~शार्दूल भट्टराई~
म बिहानै उहाँको घरमा पुगेँ। तर, उहाँ कतै निस्किसक्नु भएको रहेछ। सार्वजनिक बिदाको दिन थियो। दिउँसो कुनै समय आउनु पर्ला भन्ठान्दै फर्किएँ।
दिउँसो फेरि पुगेँ। उहाँ आउनु त भएछ तर खाना खाएर फेरि निस्किसक्नु भएछ। कता जानु भएको हो र कतिबेला फर्किनुहुन्छ, निश्चित जानकारी पाउन पनि सकिनँ।
म अलि खिन्न हुँदै फर्किएँ। दुई घन्टाजति बरालिएर फेरि पुगेँ। उहाँ आइपुग्नु भएको थिएन। कतिबेला आइपुग्नु हुन्छ भन्ने कुरा अनिश्चित भएकाले मेरो छटपटी पनि अनिश्चितजस्तै बन्न पुग्यो।
चाबहिलबाट जयवागीश्वरी पुग्न त्यति टाढाको कुरा त थिएन। पैदल १५ मिनेटजतिको बाटो हो। नजिकै भएकाले मलाई ओहोर-दोहोर गर्न गाह्रो पनि थिएन। तर, उहाँसँग भेट नभएको कुराले भने बढी नै गाह्रो महसुस भइरहेको थियो। बेकारमा यो जिम्मेवारी लिएछु भन्ने पनि लागिरहेको थियो। फोन गरेर कुरा मिलाउँदा पनि हुन्थ्यो होला। तर, यस्तो कुरा के फोनबाट मिलाउनु, भेटेरै मिलाउँदा राम्रो होला भन्ने लागेर म उहाँलाई भेट्न पुगेको थिएँ। तर, एकै दिन तीनपटकसम्म धाउँदा पनि उहाँसँग भेट हुन सकेन। उहाँ अर्थात् वासु शशीसँग ।
भर्खरै जेलमुक्त हुनुभएको थियो, मोदनाथ प्रश्रित। उहाँ आफन्त र पुरानो चिनजानका साथीभाइलाई भेट्ने अभियानमा लाग्नुभएको रहेछ। यसै क्रममा वासु शशी र काशीनाथ गौतमको घरमा पुर्याइदिन प्रश्रितले मलाई भन्नुभयो। दुवै जनाको घर मलाई थाहा थियो। मैले २०३३ सालमा देउपाटनका श्याम महर्जनको घरमा डेरामा बस्दा वासु शशीको घर देखेको थिएँ। उहाँलाई पनि त्यही बेलादेखि चिन्दै आएको थिएँ। काशीनाथ गौतमको घर हाम्रै टोल मैजुबहालमा थियो। हामी छिमेकी नै थियौँ। काशीनाथ बितिसक्नु भएको थियो। प्रश्रितको इच्छा उहाँकी पत्नी र परिवारका अन्य सदस्यसँग भेटघाट गर्ने रहेछ।
बेलुका ५ बजे चाबहिल चोकमा भेट्ने कार्यक्रम थियो। भनेकै समयमा प्रश्रित आइपुग्नुभयो। मैले उहाँलाई सरासर काशीनाथ गौतमको घरमा पुर्याइदिएँ।
लगभग एक घन्टापछि प्रश्रित काशीनाथ गौतमको घरबाट निस्कनुभयो। वासु शशीको घरतिर लाग्नुअघि मैले पूर्वजानकारी गराउन नसकेको हुँदा भेट हुने हो कि होइन भन्ने कुरा गरेँ। तर, उहाँले ‘जाउँ भेट भए हुन्छ, नभए घर देखौँला, फर्कौंला’ भन्नुभयो। हामी वासु शशीको घर जयवागीश्वरीतिर लाग्यौँ।
झमक्कै साँझ परसिकेको थियो। हामी जयवागीश्वरी मन्दिरतिरको बाटोबाट भित्र छिरेका मात्र थियौँ, बिजुली बत्ती झ्याप्प निभ्यो। त्यतिखेर लोडसेडिङ् त हुँदैनथ्यो। तैपनि, बेलाबेलामा अचानक बत्ती जाने कुरा अनौठो भने थिएन। अँध्यारोमै हामी वासु शशीको घरमा पुग्यौँ। घरभित्र छिर्न बाँकी नै थियो, बत्ती पनि आयो।
हामी खुसी भयौँ। वासु शशी घरमै हुनुहुँदो रहेछ। भर्खरै आइपुग्नु भएको रहेछ। रातको समयमा एक्कासि आफ्नो घरमा मोदनाथ प्रश्रितलाई देख्दा उहाँ केहीबेर अकमकिएर उभिइरहनुभयो।
