने उनी रिविनलाई मन पराउन थाल्छिन्। एकदिन रिविन किसानहरूमा जागृति ल्याउने विचार लिई कारखाना छोडी गाउँ जान्छन्।

आखिर पाभेल जेलबाट छुट्छ। तुरुन्तै उनी आन्द्रेई र अन्यसाथीहरूसँग मई दिवसको तयारीमा जुट्छन्। यसबाट कारखाना मालिकहरू डराउन थाल्छन्। पुलिस सक्रिय हुन्छ। जासुसहरू व्यस्त हुन्छन्। सिभिलियनहरूले पनि जासुसको काम गरेका हुन्छन्, जस्तो कारखानाको टाइम किपर इसाई। ऊ क्रान्तिकारीहरूको गतिविधिको सूचना पुलिसलाई पुर्‍याउँछ। एकदिन त्यही जासुस इसाईको हत्या हुन्छ।

मई दिवसको प्रतिक्षाको घडी समाप्त हुन्छ। झण्डा बोकी सबभन्दा अघिल्लो पङ्क्तिमा बस्ने जिम्मा पाभेलले लिएको हुन्छ। पाभेल झण्डा बोकी जुलुसको सबभन्दा अघि लम्कन्छन्। पाभेल जुलुसमा उपस्थित मजदुरहरूलाई सम्बोधन गर्दै भाषण दिन्छन् र आफ्नो पार्टीको नाम पनि घोषणा गर्छन्।

सयौं मानिसहरू नारा घन्काउँदै अघि बढ्छन्। तिनीहरू ‘इन्टरनेस्नल’ गाउँदै अघि बढ्छन् –’उठ् जाग ए भोका बन्दी, अब उठाऊ रातो तरवार …।

तर बन्दुकधारी सिपाहींहरूको एक दफ्फाले अघि बढिरहेको जुलुस तितरबितर पार्न खोज्छ। तर जुलुस शान्तिपूर्वक अघिबढ्छ। सिपाहींहरूलाई बदुक उठाउन आदेश दिइएपछि जुलुसको पछिल्लो भागमा भागदौड चल्छ। केबल पाभेल रहेको अघिल्लो हिस्साअघि बढिरहन्छ।

चम्किला संगीनहरू र बन्दुकसँग पनि पर्वाह नगरी तिनीहरू अघि लम्किरहन्छन्। सिपाहींको गभर्नरले तिनीहरूलाई पक्रन आदेश दिन्छ। पाभेल पक्रिइन्छ। आमा भीडको बीचमा लडेको झण्डा उठाउँदै चिच्याउँछिन् ‘तपाई सबैं राम्रा मानिस हुनुहुन्छ। आज जे भयो त्यसबाट नडराउनुस्। सबैको न्यायको निम्ति मेरो छोरा, मेरो कलेजोको टुक्रा, मैदानमा निस्केको छ। उसले तपाईं सबैको जीवनलाई खुशी बनाउन यो झण्डा उठाएको हो। ऊ एउटा नयाँ जीवन चाहन्छ – सत्य र न्यायको। ऊ सबैको भलो चहन्छ ……. उसलाई साथ दिन नछोड। उसलाई विश्वास गर।’ त्यसदिनको भिडन्तमा कति मानिसहरू घाइते हुन्छन् त कति गिरफ्तारीमा पर्छन्।

मई दिवसको त्यस घटनापछि आमालाई पनि पक्राउ गरिने डर भएकोले उनको सुरक्षाको निम्ति सहरका इबानोबिच नामको साथीकहाँ बस्ने व्यवस्था गरिन्छ। इबानोबिच सरकारी नोकरी गरेर पनि आफ्नो विधवी दिदी सोफियासँग गुप्त रुपमा क्रान्तिकारी गतिविधि गर्ने मान्छे हो। उसको घर पनि आमालाई आफ्नैजस्तो लाग्छ। त्यहाँ पनि गुप्त बैठकहरू हुन्छन्। तर सङ्गठनको काम नपाएको कारणले उनी अलि असन्तुष्ट भएकी हुन्छिन्। उनी काममा दिनरात व्यस्त रहन चाहन्छिन्।

