कथा : बाबा ! भ्रष्टाचारी ज्वाइँ नखोज्नुस

~यमुना अर्याल~Yamuna Aryal

एक दिन साथीले आफ्नो दाइलाई व्यङ्ग्य हान्दै बायोडाटा बनाइदिइन् । दाइ अफिस गएका थिए ।

‘हेर न मेरो दाइ बुढो भइसक्यो, अहिलेसम्म भाउजू ल्याउने सुरसार गर्दैन । दाइले बिहे नगरी आफ्नो पालो आउँदैन क्यारे, आफू त बुढो भयो-भयो, बैनीलाई पनि बुढीकन्या बनाउने भयो !’ दाइले बिहे नगरेकोमा ठुस्स परिन् उनी ।

‘घरमा आमा-बुवाले जहिले कर गर्नुहुन्छ, सधैं बेला भएको छैन भन्दै टार्छ । पोहोर साल आमा बेस्सरी बिमारी हुनुभयो, बुहारीको मुख नहेरी मर्ने भएँ छोरा, बिहे गरे हुन्थ्यो भन्नुभो । तर, ज्यान जाला टेरेन,’ साथीको चिन्ता अझै सकिएको थिएन ।

त्यसबेला दाइले उल्टै आमालाई फुर्क्याउँदै भनेछन् – ‘हो है आमा, ज-जसका आमाबाबु बिरामी भएका छन्, सबैका छोराले बुहारी नभित्र्याएरै मरेका होलान् । बुहारी भने जस्ती परी भने त छोराले राम्रै केटी हेरेछ भन्नुहोला, चोथाले परी भने बाँचुञ्जेल मैले गाली सहनुपर्छ । भने जस्ता व्यावहारिक केटी पाउन पनि पर्‍यो नि ।’

दाइ कड्किएपछि आमाको बोल्ने बाटो हरायो ।

एकैछिनमा ढोका ढकढक गर्‍यो, यसो घडी हेरेको साँझको साढे पाँच भइसकेछ । दाइ आयो होला भन्दै बहिनीले ढोका खोलिन् ।

अफिसको कामले थकित हुँदै दाइ भित्र पसे । कालो लेदरको ब्याग टेबलमा राखे । दाइलाई देखेर नमस्कार गरेा । मलाई देखेर अचम्म मान्दै भने, ‘ओहो तिमी ! आज कहाँबाट बाटो बिराइछौ त बहिनी ?’ फिस्स हाँसे ।

हातमुख धोएर फ्रेस हुँदै कोठामा छिरे दाइ । थेसिसको भाइवाको टेन्सन छ भन्दै बाइन्डिङ गरेका प्रतिहरू एकएक पल्टाउन थाले । सरसर्ती सबै हेरिसकेर बहिनीलाई चिया बनाउन भने । बहिनीले मरिच, ल्वाङ मसला सबै मिलाएर मीठो चिया बनाइन् ।

चिया खाँदै दाइले केही जिज्ञासा राखे ।

‘ए बैनी, तिम्रा अलि व्यावहारिक खालका कोही केटी साथी छैनन् ? शहरियाभन्दा पनि गाउाले पाराका, अलि पढेका र भोलि आफ्नै खुट्टामा उभिन सक्ने खालका कोही साथी भए यसो बुझ त ।’

मैले भन्न नपाउँदै बहिनी पड्किइन्, ‘यस (दाइ) लाई त जस्ता केटी भए पनि मन पर्दैन, सधैं व्यावहारिक व्यावहारिक भन्छ । कस्तालाई व्यावहारिक भन्ने हो, थाहा छैन । अस्ति आएकी मेरी साथी त्यस्ती राम्री थिई, उसलाई दाइले हेर्ला, मन पराउला भनेर ठिक्क अफिसबाट आउने बेलामा रुममा ल्याएा, उल्टै खिसीटिउरी गरेर पठायो । तेरो दाइ त कस्तो पाखे टाइपको रै’छ है भन्दै थिई । यसलाई त राम्रा केटी किन मन पर्थ्यो र ?’