“सोच्दै नसोचेको कुरा, कताबाट यसरी…!” वासु शशीले आश्चर्यभावमा भन्नुभयो।
“यसै, भेटौँ भनेर आएको नि ।” प्रश्रितले सामान्य ढंगमा भन्नुभयो।
हामी छेउतिरको कुर्सीमा बस्न लागेका थियौँ। वासु शशीले सोफामा बस्न भनेपछि अलि अगाडिको सोफामा बस्यौँ।
उहाँहरू दुवै जना निकै पुराना साथी हुनुहुँदो रहेछ। त्यो मित्रता वनारसदेखिको रहेछ।
वनारसदेखिको पुरानो मित्रता, साहित्य लेखन, राष्ट्रिय राजनीति र विश्वपरििस्थतिका बारेमा उहाँहरूबीच कुराहरू हुन थाले। म श्रोताका रूपमा बसिरहेँ। वासु दाइ रसिक ‘मुड’मा हुनुहुन्थ्यो। उहाँको त्यो ‘मुड’ले कुराकानीलाई बेलाबेलामा रोमाञ्चक बनाउन सहयोग पुर्याइरहेको थियो।
वासु शशी पुराना कुराहरू कोट्याउन निकै रुचाउनु हुँदोरहेछ। उहाँले वनारसका कुराहरू धेरै गर्नुभयो। प्रश्रितले नयाँ कुरा गर्न खोजे पनि उहाँ वनारसकै प्रसंग उठाउनुहुन्थ्यो। राजनीतिक कुरामा त्यतिबेला वासु शशीले खासै रुचि राखेको र उत्सुकता देखाएको मैले पाइनँ। प्रश्रितले राजनीतिका कुरा झिकेपछि उहाँ बीचैमा कुनै साहित्यिक वा वनारसको कुनै प्रसंग उठाउनुहुन्थ्यो। कारण के हो, थाहा थिएन। कुराकानीकै प्रसंगमा प्रश्रितले कम्युनिस्ट र कांग्रेस मिलेर पञ्चायतलाई फाल्न सके राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो। तर, वासु शशीले त्यो सवालमा पनि सार्थक प्रतिक्रिया जनाउनु भएन। प्रश्रितले गरेका कतिपय समय-सान्दर्भिक राजनीतिक विषयहरूमा उहाँ ‘अँ…अँ…’ भनेर टार्नुहुन्थ्यो। पञ्चायती शासनका विरुद्धमा वासु शशी आफैँ पनि सक्रिय हुनुहुन्थ्यो। तर, प्रश्रितसँग राजनीतिक सवालमा खुलेर प्रस्तुत हुन नचाहनुको कारण भने अलि नबुझिँदो थियो।
९ बजिसकेको थियो। प्रश्रितलाई रात बस्ने गरी कविराज कृष्णराज पराजुलीकहाँ पुग्नु थियो। त्यसैले हामी वासु शशीसँग बिदा भएर हिँड्यौँ।
—–
केही दिनपछिको कुरा हो। म गौशालाबाट हिँड्दै चाबहिलतिर आउँदै थिएँ। जयवागीश्वरी मन्दिरअगाडि वासु दाइ र योगानन्द वैद्यलाई उभिएर कुरा गरिरहेको देखेँ। म त्यतैतिर गएँ। मैले वासु दाइलाई अलि परैबाट नमस्कार गरेँ। उहाँ मतिर आउनुभयो र भन्नुभयो, “तपाईंसँग भेट भयो, राम्रो भयो।”
मैले जिज्ञासापूर्वक सोधेँ, “किन होला?”
“मोदनाथको फोन छ?” वासु दाइले सोध्नुभयो।
“छैन,” मैले छोटो जवाफ दिएँ।
“मोदनाथसँग फेरि एकपटक भेट्नुपर्ने भयो। सकिन्छ भने चाँडै,” वासु दाइले गम्भीर आशयका साथ भन्नुभयो।
“के पर्यो र दाइ त्यस्तो?” थप जिज्ञासासहित मैले सोधेँ।
वासु दाइ अलि भावुक बन्नु भएझैँ मलाई लाग्यो। त्यही भावुकतामा उहाँले भन्नुभयो, “त्यस दिन मैले एउटा महत्त्वपूर्ण कुरा नै बिर्सेछु।”
अझै थपिएको जिज्ञासामा मैले भनेँ, “के कुरा होला त्यस्तो?”
