~रोशन शेरचन~
समकालीन कविता राम्रा लेखिएका छन् । एउटा प्रमुख कारण हो– तीव्र प्रतिस्पर्धा र प्रकाशनको बढ्दो अवसर । कविलाई नजिक वा सुदूरका राम्रा कविमाझ उत्कृष्ट कविता लेख्नुपर्ने तीव्र दबाब छ । पहिलेको जस्तो कछुवा गतिको समय अहिले छैन । क्रिया–प्रतिक्रियाको परकम्पछेउ बसेर कविता लेख्नु अत्यन्त चुनौतीपूर्ण छ । पाठकहरू उत्तिकै चेतसम्पन्न छन् ।
द्रुततर बदलिएको राजनैतिक परिदृश्य, नाफामुखी भूमण्डलीकरणले अठ्याउँदै लगेको गोलाद्र्ध र प्रविधिले हस्तक्षेप गरेको समाजमा ठोकुवा गरेर केही भन्न अब कठिन छ । पुरातन हाजिरजवाफ शैलीले अब सान्दर्भिकता गुमाइसक्यो । आधारहरू अगाडि नसारी भन्नु सुसाइडल हँदैछ ।
यस्तो परिप्रेक्ष्यमा बीस, पच्चीस कविताको चर्चा नगरी नेपाली कविताबारेमा केही भन्नु जोखिमपूर्ण छ । यस सीमाप्रति सचेत हँदै, नितान्त व्यक्तिगत कारणले मलाई मन परेका आठ लिभिङ पोइटका कविताबारे चर्चा गर्छु । यी कविताले बेग्लै ब्रम्हाण्ड रचना गरेको छ, पृथक् संरचना, विशेषता, प्रवृत्ति, बिम्ब, अर्थ र सीमा बोकेर ।
लुतोः श्यामल
‘लुतो’ श्यामलको सिग्नेचर कविता हो । सामान्य सरुवा रोगलाई बिम्ब बनाएर वैचारिकतासँग जोड्दै मान्छेको एकपाखे दृष्टिकोणको चित्रण गरिएको यो कविता असाधारण छ । श्यामल आडम्बर र छद्मताको प्रखर विरोधी लाग्छन् । सामाजिक उत्तरदायित्वपूर्ण कविता लेख्छन् । समयचेतले समृद्ध र वाचाल छन् । मलाई उनी नेपाली कविता साहित्यकै सम्प्राप्ति लाग्छन् ।
कविता सिर्जनामा निरन्तर चार दशकदेखि गतिशील उनी भाषालाई मानव जीवनको सबैभन्दा शक्तिशाली अस्त्र मान्छन् र कवितालाई त्यस अस्त्रको पनि अस्त्र । कविताको त्यही अस्त्र उज्याएर उनी लुतो विचारलाई प्रहार गर्छन् । यहाँ तर्कलाई भ्रमले जित्छ । धर्म विज्ञानको बुई चढ्छ । कला बौद्धिक विलासको साधनमात्र बन्छ । र, लेखकको सामाजिक उत्तरदायित्व बेकाम ठानिन्छ । मान्छेका उदात्त भावना उनका कवितामा आउँदा झनै उदात्त बन्छ ।
लुतो एक विचार रहेछ
मानिसलाई विचारशून्य बनाउने
आद्यबिम्बसहितको उत्तर–आधुनिक विचार
रोग र औषधि दुवै बेच्ने
नाफाखोर बजारजस्तो लुतो
जहाँ रहँदैन मानिस मानिसझैं
बस्, कन्याइरहन्छ आफ्नो आङ
तृप्त, आनन्दविभोर र बिलकुल एक्लो
मजा लिइरहन्छ
आफ्नो आङ कन्याइरहनुमा ।
हिउँमा लेखिएका नामहरू: तीर्थ श्रेष्ठ
पहिलोपटक पढ्दा यो विशिष्ट कविता हो भन्ने भाव आएको सम्झना छ । यस कविताको लय, ध्वनि र अर्थले यो कवितालाई अर्थपूर्ण बनाएको छ । मन्त्रजस्तो यस कवितांशले म सधैं अविभूत हुन्छु । मसँग गहिरो संवाद गरेको छ, यो कविताले । साउती गर्दै कविताले जीवनको क्षणभंगुरताप्रति सचेत हुन भनेको छ । हामी हुँदाहुँदै पनि छैनौं भने नहुँदा कसरी हुन्छ भन्ने गहिरो प्रश्न गरेको छ साथै आग्रह पनि गरेको छ, सार्थक जीवन जीउन ।
‘हिउँमा लेखिएका नामहरू’लाई झेन कविता भन्न सकिन्छ । बुद्धधर्म र विज्ञानले पनि भन्छ– जीवन स्थायी छैन र निरन्तर गतिशील छ, फ्लक्समा छ । तर, कविताले छरितो बुनोटमा त्यति कुशलतापूर्वक भनेको मैले कमै पढेको छु । त्यस कविताको पठन हिमप्रदेशमा चिसो हावामा श्वास फेर्दा प्राप्त हुने अनुभवको समकक्षी छ । उक्त कविता रचना गर्दा कवि ध्यानस्थ थिए कि ?
