कविता : नयाँ वर्ष

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

नयाँ वर्ष
मौसम चुनेर
आउँछौ भने यसपाली,
जिवनको खण्डहरभित्र
विकासको मरुस्थलभित्र
बसन्त-बैंशमा
ठिम-ठिम
कल्कलाउँदो भएर आउनू
मोफसलमा
सरोकार स्वीकार्ने गरी आउनू।
**
नयाँ वर्ष
मर्म बुझेर
आउँछौ भने यसपाली,
ओईलिएका आशाभित्र
छोपिएका सपनाभित्र
विश्वासका आँकुरा
टुसाउने गरी आउनू
प्रशंसाको टाकुरा
सुसाउने गरी आउनू।
**
नयाँ वर्ष
आँट गरेर
आउने भए यसपाली,
जकडिएको चुनौतिभित्र
मक्किएको दूर-दलिनभित्र
छातीमा साहास
छाँदेर आउनू
लड्नलाई मुठ्ठी
बाँधेर आउनू।
**
नयाँ वर्ष
कान्ति बोकेर
आउने भए यसपाली
जोतिएको जिवनभित्र
झुत्रिएको परिवेषभित्र
निराशाको बादल
छिचोल्ने गरी आउनू
घुर्मैलो इतिहास
बिर्साउने गरी आउनू।
**
नयाँ वर्ष
बहार बाँड्ने गरी
आउँछौ भने यसपाली,
रुझेका ती परेलीभित्र
भुत्तिएको जन-विकासभित्र
सुनाखरी
फुलाउने गरी आउनू
अग्रगामी योजना
गुडाउने गरी आउनू।
**
नयाँ वर्ष
पाईन् भरेर
आउँछौ भने यसपाली,
निराशाको कठबारभित्र
पुरातनको अवशेषभित्र
हर्षको सुनगाभा
मुस्काउने गरी आउनू
गौरवको तुल
उँडाउने गरी आउनू।
**
होइन भने-
आकाशमुनिको अभिशाप
उही बन्द ढोका
कालरात्रीको अस्तव्यस्तता,
नयाँ वर्ष
न त कौडीमा गनिएला
न त गर्वले कोरिएला
केवल
औपचारिकताको पुनरावृत्ति
समयको कठघराभित्र
निरीह
पछुताउने गरी आउनू।
** **

04/13/2009

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.