~अजम्बरध्वज खाती~
केही महिनाअगाडि नै थाहा भएको थियो नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १० औं राष्ट्रिय सम्मेलन कैलालीमा हुँदैछ भनी जुनबेला थाहा पाएँ, त्यसैबेलादेखि मलाई पनि त्यो सम्मेलनमा जान मन भएको कुरा शंकर भण्डारी, राम र लक्ष्मणहरूलाई सुनाएको थिएँ। योभन्दा अघि उनीहरूले नेपाल क्रान्तिकारी युवा सङ्घको सम्मेलन जुम्लामा सम्पन्न गरेका थिए। यो मलाई थाहा भएन। सम्पन्न भइसकेपछि थाहा पाएँ। साह्रै पछुताएको थिएँ। यो पनि थाहा पाएर होला मेरो युवा मित्रहरू मलाई लिएर जान तयार भए। मेरा इच्छा भएको ठाउँको यात्रामध्ये हो यो यात्रा। एक ठाउँमा कसैसँग कुरा गर्दा मैले भनेको थिएँ, ‘अब मलाई मर्ने बेलामा पनि केही पछुतो हुनेछैन। मेरो जीवनको सबभन्दा ठूला धोकोमध्येको धोकेा हो यो मित्रहरूले पूरा गरिदिए।’
२००८/९ सालतिर मेरो जेठोबाको जेठो छोरो चोपबहादुर खाती यहाँ सरकारी सेवामा आउनुभएको थियो। दाइ हामीभन्दा धेरै जेठो भएको कारण उहाँसँग हाम्रो सम्बन्ध र संरक्षणमा हुर्केको जस्तो थियो। त्यो बेलासम्म हाम्रो भेटघाट कुनै दिन पनि बिरिन्न थियो। यो सेवामा दाइ गएपछि हामीलाई गाउँ नै शून्यजस्तो लाग्थ्यो। तर मनमा रमाइलो भने विछट्टै थियो। सायद दुई साल दाइ त्यहाँ एक्लै बस्नुभयो। पछि आएर परिवार सबैलाई लिएर जानुभयो। उहाँ आउँदा पिंढीमा बासँग बसेर गरेको त्यसतिरका गफ नै मेरो कैलालीतिर जाने इच्छाको प्रारम्भ हो। तर ६१ वर्ष भएछ, जान नसकेको। आज ६१ वर्षपछि मेरो इच्छा पूरा हुने देखेको थिएँ।
आफ्नो खुट्टा भनूँ वा आफ्नो बसदेखि बाहिरको साधनको यात्रामा हिंड्नुपर्ने क्षणको अगाडिसम्म म असुरक्षित यात्राको सम्झनाले एकपल्ट सधैं आतिन्छु। चाहे विमानबाट होस् वा बसबाट यात्रा गर्नु पूर्व दुर्घटनाबाट दिवंगत भएका सबैलाई सम्झन्छु र आफूलाई त्यस्तै अवस्थामा देख्छु। तर अर्को उपाय नै के छ त? निरुत्तर त्यस्तै खाले साधनमा यात्रा गर्न तयार बन्छु। यो यात्रामा सबैभन्दा पहिले मेरो मुखबाट निस्कन्छ ‘मङ्गलम भगवान विष्णु, मङ्गलम गरुडध्वज ! मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरी’ यो आस्थाको स्वर होइन। मृत्युसँग कायल म मनमात्र बिसाएको हुँ। यस पाला पनि त्यस्तो विचार नआएको होइन, जब म यात्राको निम्ति बसमा पुगें। देखें चालक गुनटे गुनटे शाम्य अनुहारका सधंै हाँसो ओंठमा खेलेको उसको सहयोगी पनि त्यस्तै थिए, मलाई अनौठो हिम्मतले उचालेझैं लाग्यो। तिनीहरूका पाखुरामा मेरो विश्वासले निर्धक्क ठान्यो मेरो यात्रा अति सुरक्षित छ। नभन्दै त्यस्तै भयो पनि बुटवलबाट दगुरेको बस उकालो, ओरालो, डाँडा, पाखा, मैदान समान ढङ्गले बुटवलबाट धनगढीसम्मको यात्रा तय गर्दै थियो। यो अन्दाजी दस साढे दस घण्टाको यात्रा एउटा आसनमा सम्पन्न गरेको मेरो पहिलोचोटि हो। यो यात्राभरि धनगढी नपुग्दासम्म मेरो हृदयमा ६१ वर्ष पहिलेको धनगढी र चोपबहादुर दाइको अनुहार आइरह्यो जसले यात्रा कौतुहलताको भयो।
०२६, ०२७ सालतिर म दाङसम्म आएको थिएँ। त्यही बेला यस भेगका भालुवाङ, नर्ती, लमही लगायत यस बाटोमा पर्ने विभिन्न स्थानहरूसित परिचय त्यसैबेला भएको थियो। त्यही अवस्थाको यस क्षेत्रको चित्र मनमा कैलालीको कोर्दै थिएँ। फेरि अर्कोपल्ट यी ठाउँहरूमा नआउँदासम्म। त्यसबेला यी ठाउँहरूमा केही थिएन सिवाय फुसका झोपडी, बन, खेत, बारी कुलो कुलेसो। भालुवाङ व्यापारिक केन्द्रजस्तो रहेछ। राप्ती नदीको किनारमा थोरैसम्म ठाउँमा फैलिएको। यहाँ चालीस पचास घर जति लाग्छ। फुसको छानो भएको घर झुप्राहरू कुचुप्प एकै ठाउँ थियो। मधेशमा देखिने हाटबजारको जस्तै दृश्य। नर्तिमा बाटोमा एउटा सानो झुप्रो र लमहीमा पनि त्यस्तै। नारै थियो लमहीसिवाय केही अस्थायी झुप्रामा होटल। चारैतिर बाटो निर्माणको उधुम थियो, राप्तीमा पुल बन्दै थियो, कल्भर्टहरू बन्दै थिए, बुल्डोजरले बाटोलाई विस्तार दिंदै थिए, वातावरणले घ्यार घ्यार घुर घुर, ढ्याक ढ्याक, हर्न र जेनेरेटरका आवाजले विकासको जागरण आएको महसुस हुन्थ्यो। मान्छेका अनुहारमा आश्चर्यपूर्ण कौतुहलता देखिन्थे, सबै रमाएका हुन्थे। यस निर्माणको धुनमा बाटाभरि मौसमअनुसार कृषकका घरमा पाइने आँप, बेलौटी, अमिलो इत्यादि जे पनि सहजै बिक्री हुन्थ्यो। यो देखेर किसानहरू सुखद भविष्यका सपना आफू आफूमा वा भेटघाट हुँदा नौला मान्छेसँग पनि कुरा गर्थे, “फालिन केही पाउन्न, सबै कुरा बिक्री हुन्छ” इत्यादि। तर त्यो बेलासम्म पनि उनीहरूलाई यहाँको जमिन पनि महङ्गोमा बिक्री हुन्छ भन्ने थिएन। यसैले जमिन जताततै सस्तो थियो र सस्तैमा खरिद बिक्री चल्दै थियो तर पनि त्यति सारै होइन। नाङ्गो लमही, यहीबाट दाङ जाने र कोलहलपुर जानेबाटो छुटिन्थ्यो, त्यो बेला पनि निर्माणका सामग्रीहरूका थुप्रा र मान्छेको चहलपहलले ठूलै जङ्सनजस्तो थियो। त्यसैबेला त्यो ठाउँमा मैले जग्गाको भाउ सोध्दा त्यो ठाउँ गुठीको हो जस्तो सुनेको थिएँ। बिक्दैन जस्तो पनि सुनेको थिएँ र त्यहाँ भएका दुई चार ओटा झुप्राहरू अस्थायी छन्। बाटो बनाउनेहरू रहँदासम्मलाई हो यी घर भन्दै थिए। यहाँको यो वर्णन गर्नुको कारण के हो भने मेरो हृदयमा कैलालीको तस्वीर यिनै दृश्यहरूले निर्माण गरिदिएका थिए, मैले कैलाली यस्तै देख्थें, यस्तै कैलाली दाइको कुरामा पनि देख्थें। तर यो यात्रामा भने माथि बयान गरेका यी बाटाहरू आकाश र जमिन जत्तिकै फरक थिए। मैले थाहा पाउन सकिन कुन ठाउँ कहाँ थियो, कहाँ छ? बाटाभरि नयाँ नयाँ घरहरूको निर्माण भइसकेका रहेछन्। हाटबजारहरू पनि नयाँ खाले। भालुवाङ कहाा मैले देखेको जस्तो थियो र? पुरै एउटा सभ्य सहर कतैबाट ल्याएर स्थापना गरेजस्तो लाग्यो। फराकिलो र अलकत्रे सडक, ठूलाठूला व्यापारको प्रयोजनमा बनेका घरहरू र घरहरूमा व्यापरिक सामानहरूको थुप्रो कोंचा कोंचले भालुवाङ अनौठो रुपमा मेरो सम्झनामा स्थापित भयो। त्यही अवस्था बाटाका वारिपारि निर्मित घरहरू र लमहीको आश्चर्यपूर्ण विकासले मेरो मस्तिष्कमा यी ठाउँ नदेख्दासम्म बनेको कैलालीलको चित्रमा अहिले देखेपछि पुरानो कैलालीको चित्र भताभुङ्ग भएर यस्तै सहरको निर्माण भएको अनुमान खेल्न थाल्यो, कैलाली नयाँ भएको देखें तर हेर्न त बाँकी नै थियो।
