~मुकुन्द आचार्य~
साहित्य जगतमा श्रृंगार रसलाई रसहरूको राजा मानिन्छ । तर अब उहिलेका कुरा खुइले । हामी नेपालीहरू आफ्नो स्वाद फेर्नका लागि देशका मन्त्रिमण्डल पनि फेरिरहन्छौं । जिब्रोले सधैं एउटै तरकारी खान निको मान्दैन नि ! त्यसैगरी श्रृंगार रसलाई नै सधैं रसहरूको राजा किन मान्ने ?
उहिलेका विद्वान–पण्डित लेखक अलि बढी नै रसिक हुन्थे । कुनै पनि पुराणवाचक पण्डितले तीनोटीसँग बिहे गरेर मोज गरेको र सोबापतमा आफन्तजनलाई भोज ख्वाएको चर्चा–परिचर्चा प्रायः सामान्य भइसकेको छ । ‘मर्दकी दशोटी !’ भनिने उखानले हाम्रा साहित्यकार, पण्डित, विद्वान सबैलाई समान रुपले हौस्यायो । सबै श्रृंगार रसमा चुर्लुम्मै डूबे र साहित्यलाई पनि डुबाए ।
हो …. त्यसैले हाम्रो पूर्वीय साहित्यमा श्रृंगार रसले हालसम्म रसराजको पदवी पाएर मौज गरेकै हो, यसमा दुई मत छैन । (अनेक मतचैं हुनसक्छ ?) तर हाल त्यता नलागौं ।
युग बदलिन्छ । मूल्य–मान्यताहरू बदलिन्छन् । तसर्थ अब हामीहरूले ‘निन्दारस’ लाई राजाको रुपमा स्वीकार गर्नै पर्छ । हामी नेपाली स्वभावैले ‘चूजी’ हुन्छौं । प्रधानमन्त्रीजस्तालाई सिंगान पुछ्ने रुमालझै फेरफार गरिरहन्छौं भने साहित्यमा कहिलेसम्म श्रृंगार रसलाई राजगद्दी दिएर राख्ने ? यो त आचाक्ली नै भो, अति भो, लास्टै अति भो । नेपालको गणतन्त्रमा अब यस्तो दादागिरी चल्दैन ।
अब ‘निन्दारस’ एकदमै लोकप्रिय भएर आएको छ । श्रृंगार रस त त्यसको अघिल्तिर भुसुनाभन्दा पनि हुन्छ । हामी बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म अर्काको निन्दा–चर्चामा मग्न रहन्छौं । बडो आनन्द आउँछ, कसैको निन्दा गर्नुमा । यसको रस अमृतझै मीठो, स्वादिलो र स्वास्थ्यवद्र्धक हुन्छ । यो निन्दा रसको रस्वासदन गर्नुलाई आफूमा कुनै योग्यता चाहिन्न ।
केही नजान्ने बज्रस्वाँठले समेत यस रसको आनन्द लिन सक्छ । तपाईंमा यौटा पियनको समेत योग्यता छैन, तर तपाईंलाई राष्ट्रपतिदेखि लिएर सारा संरचनालाई जथाभावी–तथानाम मुक्तकण्ठले गाली गर्न पाउने उन्मुक्ति छ, स्वतन्त्रता छ । मान्छे भन्छन्– कुनै तन्त्र आए पनि क्यै नाप्दैन । तर त्यसो होइन, अहिलेको गणतन्त्रले–लोकतन्त्रले सरा लोकलाई मज्जाले सत्तोसराप गर्न पाइन्छ भन्ने छुट दिएको छ । त्यसैले निन्दा रसको सर्वाङ्गिण विकास यताका केही वर्षमा उल्कासँग मौलाएको पाइन्छ ।
