~नवीन प्यासी~
चराको चुच्चोमा च्यापिएको पुतलीले
मृत्युको गीतमा
आधुनिक नृत्य देखाउन थाल्यो
जब देख्यो उसले
बिरामी बालकको हातमा -गुलेली
उसले कहिल्यै सोधेन
बगरै बगर हिँडिरहेको नदीलाई -यात्राको परिभाषा,
उसले कहिल्यै देखाइ मागेन
मन्दिर, चर्च या मस्जिदलाई -इश्वरको मुटु,
न त भेट्यो
भीरको टुप्पोमा झोक्राइरहेको फूलसँग -मृत्युको मिठास
उसले-
ढुङ्गालाई माया गर्न थालेदेखी हो
लाग्न छोडेको -ठेस,
काँडालाई माया गर्न थालेदेखी हो
फुल्न थालेको -गुलाफ,
या भनौँ स्वतन्त्रतालाई माया गर्न थालेदेखी हो
बल्न थालेको -चेतना
जस्तो की-
विषालु साँपलाई सपेराले गरे जस्तो
टोक्ने कुकुरलाई मालिकले गरे जस्तो
जस्तो की-
कठोर सिउँडीलाई मरुभूमिले गरे जस्तो
जस्तो आफ्नै रङहरुले
आफ्नै संसार सजाउन र बचाउन
बिद्रोहमा उत्रिएको इमानदार पेन्टर झैँ
चिहानको छाती फोडेर आएको ऊ
नियाल्न सक्छ
उज्यालोलाई थिचिरहेको साँझको दैनिकी,
बुझ्न सक्छ
आदिम पहाडको मौनतामा खेल्ने कुहिरोको नियत,
दाबी गर्न सक्छ
पखेटा उसको पनि छ, आकाश उसको पनि हो
या उभीन सक्छ पर्खाल भएर सिमानामा,
गर्न सक्छ माटोसँग बिचारको संभोग
र उब्जाउन सक्छ हजारौँ हजार कुरुप झुशिलकिराहरु
उसलाई यो थाहा छ की
दुनियामा सबैभन्दा बढी सुरक्षित हुन्छ -कुरुपता ।
(स्रोत : धरानमा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा तृतिय स्थान हासिल गर्न सफल कविता)