हामी चवन्न जना बसमा थियौं। तिनीहरूमा म सबैको बुबा थिएँ। मै मात्र थिएँ अठहत्तर वर्ष लागेको मान्छे। अरु सबै मुश्किलले चौबीस, पच्चीस ननाघेका थिए। यसैले म सबैको बुबा नै भएर यो यात्रा गरें। त्यतिका मान्छेमा मैले तीन चार जना सधंै देखिने भेटिने अनुहारको मात्र नाम जान्दथें। राम, लक्ष्मण, शंकर र श्रीषा शाही। यिनै बाँकी सबै चेहराले मात्र परिचित नाम थाहा थिएन। व्यक्तिपिच्छे सबैको नाम नजान्दा मन लागेको मान्छेसित कुरा गरुँ भन्न असाध्यै अप्ठेरो हुँदोरहेछ। यसै पाला अनुभव गरें। मलाई भिन्दाभिन्दैसित भिन्दा भिन्दै कुरा सोध्न मनलाग्थ्यो। तर मेरा मुखमा यिनीहरूलाई सम्बोधनका लागि दुइटामात्र शब्द थिए। केटाहरूलाई बाबु र केटीहरूलाई नानी, मैयाँ। यत्ति दुईटा शब्द खेलाएर यो यात्रा सकंे। यत्तिले सारै कष्ट भयो यिनीहरूसित हिमचिम गर्न। सबै नाति नातिनी उमेरका थिए। सबैका अनुहारमा कसैकोमा दिपसन देख्थें, कसैकोमा दक्षिणा, केटाहरूमा कसैकोमा प्रणव कसैकोमा उत्सव र कसैकोमा शुभ, कसैकोमा कल्याण। यिनीहरूसित कुरा गर्थे, सबैको बुबा म सबैले नाति नातिनाले झैं हेर्थे, नाति नातिनाले झैं सोध्थे, खाएको नखाएको पेट छाम्थे, ‘कस्तो छ?’ ‘कस्तो लाग्यो?’ सोधेर मेरो मन छाम्थे मलाई पनि यी बाबु नानीहरूसित आफूलाई रित्ताउन मन लाग्थ्यो। सोध्थें आमाबाबुको मायाले लपक्क लिपिएर ‘के खान्छौ बाबु? के खाने मैयाँ?’ मुसुक्क हाँसेको मौन अनुहार मेरा अगाडि यसरी दरेस लाग्थे। मलाई थाहा थियो यिनीहरूको मधुर आवाजको उत्तर म सुन्न बञ्चित छु, खस्रक्क परेर बस्थें।
बाटोभरि देखें जताततै निर्माणको निरन्तरता छ। थाहा पाएा बाटो यस्तो साधन रहेछ जसको काम नै ठाउँलाई विकास दिनु रहेछ, विकास यस्तो चीज रहेछ जसले मान्छेलाई श्रमप्रेमी बनाउँदो रहेछ र समान सोंचको सिर्जना सबैमा दिंदोरहेछ। जहाँ जहाँ म पुग्छु मान्छेहरू बटौलीका जस्तै थिए या भनूँ बटौलीका मान्छे जताततै पुगेका थिए। जब मान्छेको दृष्टि एकै ठाउँमा केन्द्रित हुन्छ, त्यो बेला उसको सोंचाइ पनि साँघुरिएर त्यस्तै हुँदोरहेछ। सीमित क्षेत्रको देखाइ बसाइमा हुर्केका जीवनहरू फरक फरक हुँदोरहेछ। यसले बनाएको जीवन सबै क्षेत्रमा साँघुरा हुँदारहेछ। दाङले बटौलीलाई अचिनारु आँखाले हेर्छ, अचिनारु भाषा बोल्छ त्यस्तै बटौलीले अर्को अलि परको ठाउँसित। त्यो बेला यसरी मन विभाजित हुँदोरहेछ। दाङमा बस्नेलाई दंगाली भन्न मन लाग्दोरहेछ। भालुवाङ भन्न मन लाग्दो रहेछ। तौलिहाली भन्न मन लाग्दोरहेछ। यो सम्बोधन अचिनारु सम्बोधन हो। यसमा पराई सम्बन्ध लुकेको हुन्छ। यसले पनि देशै विभाजित जस्तो आभास हुँदोरहेछ। सदर सहरदेखि पर बसेको ठाउँहरू, एक ठाउँको अर्के ठाउँसँग, न भेष मिल्छ न भाषा, न चाल न चलन। यही फरकले हो फरक जन्माउने, फरक जन्मने। यस्तोबेला बाटो बन्द गरेर बस्न मन लाग्दोरहेछ। नयाँ अनुहार हेर्न मन लाग्दो रहेनछ वा नयाँ अनुहार भय, त्रास वा अनभिज्ञताले पर राख्दोरहेछ। वातावरण नै हाम्रो चरित्रको निर्माता रहेछ। वातावरण निर्माणमा बाटो घाटोको भूमिका अति महत्त्वपूर्ण रहेछ। यसले यो जहाँ जहाँसम्म जोडिएको छ या यसले जसजसलाई छोएको छ त्यहाँसम्म एक अर्कोलाई साखुल्यता दिंदोरहेछ, नातो बाँड्दो रहेछ, माया दिंदो रहेछ, सबैभन्दा ठूलो कुरा फरक मेट्दोरहेछ, दृष्टि फुक्दोरहेछ, पाइलाले नयाँ नयाँ ठाउँ भेट्दोरहेछ, चलन चाँजो भेट्दोरहेछ र सिक्दोरहेछ, आफू पनि त्यस्तै बन्दो हरेछ र उसको मनमा पराईपन पुछिंदोरहेछ, देशप्रेम राष्ट्रप्रेम जाग्दो रहेछ। जहाँ जहाँ पुगें सबैतिर उस्तै मान्छे, उस्तै भाषा, उस्तै भेष, मन मिलेको देखें कुरा बुझेको देखें। सुख दुःख साट्न सबै तयार देखें। अनि पूर्व पश्चिम राजमार्गको अवधारणा जन्माउने र शिलान्यास गर्नेलाई राष्ट्र देखें, राष्ट्रवादी भने हजारौं हजारपल्ट सलाम गरें।
लमहीबाट धन्नै कोहलपुरसम्म घाम हुँदै पुगेका थियौं। वनको बीचबाट बाटो गएको रहेछ। वारिपारि समान दृश्य थियो। कोहलपुर पुगेपछि यहाँबाट दुइटा बाटो फाट्दोरहेछ, नेपालगञ्जतिरलाई र कैलालीतिरलाई अनि सुर्खेत जाने पनि यहींबाटै छुटिने रहेछ। हामी कैलालीतिरको बाटो लाग्यौं।
यतै कतैतिर साँझको सात बज्दै थियो। झमक्क रात पर्यो। अब हाम्रो यात्रा बसको हेड लाइटले छितारेको उज्यालोमा अगाडि बढ्दै थियो। मात्र बसभित्रको उज्यालोमा हामी एक अर्का साथीलाई देख्थ्यौं। बाहिरको दृश्य हराएपछि बसभित्रको सीमित उज्यालोमा कुरा पनि हराएझैं लाग्यो। हामीलाई अब करिब चार घण्टाको यात्रा गर्नुपर्थ्यो। यो यात्रा अँधेरैमा गर्यौं। कतै उँदै गर्यांै, कतै भुद्रुङले झैं हेर्दै गर्यौं। मैले बाँकी दृश्य फर्कंदाको उज्यालोमा हेरुलाँ भन्दै मन बुझाएर त्यही अँधेरोमा कैलाली पर्खेर बसें। तर रामले ऊ यहाँ बराबर आउने जाने गर्ने भएर होला अँधेरोमा पनि हामी कहाँ छौं? भन्थे। अब हामी बाँके जिल्लामा छौं, अब हामी बर्दिया जिल्लामा छौ आदि। यसरी थाहा भयो हामी बाँके, बर्दिया र कैलाली रातमा हिड्दैछौं। यो बाहिर नदेखिएको अवस्थामा कैलालीप्रतिका मेरा विचारहरू ६१ वर्ष अगाडिकै तिर पुगेझैं लाग्छ। बिजुली बत्तिको उज्यालोमा अलि कति फरक थियो कि?
