~मनोज दाहाल~
ओहो! केके पो गर्न भ्याउँछे जलपरी।
समाजसेवा गर्छे।
नाटक खेल्छे।
चित्र बनाउँछे।
किताब पढ्छे।
सिनेमा हेर्छे।
स्पिच दिन्छे।
आर्टिकल लेख्छे।
स्कुल काउन्सिलमा प्रेसिडेन्ट छे।
जिम्न्यास्टिक गर्छे।
बाफ रे कति धेरै रुचि हुन्!
जलविहार त उसको प्रिय सोख हुँदै हो। पानीमै बसिरहन एकदमै रमाउँछे। पोखरी त उसको घरै हो। जलपरी जो हो!
आधुनिक जलपरी हो। दिनरात पोखरीमै बिताइरहन सम्भव छैन। स्कुल जानुपर्छ। होमवर्क गर्नुपर्छ। स्कुलमा साथीभाइको काम गरिदिनुपर्छ, स्टुडेन्ट काउन्सिलको प्रेसिडेन्ट जो हो। स्पिच दिनुपर्छ। साथीभाइलाई उत्साही पारिरहनुपर्छ।
पोखरीबाहिर जति नै व्यस्तता भए पनि दिनको तीन घन्टा त पानीमै बिताउँछे। स्कुलबाट सिधै पोखरी। आमाले त्यहीँ उसलाई खाजा ल्याइदिन्छिन्। त्यो खान ऊ एकैछिन समय निकाल्छे र पोखरीमा डुबुल्की मारिहाल्छे।
जलपरीका लागि पानीमा दैनिक तीन घन्टा कम्ति समय हो तर के गरोस्! ऊसँग योभन्दा बढी समय छैन। धेरै काम भ्याउनुपर्छ।
जाडोका तीन महिना भने ऊ पानीसँग बिछोडिन्छे। दशरथ रंगशालामा जिम्न्यास्टिक जान्छे। शरीर तन्दुरुस्त नराखी हुँदैन। पोखरीमा बस्न नपाए जलपरीको शरीर फिट हुँदैन। जिम्न्यास्टिकले निकै सघाउ पुर्याएको छ, शरीर म्यास्कुलिन बनाउन। मोटीघाटी, खाइलाग्दी भएकी छे। आकर्षक छे।
पोखरीमा त उसको कुनै जोडा छैन। बाहिर पनि हत्पत्ति उसको जोडा हुन्न। जेमा पनि अगाडि हुन्छे।
भर्खरै सकिएको छैटौं राष्ट्रिय खेलकुदमा उसले ८ स्वर्ण र ४ रजत जिती। नेपालकी पौडी च्याम्पियन उही हो हिजोआज।
…
एकदमै व्यवस्थित छे। बिहान सखारै ब्युँझन्छे। राति गर्न नभ्याएको होमवर्क गर्छे। बिहानको समय उसलाई असाध्यै मन पर्छ। फ्रेस फिल हुन्छ। होमवर्क र अरू काम गर्न जाँगर चल्छ।
त्यसपछि दालभात खान्छे। दालभात उसको प्रिय खाना हो। ब्रेकफास्टमा पनि दालभात। लन्च पनि दालभात। डिनर पनि दालभात। दिनको तीनचोटि दालभात। पोखरीमा बिताउने याममा कार्बोहाइटे्रड र प्रोटिन भरिएको खाना चाहिन्छ, शरीरलाई सक्रिय राख्न। पोखरीमा निष्त्रि्कय बसिरहन सकिँदैन। दालभात कार्बोहाइट्रेड र प्रोटिनको राम्रो स्रोत हो।
रविभवनको लिंकन स्कुलमा ११ कक्षामा पढ्छे जलपरी।
होमवर्क सकेर ब्रेकफास्ट भ्याएपछि ऊ स्कुल जान तयार हुन्छे। साढे ७ बजे स्कुल बस उसलाई लिन घरै आइपुग्छ। ८ बजे स्कुल पुगिसक्छे। ८ बजेदेखि १२ बजेसम्म ज्ञानी विद्यार्थी भएर अनवरत कक्षामा बिताउँछे। पढाइमा जलपरीलाई निकै रुचि छ, सबै कुरामा जस्तै।
बाह्र बजे लन्च ब्रेक हुन्छ। जलपरीका लागि लन्चब्रेक लन्च खाने समयमात्र होइन। त्यो बेला उसले थुप्रै काम भ्याउनुपर्छ।
