मनोवाद : नाममा के छ!

~चंकी श्रेष्ठ ‘अभय’~chanki shrestha - abhaya

प्रिय पाठक, यो एउटा आत्मनामा हो जसका लागि सुरुमै माफी माग्छु। आत्मगत लेखनको सार्थकता तब हुन्छ जब त्यसले सार्वजनिक अर्थ राख्छ। माफ गर्नुस्, मेरो आत्मनामा नेपाली सञ्चार माध्यमलाई ढपक्क छोपिरहेका वृद्धोन्मुख शरीरका दिमागी बालकविरुद्ध पनि हो।

म आफ्नो नामबारे बताउन चाहन्थेँ। अलमलिएँ।

सेक्सपियरले कतै लेखेका छन्– नाममा त्यस्तो के छ? साँच्चै, मेरो नाममा त्यस्तो के थियो?

प्राज्ञिक क्रियाकलाप व्यर्थ ठानिने यस देशमा मलाई चिन्ने कति होलान्? जतिसुकै कम होऊन्, कम्तीमा अखबार र साहित्य पढ्नेले मलाई यही नामले चिन्छन्। यसको अर्थ हो, मेरो वास्तविक नाम चंकी श्रेष्ठ होइन। मेरो नाम के हो? त्यो यस स्तम्भको अन्त्यमा।

म आफ्नो नामबाट हैरान थिएँ। म त्यससँग असाध्यै घृणा गर्थेँ। मलाई लाग्थ्यो, त्यही दुष्ट नामकै कारण मेरो जीवन असफल थियो र म आफ्नो चारैतिर कहालीलाग्दो भीर देख्थेँ। कस्तो प्रभाव पर्‍यो भने, त्यस्तो नाम भएका व्यक्ति गरिब, दुःखी, पीडित, अभागी र हेय हुन्छन्। मलाई कतै सिजोफ्रेनिया त थिएन?

म देख्थेँ, मेरो नाम र गरिबी तँछाडमछाड गरेर मतिरै दौडिरहेका हुन्थे, मानौ तिनीहरू मेरो हत्या गर्न प्रतिस्पर्धा गरिरहेका हुन्। साँच्चै, तिनले मलाई भेटेका भए के हुन्थ्यो? म आफ्नै नामसँग अघोषित शत्रुता गर्न थालेँ। ऊ त हाकाहाकी शत्रुता गरिरहेको थियो। कहिले त्यो भालु बनेर मलाई झम्टन तयार हुन्थ्यो। कहिले गोमन बनेर फणा उचाल्दै डस्न हतारिइरहेको हुन्थ्यो। कहिले सहरकै कुख्यात गुन्डाहरुजस्तै हातमा आठ इन्चको छुरा लिएर मेरो हत्या गर्ने मौका ढुकिरहेको हुन्थ्यो।

म जातिवादीहरूबाट असाध्यै पीडित थिएँ। भाषा, संस्कार र जातीय अधिकारका कुरा उठाउने भन्दा त्यसको विरोध गर्नेहरू कैयन् गुणा बढी जातिवादी थिए। मेरो नाम कहिले जातिवादी पत्रकार, जातिवादी छिमेक, जातिवादी साहित्यिक ठेकेदार बनेर मेरो अस्तित्वमाथि नै हमला गरिरहेको हुन्थ्यो। (खासमा म जातिवादको निकै ठूलो विरोधी र वर्गीयताको त्यतिकै ठूलो पक्षधर हुँ। मेरो विचारमा जातिवादले विचारको राजनीतिक हत्या गरिदिन्छ। साहित्यिक र पत्रकारी जीवनका, छिमेकका कतिपय जातिवादीले मलाई जातकै आधारमा मान्छेको दर्जा दिन चाहेनन्)। एक दिन खुँडा हातमा लिएर मेरो नामले मलाई भन्यो, ´म तँलाई युद्धबन्दी बनाउन चाहन्छु। कारण, तैँले जति शत्रुता गरे पनि म तँलाई माया गर्छु। जबसम्म मेरो अधीनमा हुन्नस् तबसम्म मेरो प्रेमको अधिकारसमेत सुरक्षित रहँदैन।

एउटा जातिवादीले मसँग प्रेम गर्छु भन्नु कहाँसम्मको नाटक हो! मैले थाहा पाएँ, मविरुद्ध एक्काईसौँ शताब्दीको महान् षड्यन्त्र हुँदैछ। एउटा रूपकीय शब्दजालको पिञ्जराभित्र थुन्न खोजिँदैछ। प्रतिक्रियामा जतिसक्दो खरो स्वर पारेर मैले भने, ´त्यस्तो दुष्ट प्रेमको के अर्थ जसले सधैँ मलाई गरिबी र हिनताबोधको खाडलमा धकेल्छ? म तँबाट मुक्ति चाहन्छु। आहुतिको कविता ´गहुँगोरो अफ्रिका´ पढेको छस्? हो, त्यही भाकामा भन्छु, म कुनै पनि हालतमा तँबाट मुक्ति चाहन्छु।´ त्यसपछि उसले खुँडा उचालेको थियो। धन्न, मेरो तन्द्रा टुट्यो। तन्द्रामै भए पनि त्यसले मेरो हत्या गरेको भए के हुन्थ्यो?

