~निश्चल काउचा~
चपस्टिकले दुई गास भात निल्दै
एक मुठी सास झुण्डयाउदै
सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म यतै -कतै
गाई गोठहरुमा
बंगुर खोरहरुमा
टनेल हाउसहरुमा
मन्द बिष युक्त कारखानाहरुमा
घाम निदाए पछि
संबेदनाहिन निष्पट अँध्यारो रातमा
म घस्रिने प्रयत्नमा हुन्छु
जिन्दगीको जुन नउदाउने हरेक रातहरुमा
म सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु
म मेरो माटोमा फिर्दा
मेरा कयौ बसन्त बैशहरू झरीसकेका हुनेछन
र जिन्दगीको कयौ ॠतुहरू बदलीसकेका हुनेछन
मेरो आगमनको स्वागत गर्न तम्सीरहेका
देउराली र भज्याङ्गका बुढा रुखहरू
आफु जस्तै सम्झेर
मलाई गिज्याउने छन
म रमिते र जोरोपारीहरूकै अगाडी
फाल हाल्दै गएर मेरी आमालाई अँगालोमा बाध्ने छु
मेरो आगमनमा
कन्दराका सुनगाभा
पखेरीको लालीगुरास मुस्कुराउदै
कोईलीको मिठो स्वरमा
चाउरी परेको मुहार चम्काउदै
बुढो पहाड नाच्ने छ
हिमाली हावा मन्द-मन्द बयेली खेल्दै
झरनाले मिठो धुन भर्ने छ
ती दृश्यहरू सारा जगतलाई प्रितीकर लाग्नेछ
-यामु काउचा “निश्चल” मगर
चौराह – १ – बाग्लुङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)