विद्यार्थी परिषदका कतिपय काम हुन्छन्। स्कुलमा हुने च्यारिटीका कामको नेतृत्व पनि उसैले गर्छे। विद्यार्थीलाई स्पिच दिइरहन्छे। मोटिभेटेड गरिरहन्छे।
स्कुल नजिकै समाजसेवी दिलशोभा चित्रकारको ‘महिला आश्रयस्थल’ छ। उनले आफ्नो एकल पहलमा गरिब, एक्ला र बेसहारा महिलालाई आश्रय दिएकी छन्। जलपरी लन्चब्रेक वा अरू फुर्सदमा साथीहरू लिएर त्यहाँ पुग्छे। दिलशोभाको समाजसेवामा सघाउँछे। कहिलेकाहीँ त्यहाँका केटाकेटीलाई आफ्नो स्कुल लिएर आउँछे र रमाइलो गराउँछे। स्कुलका गतिविधि देखाउँछे। उनीहरू मुड फ्रेस पारेर फर्कन्छन्।
स्कुलमा ऊ सामुदायिक काममा पनि सघाउँछे। साथीहरूसँग बाल मन्दिर, माइती नेपालजस्ता संस्था गइरहन्छे। त्यहाँका केटाकेटीसँग समय बिताउँछे। माया साटासाट गर्छे। जलपरीलाई बच्चाहरूसँग समय बिताउन असाध्यै मन पर्छ। ऊ आफैं पनि त बच्ची नै छे।
लन्चब्रेकपछि फेरि साढे तीनसम्म उसको कक्षामा बिताउने समय हो। कक्षा सकिएपछि भनिरहनै परेन, सिधै पोखरी। पोखरी पुगेपछि आनन्दित महसुस गर्छे।
रिल्याक्स्ड। फ्रेस। कुल।
आखिर यही उसको घर हो। पोखरीमा कम्तीमा तीन घन्टा बिताएपछि ऊ बल्ल बागडोल जान्छे जहाँ ऊ रात बिताउँछे। आधुनिक जलपरी पोखरीमा रात बिताउँदैनन्।
बागडोलमा ऊ आमाबुबा र बहिनीसँग बस्छे। स्कुलमा उसका केही साथी छन् नत्र आमा र बहिनी नै ऊसँग सबैभन्दा निकट छन्। अस्ति राष्ट्रिय खेलकुदमा भाग लिन वीरगन्ज पनि ऊ आमा र बहिनीसँगै गएकी थिई। उसकी बहिनी अदितीले पौडीका केही स्पर्धामा भागै लिएकी थिई। एक स्वर्ण त उसले पनि कुम्ल्याई। आखिर जलपरीकी बहिनी हो ऊ। पानीको स्वाद सायद दिदीबाटै पाइसकेकी छे।
उनीहरू भारतीय सीमाको सहर रक्सौलसम्म पुगेका थिए, सपिङ गर्न। जलपरीले बाटोमा आमा र बहिनीसँग मिलेर हातमा मेहन्दी पनि लगाई। अर्को दिन अखबारमा उसले हातमा मेहन्दी र आँखाको तल्लो डिलमा लामो गाजल लगाएका आकर्षक तस्बिर छापिएका थिए।
…
राष्ट्रिय खेलकुदमा जलपरीले ब्याकस्ट्रोकमा ५० मिटर, १०० मिटर र २ सय मिटरका तीनै स्पर्धामा स्वर्ण जिती। फ्री स्टाइलमा १०० र ५० मिटरमा स्वर्ण जिती। बटरफ्लाईमा पनि १०० र ५० मिटरमा स्वर्ण जिती। आठौं स्वर्ण उसले फ्री स्टाइल रिलेमा जितेकी थिई।
जलपरीलाई कास्य पदक मन पर्दैन। सकेसम्म स्वर्ण। केही लागेन भने रजत। यसपालि राष्ट्रिय खेलकुदमा उसले ८ स्वर्ण र ४ रजत जिती। अभ्यास कम थियो। जाडोयामले गर्दा पोखरीमा नियमित उत्रन पाएकी थिइन। दिउँसो स्कुल जानैपर्थ्यो। तैपनि ऊ अब्बल ठहरिई।