एघार बजेतिर हाम्रो बस कैलालीको सदरमुकाम धनगढी पुग्यो। मैले अहिलेसम्म सम्मेलन कैलालीमा हुन्छ भन्ने सुनेकाले कैलाली जिल्ला र यसै ठाउँ कैलाली भन्ने सहर पनि होला भन्याथें र यदाकदा सुन्ने धनगढी त्यतै कतैको पहाडी सहर होला जो कैलालीमा पर्छ भन्ने लाग्दथ्यो। कहाँ धनगढी त कैलालीको सदरमुकाम रहेछ। धनगढी पुगेपछि धनगढीबाहेक कैलालीको नामै सुन्न छाडियो। यो अनभिज्ञताले आफैलाई मसँग लाज लाग्यो। आफ्नै देश र देशका जिल्लाबारे यत्रो कुरा नजान्नु। म एउटा पढे लेखेको बुझेको जस्तो मान्छेको यो अवस्था छ भने अरु म जति पनि नभएका मान्छेहरूले के बुझेका होलान्? यस प्रश्नले मलाई अब लाजभन्दा बढी कर्तव्यबोध नभएको नागरिक जस्तो लाग्यो र ढिलै भए पनि यो यात्रा ज्ञानका लागि सारै उपयोगी देखें। सन्तोष अनुभव गरेर थन्कें।
धनगढी पनि साढे ११ बजे आइपुगेकोले धेरैजसो घरका बत्तीहरू निभेका थिए। यसैले सडकका पोलमा झुण्डेका बिजुलीहरूले धनगढी देखाउँदै थियो। उँधेका आँखाहरू भर्खर उध्रेको भएर होला पस्ट देखिन गाह्रो भएजस्तो लाग्यो, छम छमाउँदै बसबाट ओर्ल्यौं। बस एउटा जीर्ण बस्ती जस्तोको सडकमा रोकेको थियो, जहाँ प्रस्टसित ठूलो अक्षरमा वडा प्रहरी कार्यालय लेखेको देखें। त्यतै कतै हामी ओर्ल्यौं। भोक सबैलाई लागेको थियो र खानाको चिन्ताले मलाई सताएको थियो। मलाई मेरोमात्रै भन्दा पनि त्यहाँ प्रायः हाम्रो बसमा गएका सबै अनुहार मेरा नाति नातिनाका जस्तै थिए। उनीहरू आफूलाई जवान तन्नेरी थान्थे तर मैले सबैको अनुहार पिलपिलाउँदा, कमलो देख्थें। ओंठ निचोर दूध आउँछन् कि जस्ता। यो जात अघाएको बेला फेरि भोक लाग्छ भन्ने पनि जान्दैनन्, सबै कुरा बिर्सेर हाँस्छन्, खेल्छन्, नाच्छन्, गर्छन्। फेरि भोक लागे पनि भोक लागेको पनि थाहा पाउन्। लल्याकलुुलुक हुन्छन्, बोल्नै नसकेर एक ठाउँमा थन्कन्छन्। त्यो बेला उनीहरूको भोक तिर्खा जान्ने उनीहरूकै बाबु र आमा हुन्। मैले यहाँ मेरो आमालाई सम्झें। आमाले म साठी वर्ष हुँदा पनि, कहिल्यै प्रौढ देख्नु भएन, सधंै सानो केटाकेटी देख्नुहुथ्यो, कतैबाट गएर भेट्न जाँदा कोखमा राखेर भोक तिर्खा सोध्नुहुन्थ्यो। पेट छाम्नुहुन्थ्यो। यो सम्झेर फेरि मेरो आँखामा तरक्क आँसु आयो तर त्यो मुहार सडकमा छित्रेको उजेलोमा कसैले देख्न नपाउँदै पुछें र त्यही मायाले त्यस बसमा उपस्थित नाति नातिनालाई हेर्न थालें। मेरा नजिक प्रमिक्ष, कौसल्या र सुमित्राहरू थिए। तिनीहरूलाई सोधें, भोक लाग्यो होला नानीहरूलाई। लौ यी त उल्टै मलाई सोध्छन्, ‘बुबालाई अप्ठ्यारो भयो, भोक लाग्यो?’ यिनीहरूलाई मेरै चिन्ता। पछि सोंचें यी नयाँ सपना बोकेर हिंडेकाहरू यिनीहरूलाई सबैभन्दा ठूलो चिन्ता देशकै छ, आफ्नो सङ्गठनकै छ। अझ आजको यो बेला नेता भनाउँदाहरूमा अक्षमताले देश संविधानविहीन भएको बेला छ, असंवैधानिक सरकारले देश चलाएको बेला छ। नेताहरूको वाकयुद्धले देशको गति दिशाहीन छ। यस्तो अवस्थामा सम्मेलनमा हिंडेका यिनीहरू मलाई लाग्यो यी किशोरहरूको आँखाको सपना पनि खोस्न तयार छन् यो बेला। यो बेला यिनका मन पनि मार्न तयार छन्। यिनीहरू यो बेलाबाट विजय पाउन जस्तै दुःख कष्ट र सङ्घर्ष गर्न तयार छन्। सबैको पाखुरा छामे, बहादुर बलिया र आँटिला लाग्छन्। यस्तै सोचेको बेलामा यिनीहरूले मलाई खाने ठाउँमा पुर्याए। त्यहाँ पुग्दा अनौठो लाग्यो। यो कसको सम्मेलन हो? कति मानवतावादी? अनुहार हेर्दा भक्तपुरतिरका जस्ता थिए, प्रौढ आमा र बाबुजस्तै, दाजुहरू जस्तै। सबै सन्तानको भोक तिर्खासित चिन्तित जस्ता। भात पकाएर सिङ्गो नेपालमा छित्रेका सन्तानहरू कुरेका। लावा सतरन्जहरू बिछाइएका थिए मैदानमा। जहाँ ढाई तीन सय मान्छे सजिलै अटाउँथे। म पनि सबै लालाबाला जस्ताहरूलाई लिएर त्यही बसें। मेरो अठहत्तर वर्षको मस्तिष्क अनेक प्रश्न गर्छ, ‘हजारौं मान्छेको यो भीड, यसरी कसरी खुवाएर सक्छन्, रातभरि नै खाने खुवाउने त होलान् नि। यी अर्काका सन्तानलाई खुवाउन किन पर्यो? छिट्टै मिच्छिने होलान। खान हुलदङ्गा हुने होला? खोसाखोस लुछालुछ हुने होला।’ यस्तै सोच्न पनि भ्याएको थिएन पन्ध्र मिनेटभित्रैमा हामी खाएर उठ्यौं अर्थात् ३०० जति मान्छे खाएर उठे। सबैले आफूले खाएको टपरी बोकेर चुठ्न गए। त्यस ठाउँमा तुरुन्तै फेरि मान्छे बसे गर्दा तीन चार पल्टमा अर्थात् धन्नै एक घण्टैमा त्यत्रा मान्छेले खाएर भ्याए। न कतै हल्ला, न कतै झगडा। भ्रातृ भावनामै वातावरण सम्पन्न। यहाँ खुवाउने माछेहरू जति अनुशासित थिए त्यत्ति नै खानेहरू पनि थिए। यो अनुशासनले त्यहाँ माया, स्नेह र मातृत्व जन्माएको थियो। एउटै लक्ष्यका यात्री भन्थ्यो, मेलमिलापको अनौठो वातावरण मैले त्यही प्रस्ट पाएँ। यो शक्तिले जे पनि गर्नसक्छ। न लोभ, न पाप, न झै–झगडा अनौठो सङ्गठनमा सङ्गठित यो शक्ति देश निर्माणको अनौठो चुनौती हुन्। चिनेजस्तै भेटघाट छ सबैको अनि चिनेजस्तै बोली भाषा छ सबैको, यिनीहरू सबै एउटै आमाबाबुका सन्तान हुन् जस्ता अनौठो अनौठो लाग्यो।
धनगढी एकैचोटि उज्यालो पारेर बत्ती धपक्क बल्यो। बल्ल थाहा पाएँ त्यहाँ अहिले भर्खरसम्म फैलिएको धमिलो प्रकाश मैण्टोलको (पैटोमैक्स) रहेछ। टनकपुर र शारदा बाँध भएको त्यो ठाँामा यहाँ पनि लोडसेडिङ्ग हुँदोरहेछ। अघि भर्खर हामीले खाएको बेला लोडसेडिङ्गको बेला थियो। अब देखें धनगढी, फराकिला सडक छन्, बखान गर्न लायकका घरहरू छन्। नियोजित निर्माणले धनगढी सुन्दर छ तर यी सबै पोस्टका बिजुलीले देखेको हो। घरहरू प्रायः सबै अँधेरा थिए। यसैले अरु र अझ हेर्न बाँकी राखेर मलाई शंकर भण्डारी र दिवस थापाले मोटरसाइकलमा एउटा लजमा पुर्याए जहाँ मेरो बस्ने बन्दोबस्त थियो। त्यो दिन त्यो राती त्यो कोठामा भक्तपुरका एउटा साथी र कालिकोटका नन्दबहादुर शाहीसमेत तीन जना बस्यौं। रात राम्रैसित बित्यो।
आज बिहानीको झुसमुसेमा उठेर होटल बाहिरको पटाङ्गिनीमा रोपेका बोटविरुवासित एक घण्टा खेलें। न जाडो न गर्मी मीठो यो क्षणले कैलालीप्रतिको सकारात्मक भावनाले उद्वेलित मेरो मन यसैबेलाबाट धनगढीसितको फराकिला परिचय बोक्न मूलद्वारबाट बाहिर निस्कन्छु प्रिय बाबु दिवस थापाको साथमा। बिहान भइसकेको थियो। यो बेलाको रातो घाम यहाँका घरका छानाहरूमा भित्रिन थालिसकेको थियो, यही उज्यालोमा हाम्रो आँखाले धनगढीको सुन्दरलाई सडक, गल्ली, पार्क र नयाँ भव्य भवनहरूमा खुब हेर्यो र बसेर एउटा साधारण रेष्टुरामा चियाको चुस्की लिंदै श्रीषा शाही र सुमित्रा, कौशल्या अनि रेग्मीलाई पर्खिन थाल्यौं टेबलमा चियाको कप राखेर। यिनीहरू आज राती महिलाहरूका लागि विशेष प्रबन्ध बेग्लै ठाउँमा सायद उद्योग व्यापार सङ्घका घरको कोठामा बसेका थिए। अलि बेरमै उनीहरू पनि आइपुगे र सम्मेलन स्थलतिर हेर्न गयौं।