‘तँ चुप लाग्,’ दाइले झपारे ।

कालो मुख लाएर साथी किताब पल्टाएर पढे जस्तै गर्न थालिन् ।

‘साँच्चै भनेको बैनी, कोही भए यसो बुझ्दै गर न,’  दाइले फेरि पनि भने । मैले टाउको हल्लाएँ ।

दाइले रहस्य खोल्न लागे झैं सुनाए, ‘अघि त्यस (बहिनी) ले आफ्नो साथीको खुब बयान गर्दै थिई नि, त्यो केटी त मेरो एकजना साथीकी भूपू गर्लफ्रेन्ड रहिछ । मलाई साथीले सबै इतिहास बताएको थियो । बैनीले खुब राम्री छ, ट्यालेन्ट छ भनी । आफ्नो साथीबारे बैनीले बुझेरै त कुरा ल्याएकी होला भनेर एकदिन कोठामा लिएर आइज न त भनेको थिएँ । त्यो त त्यही साथीकी भूपु पो रहिछे । पैसा हुञ्जेल माया गरेको नाटक गर्ने, गोजी रित्तिएपछि अर्कोतिर लाग्ने !’

त्यो केटीलाई दाइले आफ्नो साथीको नाम लिादै फलानोलाई चिन्छ्यौ भनेर सोधेछन् । एकछिन गम खाँदै केटीले भनिछ, ‘ए… त्यो ? अँ… चिन्छु, एकदम पाखे टाइपको छ । लवाइ-खवाइ सबै गाउाको क्या । कत्ति न सरकारी जागिर खाएको भन्दै गफ दिँदो रहेछ । अरुलाई मान्छे नगन्ने । पढ्नेभन्दा अर्थोक केही नजानेको ।’

दाइलाई त्यो केटीले आफू निकै शहरिया भएर फूर्ति गरेको कत्ति पनि चित्त बुझेनछ । दिक्क मान्दै सुनाए, ‘त्यस्ता केटी परे भने त आफ्नो जिन्दगी त बर्बाद भयो-भयो, घरपरिवार कसरी चलाउने ? आमालाई गाउँमा गएर मेलापात गर्ने, घरगोठको धन्दा गर्ने, घर लिपेर चटक्क पार्ने बुहारी चाहिन्छ । बैनीले भाउजू बनाउन ल्याएकी केटी त्यस्ती थिई ! पहिले-पहिले छोरी बिकाउन गाह्रो भन्थे, अहिले त केटा बिक्नै गाह्रो भयो ।’

अरु त अरु भइहाले, दाइ आफ्नै बहिनीको आनीबानी देखेर पनि आजित रहेछन् । थपिहाले, ‘भुइँ न भाँडामा भएकी छ । सधैं नक्कल पारेर हिँड्ने, पढेर आफ्नो खुट्टामा उभिने केही सोच छैन । पाल्न सक्नेले लैजाने हो, लगेर पाल्छ केको टेन्सन भन्छे !’

यसो बुझ्दा दाइ निकै गह्रुंगो बोझले थिचिएका रहेछन् । भाइ होस्टेल बसेर पढ्ने, बैनी पनि प्राइभेट कलेज पढ्ने । एक जनाको कमाइले तीन जनाको काठमाडौंको बसाइ धान्न यसै पनि गाह्रो रहेछ । त्यसमाथि उता घरबाट बाले पैसा कति जम्मा गरेको छस्, जेठो छोरो भएकाले धुमधामसँग बिहे गर्नुपर्छ भन्छन् । आमालाई बिरामी भयो कि बुहारीको मुख नदेखी मर्ने भएँ भन्ने चिन्ता छ । तलब घरबेटीलाई बुझाउँदा, भाइबैनी पढाउँदा र खाँदा ठिक्क रहेछ ।

‘बिहे गरेर गएकी दिदीले भाइ अधिकृत भएपछि संसारै जिते जस्तो गफ लगाउँछिन् । भाञ्जा-भाञ्जी मामाको बिहेमा काठमाडौं जाने भन्दै अहिलेदेखि गफ लाउन थालिसके । यो महागीमा बा-आमाले भने जस्तो बिहे गर्न सकिएला जस्तो लागेन बैनी,’ दाइले वास्तविकता सुनाए ।

एकैछिनमा मोबाइलमा घन्टी बज्यो, ‘ऊ… कुरा गर्दागर्दै बाकै फोन आयो’, दाइले फोन काटे र यतैबाट गरे ।

बाले फोन उठाए, ‘ए छोरा सुन् त, अँ…साँच्ची अस्ति बैनीले कुरा गर्दैथी, खास्साकी केटी छ रे । दाइको लागि खुब जोडी सुहाउँछ भन्दै थी । त्यो केटी हेरिस् त ? कस्ती रहिछ ?’