पोखरीमा नउत्रिँदा बेग्लै, त्यहाँ उत्रेपछि कसैले ऊसँग प्रतिस्पर्धा गर्न सक्दैन।
जलपरीले नेपालको प्रतिनिधित्व गर्दै विदेशी पोखरीमा पनि जलविहार गरिसकेकी छे। चीन, इटाली, श्रीलंका र भारतका पोखरीमा खेलेर उसले टेस्ट चेन्ज गरेकी थिई। खुब रमाएकी थिई। बुबाआमासँग इटाली पुगेकी उसले झन्डै दुई महिना त्यहाँ घुमेर बिताई। चीन, श्रीलंका पनि मजाले घुमी। यसबाहेक अरू विदेशी भूमिको सयर पनि गरिसकेकी छे।
जलपरीले जलविहारको आनन्द लिन थालेको कयौं वर्ष भइसक्यो। आठ वर्षअघि नै उसले पहिलो पौडी स्पर्धामा पदक जितेकी थिई। त्यसपछि त ऊ पानीमा हरदम रमाउँछे। पानीमा पसेपछि उसको दिमागमा अरू केही पस्दैन। पोखरीमा ऊ योगीहरूले व्याख्या गर्ने निष्काम ध्यानमा भएजस्तो हुन्छे। भित्रैदेखि शान्त र विचारविहीन।
काठमान्डुमा अघिल्लो वर्ष भएको ग्यालेक्सी कपमा उसले कति स्वर्ण जितेकी थिई? कति स्वर्ण जितेँ भन्ने ठ्याक्कै सम्झन सक्दिन ऊ। पछि मैले अखबारका पुराना अंक हेरेर पत्ता लगाएँ- ११ स्वर्ण जितेकी रैछ।
…
जलपरीलाई टिभी हेर्न मन पर्दैन। पछिल्लो पटक कहिले टिभी हेरेकी थिई- सम्झना पनि छैन। टिभीले दिमाग र शरीर दुवै अल्छी पार्ने उसको अनुभव छ। उसका दौंतरीहरू भने टिभीमै झुन्डिरहन रुचाउँछन्। सायद त्यसैले उनीहरू अब्बल छैनन्।
सप्ताहान्त र कहिलेकाहीँ फुर्सदका बेला बरु ऊ सिनेमा हेर्न रुचाउँछे। राम्रा सिनेमा। किताबमा सोख छ। भ्याम्पायरहरूको कथामा रुचि छ। भ्याम्पायरको कथा समेटिएको ‘न्यु मुन’ उसका प्रिय किताबमध्ये एक हो। ऊ आफैं न्यु मुनकी किशोरी नायिकाजस्तो स्मार्ट र सुन्दर छे।
अरू किताब पनि पढिरहन्छे।
एन्जेलिना जोली उसलाई मन पर्ने हलिउड नायिका हो। जोलीको आत्मविश्वास र सुन्दरताबाट प्रभावित छे। उसको आत्मविश्वास पनि जोलीभन्दा कम छैन।
अनेकौं रुचि छन्, २४ घन्टाको समयमा यी सबै रुचिमा समय दिन भ्याउँछे। खतरा छे। काममा प्रतिबद्ध। उसकी आमाले भनेअनुसार एकदमै व्यवस्थित छे। भन्नै पर्दैन, किनभने यति धेरै काम गर्न एकदमै व्यवस्थित नभई सम्भवै छैन।
जलपरीलाई चित्रकलामा पनि रुचि छ। आठ कक्षामै पढ्दा उसले एकल चित्रकला प्रदर्शनी गरिसकेकी छे। ‘हनेस्ट डिपिक्सन’ शीर्षकमा उसको चित्रकला प्रदर्शनीको निकै सराहना भएको थियो। आर्ट काउन्सिलमा छ दिन चलेको प्रदर्शनीको उद्घाटन संस्कृतिविद सत्यमोहन जोशीले गरेका थिए।
अभिनयमा पनि रुचि छ। स्कुलका नाटकमा थुप्रै पटक अभिनय गरिसकेकी छे। बहिनी अदिती पनि नाटकमा झ्यामिन्छे।
जलपरीलाई प्रवचन दिनमा रुचि छ। बोल्न मन पराउँछे। स्कुलमा उसले कति प्रवचन दिई, कति! ऊ लिंकन स्कुलको माथिल्लो कक्षाको विद्यार्थी परिषदकी सभापति हो। प्रवचन दिइरहनुपर्छ।