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकैछिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकैछिनपछि हिउँ थपियो भने
पनि रहने छैनन् हाम्रा नामहरू
हामी हुँदै नरहने हाम्रा नामहरू,
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।
बच्चाहरू नभएको बस्तीः भूपिन
काव्यकृति ‘सुप्लाको हवाईजहाज’ भित्रको एक कविता । धेरै कुरा पूर्वबाट उदाउने देशमा भूपिन पश्चिमबाट उदाएका कवि हुन् । पछिल्लो समय हजार वर्षको शीतनिद्राबाट ब्युँझेर उनी कवितामा स्वयंलाई पुनर्सृजन गर्दैछन् । कालीगण्डकी भ्यालीमा कर्याङकुरुङका स्वप्न पछ्याउँदै आएका उनी कविताको मौलिक भाषा निर्माण गर्न सक्षम देखिन्छन् । जबजब म यो कविता पढ्छु, मेरो मस्तिष्क तरंगित हुन्छ । सहस्रौं तरंगको बर्तुलहरू म अनुभवमात्र गर्दिनँ, देख्छु पनि । ती तरंगहरूले मेरो मस्तिष्कको न्युरोनलाई हिर्काउँछ ।
बच्चा बेरिएको आमाको नालमा झुन्डिएर
ओर्लिन्छ स्वर्गमा पृथ्वीमा
र साम्राज्य विस्तारमा निस्किएको नर्क
विस्थापित हुन्छ ।
सर्सती पढ्दा कविता विशेष लाग्दैन । त्यसको निम्ति एक तहको विश्लेषण गर्नैपर्छ । अनि खुल्ने अर्थले मात्र कविताको विशिष्टता थाहा पाउछौं । थोरै विश्लेषण गरौं । कवितामा प्रयुक्त, आमाको नाल जैविक बिम्ब हो । तर स्वर्ग अलौकिक अवधारणा हो । स्वर्गलाई पनि पृथ्वीमा ओर्लंदा माध्यम आवश्यक पर्छ । बिना माध्यम ओर्लन स्वर्गको दैवीयशक्तिको पनि जोर चल्दैन ।
स्वर्ग पनि आमाको नालमै झुन्डिएर आउनुपर्छ । आमालाई स्वर्गभन्दा माथ्लोतहमा राखेकोले कविता उपल्लो तहको बनेको छ । यसै कारणले कविले भौतिकवादी जीवनदृष्टिकोण बोकेको छ भन्न सकिन्छ । लौकिक (आमाको नाल) र अलौकिक (स्वर्ग) बिम्बहरूको अद्भुत ब्लेन्ड छ । फिजिकल र मेटाफिजिकल वल्र्डबीचको संयुक्ति दुर्लभ छ । बिरलै भेट्छौँ त्यस्तो दृष्टिचेत ।
यो कविता पढ्दा मैले एक विद्वानको भनाइ सम्झेँ ‘जबसम्म पृथ्वीमा बच्चाहरू जन्मन्छन्, तबसम्म ईश्वरहरू अस्तित्वगत् छन् ।’ भूपिन लेख्छन्, ‘बच्चा नभएको बस्ती कुरूप हुन्छ ।’ भूपिनको कविताले त्यस्तो ब्रम्हाण्डको कल्पना गरेको छ, जहाँ बच्चाहरू खेल्न प्रशस्त खुला चौर छन् । र, उनीहरूका आमा देवीदेउताभन्दा महान् छन् ।
गाउँले एक बालकलाई सम्झेरः मनु मञ्जिल
यस कविता पहिलोपटक गुरुकुलको एकलवाचन कार्यक्रममा सुनेको थिएँ । प्राचीन प्रतीत हुने गुरुकुलको हलमा त्यस कविताले मेरो हृदयलाई भित्रसम्म दुखाएको थियो । दुखाइको त्यो स्पर्शमा मलाई आफ्नो संवेदना अनुभव भएको थियो । ओजपूर्ण वाचनकलाले उत्तिकै अवाक् बनेको थिएँ ।
बालकहरू मलाई त्यत्तिकै मनपर्छ । त्यसमाथि बाल्यकालमै बाबुआमा गुमाउने बालबालिकाको अवस्था उसै भावुकतालाई निचोर्न काफी छ । त्यो कविता दुःख, पीडा र अत्यासको अनुहार लिएर जब हामीतिर फर्कन्छ, बालकको निश्चल अनुहारको क्यानभासमा नियतिले कालो रङमात्र पोतिदिएको देखेर हामी मर्माहत हुन्छौं, छटपटिन्छौं ।