दाइ के भनूँ-नभनूँको स्थितिमा देखिए । ‘हेरेँ बा, धेरै राम्री रहिछ केटी, म यस्तो कालो छु, गोरी र कालोको जोडी नमिल्ने भनेर मलाई मन पराइन हौ त्यसले त,’ दाइले कुरा बनाउँदै सुनाए ।

‘ए, त्यस्ती राम्री रहिछ है,’ बा लाई अरु कुराको मतलब भएन, गोरो भनेपछि केही चाहिएन । लगत्तै थपिहाले,  ‘बैनीले केटी लिएर कोठामा आउँछे भनेपछि तँ पनि यसो चिटिक्क पर्नुपर्थ्यो नि ! राम्रा केटी त बिहे गर्नै लेखेको छैन कि क्या हो यसलाई ? अस्ति पनि भाञ्जी दिदीले त्यति राम्री केटीको कुरा ल्याउँदा पनि यस्ता केटी चाहिँदैन भनेर टक्टकियो । अब जस्ता चाहिने हो त्यस्तै गर् !’  बाले कड्किएर फोन काटे ।

दाइको अनुहार केही मलिन थियो ।

‘दाइ टेन्सन नलिनुस्, विवाह भन्नलाई सजिलो तर भाँती पुर्‍याउन कठिन मोड हो । एकचोटि परेपछि परिहालिन्छ, फेर्नु न फर्काउनु हुन्छ । ढिलो होस् तर बुझेर गर्नुपर्छ । बा-आमालाई कराउन दिनोस्, केही फरक पर्दैन । आफूले बुझेर मात्र गर्नुस्,’ यसो दाइलाई सम्झाए जस्तो गरेँ ।

‘मैले बुझे पनि बा-आमा बुझ्दैनन् । आजै गर् भोलि गर् भन्छन् । यही दशैंमा बुहारी भित्र्याउने रे ! दशैंमा नभए मंसिरमा जसरी पनि रे । यस्ता दशैं, यस्ता मंसिर अर्को साल पनि आउँछन् भन्छु, मरिगए मान्दैनन् । अहिले बिहेको लागि करकर गर्छन्, भोलि उनीहरुले भने जस्ती बुहारी भइन भने दोष मैंमाथि आउाछ । कस्ती केटी हेरेछ, फलानाकी स्वास्नी त यस्ती छ भन्दै मैंमाथि कुरा थोपर्छन् । जसो गर्दा पनि सुख छैन !’

केही दिनपछि दाइसँग फेरि भेट भयो । उनले एक ठाउँबाट राम्रै केटीको कुरा आएको बताए ।

‘केटी शहरको आफू गाउँको भएकोले त्यसमा कुरा नमिले केही भन्न सकिँदैन, अरु कुरा लगभग मिल्ने जस्तै छ बैनी,’ दाइले सुनाए ।

केटीका बाबु पनि सरकारी जागिरे रहेछन् । कम्तीमा सरकारी जागिरे भएपछि त्यहाँ चाहिँ कुरा मिल्ला भन्ने आश थियो । दाइ भन्दै गए, ‘साथी र म भएर केटीको घर पुगियो । त्यस दिन केटीका बुवा अफिस गएका रहेनछन् । केटी एमए पढ्दै रहिछन् । लोकसेवाको तयारी पनि गर्दै रहिछन् । हेर्दा पनि व्यावहारिक नै लाग्यो । हुन त आनीबानी एकछिनमा के थाहा हुन्थ्यो र, त्यही पनि झुलुक्क हेर्दा व्यावहारिक लाग्यो । आमा, दाजु, भाउजू सबैसँग चिनजान र कुराकानी भयो, सबै ठीकै लाग्यो ।’

छोरी हेर्न जाँदा आमाले सोधिछन्, ‘बाबुको घर कता नि ?’