उत्साहको एक दिन मैले आफैँलाई भने, जीवन सफल पार्नु छ भने भाइसाप, तैँले आफ्नो नाम बदल्नैपर्छ। त्यसपछि एउटा असाधारण नाम मैले आफ्नो निधारमा झुन्ड्याइदिएँ जो तपाईँसामु प्रस्तुत छ। नयाँ नाम स्थापित गर्नु मेरा लागि सजिलो कहाँ थियो त? मैले ती सबै ठाउँमा प्रयोग गरेँ जहाँजहाँ सम्भव थियो। मेरो नयाँ नाम कतै बिकेन। तर एक दिन…. एउटा नाटक प्रतियोगितामा म लेखक थिएँ। त्यसमा यसको प्रयोग गरेँ। कलाकार, निर्देशक र दर्शकले कम्ती हाँसो गरेनन्। के म हाँस्य टेलिचलचित्रमा ´इकु इकु´ भन्दै नाच्ने बनमान्छे थिएँ? मैले आफ्नो अडान छाडिन। बुझियो होला, नाटक फर्स्ट भयो, पछाडिबाट। प्रमाणपत्र त पाइयो जहाँ पहिलो पल्ट मेरो नामले आधिकारिकता पायो।

पुरानो नाममाथि त नयाँ नामको टाँचा लाग्यो, तर जीवनको विडम्बना हेर्नोस्, केही समयमै महसुस भयो, म आफ्नो दोस्रो नामका कारण पनि पर्याप्त उपेक्षालायक छु। यसले पनि मेरो गिदी खाइरहेको छ। यस्तो एउटा जोकर, चटके र शत्रु जो मेरो खिल्ली उडाइरहेको छ। अखबारमा, साहित्यिक पत्रिकामा, जमघटमा म आफ्नो दोस्रो नामबाट पनि पर्याप्त उपेक्षालायक पात्र बनेँ।

खासगरी ती मानिस जसले मलाई पढेका छैनन्, बारम्बार दिक्क पार्छन्। जब म कसैलाई घरमा फोन गर्छु, तिनका आफन्त बारम्बार मेरो नाम सोध्छन् र गलत उच्चारण गरेर हैरान पार्छन्। (तपाईँलाई पनि लाग्नसक्छ, जनसाधारणका लागि यो नाम त्यति सजिलो छैन। मेरो नाम मानौ विरानो भाषा हो जसको गलत उच्चारण मानिसहरू बारम्बार गरिरहेका छन्।) पत्रकार रघु मैनाली मेरो नाममाथि जीवनकै पहिलो र अन्तिम हाँस्यकविता लेख्ने चिर सपनामा छन्। जब तथाकथित कुलीन समाजका पठित पटमूर्ख युवती अथवा प्राज्ञिकता कुन सिनेमाकी कामुक हिरोइन हो भनी सोध्ने बज्रस्वाँठ बनियाँ वा सामन्तसँग मेरो परिचय गराइन्छ, तिनीहरू उपेक्षाको अनौठो भाव आँखामा नचाएर मुस्कुराउँदै मलाई सोध्छन्, साँच्चै, तपाईँको नाम के हो? के मेरो नाम चंकी श्रेष्ठ हुन सक्दैन?

मैले आफ्नो दोस्रो नाम पनि परिवर्तन गर्न चाहेँ। पहिले म आफ्नो नामपछाडि ´उदास´ पुछ्रे झुन्ड्याउँथेँ। त्यो छुट्यो र केही कथा, कविता र लेखमा मेरो नामपछाडि ´अभय´ पुछ्रे जोडियो। कतिपल्ट त्यही पुछ्रेमात्र राखेँ। खासमा प्रचलित नामबाट भागेर पुछ्रेमा अवतरित हुने यो, मेरो आफ्नै नामविरुद्ध षड्यन्त्र थियो। तर, सम्पादक महोदयहरूले बढेको नङजस्तै मेरो नामबाट पुछ्रे खुर्केर मिल्काइदिए। पुछ्रेमात्र राख्दा पनि यही नाम प्रतिस्थापित गरिदिए। अस्तिताक एउटा साथीले हास्यात्मक सुझाव दियो, एउटा पत्रकार सम्मेलन गरूँ जहाँ म आफ्नो तेस्रो नाम सार्वजनिक गर्न सकूँ। यसपालि म पूरै असफल भएँ। मेरो नाम मसँग छालाजस्तै टाँसिएछ, के गरूँ?

एक छिन यसलाई थाती राख्छु र देशबारे बोल्छु। देशलाई उन्नत गणराज्य देख्न चाहने संघर्षशील जनताको सपनामय यात्रामा म पनि सामेल थिएँ। गणतन्त्र स्थापनापछि माओवादी नेतृत्वको सरकार छ जसको प्रमुख काम संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार उन्नत र न्यायमूलक संविधान बनाउनु हो। सामाजिक न्यायको राजनीतिक एजेन्डासहित खुला राजनीतिमा आएको माओवादी, सत्तामा भएर पनि प्रतिपक्षीको जस्तो व्यवहार गर्ने एमाले र संसदीय व्यवस्थाको विकल्प छैन भन्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस के यस दिशामा इमान्दारीपूर्वक काम गरिरहेका छन्? जवाफ पक्कै त्यति सकारात्मक छैन।
तपाईँलाई मैले आफ्नो वास्तविक नाम बताउने वाचा गरेको थिएँ। साँच्चै, मेरो नाम के हो? बाध्यतामा परेको तथाकथित प्रेमीले जस्तै मैले अब भन्नैपर्छ– बिर्सिदिनुस् मेरो वाचा। अब यसको कुनै अर्थ छैन। प्रिय पाठक, तपाईँलाई जिज्ञासा छ भने एक दिन म आफ्नो नामको सारा रहस्य अवश्य खोल्नेछु।

This entry was posted in मनोवाद / स्वगत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.