कविता : नातिको एउटा विन्ती: भानु बाजेलाई

~छोगेल मोक्तान~tshogel-moktan

हे बाजे….!
आऊ तिमी पूर्वमा रक्तिम लालिमा फैलाउँदै
सुसुप्त तिम्रा सन्तानलाई चेतनाको नयाँ सन्देश सुनाउँदै
निशि अन्धकारको पर्दा हटाउँदै
दिव्य शिक्षाको प्रकाश छर्दै आऊ ।

हे बाजे….!
च्यातिसके रामायणका बहुमूल्य पानाहरु
मेटिसके वधुशिक्षा र भक्तमालाका लहरहरु
मरिसके राम लक्ष्मण जस्ता दाजु भाइका प्रेमहरु
मक्किसके ड्रग्स र नशाले समाजका बलिया धुरीखम्बाहरु
भाँडिसके आफ्नै चेलीहरुका पतिव्रता सीताका आदर्शहरु
बिर्सिए संगिनी र रत्यौलीका गीतहरु
हराए धाननाच र डम्फू नाचहरु ।

आफ्नो भाषा र कुराहरु पुर्खासितै गए,
संस्कृति र जातित्व भन्ने कुरा उनीहरुसितै विलाए ।
लोकगीत होइन हामीले पाश्चत्य संगीत अँगाल्यौं
आफ्नो संस्कृतिलाई लत्याएर अरुको संस्कृति अप्नायौं ।
साहित्यको जगेरा गर्छौं भनेर भन्छौ
तर नेपाली साहित्यको एउटा पत्रिका किनेर पढ्दैनौं
बरु फिल्मफेएर, वुमन इरा, स्टायल किनेर गजक्क पर्छौं ।
आधुनिकताको खोस्टो ओढ़ेर लोक संस्कृतिको राग अलाप्छौं ।
डम्फु बजाउन लाज लाग्छ
मादल बजाउन शरम लाग्छ
तर गिटार भिरेर ‘वेस्टर्न’ हुन लाज लाग्दैन हामीलाई ।

यसैले त हे बाजे…..!
आजको तिम्रो जन्मदिनमा हामीले
दौरा सुरुवाल नभएर
जिन्स पेन्टको जाङ लामो पारी लाउनुपर्छ
चौबन्दी फरिया नपाएर ‘सर्ट्स’ र ‘टप’-मा
सर्वाङ्ग टिमिक्क पारेर नाभी देखाई बल डान्स् गर्नुपर्छ
रम, बियर र वोडका लिेएर ‘लेट नाइट् पार्टी’ गर्नुपर्छ
डम्फू र च्याब्रुङ थन्काएर थुम्बा र ड्रम बजाउनुपर्छ ।
पतनोन्मुख जातिको यस्तो दुर्दशामा विक्षिप्त बनी
मौनतामा आह्वान गर्छ हिमाल !
उठ जाग, अबेर नगर, जगेरा गर ।

यसैले त हे बाजे…..!
यो बेहालत नातिको एउटा विन्ती
सुनेर तिमीले कान ठाड़ो पारिदेऊ ।
अब तिमी आधुनिक भानुभक्त भएर जन्मिदेऊ
संस्कृति, साहित्य र अस्तित्वको निम्ति तिमी फेरि
अर्कै भानु भएर उदाइदेऊ ।
पथभ्रष्ट भएका नेपाली जनगणमाझ फेरि
भाषिक एकीकरणको राँको बाली मार्गनिर्देशन गरिदेऊ ।
जातिय चेतनाको उषाकालीन आभाले
सम्पूर्ण जातिलाई झक्झकाइदेऊ
उषाकालीन आभाले जगाइदेऊ ॥

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.