विशेष प्रातःकालीन आजको रेष्टुराँको चमेनाले मलाई विसञ्चो गर्यो। हिजोमात्रै मैले एउटा अखबारमा अखाद्य तेलमा खाना बनाएको एउटा होटलको समाचार पढेको थिएँ। आज खाएको दुई पुरी त्यो पनि त्यसैले बनेको हो जस्तो मनमा लाग्यो र यही मनले उब्जाएको असजिलोले म सबैसित बिदा भएर आफ्नो डेरामा आएँ र आराम गर्न थालें। आज सम्मेलनको विशाल प्रदर्शनीले सहरको परिक्रमा गर्ने र सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम मुख्य थियो। त्यहाँ उपस्थित हुन नसक्ने चिन्ताले खाँदै आराम गरें। बिस्तरामा डेढ दुई घण्टा सुतें। उठ्दा त १ बजे दिउँसो। जिउ हलुङ्गो भएको थियो। विश्वास गरें यो हिजो रातीको श्रम हो, थाकेको प्रतिक्रिया, रेष्टुरेण्टलाई दोष दिन मन लागेन उठें र बाहिर बजारतिर आएँ। म पुगेको ठाउँनेर तन्नेरी विद्यार्थीको काफिला व्यानर उचाल्दै, चिच्याउँदै र रमाउँदै आइपुगेका थिए। खुशी लाग्यो आजको यो कार्यक्रममा पनि समावेश हुने मौका दिएकोमा। म पनि र्यालीमा सहभागी हुँदै चिच्याउँदै र रमाउँदै उद्घाटन स्थलतिर लागें।
प्रायः नेपालभरिबाट बटुलिएका प्रतिनिधि र पर्यवेक्षक विद्यार्थी युवाहरूको हजारौं एकत्रित यो भेलाले धनगढीलाई केही सकारात्मक सन्देश दिएझैं लाग्यो। केही महिना पहिले यस्तै एउटा युवा सङ्गठनले आफ्नो सम्मेलन यस्तै तामझामका साथ जुम्लामा सम्पन्न गरेको थियो। सम्मेलन स्थलको यो छनोटमा नेपाल मजदुर किसान पार्टीले न्याय दिएको सबैको अनुभव थियो। यहाँ पनि त्यस्तै भयो। सायद प्रजातन्त्रको पचासवर्षे इतिहासमा यी नै मौका होला आज यी स्थलहरूले सम्मेलन देख्न पाएका अवसरहरू। नेपालका सुदूर पश्चिम क्षेत्रहरू अरु मामिलामा झैं राजनैतिक मामला पनि धेरै पुग्न नसकेको उपेक्षित ठाउँ हो। यसैले यस्तो अवसर जति मध्य र पूर्वी नेपाली क्षेत्रले पाउँथ्यो, पश्चिमका यी क्षेत्रहरूले देख्न पाएनन्। यो कमीको पूर्णता आज यस पार्टीले दिएर राजनैतिक दुनियाँमा अर्को न्याय गरेको थियो। त्यस क्षेत्रको न्यानो आत्मियता नेपाल मजदुर किसान पार्टीले पाएको थियो। यहाँ आज म न आउँदासम्म मैले कैलालीलाई कालापानी भनेर चिनेको थिएँ। मलाई भन्नेले भन्थे यहाँको पानीमा बिहान हेर्नु, तर जमेको हुन्छ। त्यो रोग हो। त्यसले यस क्षेत्रलाई औलोको देश बनाएको छ। यहाँको कालाज्वरले समातेपछि मान्छे बाँच्दैन आदि। जे होस्, यस क्षेत्रलाई रोगी क्षेत्रकै संज्ञाले यस क्षेत्रको प्रवेशमा हाम्रातिरका मान्छेहरू सबै तर्सन्थे। सायद यही तर्साइमा यतातिर राष्ट्रियस्तरको भेला कहिल्यै हुन सकेन तर नेपाल मजदुर किसान पार्टीले आज यो भयबाट सबैलाई मुक्ति दियो। सधैंलाई मुक्ति दियो र यो यशको भागी पनि भयो। यहाँ उज्यालो बाल्ने प्रथम नेताकै रुपमा मैले नारायणमानलाई मानें। नारायणमान भनेको सामान्य जनमानसको हृदय भएको कपटरहित स्नेहशील र कुशल व्यावहारिक क्षमता सम्पन्न राजनैतिक नेताको नाम हो जसको विश्वासमा यो पार्टी चलेको छ। उनीको मायाले यहाँसम्म छोयो। उनीले बालेको उज्यालोले यहाँसम्म प्रकाश दियो। यो यस क्षेत्रकै इतिहासमा उल्लेख गर्ने कुरा हो। सधंै एउटै रहन्न। नेपालका सबै तराई एक जमानामा औल्याहा हुन्। कैलालीमात्रै होइन। कैलालीमा आएर हेरेपछि देखें यहाँका सबै नदी नालाहरू त्यस्तै गरी बगेका छन् जसरी बगेको छ राप्ती, काली र कोशीहरू। यहाँको पानीमा न तर जमेका थिए न यहाँका मान्छेमा बेग्लै भोक र प्यास थियो। यो नेपालको एउटा प्रमुख जिल्ला हो। विकासोन्मुख छ, जसरी यो देशका अरु जिल्ला पनि छन्। योसँग पनि नेपालीको साझा माया छ। यसैको सदरमुकाम धनगढी हो। यहाँ आज २ बजे दिउँसो, विद्यालयको प्राङ्गणमा विशेष सजाइएको मञ्चमा राजनेता नारायणमानले आफ्ना साथी सहयोगीसमेत लिएर जनतामाझ उद्घानको ऐतिहासिक बत्ती बालेर नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घलाई बाटो देखाउनुभयो, त्यही बत्ती बोकेर युवा विद्यार्थीलाई भविष्यमा निरन्तर अगाडि बढ्ने बाटो दिनुभयो, यो इतिहासले नबिर्सने कुरा दिनुभयो।
सम्मेलनपछि फेरि बजारका केही ठाउँ घुम्न थाल्यौं जुन बिहान पनि घुमिसकेका थियौं। तर क्षण भने फरक फरक थिए। बिहानजस्तो अहिलेको छैन। यहाँ बिहान बत्तीको उज्यालो बलिसकेको थिएन, प्रतिक्षाको क्षण थियो। सबैका अनुहारमा प्रतिक्षामात्र देखिन्थ्यो अहिले यो क्षण बत्ती बलेको क्षण थियो। सबैको अनुहारमा त्यो बलेको बत्तीको उज्यालो प्रकाशमान थियो। जति पाइला यहाँ हिडेका थिए, त्यही प्रकाशमा हिंडेका थिए। सहरै उज्यालो, सहरै रमाइलो। आज यसै गरी सकियो।
२७ गते असोज
नेपालको राजनीतिमा विवादास्पद व्याख्या भइरहेको टनकपुर र शारदा बाँध हेर्न जाने निर्णय यो बुटवलबाट प्रस्थान गर्नु अगाडिकै निर्णय हो। मलाई यता आउने इच्छा अरु अरुका साथै यो इच्छाले मुख्य रुपमा दोहोर्याएको थियो। आजसम्म भाषण, अखबार र पुस्तकको भरमा चिनेको र सुनेको यो ठाउँ, यसले जीवनमै एउटा ठूलो परिर्वतन दिएको छ। छिमेकी देश भारतलाई हेर्ने दृष्टिकोण बनाइदिएको छ। आज त्यो ठाउँ आफ्नै आँखाले देख्न पाउनु भनेको यसलाई पनि भाग्यसित जोडे केही फरक खान्न। यस्तो क्षणको अवसरलाई समात्न म यहाँ आइपुगेको थिएँ। यो हाम्रा बीचमा हिजो पनि चर्चा थियो, तर आज जाने बन्दोबस्त हुँदैछ, गर्दैछन् लक्ष्मण श्रेष्ठ र युवा नेता एवं साहित्यिक प्रतिभा शंकर भण्डारीहरूले। थाहा पाएँ बिहानको खाना खाएपछि हामी जाँदैछौं टनकपुर।