एकदिन किसानहरूको लागि प्रकाशित पत्रिका गाउँ पुर्‍याउने मानिस नभएको कुरा आमा इबानोबिचबाट थाहा पाउँछिन्। त्यो काम आमाले पूरा गर्ने विश्वास इबानोबिचलाई दिलाउँछिन्। पहिलोपटक आमा सोफियासँगै गाउँ जान्छिन्। त्यसपछि गुप्त पर्चा र अखबार गाउँका जनतासम्म पुर्‍याउने काम आमा एक्लै गर्न थाल्छिन्।

आमालाई जान्ने बुझ्ने सबैजना माया एवम् सम्मान गर्छन्। कोही आमालाई ‘कामरेड’ भनी बोलाउँदा उनी प्रसन्न हुन्छिन्।

लोभ र ईर्ष्याबाट मुक्त आमा। आफ्नो व्यक्तिगत सुख–दुःखको चिन्ता नगर्ने–आमा। अथक योद्धा आमा। लक्ष्यको निम्ति आहुती दिन तम्सने – आमा।

अनेक क्रान्तिकारीहरूमध्येका एक क्रान्तिकारी–आमा। तिनीहरूमा इबानोबिचजस्ता मानिस छन् जो बारम्बार जेलमा कैद हुन्छन्, निर्वासित हुन्छन् तर फेरि उहीं उत्साहका साथ लाग्छन्। तिनीहरूमा येगेरजस्ता नौजवान छन्, जो गरिबी र भोकको कारण बिरामी भइकन पनि दिन–रात काम गर्छन् र हाँस्दै जीवनबाट बिदा हुन्छन्। तिनीहरूमा साशा र नाताशाजस्ता केटीहरू पनि छन्, जो जमिनदार र सरकारी अफिसरका छोरीहरू भइकन पनि क्रान्तिकारी बनेका हुन्छन् र सबै सुख त्यागेर अभाव, कष्ट, जेल र निर्वासनको जीवन बिताएर पनि सुखी र उत्साहित हुन्छन्। उनीहरूमा रिविनजस्ता मानिस छन्, जो किसानहरूमा जागृति ल्याउने काम गरेकोमा प्रहरीको लाठीबाट रक्ताम्य हुन्छन् र थुनिन्छन् तर अन्तसम्म आफ्नो लक्ष्यप्रति निष्ठावान बनी रहन्छन्। तिनीहरूमा सोफिया र लूदमीलजस्ता महिलाहरू हुन्छन् तर कठिन एवम् खतरनाक काममा पनि दिनरात लागिरहन्छन् र एकक्षणको लागि पनि आफ्नो कर्तव्य भुल्दैनन्।

पाभेल र उसका साथीहरूविरुद्ध मुद्दा चल्छ। मुद्दा त मात्र नाटक हो भन्ने कुरा आमा राम्रो बुझिन्छन्। आमामा न्यायको नाममा गरेको पाखण्डिप्रति घोर वितृष्णा जाग्छ र पाभेलको लक्ष्यप्रति दृढ विश्वास पलाउँछ। मई दिवसमा पक्रिएका सबैजनालाई निर्वासनको सजायँ दिइन्छ। क्रान्तिकारीहरूले अदालतको ‘न्याय’ को धज्जि उडाउँदै खुलेर विरोध गरेका हुन्छन्। थुपै्र मानिसहरूले पाभेलको उक्त भाषण छापिनुपर्ने राय व्यक्त गर्छन्।

पाभेलको भाषण जनतासम्म पुर्‍याउने जिम्मा आमा लिन्छिन्। त्यसअनुसार एकछिन सुटकेस लिई आमा बस स्टेशनमा बसिरहेकी हुन्छिन्। निकै दिनदेखि पिछा गरिरहेकेा एक मानिसमा आमाकोदृष्टि पर्छ। आमा उसलाई जासुस हुनसक्ने शङ्का गर्छिन्। उनको शङ्का सहि सावित हुन्छ। जासुस गएको केही समयपछि पुलिस आइपुग्छ।