उहाँले भन्नुभयो, “त्यस दिन मैले खुसी व्यक्त गर्नै बिर्सेछु। मोदनाथलाई अंकमाल गर्नै बिर्सेछु।”
मैले बुझ्न सकिनँ। त्यत्तिकै उभिइरहेँ। वासु दाइले फेरि भन्नुभयो, “मैले त मोदनाथलाई अर्कै भन्ठानेको थिएँ।”
अर्को खुल्दुली थपियो। मैले तुरुन्तै सोधिहालेँ, “कस्तो अर्कै?”
वासु दाइले भन्नुभयो, “पुष्पलाललाई छाडेर झापालीहरूसँग लागेका मोदनाथ एकदमै कडा नक्सलाइट कम्युनिस्ट बनेका होलान् भन्ने लागेको थियो। तर, उनी त्यस्ता होइन रहेछन्। उनीसँग यो कुरा गर्नै पाइएन। गरेको भए हुन्थ्यो, बिर्सेंछु। त्यति लामो जेल जीवनबाट छुटेका उनलाई भेट्न हामी पो जानुपर्थ्यो। तर, उनी नै हामीलाई भेट्न घरमै आइपुगे। त्यो भेटमा मैले उनीप्रित जति खुसी व्यक्त गर्नुपर्ने थियो, त्यो गर्नै पाइनँ। त्यो खुसी व्यक्त गर्नकै लागि पनि एकपटक फेरि भेट्न पाए हुन्थ्यो।”
बल्ल मैले कुरा बुझेँ। उहाँको घरमा भएको भेटघाटका समयमा राजनीतिक सन्दर्भमा उहाँ खुलेर प्रस्तुत नहुनाको कारण पनि थाहा भयो। वासु दाइको कुरालाई सामान्य रूपमा लिँदै मैले भनेँ, “ए । भइहाल्छ नि दाइ, म दाइको यो सन्देश एक-दुई दिनमै प्रश्रितकहाँ पुर्याइदिउँला।”
वासु दाइ अलिकति खुसी हुनुभयो। म उहाँसँग बिदा भएर हिँडेँ।
प्रश्रितको फोन थिएन। उहाँको सम्पर्क ठेगाना पनि थाहा थिएन। उहाँलाई भेट्ने प्रयत्न त गरेँ तर सम्भव भएन। पञ्चायतीकालमा जतिखेर भन्यो, त्यतिखेर भूमिगत कम्युनिस्ट नेताहरूलाई भेट्ने कुरा त्यति सजिलो थिएन। प्रश्रित भर्खरै जेलबाट छुटे पनि अधर् भूमिगतजस्तै हुनुहुन्थ्यो। उहाँ कहाँ कहाँ जानुहुन्छ र के के गर्नुहुन्छ भन्ने कुरा बुझ्न पछिपछि गुप्तचरहरू पनि खटाइएका हुन्थे। भेटघाटको कुरा त्यति सहज नभएको अवस्थालाई बुझ्दाबुझ्दै पनि मैले वासु दाइको कुरालाई सामान्य रूपमा लिएर कति सजिलै ‘भैहाल्छ नि ।’ भनेँ, आफैँलाई पत्तो भएन।
त्यसको एक-डेढ महिनापछि मित्रपार्कमा वासु दाइसँग जम्काभेट भयो। उहाँले पहिलेको कुरा बिर्सिसकेको हुनुपर्छ भन्ने मलाई लागेको थियो। तर, भेट हुनेबित्तिकै उहाँले भनिहाल्नुभयो, “खोइ, मोदनाथलाई मेरो खबर पुगेन कि के हो?”