११/१२ बजेतिर हाम्रो बस टनकपुरतिरको पीचमा बग्न थाल्यो। अझैसम्म कैलाली जिल्लैमा थियौं। अब कञ्चनपुरतिर प्रवेश गर्यौ। यही जिल्लामा पर्दोरहेछ टनकपुर। शारदा र झुलाघाट यहाँका दर्शनीय स्थलहरू। मैले कैलाली कञ्चनपुरसँगै शुक्लाफाँटा, ब्रह्मदेव र झुलाघाट एकै साथ सुनेको नाम हो ३०/४० वर्ष अगाडि नै। यसैले आज यी सबैलाई यहाँ देख्दा मलाई ज्यादै रमाइलो लागेको छ। यी सुनेका नाममा पुग्दा परिचित ठाउँजस्तै लाग्छ। जसमा खरदार चोपबहादुर दाइको अनुहार पहिले नै गाँसिएको हुन्छ। आज फरक के थियो भने उहाँको पालामा यी नाम सबै एकैचोटि आउँथे आज फरक फरक ढङ्गले आउँछ। यस फरक फरक ढङ्गमा सबै ज्यादै टाढा टाढा जस्ता लाग्छन्, जब दाइका पालामा नजिक थिए। कुरा के छ भने पहिला कैलाली कञ्चनपुर एउटै जिल्ला थियो। एउटै प्रशासकले सबैलाई हेर्थ्यो। यसैले दाइ जहाँ पनि पुग्नु हुँदोरहेछ, कञ्चनपुर ब्रह्मदेव मण्डी, टनकपुर, शारदा बाँध, झुलाघाट र भारती बजार वनवासा आदि। तर आज जिल्ला टुक्रेर विकास क्षेत्र हुँदै फेरि जिल्ला बनेको रहेछ। कैलाली भिन्दै विकास क्षेत्र, कञ्चनपुर भिन्नै विकास क्षेत्र। यसैले यी टाढाजस्तो लागेको रहेछ। यहाँ दुइटा सिडियो रहन्छन्। एउटालाई अर्को प्रशासनिक दृष्टिले त्यति हेर्न आवश्यक रहन्न।
कञ्चनपुर पुरानो बजार तर यहाँ पनि सिमेन्ट र छड पुगेकोले आधुनिक घरहरू पनि छन्, छैनन् भन्ने होइन तर पुरानो बुटवलजस्तो। शेेष आज पनि बुटवलको जितगढीतिरका केही घरहरू पुरानो बुटवलका जस्तै छन्, त्यस्तै छन्। त्यहाँ हुँदै शुक्लाफाँटा वन्यजन्तु आरक्षणलाई सेना नै खटिएको ठाउँ हुँदै हामी महेन्द्रनगर पुग्यौं। यहाँ पुगेर मैले पञ्चायतकालका एक होनहार युवक साहित्यकारले १६ सालमा पनि नेपाली राजनीतिमा केही परिचय स्थापित गरेकै हुन्, खड्गबहादुर सिंहलाई सम्झें र बसबाटै दुइमिनेट मौन रहेर समवेदना चढाएँ। महेन्द्रनगर निर्माणमा उनी नै प्रमुख हुन्। सर्वत्र प्रायः सबै सम्पन्न योजनामा उनीको अनुहार देखें। आज त यहाँ मदनचोक छ। उस्तै आजका धेरै मान्छेहरूको नाममा चोक छ, उनी भने जानेर छुटेजस्ता छन्। इतिहास लेख्नेले ढाँट्न सक्छन् तर इतिहास स्वयं आफूले कहिले ढाँट्दैन। ऊ जनहृदयमा अभिलेख बनिसक्छ, सत्य बक्न, त्यसै वातावरणमा कोतरी सकेको हुन्छ, त्यस्तै सत्य बोल्न र पूर्वाग्रहले ग्रसित हुन नपुगेका सबै हृदयको इतिहासले ढाट्नै सक्दैन इतिहास। त्यस्तै यहाँ उनीका केही छैनन् तर छन् जस्तै वातावरणले मलाई भनिरहेको थियो। जसले जति जे भनून् तर पञ्चायती व्यवस्थाको यो देशको आधारभूत विकासमा अहम् भूमिका छ। पञ्चायती व्यवस्था ठ्याक्कै दरबारले मात्र नचलाएर जनताका छोराहरूको पनि सहभागिता छ। आखिर पञ्चायती व्यवस्था प्रजातन्त्रको भुँडीमा जन्मेको हो जुन भुँडीमा क्यान्सर थिए कोइराला बन्धुहरू। यो रोग बढेर देश सकिन्छ कि जस्तो अवस्थामा पञ्चायती व्यवस्था प्रजातन्त्रको पुच्छर टाँसेर जन्म्यो। मैले यसैबेलालाई नेपालको आधारभूत विकासको बेला भन्छु जसमा शिक्षा, यातायात र महेन्द्रनगर नगर विकास क्षेत्रका जस्ता खाका कोरियो। यी सिर्जनशील मस्तिष्कहरू २००७ सालदेखि २०१५ साल, यति लामो अवधिसम्म कहीकतै रेफसम्म देखिएन। नेपाली माटोमा भर्खरमात्रै जन्मेको यो व्यवस्थाको पहुँच त्यतिमात्रै थियो, जहाँसम्म पुग्यो। त्योभन्दा अगाडि जान ऊसित सिद्धान्त, विचार र दर्शनै थिएन। त्यसपछि जन्म्यो मण्डलेहरूका मुक्का जसले व्यवस्थालाई एकक्षण टिक्न दिएन कमजोर पार्यो बहुदलीय प्रजातन्त्रवादीहरूले खोजेको जनआन्दोलनले। ०७ देखि ०१५ सम्म देश प्रकारान्तरले काङ्ग्रेसकै नेतृत्वमा थियो तर देशमा विकासको सोंचसम्म बन्न सकेन। आज फेरि प्रकारान्तरले प्रजातन्त्रकै कुरा छ तर देशको अवस्था सबैका अगाडि प्रस्ट छ। यहाँ अहिले जे छ कुर्सीको लडाइा छ। यस लडाइँले देश सकिनुको नजिकै पुगेको छ। तर खोइ चेतना राजनेताहरूका? हिजो त राजा दोषी थियो आज दोषी को?
अब हाम्रो बस गाउँको डहरजस्तो बाटो हुँदै पूरा गाउँले वातावरणको बीचमा रम्दै घुम्दै टनकपुरतिर लाग्यो। हामी नेपाल –भारत सरहदको दशगजा जस्तोबाट जाँदै थियौं। दुबैतिरका जमिन उर्वर थिए। भर्खर बनेका वा बन्न थालेका साना साना घरहरू थिए बाटामा यताउति। एक घण्टा जस्तोमा एउटा सानो बस्तीमा हाम्रो बस रोक्यो। यो बस्ती बजार रहेछ यसैलाई ब्रह्मदेव मण्डीभन्दा रहेछन्। बजारको बीचमा मैले आजसम्मै नदेखेको एउटा अनुहारको सालिक देखें। गएर नजिकै पुगेर हेरें यो सालिक भीमदत्त पन्तको रहेछ। हृदयमा श्रद्धा उम्लेर आयो ती वीर सहिदको जीवन इतिहासले हामी ३०/४० जना सबै पङ्तिबद्ध भएर उनको आत्माको शान्तिका लागि २ मिनट मौन धारण गर्यौं। यो महापुरुषको बारेमा दाइ चोपबहादुरले भनेका थिए। यो घटना उनकै पालाको हो। आज धेरै कुरा बिर्सें मधुरो सम्झनामा कञ्चनपुरको बजार अड्डामा जनता र कर्मचारीबीच केही विवाद भयो। यसमा अचानक यिनीको अगाडि चारैतिर जनता गोलबद्ध भए। यिनीले सरकारी पक्षको अन्यायको विरोध गरे। यत्रो जनताको साथ रहेको यो विद्रोहबाट सरकार डरायो र यो आन्दोलन दबाउन भारतीय फौज बोलायो। त्यो फौजले लखेट्दै लखेट्दै भीमदत्त पन्तलाई ब्रह्मदेवमा भेट्यो जहाँ उनलाई मारियो। ब्रह्मदेव डडेल्धुरा जाने बाटोमा पर्छ र भीमदत्तको पहाडी घर डडेल्धुरा हो। उनी भाग्दै घरतिरै जाँदै थिए। उनी नलड्ने मनस्थितिमा थिए। उनी ज्यान जोगाउन भाग्दै थिए। मैले बुझेको कुरा यो अन्यायपूर्ण मृत्यु थियो। अन्याय भएको ठाउँमा एउटा जननेता जस्तो नबोलेर कसरी मौन बस्नसक्छ? त्यसलाई दबाउन खोज्नु कर्मचारीतन्त्रको तानाशाह विचार हो। उनी भाग्दै घरतिर जाँदै थिए। खोजी खोजी मार्नु यो ०७ देखि ०१५ सालसम्मको शासनको पद्धति नै थियो।
ब्रह्मदेव यो नगरजस्तो बस्ती, साना साना घर तर सानै भए पनि सबै घरहरू बिक्रीका सामानले भरिएका, होटल, रेष्टुरेण्ट र लज पनि प्रशस्तै भएको, सामान पहाडतिर निर्यात हुने खालको रमाइलो रमाइलो छ। हुन त यहाँबाट डडेल्धुरा जाने मूल बाटो छ। यसले पनि प्रसिद्धि पाएको हुन सक्छ तर यसैसित जोडिएको छ टनकपुर। टनकपुर जाने नेपाली बाटो यही पुग्छ र यही टनकपुर हेर्न जानेहरू उत्रेर टनकपुरसम्म पैदल जान्छन् र यहींबाट टनकपुर बाँधको प्रभाव क्षेत्र सुुरु हुन्छ। यसको उत्तरबाट नै नहरको विशाल तटबन्ध सुरु भएको छ। यही तटबन्धमा उक्लेर महाकाली हेर्यौं। त्यहाँ महाकालीले सागरको दृश्य उपस्थित गरेको छ। किनारै छैन जस्तो। दृष्टिले भेट्दासम्म पानी पानी तर फरक थियो, यो शान्त थियो, नीलो थियो, भयलाग्दो गहिरो, म पानी छुनसम्म पनि जान सकिनँ। कुनै शक्ति बसेजस्तो। नजिक गए कसैले तानेर पानीभित्र लग्लाजस्तो। मैले आजसम्मै यति ठूलो नदी देखेको थिएन। कति ठूलो रहेछ महाकाली ! हेर्दै दक्षिण बाँध भएतिर जाँदै थियौं बल्ल थाहा पायौं, यो त महाकाली छेेकेर, थुनेर बनेको जलाशय रहेछ। हेर्दै जाँदै थियो। लक्ष्मण श्रेष्ठले यसको भूगोल र सन्धि सम्झौताको विवरण भएको किताब पनि लिएर गएका थिए। यहाँको अवस्था र सम्झौताबारे थप थाहा पाउन साहै्र सहायक सिद्ध भयो। यो हेर्दै जान्थ्यौं, पढ्दै जान्थ्यौं, थाहा पाउँदै जान्थ्यौं। त्यो जलासय सोह्रै आना नेपाली भूमिमा थियो तर भारतीय प्रभाव आइसकेको। यताउती देखिने सूचना पाटीमा भाषा हिन्दी थियो। भारतीय प्लेटका साना गाडीहरू निर्वाध गुड्थे। अधिकांश भारततिर यही बाटो हिड्थे र विशेषगरी दिनभरिजसो यहाँ के हेर्ने हो कुन्नि नेपाली अनुहारहरू आउँथे, हेर्थे र फर्कन्थे। सायद नेपाली ठगिएको यही दृश्यमात्र हेर्न तिनीहरू आउँथे। आफ्नो देशमा पराइ देशद्वारा आफैलाई ठगिएको यो एउटा अनौठो दृश्य यहाँ न सगरमाथाको गौरव छ, न महात्मा गौतमबुद्धको सम्यक दृष्टि, यस्तो हेरेर के बुझेर फर्कन्थे मान्छेहरू? हामी हेरेर फर्कंदा पर्वत कुश्माका शायद उच्च विद्यालयका विद्यार्थीहरू थिए। चालिस पचास जनाको टोली त्यहाँ जाँदै थिए। आश्चर्यपूर्ण मनोभाव चेहरामा कोर्दै हामी अब बाँधको नजिक पुग्दै थियौं। पहिलो दृष्टिमा पर्यो एउटा सैनिक चौकीजस्तो। मलाई लाग्यो यो नेपाली सीमा चौकी होला। पाटे वर्दी लगाएका सैनिक अनुशासनमा बन्दुक बोकेर सीमा कुरेजस्ता। तर पछि थाहा पाएँ त्यो भारतीय सैनिकको चौकी हो। बाँधको पहिलो प्रवेशमा यसले छेके जस्तो लाग्यो तर छेकेन। अनि दोश्रो, बाँधमा पस्ने ठाउँमा दुई तीन जना साधारण खैरो बर्दीमा अत्याधुनिक हतियार बोकेकाहरू प्रवेश निरोधको छाँटमा घुमिरहेका थिए, तर मौन थिए तिनलाई पनि नाघेर हामी बाँधमाथि हिड्न थाल्यौ। हामी हिंडेको यो बाटो बाँध हो। यहाँबाट यातायातका साधन पनि सजिलै गुड्थे राजमार्ग जस्तै थियो यो। दुई तीन ढोका पर पुगेपछि एउटा पाटीमा सूचना देख्यौं। लेखेको थियो, ‘यहाँ फोटो खिच्ना मना हैं।’ यो पढेर मनमनै हाँसे एउटा व्यङ्ग्यात्मक भारतीय भावना नेपालीलाई। यहाँ कुनै तेस्रो देशको पर्यटक भुत्लो थिएनन्। थिए भने हेर्न जाने हामी नेपाली र नेपाल भारत ओहोरदोहोर गर्ने अरु सर्वसाधारण। यो बाँधले सिङ्गो महाकालीको प्रवाहलाई ठम्म रोकेर यही फर्केको पानी रहेछ सँगालिन पुगेको यो सागरजस्तो विशाल जलासय। त्यहाँ एउटा अनौठो दृश्य थप देखिन पुग्यो त्यो थियो एउटा ढोकाको चरबाट महाकालीको पानी चुहिएर विपरित दिशा नेपाली नदीतिर बग्दै थियो, त्यसलाई पनि रोक्न सुरक्षित किसिमले मृत्युसित खेल्दै थिए। त्यहाँ बाँधैकै कर्मचारीहरूले काँचो सिमेन्टका बोरा खसाल्दै थिए त्यो चुहावट रोक्न। यसबाट थाहा भयो उनीहरू यो ढोकाबाट थोपा चुहिन दिने पक्षमा छैनन्। हामी महाकाली पारि पुग्यौं, त्यहाा पुगेर बल्ल देख्यौं, महाकाली उल्टाएर भारततिर सोझाइएको।
यो बाँध हामी नेपालीलाई अर्को कुराले पनि महत्त्वपूर्ण छ हेर्न र बुझ्नलाई। यस्तै विवाद बोकेर नेपाल कम्युनिष्ट पार्टीको विरोध छँदाछँदै योभन्दा पहिले नेपाली भू–भागका दुई अरु नदी गण्डक र कोशीमा भारतले बाँध बाँधिसकेको थियो। गण्डक बाँधमा योभन्दा अगाडि कवि सिद्धिचरण श्रेष्ठसित (राजसभा स्थायी समिति तत्कालीन का.वा. सभापतिसित) घुम्न जाने मौका पाएको थिएँ। त्यहाँ देख्यौं, नेपाललाई भनेर खनेको नहरमा किम्ला हिंड्दै थिएँ र नेपाली भूमिभित्रै खनिएको भारतको निम्ति नहरमा सातवटा गण्डक मिसिएर बनेको सप्त गण्डकीको पानी उर्लेर बगेको थियो। नेपाली भू–भागमै बनेको यो नहरको बीचमा पुगेर मैले देखें कविजी रुन्चे स्वरमा भन्दै हुनुहुन्थ्यो – ‘खातीजी यो नेपाल–भारत मैत्रीको ढाँचाको दस्तावेज हो। सन्तानले पछिसम्म पढिरहून् र छिमेकीलाई चिनी राखून्। यो स्वेज कैनल बन्नुपर्छ।’ यो दृश्य फेरि यहाँ दोहोरिएको थियो। सिद्धिचरणको मनसाय पूरा भएन। यहाँ उनका वाक्यहरू सम्झें। गण्डक बाँध बन्दा नेपाली काङ्ग्रेसको शासन थियो। नेपाल कम्युनिष्ट पार्टीको यो बाँध निर्माणमा ठूलो विरोध थियो। यसको निर्माणपछिको परिणामले दिएको नेपाली चेतनाले नेपाल कम्युनिष्ट पार्टीलाई राष्ट्रवादी शक्ति घोषणा गरेर बहुमत विचार यतैपट्टि गइसकेको थियो। त्यतिबेला त्यही नै कारण हो कम्युनिष्टहरूमा नेपाली जनशक्ति केन्द्रीकरण भएको तर आज महाकाली बाँधले सिर्जेको नेपालको पुरानै नियतिमा पुग्न हात यी कम्युनिष्टहरूकै छ जो ठूलो नाउँमा विपक्षी दल भएर संसदमा बस्न नेपाली जनताले चुनावबाटै मञ्जुरी दिएका थिए। महाकालीको भारतसितको यो सम्झौतामा काङ्ग्रेसको सरकार थियो र उसैको चाहनाले काम गर्दै थियो। तर जनता चाहन्न थिए यो सम्झौता सदर होस् र जनतालाई विश्वास पनि थिएन कि सम्झौता सदर हुन्छ भन्ने। नेपाली संविधानमा प्रस्ट उल्लेख छ ‘ठूलठूला योजनाहरूमा सम्झौता गर्दा संसदले दुईतिहाइ बहुमतले पारित गर्नुपर्छ।’ त्यसबेला काङ्ग्रेससित दुईतिहाइ बहुमत थिएन। यो पुग्न नेपाल कम्युनिष्ट पार्टी एमालेले मद्दत गर्नुपर्थ्यो। यो जनताको इच्छाविपरीत गरिछाड्यो, महाकाली बेची छाड्यो, आफ्नो घटिया नीतिलाई यस बाँधमा अभिलेख लेखायो। के अर्थ लाग्यो गण्डक बाँधको बीचमा सिद्धिचरणको खसेको आँसुको? के पढे र देखे, चिने? नेपाली जनताले छिमेकीलाई? यसपाला मेरा हरेसका उछ्वाससँगै एक अञ्जुली नामर्द आँसु महाकालीमा बगाएर रुँदै फर्केको छु। सम्झें – सम्झौता संसदबाट पारित भइसकेपछिको त्यो बेलाको माधव नेपाल र केपी वलीको दम्भपूर्ण गर्जन कि यो सम्झौताले नेपाललाई वर्सेनी उल्लेखनीय आर्थिक लाभ छ, नेपाल धनी बन्छ आदि। तर आज आर्थिक लाभका क्षीणरेखासम्म देखिन त्यहाँ सिवाय नेपाल युगयुगान्तलाई ठगिनु। दिनहुँ बाँध अवलोकनार्थ आउने नेपालीहरू त्यहाँ आफ्नै भावनामा हेपिएर गौरव निथ्रेको अनुहार ओरालो पारेर फर्कन्थे। त्यहाँ भारतीय पक्षबाट जे जति प्रदर्शन गर्थे चाहे बाँध सुरक्षार्थ प्रहरी सेना वा साधारण नागरिक बडो रहस्यपूर्ण थियो। यो आखिर एउटा महाकालीको पानी छेकेको बाँध हो तर उसलाई नै यहाँ नेपालप्रति अन्याय गरेको विश्वास थियो र उनीहरू नेपाली भावनासित जानकार थिए कि कुनै पनि बेला नेपालीले विद्रोह गर्न सक्छन्। यही भयले उनीहरू नेपालकै विपक्षमा शस्त्र प्रदर्शन गर्दै थिए नत्र किन र केको को सित डर पानीको बाँधमा?