मानवीय संवेदनालाई सूक्ष्मसँग मान्छेमाझ ल्याउन सक्ने सामथ्र्य ठूलो सौर्यले मात्र बन्छ । कविको त्यो सौर्य हामी प्रष्ट देख्छौं । मानवीय संवेदना समयातीत हुन्छ । टाइमलेस । त्यसैले त्यो हरेक युगमा बेग्लै भंगिमामा आउँछ ।
बरु भनोस् उसको बाबु जुवाघरबाट
फर्कनेछ भोलि र ल्याउनेछ सहरबाट पोहोरको झैं अर्को
रमाइलो पुस्तक
वा भनोस् उसकी आमा घर फिर्छे हरेक बिहान
र उसका लागि यौटा घाम लिएर आउँछे
तर कसै गरी बिन्ती ! बालकले
नदेखाओस् आफ्नै आँखाको आँसु
नदेखाओस् औंलाले टाढाको रित्तो क्षितिज
वा भर्खरै जून अस्ताएको डाँडो
बाबुआमाको ठेगाना भनेर ।
डेलीमा माछाः सरिता तिवारी
सरिता तिवारीको यस कविताले माझी, बोटे, थारूको सामाजिक सांस्कृतिक पर्यावरणलाई सर्लक्क उतारेको छ । डेली, काँसबाट बनाइएको माछा राख्ने सानो भाँडो । केही वर्षअघिसम्म मगुवै खोलामा प्रशस्त माछाहरू मार्ने आदिवासी हाल माछा नभेट्दा निराश छन् । नाफाखोरले प्राकृतिक स्रोतको दोहन गरी उनीहरूको खाद्य अधिकार खोसेको छ ।
क्षय हुँदै गएको जलचरसँग मान्छेको जीवन कसरी बग्छ खोलामा ? कवितामा आउने भिजुअल इफेक्ट अतुलनीय छ । जीवनयापनको स्रोत गुमाउनपरेको यथार्थमात्र होइन, माछाका रासहरूसँगै सकिँदै गएका आफ्ना उमेरको बिम्बले ‘डेलीमा माछा’ मिहिन बनेको छ । कविता जति मिहिन बन्छ, प्रभाव त्यतिकै बलियो हुन्छ । जीवन्त सांस्कृतिक आँखीझ्याल बनेको छ, कविता । ‘प्रश्नहरूको कारखाना’ सँगालोभित्रको यो कविता उत्कृष्ट लाग्यो ।
डेलीमा
अब कहाँ हुनु माछा ।
कोही फर्काइदेऊ न यो खोलामा
सुनौला माछाहरूको फौज
कि हेरुँ म किनारमा बसेर
आफ्नै उमेर फर्किएको ।
शालिग्रामः स्वप्नील स्मृति
‘शालिग्राम’ कालो रङ र सानो अण्डाकार वा गोलो चिप्लो ढुँगा । शालिग्राम बिम्बलाई मधेसको पहिचानसँग उनी अचम्मैगरी जोड्छन् । बेग्लै अर्थ प्रदान गर्छन् । शालिग्राम मधेसमा पाइँदैनन् तर हिमाली क्षेत्रको उक्त बिम्बलाई एक क्षेत्रमा मात्र सीमित नगरी विस्तार गर्छन् ।
निख्खर सांस्कृतिक बिम्बको राजनीतिक प्रयोगमा स्वप्नील खप्पिस छन् । यही उनको निजत्व हो । समसामयिक आर्थिक, सामाजिक र राजनैतिक घटनाक्रमलाई नजिकबाट निरीक्षण गरी लेखिएका उनका कविताहरू शक्तिशाली त छ नै, ती ऐक्यबद्धताका प्रतीक पनि हुन् । पहिचानको राजनीतिलाई टेवा पुर्याउन कविता सिर्जना गरेता पनि कलाको संयोजनमा उनी सफल छन् । जुन जोखिमलाई सफलतापूर्वक वहन गर्न नसक्दा धेरै कवि दुर्घटित भएका छन् ।
कवितामार्फत सीमान्तकृतको पहिचानको आन्दोलनलाई उनले वाणी दिएका छन् ।
कालो,
मधेसीभन्दा नि कालो,
कालो छु म
पहिरोः विनोदविक्रम केसी