अर्काको निदा गर्नु, मानव मात्रको जन्मजात हक हो, उसको मौलिक हक हो, यसलाई कुनै देशमा कुनै सरकारले रोक लगाउन सक्दैन । यस्तो महिमा छ, निन्दा रसको । हाम्रो संविधानमा पनि यस रसको संरक्षण गर्ने धारा–उपधारा–कलधारा, जे–जे चाहिन्छ, समयमै राख्नसके राम्रो हुन्थ्यो । जसले गर्दा भविष्यमा सबै नेपालीले खुल्लमखुल्ला निन्दा रसको प्रयोग गरेर आनन्दित हुन सकून् ।
त्यसो त मैले यो निन्दारसको यति धेरै सिफारिस गरिराख्न जरुरी छैन, किनभने सबै स्वतः यसमा पोख्त हुन्छन् । कतिपय सज्जन त खाना पचाउनका लागि हाजमोलाको सट्टा यसै निन्दारसको प्रयोग गर्न बानी परिसकेका छन् । जस्तै गरिष्ट भोजन भए पनि मजाले पचाउँछ । तपाईं पनि आजमाएर हेर्नुस्, जे खाए नि पच्छ, देशैं खाएनि पच्छ ।
रामदेव बाबाको आँखा हाम्रो नेपालमा पनि छ । योग शिविरमा उनले सिकाए– ‘भोजन गरेर दश–पन्ध्र मिनेट ब्रजासनमा बस्नू, खाना सजिलै पच्छ ।’ एउटी महिलाले भनिन्, ‘म त एक घण्टामा मजाले पचाउँछु । बज्रासनको साटो निन्दारसको सेवन गरे हुन्न ?’ बाबा रामदेवले भने, ‘ठीक है, तो वही करो । जैसे भी खाना पचना चाहिए ।’
ती महिलालाई निन्दारस असाध्य मन पर्दो रहेछ । उनले त बाबा रामदेवकै बारेमा उनकै अगाडि निन्दारसको प्रयोग गरिन् । बाबाका थुप्रै चेली (शिष्या) हरूलाई समेत सोही रसमा निमग्न पारेर उपध्रै गरिन रे, भन्या सुनियो । बाबाको गैंगले पनि उनलाई ‘फयर’ गर्दिएछन् रे । ‘रे’ का कुरा राम जानून्, हो वा हैन । हुन पनि सक्छ । ‘यो कली, धपक्क बली, बाबुको नली छोराको मुरली ।’
निन्दारसको प्रयोग गर्दा अलिकति सतर्कता चै पालन गर्नै पर्छ । हतपति कसैको पनि मुखेञ्जी निन्दा गरिहाल्नु हुन्न । नत्र निन्दारस तुरुन्तै वीररसमा परिणत हुन सक्छ । जसको मुखेञ्जी निन्दा गरिन्छ, त्यो व्यक्ति निन्दा रसको मुखेञ्जी एकचोटी वीर रसमा पुग्यो भने निन्दकको नाकमुखमा गम्भीर क्षति पु¥याउन सक्छ । शरीरको भौतिक क्षति हुने खतरा बढ्छ ।
तसर्थ निन्दारसपान गर्दा अलि होस् पु¥याउनुपर्छ, नत्र बेहोस् भएर लड्ने सम्भावना (खतरा) बलियो हुन्छ । निन्दारसको महतोमहिमा शास्त्रले पनि उल्लेख गरेको छ–
सर्व भूतेष
या देवी निन्दा रुपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
अर्थात् सबै मानिसमा ‘निन्दा’ गर्ने बानीका रुपमा ‘स्थित’ देवीलाई बारम्बार नमस्कार छ !
(निन्दारसार्णव १।२।९)
अब के लाटोले केरा हेरेजस्तो हेरिराख्या होला ! निन्दारस पान गर्नुस् र आनन्दको जंगलमा चर्नुस् ।
-बारा, हाल थानकोट
(स्रोत : लोकलय मासिकको ०७३, श्रावण अंकबाट)