‘पहाड हो हजुर, पश्चिमतिर,’ दाइले सीधा जवाफ दिएछन् ।

‘भनेपछि गाउँमा हैन त ? यसो काठमाडौंतिर पनि जग्गा जमिन जोडिएको छ कि छैन ?’ आमाले सोधिन् ।

दाइले नढाँटीकन बताएछन्, ‘गाउँमा गरेर खानुपर्छ, जग्गा जमिन जति पनि छ । अहिले आमा-बुवा मात्रै भएकोले अँधिया गर्न दिएका छौं । काठमाडौं त उही टिक्ने मेलो मात्र हो, त्यो भन्दा केही छैन ।’

‘गाउँ धेरै विकट छ बाबु ?’ फेरि आमाले सोधिन् ।

‘राजधानीभन्दा सुगम छ हजुर । घरघरमा पानीका धारा छन् । गोबरग्यास जोडिएको छ । मोटरबाटो आँगनसम्म पुगेको छ । स्थानीय खोलाबाट निकालिएको बत्तीले लोडसेडिङ हुँदैन । अस्पताल घर नजिकै छ । त्यही हो, काठमाडौंमा जस्तो घना बस्ती छैन, फोहोर छैन र पानी, बत्तीको अभाव छैन,’ दाइले सरसर्ती कूटनीतिक पारामा उत्तर दिए ।

एकैछिनमा बुवाले छोरीलाई चिया ल्याउन भने । युवतीले मीठो चिया बनाएर ल्याइन् । दाइलाई ती युवती भित्रैदेखि मन परे जस्तो भएछ । हेर्दा पनि सोझी जस्तो, पढाइमा मात्र ध्यान दिने जस्ती लाग्यो । तर, आमा-बुवाले एकोहोरो गाउँ र शहरको कुरा मात्र गरेको सुन्दा भने हातको चिया त्यहीँ घोप्ट्याएर हिँडूँ जस्तो लाग्यो । जे भए पनि सँगै गएको साथी बसुञ्जेल त बस्नै पर्‍यो  ।

चियाको चुस्की लिँदै बुवाले सोधे, ‘भनेपछि बाबु यसपालि विवाह गर्ने होइन त ?’

दाइले भने ‘हो, यसपालि भनेजस्तो केटी पाइयो भने विवाह गर्ने सुरमा छु  । घरमा करकर गरेर हैरान भइसक्यो । घरको लागि भए पनि यसपालिको लगन खेर नफाल्ने ।’

‘हुँदैन हुँदैन, घरको लागि भए त यो कुरा यहीँ बन्द गर्नुस्,’ केटीकी आमा एकैचोटि तातिन्, ‘आजसम्म गाउँ नगएकी मेरी यत्रो पढेकी एक्ली छोरी त्यहाँ केही गर्न सक्दिन ।’

बुवा चाहिँ केही भन्न खोज्दै थिए, आमा ‘तपाईँ चुप लाग्नुस्’ भन्दै जंगिन थालिन् ।

दाइलाई लगेका साथी पनि रातो-पिरो भए ।

‘हैन माइजू, उहाँले कहाँ बिहे गरेर गाउँमै राख्ने भन्नु भा’ हो त ? आमाबाबुले साह्रै करकर गरेकोले चित्त बुझाउनको लागि यसपालि बिहे गर्ने पो भन्नु भा’ हो । बैनी पनि पढ्दै छे, ऊ पनि सरकारी जागिर खान इच्छुक छे । बैनीको कुरा पो सुन्नुपर्छ । आफैं तेलमा पानी परे जस्तो पड्किएर हुन्छ त ?,’ भाञ्जाले सम्झाएपछि माइजू केही मत्थर भइन् ।

‘दाइले पनि कुन गाउाकी केटी बिहे गर्‍यो, ससुराली जानै तीन दिन लाग्छ रे । अब बैनी पनि कहाँ पुग्ने भई,’ आमा भुतभुताउादै थिइन् ।

एकैछिनमा केटीका दाइ चाहिँ बोलेछन्, ‘बिहे गर्ने केटा र केटीले हो । केटा-केटी राजी भएपछि अरु बोल्ने काम छैन ।’ बैनीलाई बोलाए, ‘तेरो के विचार छ ? आमाबुवाले भने जस्तै गर्छेस् कि यत्तिको केटो भए बिहे गर्छु भन्ने मनसाय छ ?’