साथीभाइहरूलाई भन्छे, ‘तिमीले चाह्यौ भने परिवर्तन ल्याउन सक्छौ।’ उसलाई गहिरो विश्वास छ- भित्रैदेखि चाह्यो भने परिवर्तन सम्भव छ। त्यो उसले गरेरै देखाइदिएकी छे।
सानी छे तर ठूला मानिसले झैं कुरा गर्छे। रुचिहरूले भरिएकी छे। बाह्रको पढाइ सकेपछि मनोविज्ञान पढ्छु भन्छे। बुबा व्यापारी हुन्। उसलाई पनि व्यापारमा रुचि छ। भनिहालेँ नि, जलपरीका रुचिहरूको बखान गरी साध्य छैन।
प्रकृतिमा एकदमै रुचि राख्छे। प्रकृतिसँग नजिकिन रुचाउँछे। स्वाभाविकै हो, जलपरीहरूलाई प्रकृतिमाथि रुचि हुन्छ। ऊ फरक जलपरी होइन। उसको एकल चित्रकला प्रदर्शनी फूलहरूमाथि थियो। फूलमा घन्टौं घोत्लिरहन सक्छे ऊ।
जलपरी आमा र बहिनीसँग कहिलेकाहीँ बजारतिर पनि बरालिन्छे। सपिङ गर्छे। सिनेमा हल गएर सिनेमा हेर्छे। पछिल्लो पटक डर्टी पिक्चर हेरेका थिए उनीहरूले। कहिलेकाहीँ साथीहरूसँग पनि बाहिर निस्कन्छे ऊ।
जलपरीलाई लेखनमा पनि रुचि छ। कविता र लेख लेखिरहन्छे।
उमेरले केटाकेटी नै छे। बल्ल १७ पुगी। पुग्नै बाँकी छ। अब एक महिनापछि १७ पुग्दैछे। यो वर्षको अन्तिम दिन उसको जन्मदिन हो।
एरियन (मेष राशीकी) हो। पढेको थिएँ- एरियनहरू जिद्दी तर प्रतिबद्ध, एकोहोरा तर अब्बल हुन्छन्। जलपरीसँग भेटेपछि मलाई राशीहरूबारे लेखिएका पुस्तक पनि सही हुन्छन् कि जस्तो लागेको छ।
कहिलेकाहीँ उसलाई लाग्छ, सय वर्ष पुगिसकेकी वृद्धा हुँ। किनभने उसका सोचाइका शैली त्यस्तै छन्, धेरै ठुल्ठुला। धेरैजसो समय भने ऊ आफूलाई केटाकेटी नै पाउँछे। धेरै रुचि भएकी एउटी आम किशोरी। ऊ हो नै त्यही।
जिन्स र टिसर्ट लगाउन मन पराउँछे। सञ्चालकहरूलाई धन्यवाद! उसले पढ्ने लिंकन स्कुलमा पोसाकको चलन छैन। उसलाई पनि पोसाकमा बाँधिन मन पर्दैन। फ्री स्पिरिट किशोरी पोसाकमा रमाउन सक्दैनन्। घरमा जे लगाएर बस्यो, त्यही लगाएर स्कुल जान रमाइलो हुन्छ। ऊ नङमा राम्रो आर्ट गरेर, जिन्स र टिसर्टमै, आँखाको तल्लो डिलमा चल्नीसम्मै गाजल पेन्ट गरेरै स्कुल जान्छे। यसमा आफूलाई स्वतन्त्र महसुस गर्छे। आफ्नो स्वभावजस्तै।
उसलाई आँखाको तल्लो डिलमा लामो गाजल पेन्ट गर्न एकदमै मन पर्छ। हिन्दी सिनेमाका पुराना हिरोइनले गरेजसरी। उसले यो कला दुई वर्षजति अघि सिकेकी हो। जुनसुकै कलामा उसलाई गहिरो रुचि छ। त्यसैले होला, आफ्नै अनुहार पनि कलापूर्ण बनाउन रुचाउँछे।
मैले सायद माथि कतै लेखिसकेको छु, राष्ट्रिय खेलकुदमा पदक जितेपछि उसले आँखामा लामो गाजल पेन्ट गरेको सुन्दर तस्बिरले अखबारका पाना भरिएका थिए। जलपरीको आकर्षक तस्बिर देेखेर त्यही बेला मलाई लागेको थियो- यो केटी हिरोइन हुन सक्छे।