पुलिसहरू आफूतिर आइरहेको देखेर आमा झोला खोजी पर्चा निकाल्छिन् र बेञ्चमा उभिंदै चिच्याउँनि्–’सुन्नुस् ! सुन्नुस् ! सुन्नुस् !’ स्टेशनमा रहेका सबै यात्रुहरू उनीतर्फ हेर्छन्। आमा पर्चाको चाङ उठाउँदै भन्दै हुन्छिन् हिजो राजनैतिक कैदीहरूविरुद्ध मुद्दा चलाए र उनीहरूमा मेरो छोरो पाभेल पनि छ। पाभेलले अदालतमा दिएको भाषण यो पर्चामा छापिएको छ। ……. यस्तो भन्दै आमा पर्चाको एक चाङ हावामा उडाई दिन्छिन्। सबैजना छिट्छिटो पर्चा टिप्छन् र लुगाभित्र लुकाउँछन् आमा जोशका साथ बोलि रहन्छिन्। उनी झोलाबाट पर्चा निकाली फ्याँकिरहन्छिन्। मानिसहरू उत्सुकतापूर्वक पर्चा लिन्छन्। आमा भन्दै हुन्छिन् –बुझ्यौ, मेरो छोरा र उसका साथीहरूविरुद्ध किन मुद्दा चलाएका छन्? सिर्फ यसकारण कि उनीहरू सत्य बोल्छन्।….’

‘ए ! बुढी ! तल ओर्ली र आफ्नो मुख बन्द गर !’ एउटा पुलिसले आमालाई झर्कंदै भन्छ। पुलिसले आमालाई टाउकोमा हिर्काउँदै तल झार्छ।

तिनीहरू दुवै आमालाई घिसार्दै लग्छन्। भीडलाई तितरबितार गरिन्छ। आमा छुट्काराको निम्ति प्रयास गर्छिन् तर उनी घिसारिंदै जान्छिन्। उनी भन्दै हुन्छिन् – ‘साथीहरू, कुनै कुराबाट नडराउनुहोस् हामी अति गएगुज्रेको जिन्दगी व्यतित गर्दैछौं, त्योभन्दा खराब अरु बढी हुनसक्दैन।’

‘चुप होऊ कुकुर्नी।’ एउटा पुलिसले आमाको टाउकोमा हिर्काउँदै भन्छ। एकछिन त आमाको आँखा अगाडि अन्धकार छाउँछ। उनी रगताम्य हुन्छिन्, उनको होस् हराउँछ।

मान्छेहरूको कोलाहल सुनेर उनको होस् फर्कन्छ। वरपरका मानिसहरू पनि क्रोधमा हुन्छन् र चिच्याउँछन् ‘खबरदार ! पिट्न पाइँदैन।’

‘हाम्रो चेतना रगतको धाराले दबाउन सकिन्न।’ तर थुपै्र पुलिसहरू आमालाई घिसार्न थाल्छन्। उनीहरू आमाको पीठ र गर्धनमा मुक्का हिर्काउँदै गर्छन्। चिच्याहट, क्रन्दन र सिठीहरूले वातावरण कोलाहलमय हुन्छ। आमाको शरीरभरि आगोले पोलेझैं पीडा हुन्छ। आमाको अशक्त शरीर लल्याक लुल्युक हुन्छ। तर उनको आँखामा त्यही चमक हुन्छ, त्यही साहसिलो ज्योतिको अग्निमय चमक !
पुलिसहरू आमालाई एउटा ढोकाभित्र हुल्छन्। ‘रगतको खोलाले पनि सच्चाइलाई दबाउन सक्दैन ……… ! ए उल्लुहरू तिमीहरू जति बढी अत्याचार गर्दै जान्छौ, हाम्रो घृणा पनि उति नै बढ्दै जान्छ। अनि एकदिन पहाडजस्तै तिमीहरूको टाउकोमा बजि्रनेछ।’ आमा आफ्नो आवाज बुलन्द गर्दै भन्छिन्।

यसरी ‘आमा’ उपन्यास सकिन्छ क्रान्तिकारी परिवर्तनको निम्ति लड्ने आह्वानका साथ।

(स्रोत: नौलो आयाम, द्वैमासिक, वर्ष १, अङ्क ३ पुष–माघ २०५३ )

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.