~रामकुमार पण्डित क्षेत्री~
सन् २००७ मै ‘यन्त्रवत्’ लघुकथा सङ्ग्रह प्रकाशन गरी पाठकहरूमाझ परिचित स्रष्टाले सन् २००९ मा ‘हिउँको तन्ना’ हाइकु सङ्ग्रह लेराएका थिए । उनले सन् २०१० मा फेरि अर्को लघुकथा सङ्ग्रह ‘रोडम्याप’ लेराएर पाठकका मनका सडकहरू तताए । उनले त्यही सालमा ‘स्रष्टा र डिजिटल वार्ता’ शीर्षकको साहित्यिक अन्तर्वार्ता सङ्ग्रह लेराए । यिनै स्रष्टा कृष्ण बजगाईँले पाँचौ साहित्यिक कृतिको रूपमा ‘कमरेड भाउजू’ कथा सङ्ग्रहलाई पाठकसामु पस्किएका छन् । यिनको काँधमा ‘समकालीन साहित्य डट कम’ जस्तो विशाल वेव पेजको निर्माण तथा सम्पादनको जिम्मेवारी छ । यी वाहेक अनेकौ साहित्यिक कृतिहरूको पनि सम्पादन यिनले गरेका छन् । यिनी साहित्यका सम्मानित पुरस्कारहरूबाट पनि सम्मानित स्रष्टा हुन् ।
यस कथा सङ्ग्रहमा विभिन्न शीर्षकका तेह्र वटा कथाहरू छन् । आयामका दृष्टिबाट सबै कथाहरू औषतमा मझौला आकारका छन् । कथाहरूमा डायोस्पोरिक भावना छताछुल्ल पोखिएकाले रमाइलो लाग्दछन् । पहिलो कथा नै कमरेड भाउजू शीर्षकमा छ । यसमा कमरेडहरूको चित्रण भएको छ । नेपालमा रहदा धर्मको विरुद्दमा लाग्ने कम्युनिष्ट कार्यकर्ता कागताली लागेर बेलायत पुगेपछि धर्म मान्न थाल्छ । त्यहाँ पनि जातिगत भावनालाई वढवा दिन्छ । अनि नेपालमाजस्तै त्यहाँ पनि राम्रो काम गर्न चाहनेले मौका नपाएको अवस्थाको वर्णन भएको पाइन्छ ।
दोस्रो कथा ‘पलायन कमरेड’ले पनि नेपाली कम्युनिष्ट कार्यकर्ताले यहाँ जुन कुराको विरोध गर्दथ्यो; बेलायत पुगेपछि त्यही कुराको समर्थन गर्न थाल्दछ । तेस्रो कथा मिडिया मुस्कानले एउटी मिडियामा काम गर्ने युवतीको वाध्यताको सुक्ष्म चित्रण गर्दछ । जो दुःखका कारण वाहिर पीडा बोक्ने गरे पनि पेशागत काम गर्दा बनावटी मुस्कान ल्याउन सफल हुन्छे । चौथो कथा ‘तेस्रो कुकुर’ शीर्षकमा रहेको छ । यसमा पेपर म्यारिजको कथा छ । यस्तो विवाह गर्ने पुरुषलाई बेलायती महिलाले तेस्रो कुकुरको रूपमा व्यवहार गर्दछे । किनकि त्यस पुरुषले उक्त महिलालाई संभोग गर्न पाएको पनि हुँदैन र जो त्यस घरको साँँच्चीकैको दुइटा कुकुरको स्याहार सम्भार गर्ने गर्दछ ।
पाँचौ कथा मौन युद्घ शीर्षकमा छ । प्रथम दृष्टि विन्दूमा लेखिएको यो कथाले नेपाली अनाथ बालकलाई बेलायती गे दम्पत्तीले लगे पछिका घटनाहरू सम्वादमुलक रुपमा बोलेका छन् । गेहरूले अनाथ बालक किन लान्छन् र त्यस्ता बालकको आर्थिक समाजिक तथा मनोविज्ञानको अवस्था कस्तो हुन्छ भनी सुक्ष्म रूपमा अध्ययन भएको पाइन्छ । छैठौँ कथा ःमङ्गल ग्रहमा देवकोटाको सालिक शीर्षकमा छ । मङ्गल ग्रहमा