सरल शब्दमा समाजमा व्याप्त विसंगति र विद्रुपताप्रति तीक्ष्ण व्यंग्य गर्न सक्ने उनको शिल्प प्रशंसनीय छ । उनी तिख्खर छन् । मूलत उनी मलाई गम्भीर स्वभावका राजनैतिक व्यंग्य कवि लाग्छ, कवि विमल निभाको कविता परम्पराको । पहिरो प्राकृतिक प्रकोप हो । सौन्दर्यप्रदायक झरना होइन । अझ पर्यटकले हेर्ने र बुझ्ने झरना त किमार्थ होइन । अरूलाई दुःखपर्दा आनन्दित हुने परपीडक मानसिकताप्रति कविले आक्रोश पोखेका छन् ।
त्यस्तो क्रूर मानसिकताले मानवताको बेइज्जत गर्ने कविको धारणा छ । दुःखी, पीडित र सीमान्तकृत वर्गसमुदायप्रति उनको कविता एउटा ऐक्यबद्धता पनि हो । साहित्यले परिवर्तन ल्याउँछ कि ल्याउँदैन्, बहसको विषय हो । तर, साहित्यले परिवर्तन ल्याउन सघाउँछ–यो बहष्सो विषय होइन । प्रतिबद्ध कविता लेख्ने कविको अग्रपंक्तिमा विनोद देखिन्छ । टाइम एन्ड स्पेस उनको कविताको प्राकक्थन हो, कहिल्यै नछुट्ने ।
उनका कविता स्पष्ट र प्रतिबद्ध अनुहार लिएर हाम्रोसामु आउँछ । पहिरो हेर्दा पर्यटकले झरनाझैं मनोरञ्जनभाव नल्याउन उनको कविताले सचेत गराएका छन् ।
पहिरोलाई
पहिरो हेरे जसरी हेर
पर्यटकले झरना हेरे जसरी नहेर
…
यहाँ मान्छे मरेका छन्, मान्छे
मृत्यु भनेको
तिम्रो नोटबुकमा रातो मसीले टिपिने नाममात्रै होइन
सन्देहः अभय श्रेष्ठ
अन्धभक्ति वा निषेधमा लाग्नुभन्दा स्वविवेकको सन्देहयात्रा राम्रो, कविको धारणा छ । अभयको यो कविता मलाई धेरै मनपर्छ । यो कविता पहिलोपटक सर्वनामको कार्यक्रममा सुनेको थिएँ । वाचन प्रभावशाली लागेन मलाई । तर, कविताको टेक्स्टले मलाई अधिनष्ट ग¥यो । वाचनलाई नै प्राथमिक मान्दो हँ त, सायद म यो कविताको शक्तिलाई देख्न चुक्थे । प्रभावशाली वाचनले गर्दा आत्मा नभएको कविताहरू बलियो कविता हो कि भन्ने भ्रम फैलिँदै गएको म देख्छु । वाचन प्राथमिक होइन, प्राथमिक कविता नै हो । अभय मलाई भयानक एन्टिकरेन्ट कवि लाग्छ । वैचारिक कविताले आग्रहसम्म राख्दा स्वाभाविक र सुन्दर हुन्छ । तर, जब आग्रहमा ढिपी पस्छ, आग्रह पूर्वाग्रहमा बदलिँदै कुरूप बन्छ । उनको कविताले आग्रहको सीमारेखा अतिक्रमण गरेको छैन । सन्देह बिम्बलाई कलात्मक अभिव्यक्ति दिएकोले उक्त कविताले प्रगतिउन्मुख ब्रम्हाण्डको रचना गरेको छ । मानव इतिहासमा आस्थाभन्दा बढी सन्देहकै महत्त्व छ कि, के थाहा ? सन्देह विज्ञानसम्मत् चेतना हो । सन्देहमा जिज्ञाषाभाव अन्तर्निहित छ । अन्धसमर्थन वा अन्धभात्र्सनामा रत्तिभर सिर्जनात्मकता छैन ।
पग्लँदै गएको हिउँजस्तो
युधिष्ठिरको सत्यनिष्ठा
र, अछुतो आकाशजस्तो
अर्जुनको वीरतामाथि सन्देह गर
…
म अविरल गर्छु सन्देह आफ्नै ब्रम्हमाथि पनि
जसरी माटोले हरेकपटक गर्छ
आफ्नै गर्भमा रोपिएको सत्वीजको परीक्षा
(स्रोत : अभय श्रेष्ठको ब्लगबाट सभार)