स्रष्टा परिचय : नाटकमा विविधताको खोजी

~कृष्ण शाह यात्री~Nandalal Acharya_1

नेपाली नाटकमा पछिल्लो दशकमा देखिएको सक्रिय नाम हो– नन्दलाल आचार्य । उनले नाटकसँगै कविता, कथा र निबन्धमा पनि कलम चलाउँदै आइरहेका छन् । मोफसलमा रही निरन्तर साहित्यसाधना गरिरहेका आचार्यको पहिलो नाटकसङ्ग्रह हो– ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ । यसमा १५ वटा समसामयिक एकाङ्कीनाटकहरू सङ्ग्रहित छन् । नाटकहरूबाट थाहा लाग्छ, उनी वैचारिक नाटक लेख्न रुचाउँछन् । उनी आफूले देखेभोगेका यथार्थलाई नाटकमा ढाल्न सक्ने खुबी राख्दछन् ।

शीर्ष नाटक ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’मा कवि कृष्ण सेन इच्छुकलाई द्वन्द्वकालमा राज्यले दिएको कठोर यातना र हत्याको कहालीलाग्दो दृश्यलाई दर्शाइएको छ । यस नाटकमा कवि इच्छुकका कविताहरू पनि नाटककारले सापटी लिएका छन् । तीन दृश्यमा विभाजित यस नाटकले धेरै वटा ऐतिहासिक तथ्यहरू बोकेको छ । नाटक ‘देश हराएको सूचना’मा संक्रमणकालको नेपालको दुर्दशालाई चित्रण गरिएको छ । देश क्रमशः खिइँदै र टुक्रिँदै जान थालेको चिन्ताले ग्रस्त सूत्रधारको वरिपरि नाटक घुम्छ । यी बाहेक सङ्ग्रहभित्र ‘पीडा एक : भाका अनेक’ र ‘परिचय’ नाटकहरू पनि राजनीतिलाई मूल विषय बनाइएको छ । दुवै नाटकले सामाजिक र राजनीतिक बेथितिको मुद्दा उठाएको छ । ‘परिचय’मा भने नाटककारले पाठकलाई परम्पराहरूको जानकारी दिन खोज्दा विषय राम्रो हुँदाहुँदै पनि नाटकको प्रस्तुति फितलो बन्न पुगेको छ । यसमा नाटकीय तत्व कम छ ।

आचार्यले सामाजिक कुरीति र संस्कार विरुद्ध लेखिएका केही नाटकहरू पनि सङ्ग्रहमा समावेश छन् । ‘करार विवाह’, ‘आधा मेरो : आधा तिम्रो’, ‘जस्तो मति उस्तै गति’, ‘नम्र निवेदन’, ‘दाइजो’ यस्तै खालका केही नाटक हुन् । यी नाटकहरूमा प्रेम, विवाह, अस्तित्व, ईष्र्या, अभिमान लगायतका समस्याहरूमा केन्द्रित छन् । उनका केही सामाजिक नाटकहरूमा हाँस्य र व्यङ्ग्यको प्रयोग भएको देखिन्छ भने चेतना अभिवृद्धि र सुधारका अपेक्षाहरू पनि भेटिन्छ ।

लेखकीयमा नेपाली विषयको शिक्षकको नाताले विद्यालयको वार्षिकोत्सवमा विद्यार्थीहरूलाई नाटक गराउनका लागि कतिपय नाटकहरू लेखिएको कुरा उल्लेख छ । केही नाटकहरू नाटककार आफैंले प्रस्तुत गरेको पनि बुझिन्छ । यस सङ्ग्रहमा परेका अधिकांश नाटकहरू विभिन्न पत्रपत्रिकाहरूमा पहिले नै प्रकाशित भइसकेका छन् । यसबाट नाटक विधामा आचार्यको राम्रै मोह देखिन्छ । नेपाली साहित्यमा नाटक विधामा प्रतिबद्धतापूर्वक लाग्ने लेखकहरूको कमी छ । अँझै पनि अरू विधाको तुलनामा नाटकका पुस्तकहरू कमै छापिन्छन् । यस अर्थका उनको उपस्थिति आशालाग्दो मान्न सकिन्छ ।

नाटक श्रव्य र दृश्य विधा हो । नाटक प्रविधिसँग जोडिएको विषय पनि हो । नाटकमा सबै कुरा संवादले मात्र व्यक्त नगरी पात्रको हाउभाउ, घटनाक्रम र परिस्थितिबाट पनि उतारचढाव आउनुपर्छ । यसमा अलिक विचार पुर्याएको भए वेश हुन्थ्यो । समग्रमा यस सङ्ग्रहका नाटकहरूमा संवाद, भाषाशैली र विचार सुन्दर छ । विषय छनोटमा विविधता देखिन्छ ।

(स्रोत : मधुपर्क २०६९ कात्तिक)

This entry was posted in स्रष्टा परिचय and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.