पछि भेटेर ऊसँग कुरा गर्दा मेरो सोचाइ फेरियो। लाग्यो- ऊ पर्दामा भन्दा पानीमै ठिक छे।
जलपरीका लागि पानी नै सबैथोक हो।
बुझ्नुभयो? रुचिहरूले भरिएकी यो किशोरीका रुचि लेखेर मैले अझै भ्याइसकेको छैन।
नेपाली लेखनमा पनि रुचि छ जलपरीलाई। अमेरिकी पाठ्यक्रममा ११ को पढाइ अलि कडा छ, १२ पुगेपछि अलि फुर्सद हुने आशा छ। पढाइ, करिअर र अन्य रुचिबाट अलिकति समय उबारी भने त्यसबेला उसले नेपालीमा अलि मज्जाले लेख्न सिक्नेछे। अहिले नै पनि उसको नेपाली कमजोर छैन। खरर्र पढ्न सक्छे, गहिरा शब्द पनि बुझ्छे। लेख्न भने भाषा अलि तिखार्नैपर्छ भन्ने उसले बुझेकी छे।
नेपालीमा पोख्त हुँदै गएपछि जलपरीले मदन पुरस्कार प्राप्त उपन्यासकार आफ्ना जिजुबुबा विनोदप्रसाद धितालको किताब ‘योजनगन्धा’ पढ्ने योजना बनाएकी छे। ऊ केही वर्षअघि बितेका उपन्यासकार धितालकी पनातिनी हुन्।
जिजुबुबाले जस्तो लेख्न सकिएला/नसकिएला तर जलपरीलाई नेपालीमा पनि आफूलाई अभिव्यक्त गर्ने रुचि छ। अंग्रेजीमा त उसले आफूलाई अभिव्यक्त गरिरहेकै छे। मसँग ऊ सोध्दै थिई, ‘रिपब्लिकामा मेरो आर्टिकल छाप्न मिल्छ?’
जलपरीले लेखी भने रिपब्लिकाले कसो नछाप्ला!
…
राष्ट्रिय खेलकुदमा आठ स्वर्ण जितेको भोलिपल्ट अखबारमा जलपरीका आकर्षक तस्बिर देखेपछि म उसको इन्टरभ्यु गर्न हौसिएको थिएँ। मलाई लागेको थियो- नेपाली किशोर-किशोरीका लागि रिडेबल सामग्री हुनसक्छ त्यो।
दिउँसो उसलाई भेट्न सकिँदैन। बिहानदेखि साँझसम्मै जलपरीलाई स्कुल जानुपर्छ। स्कुलबाट फर्केर पोखरी। राष्ट्रिय खेलकुदको एक दिनबाहेक उसले स्कुल छुटाएकी छैन। आठ स्वर्ण र चार रजत जितेको भोलिपल्टै मैले निवासमा फोन गर्दा आमाले उठाएकी थिइन्। जलपरी स्कुलबाट फर्केकै थिइन।
सिधै सम्पर्क गर्न ऊसँग मोबाइल फोन छैन। उसलाई सम्पर्क गर्न कि निवास, कि उसकी आमालाई फोन गर्नुपर्छ। जलपरीहरू मोबाइल फोन बोक्दैनन्। मोबाइल फोनले जलपरीको पानीप्रेमलाई कुनै न कुनै रूपमा विकर्षित पनि गर्न सक्छ।
इन्टरभ्युका लागि मैले साँझको समय लिएको थिएँ।
म जलपरीको निवास बागडोल पुग्दा घाम डुब्नै लागिसकेको थियो। ऊ चौरमा मलाई पर्खिरहेकी थिई। उसकी आमा पनि सँगै थिइन्। हामीले चिया पिउँदै करिब एक घन्टा अनौपचारिक कुराकानी गर्यौं। बीचबीचमा जलपरी मुसुक्क मुस्काउँथी र झनै राम्री देखिन्थी। पानीमा बाँच्ने जीवहरू यसै राम्रा हुन्छन्।
कुरा सिद्धिएकै थिएन, मलाई जलपरीसँग अझै धेरै खोतल्नु थियो।
रात परिसकेकाले हामी छुट्टियौं।