अन्त्यमा हामी त्यहाँबाट फर्क्यौं। हामी निस्कने पछिल्लो ढोकाको चौकीको एउटा प्रहरीले मलाई हेर्दै आँखा र मुख दुबैले एकैचोटि सोध्यो हाँस्न खोजेको अनुहारले – ‘देखा ….?’ उत्तरमा मैले भने – ‘हाँ’ मात्र उसकै भाषामा उसकै भावनामा। यत्नै कानमा यो जलासयको किनारमा शङ्कर भण्डारीसमेत हामी उभिएर सायद लक्ष्मणलाई पर्खदै थियौं। मलाई ताजमहलका निमित्त कुनै हिन्दी कविले रचेको एउटा प्रसिद्ध कविता सम्झना भयो र सुनाए टुटेफुटेको भाषामा:–
यारों, देखलिया ताजमहल,
लौट चल
एक साहंशाह
अपने प्रेमिकाके लिए
लाखों इन्सानका खुन में
मजाक उडाया है।
(यस्तै भावको थियो यो कविता, तर यही नै होइन यहाँ धेरै टुटे फुटेको छ।) अनि भने – हामीले पनि त्यस्तै देख्यौं टनकपुर बाँधमा यहाँ करोडौं नेपालीको मुुटु भारतीय स्वार्थको लागि निमोठिएको, त्यस्तो पनि हेर्न हामी पुग्यौं र फर्क्यौं।
त्यो दिन हामी राती ८/९ बजेतिर महेन्द्रनगरमा फर्क्यौ र यहीको एउटा होटलमा बस्यौं। त्यो होटलको बन्दोबस्तले अझै यो क्षेत्रमा मध्यम वर्गीय होटलहरू त्यति कुशल देखिने जति राप्ती, लुम्बिनी र पूर्वतिरका छन्। साँघुरा फोहोरा कोठा र होटलका खाना त्यो बेला हामीलाई अधिक भोक र अधिक थकावटले असह्य भएको थियो, तैपनि म त रातभरि मच्छरसित गफ गर्दै साँप्रा ठटाएर जागेरै बिताएँ। त्यो बेला मलाई भोलि आउँछ भन्ने विश्वासै हराएको थियो। राती २/३ बजे कतिखेर आँखा झिमिक्क भएछ उठ्दा बिहान हुन लागेको थियो। हातमुख धोएर बस बिसौनीतिर पुग्यौं, यहाँ चमेनाका केही राम्रो प्रबन्ध रहेछ। पुरी र केराउको सब्जी, चिया खाएर काम चलाउ अघायौं र यात्राका लागि तैयार भयौं। यसपाला अब हामी झुलाघाटको पुल र फेरि उस्तै नियति बोकेको नेपाल खोज्न शारदा बाघतिर जाने तयारीमा थियौं।
२८ असोज
अब हाम्रो बस दक्षिण पश्चिमतिर गाउँ गाउँ हुँदै दगुर्न थाल्यो। हिजो हामी चुरेपहाडको घ्याँचतिर जाँदै थियौ। आज दक्षिणको सम्म ठाउँ भएतिर। यसैले दृश्य फरक थियो। हिंजोको दृश्य खोंच, मैदान र कन्दरायुक्त थियो, आजको फाँटिलो मैदान, उर्वर भूमि, धान पहेलै पुर, काटिएर पसारिंदै थिए खेतमा, पाँजो परेर। वर्षाको पानी सुकेर खेत जोतूँजस्तो भइसकेको थियो। तरकारी खेतीका लागि घर नजिकका करेसाबारीजस्ता बिहानैबाट जोतिंदै थिए, गोठबाट गोरुहरू बाहिर खेतमा ल्याइदै थिए। यी सबै दृश्य सरसरी दगुरेको बसको झ्यालबाट हेर्दै हेर्दै हामी झुलाघाट पुग्यौं बिहान ८ बजेतिर। यो यात्रा महेन्द्रनगरबाट बसमा करीब एक घण्टाको जस्तो लाग्यो। झुलाघाट यो नाम पनि मैले यदाकदा दाइ खरदार चोपबहादुरकै मुखबाट सुन्थें, त्योबेला मलाई यो भारतीय बजार नौतनवाजस्तै होला ठानेको थिएँ किनभने यस नाममा त्यस्तै भारतीय गन्ध आएको हुन्थ्यो। तर यहाँ देख्दा फरक रहेछ। यहाँ महाकालीमा बटौलीकै जस्तै झलुङ्गे पुल रहेछ। यसलाई स्थानीय तराईवासी र दक्षिणका भारती जनजिब्रोमा ‘झोलुवा पुल’ भन्ने चलन छ। यही झलुवा यहाँ महाकाली पुललाई पनि सम्बोधन हुन पुगेको रहेछ। तर अनौठो यहाँको पुलमा के छ भने यो पुल झण्डै साढे एक किलोमिटर लामो रहेछ। यसको प्राविधिक बनोट कुशलपूर्ण छ। यति लामो महाकालीको नदी र बगर यो पुलमा नै बाँधिन्छ। यसबाट साइकल र मोटरसाइकलका चालकहरू निर्वाध आवतजावत गर्छन्। यस पुलको नजिकै हाम्रो बस ठडायो र लक्ष्मण, शंकरहरू पुल तर्न तयार भए, तर पुलको लम्बाइसित डराएर म जान तयार भइनँ, एक्लै वारि बस्ने निर्णय गरें। अरु सबै गए, म महाकालीको बगरतिर लागे एक्लै। आज रातीको अप्ठ्यारो बासले मलाई बिसञ्चो गरेजस्तै थियो। यहाँ डुलेर खुला सिमानामा नित्य कर्म सकें। पहारिलो थियो घाम, यो घाम र यो वातावरणले रातको असजिलो हलुङ्गो गरायो। निकै स्वस्थ देखें आफूलाई र यो पुलको मुखतिर गए। मुखबाट अलिपर पनि गएँ। धन्नै एउटा पुल हिंडे र घुमी घुमी महाकालीको फगट बगरमा बगेको एउटा सानो नदीतिर हेरें। सङ्लो पानी, छरिती, छिटी त्यहाँ कोही नुहाएका पनि थिए। त्यसैबेला एउटा मोटरसाइकल मेरो नजिक आइपुग्यो। मैले पारि जान लिफ्ट मागे, पाउँछु नै भन्ने निर्धक्क थिइनँ तर ऊ लग्न राजी भयो। उसको मानवतावादले अचिनारु एउटा अनुहारमा राष्ट्र देखेछ जस्तै लाग्यो र राष्ट्रवादले उसलाई लग्न मन लागेझैं लाग्यो। साँच्चै हिमाल, पहाड, तराई – कोही छैन पराई। धन्यवाद दिंदै मोटरसाइकलमा बसें। मोटरसाइकल हामी दुइटालाई बोकेर अब दर्गुन थाल्यो। म पारी चाँदनी दोधारामा पुग्दा शंकरजीहरू पारि पुग्ने पुलको बीचमा पुग्नुभएको रहेछ। म पारि पुगेर पर्खिन थालें। मोटरसाइकलको चालकलाई १००/५० दिन मन लागेकेा थियो लिन मानेनन्। हाम्रा यतैतिरका चौधरीको जस्तै अनुहार थियो। सायद तिनी थारु नै हुनुपर्छ,। मलाई भने आफैसित शर्म लाग्यो। उनीको मोबाइल नम्बरसम्म लिइनँ। यसो कहिलेकाही कतै सम्झन। लिएको भए पछिसम्म पनि यिनीसित कुरा गर्नहुन्थ्यो। कति गुण देख्दा हुन्। यस्तै मित्रता दिगो मित्रता हुन्छ। तर मौका चुकि सकेको थियो।
झुलाघाट यति पुलले प्रशिद्धि पाएको यो ठाउँ यहाँ दुई तीनवटा होटल, रेष्टुराँजस्ता दुकान थिए, पुलको नजिकै सानो पुलिसको चौकी थियो। एउटा पुलिस बाटोमा कसलाई हो कुरेर बसको हुन्थ्यो। पछि देखें उसले पारिबाट आएका मोटरसाइकलको पोकापोकी खोतलेको छ। बल्ल थाहा पाएँ यो चेकपोष्ट पनि रहेछ। यत्ति हो वारिको अवस्था वा दृश्य पारि यो नेपाली क्षेत्र नै रहेछ। यहाँ चाँदनी र दाधारा गा.वि.स. पर्दोरहेछ हाम्रो। यहाँ स्कूल क्याम्पसका विद्यार्थी पनि भेट्यौं। बगरमा छित्रेर बगेको महाकाली यहाँ भने ठूलो रहेछ। टनकपुरमा छेक्किएर पानी सकिएको भनेको फेरि यहाँ आइपुग्दा महाकाली रसाएर र लुकेर आएर निकै ठूलो भइसकेको रहेछ। फेरि लोभलाग्दो भइसकेको रहेछ। यो नदीमा हाम्रा केही साथीहरूले बिहानको स्नान पनि गरे। यो स्नानको क्रममा एउटी नानी धन्नै बगेकी, समयमै छोपिएर बाहिर ल्याइछन्। यी नानी अति भावुक प्रवृत्तिकी थिइन्। लुगैसित हामफालेकी रहिछन्, भन्छिन्, ‘पानी थोरै होला भनेर पसेको धारले बगायो।’ यी आफै पनि तिनाउमा खेलेकी हुँदा पानीसित डराउने कुरा थिएन, झुक्किछन्।
