~शार्दूल भट्टराई~
कणाद महर्षि मूलत: कवि हुन् । तर, उनको लेखन विधा कविता मात्र होइन । उनी राम्रा कथाकार पनि हुन् । कविता सँगसँगै उनले कथाहरू पनि लेखेका छन् । तापनि उनको चर्चा भने कविकै रूपमा मात्र हुने गरेको छ ।
कविता सिर्जना सँगसँगै कथा लेखनमा पनि सक्रिय रहेका कणाद महर्षिका चार वटा कविता संग्रह र एउटा संयुक्त काव्य गरी पाँच वटा कविता–कृति प्रकाशित भएका छन् । पाँच–पाँच वटा कविता–कृति प्रकाशित भइसक्दा एउटासम्म कथा–कृति प्रकाशित नभएका कारण पनि हुन सक्छ कतिपय पाठक र समालोचकहरूका दृष्टिमा उनी कथाकार ठहरिन सकेनन् । तर, अब उनको कथा–कृति पनि सार्वजनिक भएको छ । कवि कणाद महर्षि कथाकार पनि हुन् भन्ने दर्बिलो साक्ष्यका रूपमा उनको कथा संग्रह ‘कणादका कथाहरू’ शीर्षकमा प्रकाशित भएको छ ।
यस संग्रहमा कणाद महर्षिका सत्र वटा कथा संगृहीत छन् । २०३३ सालदेखि २०७० सालसम्म लेखिएका यी कथाले लगभग चालीस वर्षको समयावधिलाई समेटेका छन् । यी कथामा नेपाली समाजको विभिन्न कालखण्डको प्रतिविम्ब पाइन्छ ।
आफू कथाकार पनि भएको सूचना दिनका लागि मात्र कणादले यो कृति प्रकाशित गरेका होइनन् । उनमा आफू कथाकार भएको अहम् पनि छैन । चार दशकभन्दा अघि, लेखनको आरम्भताका कविता र कथा बराबर लेख्ने कणादले कथाहरू पनि धेरै लेखे । उनका धेरै कथाहरू हराए पनि । नहराएका वा उपलब्ध भएका सत्र वटा कथा नहराउन् भनेर एकै ठाउँमा जम्मा गरेको कुरा उनी बताउँछन् । यो कृति प्रकाशित गरेबापत कसैले कथाकार भनिदेओस् भन्ने आशा र आग्रह पनि उनमा पाइँदैन ।
कतिपय सिर्जनामा लेखकको अनुमान र पाठकको अनुभव फरक पर्न सक्छ । लेखकलाई ठीकठीकै लागेको कुरा पाठकलाई राम्रो लाग्न सक्छ । लेखकलाई राम्रो लागेको कुरा पाठकलाई ठीकठीकै लाग्न पनि सक्छ । कुनै पनि सिर्जनाको मूल्यांकनको एउटा पक्ष पाठक हो । पाठकको मूल्यांकनले पनि सिर्जनाको स्तर वा गुणस्तर निर्धारण गर्दछ । कणाद महर्षिले पनि आफ्ना कथालाई यस्ता–उस्ता नभनीकन पाठकलाई नै मूल्यांकनको जिम्मा लगाएको देखिन्छ ।
सामाजिक विषयहरू नै कथाकार कणाद महर्षिका कथ्यहरू हुन् । उनी सामाजिक विकार र विकृतिमाथि प्रहार गर्दछन् । न्याय, स्वतन्त्रता र प्रेमका पक्षधर कणाद भ्रष्टता र विकृतिको विरोध गर्दछन् । असल मान्छे र असल समाजको परिकल्पना उनका कथाहरूमा पाइन्छ । उनी बेइमानी र बेथितिलाई सहँदैनन् । विसंगतिहरूको धज्जी उडाउँछन् । कथा लेखनका क्रममा समाजका साना–ठूला सबै घटनालाई उनी नियाल्छन् । सामाजिक घटनाहरूमा उनको हेराइ सूक्ष्म भइकन गहिराइपूर्ण रहेको छ ।