साहित्यकारको सालिक राख्ने मौका मिल्दा पनि समानुपातिकको बखेडा झिकेर त्यहाँ स्वार्थी मान्छेले आफ्नै सालिक राख्न खोज्दछ । यस कथाले नेपालमा जवरजस्ती लादिदै गरेको जातीय राजनीति प्रति लक्षित गरेको छ र यस्तो राजनीति गर्ने स्वार्थी नेताले गलत फाइदा लुटेको यथार्थता भेटिन्छ । त्यस्तै गरी ‘म सिसिफस’ शीर्षकको कथाले पनि कागजी बिहे गरी लेस्वियनहरूले सित्तैमा काम लगाउने गरेको खुलासा गर्दछ । कथा प्रथम दृष्टि विन्दुमा छ ।
‘गड्यौला उर्फ सत्यराज’ शीर्षकको कथामा लण्डनको व्यस्त जीवन र यौन असन्तुष्टी पाइन्छ । व्यस्त जीवनको कारण यौनको समुचित व्यवस्थापन हुन नसक्दा घर बिग्रिएको छ । ‘लोग्ने र अस्थाइ शत्रु’ शीर्षकको कथाभित्र नकारात्मक सोचाइ राख्ने पत्नीको सुक्ष्म मनोविश्लेषणले कथाभित्र रोचकता झल्किन्छ । ‘गणतन्त्रपछिको प्रेम’मा अगाडि झगडा गर्ने शत्रु पनि पछि गएर मिलेका छन् भने माओवादी कार्यकर्ता देशमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेपछि बेलायत पलायन हुन्छ ।
‘मौनता र शान्ति’ शीर्षकको कथामा असमझदारीको वीच पनि नेपाली दम्पत्तीले लामो समयसम्म एकसाथ गुजरा चलाएका छन् । यसरी सम्बन्ध टिक्नुमा उनीहरूको मौनता र शान्ति नै प्रमुख कारण हुन्छ । मौनता र शान्ति त्यस जोडीका सन्तान पनि हुन्छन् । यसपछि बाह्रौ कथा ‘चौथो विवाह’ शीर्षकमा रहेको छ । कथाको एक जोडीले चौथो पटकसम्म सम्बन्ध विच्छेद गर्दै फेरि विवाह गर्दछन् । चौथौँ विवाह गर्नुको प्रमुख कारण बेलायतमा सरकारले पतिले परित्याग गरेको नानीको आमालाई दिने भत्ता हुन्छ । त्यही भत्ता कमाउन आप्रवासीहरू कति सम्म गिरेर नाटक गर्दछन् र त्यसैको कारण परिवारभित्र उत्पन्न हुने बेमेलका घटनाहरू सुन्दर ढङ्गले बर्णन भएका छन् । अन्तिम कथा ‘मीट सिङ्गल डट कम’ हो । यस कथामा कुनै एउटा ठाउँमा पुरुष र महिलालाई यौनको लागि किन, कसरी, भेट गराइन्छ भन्ने कुराको सुक्ष्म वर्णन भएको छ ।
सरल भाषा भएका कथाहरू घटना र पात्र चरित्रको माध्यमबाट सलल बगेका छन् । अधिकांश कथाहरू तृतीय दृष्टि बिन्दुबाट लेखिएका छन् । कथाहरूले आफ्नो उद्देश्य सफलताका साथ बोल्दछन् । कथाहरूमा अहिलेका समसामयिक बेथिति प्रति व्यङ्ग्य पाइन्छ । कतैकतै मुद्रा राक्षसले ब्याकरणलाई चुनौती दिएको पनि छ । समग्रमा डायोस्पोरिक भावले ओतप्रोत यो कथा सङ्ग्रह पठनीय तथा सङ्ग्रहणीय छ ।
कृति : कमरेड भाउजू
कथाकारः कृष्ण बजगाईँ
प्रकाशक : शब्दार्थ प्रकाशन
विधा : आख्यान
मूल्य : रु. १७५
पृष्ठ सङ्ख्याः १२४
(स्रोत : सुलेख साहित्यिक मासिकको बैशाख, २०७२ अंक ३२ मा प्रकाशित)