मैले एक ठाउँमा भनेको छु। केटाकेटी अघाएपछि अब भोक लाग्छ भन्दैनन्, फेरि भोकाएपछि भोक लाग्यो भन्न जान्दैनन्, हिंड्न, डुल्न चल्नै नसकेर लल्याकलुलुक हुन्छन्, त्यस्तै भयो यहाँ, पुलको यति लामो यात्रा आउँदा जाँदा। केहीले सिक्न र बुझ्न हिंडेको यो समूह यस हिंडाइमा हेर्दा, सिक्दा र बुझ्दा समय लाग्ने नै भयो। ८/९ बजेतिर यहाँ आइपुगेको हामी अब समय १२ बज्दै थियो। म फेरि मोटरसाइकलको बन्दोबस्तीमा सबेरै वारि आइपुगें। धेरै आउन बाँकी नै थियो, लक्ष्मण आइपुग्दा धेरै अबेला भयो, सबै भोकले लल्याकलुलुक भइसकेका थिए। त्यहाँको दुकानमा खाने बन्दोबस्त हुनै सकेन। भोक असाध्य लागेको छ, शारदा बाँध हेर्न बाँकी नै छ, कैले जाने कैले खाने यो प्रश्नले सताएको बेला लक्ष्मण र शंकरले महेन्द्रनगरको हिजोको होटललाई फोन गरेर खाना तयार पार्न अर्डर दिए, अब खाने समय २/३ बजे भए पनि खाने बन्दोबस्त भएकोमा भोकले कम सताउन थाल्यो। त्यहीबाट शारदा नहरको छोटो बाटो बस हामीलाई बोकेर दर्गुन थाल्यो। धन्नै २ बजेतिर शारदा नहर पुग्यौं। यसको पारि भारतीय बजार बनवासा पर्दोरहेछ। बसबाट उत्रेर बाँधतिर लाग्यौं, दशा उस्तै छ बाँध र बाँधेको पानीको। मान्छे एकचोटि त ठगिन्छन्। सधंै त नजानेर ठगिएको भन्न मिल्दैन। यहाँ पुगेपछि मलाई लाग्यो हाम्रा नेताहरूको नियतै बिग्रेको, लोभी, पापी र कमारे चरित्रको ‘सहाव’ शब्दले ङेचेको। टनकपुरको बाँधबाट छलिएर लुकेर रसाएर आएको पानी हो यो शारदा नहरको पानी फेरि यहाँ महाकाली थुपै्र पानीमा सँगालिएकी छन्। टनकपुरको भन्दा सानो भन्न मिल्दैन। यहाँ पनि उही कुरा हो – वारि नेपालीलाई सानो नहरबाट अलिकति पानी नहरमै सकिने गरी छोडिएको छ र पारी सिङ्गो महाकाली उल्टाएर भारतका वञ्जर भूमिमा भित्राउन लगिएको छ। यहीं दृश्य गण्डकमा देखें, यहीं दृश्य टनकपुरमा अनि यही दृश्य यहाँ पनि। अब के भन्ने हाम्रो नियतीलाई। यो हामी ठगिएको होइन। यो हाम्रो सरकारले भारतलाई सोंपेको सौगात हो जहाँ नेपाली सन्तानको भाग्य पुछिएको छ। युगयुगसम्मलाई। अवश्यै भारतको केही प्रलोभनले हाम्रा नेताहरूलाई प्रभाव पारेको छ। त्यो प्रभाव के हो भने त्यही हिन्दुस्तान हामी सर्वसाधारण नेपाली जाँदा, साथी, पिठ्ठू, बहादुर, हवल्दारजस्ता अपमान सूचक शब्दले सम्बोधन हुन्छौं भने केपी वली र माधव नेपाल, भरत मोहनजस्ताहरूले हुजुर र माननीयजस्ता अति आदरार्थी शब्दले सम्बोधन हुँदै तारेहोटलमा बास पाउँछन्, राष्ट्रपति र प्रधानमन्त्रीको दर्शन सहजै पाउँछन्, दुःखको थोपो पाउँदैनन्। आम नेपालीभन्दा कति नै धेरै आर्थिक स्तर उच्च भएका हुन् र यी नेताहरू। त्यही बनारस र काठमाडौंमा पढेका हुन्। चिउरा, भट्ट, चमेना खाएर दालभात खाएर हुर्केका त हुन् नि। तर जनताको विश्वास पाएर यिनीहरू नेता भए अनि यही हैसियतलाई बेचेर आज व्बाँसो भारतको आदरणीय अतिथि बनेका छन्। फकिएर, फुलिएर र छलिएर नेपालको सार्वभौमिकता नै बेचेका छन्। यिनै घृणापूर्ण विचार बोकेर शारदा हेरेपछि हामी फेरि बसतिर फर्क्यौ। बस अब महेन्द्रनगरतिर लाग्यो। हामी अपेक्षाकृत धेरै सबेरै महेन्द्रनगरको हिजोको होटलमा तातो भात खान पुग्यौं। आज खाना हिजोको भन्दा विशेष थियो।
आज नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दसौं राष्ट्रिय सम्मेलनको बन्दसत्रको आखिरी दिन हो। भोलि घोषणासभा दिउँसो भएपछि रात साँझ घर फर्कने योजना थियो। अब फर्केर हामी धनगढी जाँदै थियौं। धनगढी फर्केर पुग्दा धनगढी शून्य हुनेतिर थियो। त्यहाँ पुगेपछि सुन्दर वासीसँग भेट भयो। उनी भर्खरै नारायणमानज्यूलाई विमानबाट काठमाडौं पठाएर फर्केका थिए। अरु मान्छेहरू पनि अपेक्षाकृत पातलिइसकेका थिए। साँझमा भान्छा गर्ने मान्छे पनि धेरै कम भइसकेका थिए। त्यही खाना खाई आज म श्रीषा शाही, कौशल्या र सुमित्रा म बसेको होटलमा सुत्न आयौं। हिजो मसँग सुत्ने दुई जना अरु साथी पनि घर फर्किसकेका रहेछन्। अब हामीलाई पनि घरतिरै फर्कने प्रवल इच्छाले च्यापिरहेेको थियो। त्यहाँको रमाइलो बोकेर छिट्टै घरतिर फर्कने अब हामीसित यही इच्छा नै बाँकी थियो। यसैबेला सुरेश र लक्ष्मण पनि फेरि आइपुगे। सायद यिनीहरू श्रीषा शाहीहरूलाई होटलसम्म पुर्याउन आएका थिए। त्यसैबेला थाहा भयो – सुरेश केन्द्रीय समितिका सदस्य भइसकेका रहेछन्। बधाई दिएँ। उनीहरू फर्केर गए।
हामी भोलिखेर बिहान उठेर हातमुख धोइसकेका थियौं। घर फर्कने कस्तो र कत्रो आँतुरी हो। अझ आज घोषणासभा हुन बाँकी नै छ। यसैबेला सांस्कृतिक कार्यक्रम पनि हुनेवाला छ। तर हामी सबै आफ्ना मालसामान लिएर होटल छाडिदियौं। बन्दसत्रको खाली हलतिर फर्क्यौ। भएका सामानहरू हाम्रो बसमा लगेर राखिदियौं र खाली हात भएर घुम्न थाल्यौं। त्यही बेला पुग्यांै भात पकाउने ठाउँतिर। त्यहाँ पुगेर हेरें, आश्चर्य लाग्यो। जहाँ खाना खाएर टपरी फाल्न बनाएका दुई ठूला खाल्टा पुरिएका थिए। हामीलाई भात पकाएर खुवाउनेहरू जो भक्तपुरकै थिए, कोही थिएनन्। सबैले धनगढी छोडिसकेका रहेछन् तर धनगढीमा अनौठो माया छोडेर धनगढीलाई कहाँ भात पकाउँथे, कहाँ भात खान्थे, कहाँ हामीले खान्थ्यौं, सबै ठमाउनै सकिन, किनभने त्यो ठाउँ उस्तै थियो, जस्तो पहिले पहिले हुन्थ्यो, यत्रो ठाउँ कतिखेरदेखि सफा गरिसकेका रहेछन्। ठाउँ नै अर्कै भइसकेको थियो। यस्तै चरित्र निर्माण होस् कार्यकर्ताहरूको भनेर माओको भनाइ ‘बास बसेको ठाउँमा बास छोड्दा गुन्द्री बेरेर छोड्दिनू।’ यहाँ चरितार्थ भएको थियो नेपाली संस्कृतिको परिष्किृत रुप भएर। यही थियो यो सम्मेलनले धनगढी जनजीवनलाई छोडेको माया र सम्झना लाग्थ्यो। धनगढी पनि उनीहरूकै हो र यहाँ आइरहनुपर्छ। पछि पछिलाई पनि धनगढी चाहिन्छ भन्ने भावनाले यी सफा गर्नेहरू प्रेरित थिए। यस दृश्यलाई मैले धेरै फुकेर हेरें। हिजोमात्रै कस्तो भावना बोकेर शारदा बाँधबाट फर्केको। म आज मभित्र एउटा ठूलो विश्वास आएर बसेको थियो कि बल्ल नेपाल निर्माणका लागि नेपाल मजदुर किसान पार्टीले देश, जनता र पार्टीप्रति पूर्ण बफादार काम गर्ने इमानदार शक्ति तयार गर्दैछ। अवश्य नै यी शक्तिको हातमा देशको नेतृत्व सुम्प्यो भने देश नबेच्ने, माटोको संरक्षण गर्ने, नेपाली साहित्य, कला र संस्कृतिलाई जगेर्ना गर्ने र यसैका गर्भमा नव सिर्जनाको निर्माण दिएर देश सिङ्गारिने छ। अवश्य नै यो शक्ति हाम्रो घर आँगनमा उदाउने छ जसलाई अब धेरै लाग्दैन।
खाएको ठाउँ फोहोराएर छोड्ने हाम्रो यो पनि एउटा संस्कृति हो। तर यो एउटा ढाक्रे संस्कृति हो, जसलाई यो सफा गर्नुभन्दा ढाकर बोकेरै हिंड्ने आँतुरी हुन्छ। अर्को सामन्तवादी चरित्र हो जसलाई सफाइ गर्न उसका इज्जतसित टाँसिएको हुन्छ। तर यी नव निर्माणका बाहक थिए, एउटा ठूलो जिम्मेवारी बहन गर्नसक्ने विश्वास यहाँ छोडेर गए।
सम्मेलनको सुरुको योजना थियो २९ गते दिउँसो कैलालीकै लम्कीमा घोषणासभा गर्ने र सांस्कृतिक कार्यक्रम देखाउने। यो कार्यक्रम फर्कने बाटो लम्की बजारमा चारबजे दिउँसो हुने भएछ। त्यहीअनुसार टनकपुर, शारदा बाँध हेर्न नपाएकाहरू आज सबेरै त्यतातिर जाने र तिनीहरू चारबजे घोषणासभा हुने ठाउँमा पुग्ने कुरा भएको रहेछ। हामी हिजै डुलेकाहरू र अरु केही बाँकी गरी साठी असी जना जो बाँकी थियौं। त्यही खाना बनाई जाने भनेर खाना बनाउन लाग्यौं र खाना खाएपछि धनगढीबाट बिदा भयौं।
(रुपन्देहीको बुटवलमा बसोबास गर्नुभएका लेखक अम्बरध्वज खातीले २०७० असोजमा कैलालीको धनगढीमा सम्पन्न नेक्राविसङ्घको दसौं राष्ट्रिय सम्मेलनको क्रममा गर्नुभएको यात्राको संस्मरण –सं.)
(स्रोत : मजदुर दैनिक)