कथाकार कणाद महिर्षका केही कथा यथार्थ घटनामा आधारित लाग्छन् । केही कथा काल्पनिक लाग्छन् । काल्पनिक कथा पनि सामाजिक यथार्थभन्दा भिन्न लाग्दैनन् । आख्यानमा स्वैरकल्पना सम्पूर्ण रूपमै वर्जित नहुन पनि सक्छ । कथाकारले आफ्नो कल्पनाशीलताको प्रयोग गर्दा कतै–कतै स्वैरकल्पनाको सहयोग पनि लिने गरेका छन् । तर, कथाकार कणाद महर्षिले स्वैरकल्पनाको सहारा लिएको देखिँदैन । स्वैरकल्पनाकै सहारामा कथालाई जबर्जस्ती लम्ब्याउने वा गन्थनहरू लेखेर कथालाई लामो बनाउने चेष्टा पनि कणाद महर्षिमा देखिँदैन ।
सामाजिक जीवनका भोगाइ र कथाव्यथालाई आफ्ना सिर्जनामा उतार्ने कुरामा कणाद महर्षिको लेखन शैली अलि फरक छ । उनी घटनालाई घुमाउरो पारामा उठाउन सिपालु छन् । पाठकलाई कौतूहलमा राखेर कथा बुन्ने सीपमा उनी निपूर्ण लाग्छन् । कथामा घटनाको विकास गराउने सन्दर्भमा कतिले फिल्मी शैलीलाई अंगीकार गर्ने गरेका छन् । तर, कणाद महर्षि त्यस्तो शैलीलाई इन्कार नै गर्छन् । सहज, स्वाभाविक र सामान्य ढंगले कथाको विकास गर्ने शिल्प उनमा पाइन्छ ।
महर्षि कवितामा जस्तै कथामा पनि शब्दहरूसँग खेल्छन् । उनको त्यो खेल आफैंमा अर्थपूर्ण लाग्छ । शब्दहरूसँगको उनको खेल निरर्थक कतै लाग्दैन । अर्थपूर्ण शब्दहरूको सार्थक खेलमै उनको अभिव्यक्ति कतिपय सन्दर्भमा काव्यात्मक बन्न पुगेको छ । यस संग्रहका सबै कथामा उनको त्यस्तो काव्यात्मक अभिव्यक्तिको आभास पाइन्छ । शब्दहरूको अभिव्यक्तिमै उनले भावलाई पनि महत्त्व दिएका छन् । भावलाई गहिरो र गम्भीर बनाउने काम उनको अभिव्यक्ति शैलीले गरेको छ ।
कथामा चित्रण वा वर्णन र संवादको नाममा अनावश्यक गन्थन गर्ने र त्यही गन्थनलाई नै लम्ब्याएर कथाको बनोट निर्माण गर्ने काम महर्षिले गरेका छैनन् । संक्षिप्त चित्रण र छोटा अनि थोरै संवादको प्रयोगलाई कणादको कथाकारिताको विशेषता नै मान्नुपर्छ ।
यस संग्रहका कथामा कथाकार महर्षि केही प्रयोगशील पनि लाग्छन् । कथाको प्रस्तुतिमा उनले अपनाएको शैलीले नयाँ प्रयोगको अनुभव गराउँछ । उनको कथ्यको ढाँचा र भाषिक अभिव्यक्ति पनि भिन्न महसुस हुन्छ । घुमाउरो, सोझो र सांकेतिक गरी तीन खाले अभिव्यक्ति शैलीको प्रयोग उनले आफ्ना कथाहरूमा गरेका छन् । उनले त्यो शैलीको प्रयोग अत्यन्तै सफलतापूर्वक गरेका छन् ।
महर्षि प्रमुख रूपमा कवि नै हुन् । साथसाथै उनी कथाकार पनि हुन् । यस संग्रहले उनी कथाकार पनि हुन् भन्ने कुराको पुष्टि गरिसकेको छ । प्रस्तुत संग्रह नेपाली कथा विधाका लागि एउटा सार्थक उपलब्धि हो । यस संग्रहका कथाहरूको शक्तिले पाठकहरूमार्फत एउटा दबाबपूर्ण स्वर मुखरित गराएको छ – कणाद महर्षिको मूल्यांकन कविका रूपमा मात्र होइन, कथाकारको रूपमा पनि हुनुपर्छ । अब पनि उनलाई कविकै रूपमा मात्र हेरियो भने उनको साहित्यिक व्यक्तित्व–कृतित्वको मूल्यांकनमा दूराग्रहवश अन्याय गरेको ठहरिनेछ ।
(स्रोत : बुधवार साप्ताहिक )