बैनीले एकैछिन सोचेर भनिन्, ‘उहाँको बारेमा दाइले मलाई पहिलै सबै कुरा भन्नुभएको छ । उहाँको बैनी र भाइको बारेमा पनि मलाई थाहा छ । उहाँको बैनी र म एउटै ब्याचका हौं । मैले उहाँ अधिकृत नहुँदैदेखि फलो गरेकी हुँ । म पनि उहाँ जस्तै सरकारी जागिर खाएर देखाउँछु भनेर पढ्दै छु । गाउँ-सहर भन्ने केही छैन, भोलि जागिर खाँदा कहाँको मान्छे कहाँ पुगिन्छ । मलाई माफ गर्नुहोला, मेरा आमाबुवाले तपाईंको चित्त दुखाउनुभयो । एक पैसा दाइजो पनि लैजान्नँ, केही गहना पनि चाहिँदैन । उहाँ जत्तिको इमानदार मान्छेसँग म विवाह गर्न राजी छु । विवाह गर्ने मैले हो, आमाबुवाले होइन ।’ बहिनीले सबैको मुख एकै जवाफमा बन्द गरिदिइन् ।

अघि निराश भएका दाइको मुहारमा एकाएक चमक छायो, उनले युवतीसँग पनि कुरा गरे । अब मंसिरमा विवाह गर्ने तयारीमा छन् । केटाकेटी राजी छन् । तर, दुवैका घरमा तनाव छ ।

जेठो छोरोको धुमधामसँग विवाह गर्ने भनेका दाइका आमाबाबुलाई छोराले दाइजोबिना मन्दिरमा टीकाटालो गरेर बुहारी ल्याउने हो भन्ने सुनेदेखि निद्रा पर्न छोडेको छ । काठमाडौंका स्थायी बासिन्दा केटीका आमाबाबु पनि समाजलाई देखाएरै पार्टी प्यालेसमा लाखौं खर्चेर छोरीको विवाह गर्ने योजना तुहिएपछि बिलखबन्दमा परेका छन् ।

बालाई आग्रह गर्दै दाइले भने ‘मलाई धेरै खर्च गरेर बिहे गर्न कर नगर्नोस् बा । मेरो तलबले तडकभडक गर्न पुग्दैन । बिहे गर्दाको ऋण तिर्न कि त घरखेत बन्धकी राख्नुपर्छ । अथवा भ्रष्टाचार गर्नतिर लाग्नुपर्छ या त बिहेपछि कमाउन विदेश जानुपर्छ । बाँचुञ्जेल बिहेको ऋणमा डुब्नुभन्दा मितव्ययी तरिकाको बिहे गर्छु । दुबैजना आफ्नो खुट्टामा उभिन्छौं । कुनै दबाब नदिनुस् ।’

केटीका आमाबुवालाई पनि हुनेवाला भाउजूले भनेकी छन्, ‘तपाईंहरुलाई जसरी भए पनि पैसा कमाउने सम्पन्न ज्वाइँ चाहिएको हो कि इमानदार ? अहिले टन्न पैसा कमाउन खोज्ने र भोलि अख्तियारले हथकडी लगाएर लगेको देख्दा के होला ? भ्रष्टाचारी ज्वाइँ नखोज्नुस् । अरुलाई देखाएर के हुन्छ ? एक पैसा दाइजो लैजान्नँ । उताबाट पनि एक आना माग्दिना । भोलि म जागिर खाएर आफ्नै पैसाले जे सक्छु, बनाएर लाउँछु । लुटको पैसाले मोज गर्नु छैन ।’

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.