उहाँजस्तो व्यक्तित्वलाई ढाँट्नु पनि कसरी? मैले उहाँलाई यथार्थ जे हो त्यही कुरा बताउनुपर्छ भन्ने ठानेँ र भनेँ, “अँ… त्यस्तै भएको छ, दाइको त्यो खबर भन्न पाएकै छैन। भेट पनि भएको छैन।”
“मोदनाथसँग पहिला राम्रो सम्बन्ध थियो। उनी झापाली कम्युनिस्टहरूसँग लागेपछि निकै चर्को र उद्दण्ड कम्युनिस्ट बनेको भ्रम मलाई भयो। तर, मैले त्यस्तो पाइनँ। उनी पहिलाजस्तो हो, त्यस्तै रहेछन्। साह्रै खुसी लाग्यो। तर, यो खुसी मैले उनीसँगको भेटमा व्यक्त गर्नै पाइनँ। फेरि एकपटक भेटेर त्यो खुसी व्यक्त गर्न पाए हुन्थ्यो भन्ठानेको हुँ।” यसरी फेरि पनि पहिलेकै कुरालाई दोहोर्याएर वासु दाइ फटाफट आफ्नो बाटो लाग्नुभयो।
अबचाहिँ नबिर्सीकन प्रश्रितलाई यो खबर भनिदिनुपर्ला। मैले मनमनै भन्ठानेँ। त्यस कुरालाई केही दिन त सम्झनामा पनि राखिरहेँ। तर, फेरि पनि मैले प्रश्रितलाई भेट्न सकिनँ। वासु दाइको सन्देश पठाउन पनि सकिनँ।
१५-२० दिनपछि देउपाटनका केशवानन्द वैद्यको प्रेसमा फेरि वासु दाइ भेट हुनुभयो। मलाई देख्नेबित्तिकै उहाँले फेरि उही कुरा दोहोर्याउनु भयो। प्रश्रितले लेखेको बीपीसम्बन्धी (कविता हो वा अन्य केही) रचना भर्खरै पढेको प्रसंग उठाउँदै उहाँले अगाडि भन्नुभयो, “मैले ठानेको जस्तो उनी नक्सलवादी कम्युनिस्ट पनि होइन रहेछन्। मलाई त उनी प्रजातन्त्रवादी कम्युनिस्टजस्तो लाग्यो। यो कुरामा उनीप्रित खुसी व्यक्त गर्न पुगेकै छैन। त्यही खुसी व्यक्त गरौँला भन्ठानेको, खोइ…।”
म लाचार बनेर उभिइरहेँ। वासु शशी त्यति भनेर प्रेसबाट बाहिर निस्कनुभयो। लगभग तीन महिनामा वासु दाइसँग तीनपटक भेट भयो। तीनैपटक आफूले प्रश्रितलाई भेटेर खुसी व्यक्त गर्न चाहेको कुरा बताउनुभयो। तर, चार-पाँच महिनासम्म पनि मैले त्यो जिम्मेवारी पूरा गर्न सकिनँ।
समय बित्दै गयो। त्यो कुरा वासु दाइलाई देख्यो कि सम्झने र प्रश्रितलाई देख्यो कि बिर्सनेजस्तै हुन पुगेको थियो। झन्डै डेढ वर्षदेखि म वासु दाइका अगाडि पर्न सकेको थिइनँ।
संयुक्त जनआन्दोलन पनि सुरु भइसकेको थियो। त्यसै क्रममा ०४६ चैत ३ गते म उहाँका अगाडि परेँ। लाचारीका साथ मैले वासु दाइलाई नमस्कार गरेँ। वासु दाइ मुसुक्क हाँस्नुभयो। मैले मागेको त थिइनँ तर उहाँले खल्तीबाट झिकेर एउटा याक चुरोट दिनुभयो। किन दिनुभयो, थाहा छैन। म त्यही चुरोटको आनन्दमा रमाएँ।
जनआन्दोलन सफल भयो। बहुदल आयो। त्यसपछि पनि वासु दाइसँग भेट भएको थियो। तर, पहिलेको कुरा उहाँले गर्नुभएन। मैले सोचेँ, त्यो कुरा वासु दाइले नै बिर्सिसक्नुभयो होला। अथवा यसबीचमा प्रश्रितसँग भेटेर खुसी व्यक्त गरसिक्नुभयो होला। आफ्नो अनुमानबाट आफैँलाई आश्वस्त बनाउनतिर म लागेँ।
०४९ चैतमा वासु शशी बित्नुभयो। गोविन्द वर्तमान र म उहाँको पार्थिव शरीर राखिएको ठाउँ वनकालीमा पुग्यौँ। त्यहाँ ठूलै भीड जम्मा भइसकेको रहेछ। मोदनाथ प्रश्रित वासु शशीको पार्थिव शरीरमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जलि दिँदै हुनुहुन्थ्यो। त्यो शोकमग्न दृश्यमा म वासु दाइको उही सन्देश सम्झिन पुगेँ। जीवित छउञ्जेल महत्त्व नदिएर बिर्सेको कुरालाई मृत्युपछि महत्त्व दिएर सम्झनुमा के अर्थ हुन्छ र । तैपनि, त्यस्तो पश्चात्तापपूर्ण कुराको सम्झना झन् बढी हुने रहेछ ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४६३)